नाच्ने होऊन्न/होऊन् तीज गीत धमाधम आउँदै

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


तीज आउँदासम्म महामारीको स्वरूप के कस्तो होला, अनुमान गर्न गाह्रो छ। तर, गायक–गायिकाले भने अघिल्लो सालझैँ दिदीबहिनीलाई छमछमी नचाउने भन्दै तीज गीत सार्वजनिक गर्न थालिसकेका छन्। 


असारदेखि कात्तिकसम्मलाई चाडपर्वको समय मानिन्छ। यही समयमा विभिन्न जात्रा/पर्वदेखि ठूलठूला चाड मनाइन्छन्। दशैँ–तिहारदेखि तीजसम्म यही बीचमा पर्छन्। तर, कोभिड–१९को सन्त्रासका कारण सरकारले सभा–सम्मेलनमा रोक लगाएको छ भने मानिस आफैँ पनि समूहमा जान नहुने मनोविज्ञानमा बाँचिरहेका छन्। तर, केही समयपछि आउन लागेको चाड तीजका लागि भने गायक–गायिकाले तयारी तीव्र पारेका छन्। तीज आउन दुई महिना बाँकी रहँदा बजारमा तीज गीत छ्यापछ्याप्ती देखिन थालेका छन्।

तीज आउँदासम्म महामारीको स्वरूप के कस्तो होला, अनुमान गर्न गाह्रै छ। तर, गायक–गायिकाले भने अघिल्लो सालझैँ दिदीबहिनीलाई छमछमी नचाउने भन्दै तीज गीत सार्वजनिक गर्न थालेका छन्। 

गायक–गायिकाका लागि नेपालका चाडमध्ये तीज सबैभन्दा उर्बर चाड मानिन्छ। नेपालका ठूला चाड दशैँ र तिहारभन्दा पनि तीजलाई लक्ष्य गरेर गायक–गायिकाले गीतको ओइरो लगाउँछन्। यो समयमा तीज गीत नगाउने लोकदोहोरी गायक–गायिका कोही हुँदैनन्। योवर्ष भाइरसका कारण यस्ता गीतमा कमी आउने धेरैको अनुमान थियो। तर, बजारमा दिनदिनै सार्वजनिक हुन थालेका गीतले यो अनुमानलाई माथ खुवाएका छन्। 

संगीतकार वसन्त सापकोटा अघिल्लो सालको तुलनामा थोरै गीत सार्वजनिक हुने सम्भावना भए पनि त्यसको अनुपात उति सारो कम नहुने बताउँछन्। ‘थोरै कम हुने सम्भावना देख्छु, तर हामीले सोचेजस्तो एकदमै कम हुन्छ जस्तो लागेको छैन,’उनी भन्छन्, ‘बजारमा दिनकै पाँचसात गीत सार्वजनिक हुन थालेका छन्। साउनसम्ममा राम्रै्र संख्यामा गीत सार्वजनिक हुने देखिन्छ।’ यो साल तीज गीतको स्वरूप पनि पहिलेभन्दा भिन्न हुने संगीतकार सापकोटा बताउँछन्। 

विगत सात/आठ वर्षदेखि तीज गीत सार्वजनिक गर्दै आएका संगीतकार सन्तोष केसी भने यो साल निकै कम गीत सार्वजनिक हुने अनुमान गर्छन्। उनले अघिल्लो साल आठ/नौ सय गीत सार्वजनिक भएकोमा यो साल दुई सय हाराहारी मात्र गीत सार्वजनिक हुने आँकडा प्रस्तुत गरे। ‘अचानक बढ्यो भने थाहा छैन तर अहिलेकै रेसियो हेर्ने हो भने त्यही डेढ/दुई सयको हाराहारीमा गीत सार्वजनिक हुन्छन्,’सन्तोष भन्छन्, ‘जुन यहाँको बजारका लागि ठिक्क हो। पहिला ज्यादा गीत भएर थुप्रै लगानीकर्ता डुब्ने गरेका थिए।’

अविराम रेकर्डिङ, धमाधम रिलिज 

लकडाउन चलिरहँदा पनि अरू विधाको तुलनामा गीत रेकर्डिङको काम चलिरहेको थियो। सुरुका केही हप्ता अनुशासनमा बसे पनि केही हप्तापछि संगीतकर्मी रेकर्डिङस्टुडियो धाउन थालेका थिए। झन् पछिल्लो समय सरकारले लकडाउन खुकुलो बनाएसँगै संगीतकर्मीको हौसला बढेको छ। तीज आउँदासम्म थप खुकुलो हुने अनुमानमा उनीहरूले धमाधम तीज गीत सार्वजनिक गर्न थालेका छन्।

असार लागेसँग गायक–गायिकाले तीज गीत सार्वजनिक गर्ने क्रम सुरु गरेका छन्। यस क्रममा पशुपति शर्मा, प्रीति आले, खुमन अधिकारी, राधिका हमाल, अञ्जु पन्त, कमला घिमिरे, पूर्णकला बिसी आदिले भिडियोसहित गीत सार्वजनिक गरिसकेका छन् भने अन्य थुप्रै गायक–गायिका सार्वजनिक गर्ने तयारीमा छन्।  

दोहोरी ब्याटल गाएर चर्चामा आएकी प्रीति आलेलेपाँच दिनअघि मात्र तीज गीत सार्वजनिक गरेकी छिन्। ‘फरिया लरीलै बरीलै’ बोलको गीत टिपिकल तीज गीत भने होइन। एकनारायण भण्डारीको शब्द र संगीत रहेको गीतमा तीजको भावलाई लोकरक शैलीमा प्रस्तुति गरिएको छ।

समसामयिक विषयमा गीत बनाउन खप्पिस पशुपति शर्माले पनि दुई दिनअघि मात्र तीज गीत सार्वजनिक गरेका छन्। ‘मुन्छे झिल्के झिल्के’ बोलको गीतमा शर्मालाई गायनमा सरस्वती लामिछानेले साथ दिएकी छिन्।

गत वर्ष तीज गीतको चर्चामा दुर्गेश थापाले सबलाई उछिनेका थिए। ‘बीच बीचमा’ बोलको गीतले उनलाई मात्र होइन, दीपकराज गिरी समूहको फिल्म ‘छ माया छपक्कै’को पनि उद्धार गरेको थियो। थापाले यही गीतको दोस्रो भाग सार्वजनिक गर्ने तयारी गरेका छन्। उनले फेसबुकमा सुटिङको फोटो सेयर गर्दै सुटिङ सकिएको जानकारी गराएका छन्। 

गीतमा उनकै स्वर र शब्द रहेको बताइएको छ। गीतको भिडियोमा पनि थापा, मोडल सारिका केसी, रेस्लर अस्मिता जुरेलीलगायतकलाकारको अभिनय रहेको छ। गीतको भिडियो असार १७मा रिलिज गरिने गायक थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन्। 

खुमन अधिकारीले यही बीचमा दुई तीज गीत सार्वजनिक गरिसकेका छन्।  शान्तिश्री परियारसँग मिलेर गाएको ‘कहिलेकाहीँ त भेटुम्’ र ‘काँचो कटर’ एक हप्ताको बीचमा सार्वजनिक भएका हुन्। कोरोना र घरायसी व्यस्तताका कारण तीज गीत गाउने खासै मुड नभए पनि शुभचिन्तकले चासो राखेपछि गीत गाएको खुमनले बताएका छन्। 

‘एक त यो समयमा रमाइलो गर्ने मुड हुन्न, अर्को आफ्नै घरायसी काममा पनि व्यस्त थिएँ,’उनी भन्छन्, ‘तर, धेरैले कर गरेपछिएउटा–दुइटा गीत गाएको छु। थाहा छैन, कस्तो हुन्छ ?’

काठमाडौँमा रहेका सयभन्दा बढी रेकर्डिङ स्टुडियोमध्ये अधिकांशमा तीज गीतको काम भइरहेको संगीतकार अर्जुन पोखरेल बताउँछन्। काठमाडौँ, अनामनगरमा एवान प्लस स्टुडियोसमेत सञ्चालन गर्दै आएका उनी आफ्नै स्टुडियोमा पनि दिनकै दुईचार गीत रेकर्ड भइरहेको बताउँछन्। ‘पहिले कति रेकर्ड हुन्थे, त्यो त ठ्याक्कै थाहा छैन,’ उनी भन्छन्,‘तर, मेरोमा पनि दिनमा केही न केही तीज गीत रेकर्ड भइरहेकै छन्।’ 

म्युजिक भिडियो निर्देशक शिव विक भने बन्द भएपछि अचानक काम सुरु भएकाले धेरै आएजस्तो देखिएको बताउँछन्। ‘यत्रो दिनसम्म ठप्प थियो,’ उनी भन्छन्,‘त्यसैले अहिले पाँचसात वटा गीत आउँदा पनि धेरै आएजस्तो लागेको हो।’ 

यसपालि उच्छृंखल छैनन् गीत 
पछिल्ला केही वर्षयता तीज गीत विकृत हुन थालेको भन्दै सर्वत्र चिन्ता हुन थालेको छ। कोमल वलीले ‘पोइल जान पाम्’ भनेदेखि सुरु भएको यो विवाद गत वर्ष दुर्गेश थापाले ‘बीच बीचमा’ ल्याएपछि उचाइमा पुग्यो। त्यो बीचमा तीज गीत नै ढोका थुनेर सुन्नुपर्ने अवस्था आएको भन्दै त्यस्ता गीतविरुद्ध आवाज पनि उठेको थियो। तर, यो वर्ष सार्वजनिक गीत उति उच्छृंखल देखिएका छैनन्। तर, तिनमा परम्परागत तीज गीतको जस्तो मर्म पनि छैन। अहिले तीज गीतको नाममा युट्युबमा उपलब्ध गीतमा महिलाको पीडामा बग्ने करुण रस होइन,शृंगार रसको बाहुल्य छ। यसरी सार्वजनिक भएका कतिपय गीत त कमेडी तीजको क्याटगोरीमा भेटिन्छन्। संगीतकार वसन्त सापकोटा यो पटक सार्वजनिक हुने अधिकांश गीत दुर्गेश थापाको शैलीका हुने अनुमान गर्छन्।

‘हामी नेपाली जे हिट भयो, त्यसकै पछि लाग्छौँ,’ सापकोटा भन्छन्,‘तीज गीतको नाममा अघिल्लो साल दुर्गेश थापाको ‘बीच–बीच’मा हिट भएको थियो। अब यो वर्ष पनि त्यस्तै गीत मात्र निस्कन्छन्।’

नभन्दै भर्खरै सार्वजनिक प्रीति आलेको गीत होस् कि खुमन अधिकारीको ‘काँचो कटर’,यी गीत तीज गीतको परम्परागत ढाँचाबाट कोसाँै टाढा छन्। बर्सेनितीज गीत निकाल्दै आएका सन्तोष केसी बजारको आवश्यकताले तीज गीतको लय फेरिएको बताउँछन्। ‘सासूबुहारीको झगडा, श्रीमान्ले माइत जान नदिएको कुरा तीज गीतमा धेरै नै बासी भइसके,’ उनी भन्छन्,‘आजभोलि यस्तो गीत कसैले सुन्दैनन्। तिनमा दर्शक हुन्नन्। अब गायक–गायिकाले जेमा दर्शक देखेका छन्, त्यस्तै गीत बजारमा आएका छन्। किनकि,उनीहरूलाई दुई महिनामा लगानी उठाउनुपर्ने दबाब छ।’पछिल्लो समय पार्टी प्यालेसमा नाच्ने दिदीबहिनी र टिकटकका लागि गीत बनाउने प्रचलनका कारण पनि तीज गीतको मर्म फेरिएको उनी बताउँछन्।

‘हिजो हामीले २२ मिनेटको गीत बनाउँदा पनि ढुक्कसँग सुन्ने मानिस थिए,’ सन्तोष थप्छन्,‘अहिले त्यो झरेर १५ सेकेन्डको टिकटकमा आएको छ। समयको यही परिवर्तनले तीज गीतको शैलीमा पनि परिवर्तन गरेको छ।’

नागपञ्चमीदेखि ऋषिपञ्चमीसम्मलाई तीज गीतको उर्बर समय मानिन्छ। नयाँ वर्ष लागेसँगै निस्कन थाल्ने तीज गीत पार्टी प्यालेसमा हुने पार्टीमा खूबै खपत हुन्थे। यो साल तीज आउँदासम्म यस्ता पार्टी प्यालेस खुल्लान्, कमै आश गर्न सकिन्छ तर पनि गायक–गायिकाले युट्युबकै खपतका लागि पनि तीज गीत निकाल्न कम गरेका छैनन्।
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि