घरबेटी र डेरावालबीच पीसीआरको पर्खाल

writer

सुमित सुवेदी/उपेन्द्र अर्याल

शुक्रबार, १९ असार २०७७


–घरबेटी र डेरावालको सम्बन्ध सबैभन्दा खराब मोडमा 
–के घरबेटीहरू सरकारभन्दा ठूला हुन् ?
–वडाध्यक्ष हिटलरको आदेशः रिपोर्टबिना डेरावाललाई घरभित्र पस्न नदिनू !

ललितपुर महानगरपालिका, वडा नम्बर २०, छायबहाल टोलमा छाबहाः मंका गुथिले एउटा ठूलो फ्लेक्स टाँगेको छ । ‘जनहितमा जारी’ सूचनाको व्यहोरा यसप्रकार छः   



‘कोभिड–१९ को संक्रमणले नेपालमा पनि महामारीको रूप लिइसकेको छ  । ललितपुर महानगरपालिका वडा नं. २० छायबहाल टोलका वासी एवं बहालवालाहरूको स्वास्थ्यमा ध्यान राखी कोभिड–१९ को प्रभावकारी व्यवस्थापन नभएसम्म लकडाउनअघि वा दौरानमा काठमाडौँ उपत्यकाबाहिर जाने महानुभावहरू नफर्किन विनम्र अनुरोध गर्दछौँ । विशेष कामवश फर्किन परेमा नेपाल सरकारले व्यवस्था गरेको अनुमति पास लिएर मात्र आउनुहोला । अन्यथा, कानुनको उल्लंघन गरेको ठहरिनेछ । साथै, कोभिडको संक्रमण नभएको प्रमाण (पीसीआर वा आरडीटी टेस्ट रिपोर्ट) साथमा ल्याई आफू र अरूलाई सहयोग गरिदिनुहोला ।’

खस नेपाली भाषागत त्रुटि भए पनि यस सूचनाले हाल काठमाडौँ उपत्यकाका रैथानेहरूको मनोविज्ञान, कोरोना भाइरसका कारण फैलिएको भय र घरबेटी–डेरावासीको सम्बन्धबीचका अविश्वास र आशंकालाई प्रस्ट रूपमा बोलेको छ ।  
उपत्यकाका विभिन्न स्थान र टोल–टोलमा यस्ता सूचना टाँसिएका छन्, तुलहरू झुण्ड्याइएका छन् । स्थानीय क्लब र युवाहरू टोलमा कोही नयाँ मान्छे खास गरी बाहिरी जिल्लाबाट आएको खबर पाउनेबित्तिकै त्यहाँ पुगेर केरकार गर्न थालिहाल्छन् । ‘बहालमा बस्नेलाई मात्र होइन, घरधनीलाई पनि त्यस्ता मान्छेलाई प्रवेश नदिन धम्कीपूर्ण भाषामा सुझाव दिन्छन्,’ लेखक तथा काठमाडौँ, पुतलीसडकका स्थानीय बासिन्दा शिशिर वैद्य भन्छन्, ‘लकडाउनकै अवधिमा वडाले आफैँ पनि माइकिङ गर्दै यस्ता सूचना प्रवाह गथ्र्याे । कोही त्यस्ता मानिस भेटिए संक्रमित नभएको प्रमाण लिएर आउन भनिन्थ्यो ।’ 

सरकार भन्छ– पर्दैन 
घरबेटी भन्छन्– प्रमाणपत्र नभई हुन्न  

धादिङका रञ्जित भुजेल दुई वर्षअघि कामको सिलसिलामा काठमाडौँ आएका थिए । उनी  नैकापमा डेरा लिएर बस्थे । गत फागुनदेखि कोरोना भाइरसको संक्रमण फैलने सम्भावना बढ्न थालेपछि उनको काम पनि बन्द भयो । काम नभएपछि काठमाडौँको महँगीमा बस्न उनलाई असहज भयो ।  आफ्नै जन्मथलो धादिङ फर्किए । लकडाउनका कारण करिब तीन महिना गाउँमै बिताए । 

असार १ गतेदेखि लकडाउन खुकुलिएपछि व्यापार–व्यवसाय सुरु हुन थाले । जोर–बिजोर प्रणालीमा निजी सवारी साधन चल्न थालेका छन् । कलकारखाना, सरकारी तथा निजी कार्यालय, चोकचोकका पसल, नास्ताघर, तरकारी तथा फलफूल पसललगायत कार्यालय र स्थलमा चहलपहल हुन थालेको छ । सँगै, लकडाउनअघि र बीचमा आफ्ना जिल्ला र गाउँघर गएका मान्छेहरू काठमाडौँ छिर्ने क्रम बढ्न थालेको छ । विभिन्न पास बनाएर उनीहरू काठमाडौँ त छिर्छन्, तर घरबेटीले डेरामा बस्न नदिँदा समस्यामा परेका छन् । 

रञ्जितका साहूले काममा बोलाए । गाउँमा यत्तिकै बस्नुभन्दा काममा फर्किन्छु भनेर गत बिहीबार राजधानी आए । काममा फर्किन्छु भनेर त आए, तर आफ्नो कोठामा छिर्न पाएनन् । घरबेटीले कोरोना परिक्षण गरेर आएपछि मात्रै बस्न दिने भनेको उनले बताए । ‘घरबेटीले ‘कोरोना परीक्षण नगरी मेरो घरमा पस्नै दिन्नँ’ भने,’ रञ्जितले भने, ‘परीक्षण गर्नुनपर्ने, होम क्वारेन्टिनमै बस्नुपर्ने भनेको सुनेको थिएँ । तर, घरबेटीले कोठामा छिर्न दिएनन् ।’ उनी अहिले एक जना आफन्तकहाँ बसिरहेका छन् ।  

घरबेटीको आदेशपछि कोरोना परीक्षण गर्न रञ्जित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पुगे । तर, टेकु अस्पतालमा भीड अचाक्ली बढेपछि सरकारले परीक्षण नगर्ने, बरु १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको थियो । ‘टेकुमा परीक्षणका लागि त पुगेँ,’ उनले भने, ‘तर, परीक्षण भएन । एउटा टिकट काटेर पठाइदिए । १४ दिनभित्र लक्षण देखिए परीक्षण गर्न आउनू भनेका छन् ।’ प्रयोगशालामा पीसीआर परीक्षण नहुने, परीक्षणको प्रमाणपत्र नभई घरधनीले घरभित्र छिर्न नदिने हुँदा आफू समस्यामा परेको रञ्जितले बताए ।

उपत्यकाका हरेक स्थानीय तहमा बाहिरबाट आउने मानिसलाई घरबेटीले पीसीआर परीक्षण गरे मात्रै घरमा बस्न दिन्छन् । अन्यथा, ‘रिपोर्ट लिएर आउनू’ भनेर फर्काइदिने गरेका छन् । तर, सरकारले भने पीसीआर परीक्षण अनिवार्य 

नभएको बताएको छ । होम क्वारेन्टिनमा बसेर लक्षण देखिएमा मात्रै पीसीआर गराउन जानुपर्ने सरकारले निर्णय गरेको छ । तर, उपत्यकाका अधिकांश स्थानीय तहले सरकारको 

निर्णय मानेका छैनन् । मुख्यतः कीर्तिपुर नगरपालिका, ललितपुर र काठमाडौँ महानगरपालिकाका धेरै वडामा यो समस्या छ ।  

धेरै वडा कार्यालयले रिपोर्टबिना बाहिरबाट आएका मान्छेलाई छिर्न दिएका छैनन् । ललितपुर, वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले त घरधनीहरूका नाममा कडा सूचनै जारी गरेका थिए । ‘बाहिरबाट आएका मानिसलाई घरधनीले छिर्न दिएमा त्यस्ता घरमा ताला लगाई सिल गरिनेछ’– वडाध्यक्ष शाक्यद्वारा जारी गरिएको सूचनामा लेखिएको थियो । त्यसै गरी, काठमाडौँ महानगरका  धेरै वडाले पनि कोरोना रिपोर्ट नलिई आएका डेरावाललाई गाउँ नै फर्काइदिएका छन् । 

यस्ता झन्झटबाट बच्न उपत्यका बाहिरबाट आउने डेरावालहरू पीसीआर गर्न नसके पनि आरडीटी गरेको रिपोर्ट लिएर आउने गरेका छन् । मोहत्तरीबाट आएका रमेश महतोले घरबेटीले छिर्न नदिने डरले गाउँबाटै आरडीटी गरेर आएको बताए । ‘काठमाडौँ आएर फर्किनुभन्दा गाउँबाटै कोरोना नभएको रिपोर्ट लिएर आएको हुँ,’ उनले भने । 

उता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण नगरी  डेरामा बस्न नदिने घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘पीसीआर परीक्षण गरिरहनु पर्दैन । पीसीआर परीक्षण महँगो भएकाले सबैलाई परीक्षण गर्न सकिँदैन ।’ 

मन्त्रालयबाट जारी गरिएको ‘नेसनल टेस्टिङ गाइडलाइन्स फर कोभिड– १९’ बमोजिम उपत्यकाबाहिरबाट काठमाडौँ भित्रने व्यक्ति अनिवार्य रूपमा कम्तीमा १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नुपर्छ । उक्त अवधिमा लक्षण देखापरे मात्र अस्पताल जानुपर्ने निर्देशिकामा उल्लेख छ । अनावश्यक रूपमा पीसीआर जाँचका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दबाब नदिने व्यवस्थाका लागि मन्त्रालयबाट स्थानीय तहलाई समेत परिपत्र गरिएको छ ।

सरकारले घरधनीहरूलाई डेरावालसँग पीसीआर रिपोर्ट माग्न नहुने भने पनि उनीहरूले रिपोर्ट लिएर आउने शर्तमा मात्रै डेरावाललाई बस्न दिने गरेको पाइएको छ । वडा कार्यालयले पनि रिपोर्ट लिएर आएकालाई मात्रै आउन दिएको बताएको छ । काठमाडौँ, महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष नीलकाजी शाक्यले अहिलेसम्म उपत्यकाबाहिरबाट आएका सबैलाई कोरोना नेगेटिभ भएको रिपोर्टसहित आउन दिइएको बताए । ‘हामीले उतैबाट कोरोना नभएको रिपोर्ट लिएर आउन भन्ने गरेका छौँ,’ उनले भने, ‘रिपोर्ट लिएर नआएकालाई हामीले टेकु पठाउने गरेका छौँ ।’ तर, अहिले सरकारले टेकु प्रयोगशालामा क्वारेन्टिन नबसी परीक्षण नगर्ने भएकाले घरबेटीको निगरानीमा कोठामै होम क्वारेन्टिन बस्न लगाउने गरेको शाक्यले बताए । 

काठमाडौँ महानगरको वडा नम्बर ७ का अध्यक्ष शुद्धकुमार डंगोलले पनि बाहिरबाट आउनेलाई परीक्षण गरेर मात्र आउन अनुरोध गरिएको बताए । रिपोर्ट नहुनेलाई वडामा पस्न नदिने भन्ने आफूहरूको आशय नभए पनि स्थानीय स्तरका टोलसुधार समितिहरूले नै बाहिरबाट आउनेलाई  रिपोर्टबिना बस्न नदिने गरेको डंगोलले बताए । ‘हामीले सुरु–सुरुमा त आफैँ आरडीटी पनि गरिदियौँ,’ उनले भने, ‘अहिले त त्यो पनि छैन । स्थानीय समितिहरूले नै कोरोना संक्रमण नभएको रिपोर्टबिना बाहिरका मान्छेलाई छिर्न दिँदैनन् । वडाले यसमा खासै हस्तक्षेप गर्दैन ।’ 

उता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण नगरी  डेरामा बस्न नदिने घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘पीसीआर परीक्षण गरिरहनु पर्दैन । पीसीआर परीक्षण महँगो भएकाले सबैलाई परीक्षण गर्न सकिँदैन ।’ 

मन्त्रालयबाट जारी गरिएको ‘नेसनल टेस्टिङ गाइडलाइन्स फर कोभिड– १९’ बमोजिम उपत्यकाबाहिरबाट काठमाडौँ भित्रने व्यक्ति अनिवार्य रूपमा कम्तीमा १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नुपर्छ । उक्त अवधिमा लक्षण देखापरे मात्र अस्पताल जानुपर्ने निर्देशिकामा उल्लेख छ । अनावश्यक रूपमा पीसीआर जाँचका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीलाई दबाब नदिने व्यवस्थाका लागि मन्त्रालयबाट स्थानीय तहलाई समेत परिपत्र गरिएको छ ।

कि रिपोर्ट, कि क्वारेन्टिन 
उपत्यकाका जनप्रतिनिधिहरू बाहिरबाट आउनेलाई बिनारिपोर्ट बस्न नदिने गरेको स्वीकार गर्छन् । ललितपुरका मेयर चिरीबाबु महर्जनले कोरोना नभएको रिपोर्ट लिएर आउनेलाई मात्र  बस्न दिने गरेको स्वीकार गरे । ‘हामीले त उपत्यकाका तीन वटै जिल्लाका सीडीओसँग छलफल गरेर यस्तो निर्णय गरेका हौँ,’ उनले भने, ‘सबै वडाले रिपोर्ट अनिवार्य गरेका छन् ।’ तर, अहिले प्रयोगशालामा तुरुन्त परीक्षण नभएको सन्दर्भमा भने अनिवार्य क्वारेन्टिन बस्नुपर्ने उनले बताए । ललितपुर महानगरपालिकाको आफ्नै करिब तीन सय शड्ढयाको क्वारेन्टिन भएको हुँदा समस्या नहुने उनको भनाइ छ । ‘हामीसँग क्वारेन्टिनको राम्रो व्यवस्था छ,’ मेयर महर्जनले भने, ‘बाहिरबाट आएका मान्छे अनिवार्य हाम्रो क्वारेन्टिनमा बस्नुपर्छ ।’ क्वारेन्टिनमा नबसी वा रिपोर्ट नदेखाई उपत्यकाबाहिरका मान्छेलाई डेरामा बस्न नदिइने उनले बताए । ‘क्वारेन्टिनमा बस्न सहमत भए रिपोर्ट ल्याउन बाध्य पारिनेछैन,’ उनले भने । 

उपत्यकाका सबै स्थानीय तहसँग आफ्नै क्वारेन्टिन छैन । जोसँग छ, पर्याप्त र सुविधासम्पन्न छैन । काठमाडौँ महानगरपालिकासँगै क्वारेन्टिनको उपलब्धता छैन । कीर्तिपुर नगरपालिकामा क्वारेन्टिन भए पनि त्यो पर्याप्त नभएको मेयर रमेश महर्जनले जानकारी दिए । ‘हामीसँग उपत्यकाबाहिरबाट आउने मानिसका लागि क्वारेन्टिनमा राख्ने क्षमता छैन,’ महर्जनले भने, ‘भएको सानो क्वारेन्टिन पनि विदेशबाट आउनेका लागि निर्माण गरिएको हो । त्यसैले हामीले बाहिरबाट आउनेलाई रिपोर्ट लिएर आउन भन्ने गरेका हौँ ।’ 

कीर्तिपुरमा घना बस्ती भएकाले डेरामा बस्नेलाई होम क्वारेन्टिनमा बस्न लगाउन समस्या भएको मेयर महर्जनले बताए । ‘कोरोना परीक्षणको रिपोर्ट नलिई आउँदा हामीलाई समस्या छ,’ उनले भने, ‘एउटै घरमा धेरै परिवार बस्छन् । सबैको ट्वाइलेट, बरन्डा, प्यासेज एउटै हुन्छ । यस्तोमा सुरक्षा हुँदैन । त्यसैले हाम्रोमा होम क्वारेन्टिनको व्यवस्था उचित छैन ।’ तर, अहिले नगरपालिकाले डेरामा बस्ने मानिसलाई आउनुपरेमा सम्बन्धित घरधनीसँग सल्लाह गरेर मात्र आउन भन्ने गरेको मेयर महर्जनले बताए । ‘हामीले भरसक कोरोना नेगेटिभ रिपोर्ट लिएर आउन भनेका छौँ,’ उनले भने, ‘सकिँदैन भने होम क्वारेन्टिन बस्न घरधनीसँग सल्लाह गरेर मात्र आउन भनेका छौँ ।’ 

कीर्तिपुर नगरपालिका, वडा नम्बर ३ का वडाध्यक्ष राजेन्द्र महर्जनले पीसीआर रिपोर्ट भए पनि १४ दिन क्वारेन्टिन नबसी भित्र छिर्न नपाइने बताए । ‘बाहिरबाट आएको व्यक्ति १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्छ,’ उनले भने, ‘क्वारेन्टिनमा बसेको १४ दिनपछि पुनः पीसीआर परीक्षण नगरेसम्म वडाभित्र छिर्न पाइनेछैन ।’ पीसीआर टेस्टमा पहिला नेगेटिभ देखिए पनि यहाँसम्म आइपुग्दा कोरोना संक्रमित भएको हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर यस्तो व्यवस्था गरिएको उनले बताए । ‘राज्यले क्वारेन्टिनको व्यवस्था गरे पनि, नगरे पनि व्यक्तिगत रूपमा क्वारेन्टिनमा भने बस्नैपर्छ,’ उनले भने । कीर्तिपुर नगरपालिकामा बस्ने डेरावालले आफू बस्ने टोलका स्थानीय बासिन्दाको अनुमतिबिना आउन नहुने उनले बताए । ‘यहाँका स्थानीयले जहाँ बसेको हो त्यहीँ बस, यहाँ नआऊ भन्छन्,’ वडाध्यक्ष महर्जनले भने, ‘तीनचार दिनअघि मात्रै बाहिरबाट आउने दुई जनालाई लोकल मान्छेले हूलदंगा गरेर फर्काए । 

एक रात बस्न आएको पाहुनाका कारण खुकुरी हानाहानको स्थिति आएको थियो । यसमा हामी केही पनि गर्न सक्दैनौँ ।’ 

वडाध्यक्ष महर्जनले स्थानीय बासिन्दाको विचार नबुझी मन्त्री परिषद्ले निर्णय गर्नाले समस्या आएको आरोप लगाए । ‘राज्यले सूचना मात्र जारी गर्‍यो,’ उनले भने, ‘समाजको स्थिति के छ, कोरोनाको आतंक कस्तो छ, मान्छेको बुझाइ के छ भन्ने कुरा बुझ्ने कोसिससम्म राज्यले गरेन ।’ 

काठमाडौँ महानगरपालिकामा पनि रिपोर्ट लिएर आउनेलाई मात्र स्थानीयले बस्न दिने गरेको उपमेयर हरिप्रभा खड्गीले बताइन् । तर, अहिले सरकारले रिपोर्ट नमाग्नू भनेकाले उपत्यकाबाहिरबाट आउनेले होम क्वारेन्टिनमा भने बस्नुपर्ने उनको भनाइ छ । ‘हामीले अहिलेसम्म रिपोर्ट लिएर आएकालाई मात्रै बस्न दिएका थियौँ,’ उपमेयर खड्गीले भनिन्, ‘१४ दिनको होम क्वारेन्टिनपछि मात्रै परीक्षण हुने भएपछि अनिवार्य क्वारेन्टिन बस्नुपर्‍यो । यसका लागि घरधनीले बस्न नदिने भनेर हुँदैन, बस्न दिनुपर्छ । यदि १४ दिनमा लक्षण देखिएमा परीक्षण गराउनुपर्छ ।’ तर, घरधनीहरूले रिपोर्टबिना घरभित्र पस्नै नदिने गरेको भन्ने डेरावालको गुनासोमाथि उनले यति मात्रै टिप्पणी गरिन्, ‘यसमा हामीले गर्न सक्ने केही पनि छैन ।’ 

टेकुमा परीक्षण आकांक्षीको भीड 
गत शुक्रबार टेकु अस्पतालमा घरधनीका कारणले कोरोना रिपोर्ट लिन आउने डेरावालको संख्या अत्यधिक थियो । मानिसहरू निथ्रुक्क पानीमा भिजेर टिकट काट्न लाइनमा बसिरहेका थिए । परीक्षणका लागि ३० रुपैयाँको टिकट काटिसकेपछि ‘मलाई ग्रिन हैन, रेड चिट दिनुस्’ भनेर सोधपुछमा बसेका कर्मचारीसँग झगडै गर्नेको कमी थिएन । उता डाक्टरहरू लक्षण र ‘हिस्ट्री’ बुझेपछि ‘तपाईंलाई कुनै लक्षण छैन, पीसीआर टेस्ट गर्नुपर्दैन, १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नुहोस्, लक्षण देखिए आउनुहोला’ भन्दै उनीहरूलाई फर्काइरहेका थिए । 

एकातिर घरधनीले पीसीआर रिपोर्टबिना पस्न नदिने, अर्कातिर लक्षणबिना अस्पतालले पीसीआर टेस्ट नगर्ने ! डेरावालहरू बीचमा पिसिएका छन् । उनीहरू न गाउँ फर्किन सक्छन्, न डेरामा बस्न पाउँछन् । दैनिक एक हजारभन्दा बढी व्यक्ति घरबेटीका कारण पीसीआर परीक्षण गर्न अस्पताल पुगेपछि बाध्य भएर गृह मन्त्रालयले सूचना निकाल्यो । पीसीआर रिपोर्ट लिन दबाब दिने घरबेटीलाई कारबाही गर्ने सूचना 

निकालेपछि रिपोर्ट लिन आउने मानिसहरूको चाप केही घटेको भने छ । शुक्रबार स–साना दुई छोरी र श्रीमान्सहित अत्तालिँदै टेकु अस्पताल पुगेकी थिइन्, मकवानपुर स्थायी घर भई हाल कलंकी, खसीबजार बस्दै आएकी दीप्तिका लामा । मकवानुरको पालुङबाट पास बनाई आएका उनीहरू सीधै डेरामा पुगेमा थिए । तर, घरबेटीले कोरोना नेगेटिभवाला पीसीआर रिपोर्ट नदेखाई घरभित्र छिर्नै दिएनन् । त्यसपछि उनी सपरिवार टेकु अस्पताल पुगेकी थिइन् । उनी पुग्दा अस्पतालको काउन्टर बन्द भइसकेको थियो । उनले ‘अन्नपूर्ण सम्पूर्ण’सँग निराशा पोखिन्, ‘पीसीआर रिपोर्ट नभएसम्म ‘मेरो घरमा नआउनू’ भनेका छन्, घरबेटीले । अब यी बालबच्चासहित म कता जाऊँ ? सरकारले रिपोर्ट चाहिँदैन भन्दा पनि घरबेटीले टेर्दैनन् । के घरबेटीहरू सरकारभन्दा पनि ठूला हुन् ?’ उनको प्रश्न थियो । 

घरबेटीका कारण पीसीआर परीक्षण गराउन पुगेको भीडलाई केही हप्तादेखि टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबाहादुर पुन अवलोकन गरिरहेका छन् । ‘लकडाउन खुकुलो भएपछि यहाँ भीड अत्यधिक बढ्यो,’ उनले भने, ‘धेरैको समस्या एउटै हुन्थ्यो, घरबेटीले पीसीआर टेस्टबिना भित्र छिर्न दिएनन् भन्ने ।’ त्यस भीडलाई कम गर्न टेकु अस्पतालले सूचनै निकाल्यो । तर, परीक्षण आकांक्षीको चाप घटेन । पछि गृह मन्त्रालयले पत्र निकाल्यो । त्यसपछि भने भीड केही कम भएको डा. पुनले बताए । ‘तर, अझै पनि घरबेटीले पीसीआर टेस्टको रिपोर्ट माग्न नछाडेकाले अस्पताल आउने डेरावालको संख्या उल्लेख्य छ,’ उनले भने, ‘यता अस्पतालले पनि परीक्षण गर्न नसक्ने, उता घरबेटीलाई रिपोर्ट नै चाहिने भएकाले धेरै डेरावाल घरका न घाटका भएका छन् ।’ नेपालमा एक त पीसीआर परीक्षण किटको कमी भएको बताउँदै डा. पुनले भने, ‘वास्तविक जोखिम भएको समूहलाई परीक्षण गर्नुको सट्टा घरबेटीको दबाबमा आएकाको परीक्षण गर्ने हो भने किटको दुरुपयोग हुन जान्छ । आखिर संक्रमित व्यक्ति पनि क्वारेन्टिनमै बस्ने हो । त्यसैले घरबेटीले ‘कोठाबाट बाहिर ननिस्क’ भनेर होम क्वारेन्टिनमा बस्न दिनुपर्छ । डेरामा बस्नेलाई अलपत्र पार्नु हुँदैन ।’ 

कोरोना भयले सम्बन्धमा अविश्वास 
दैनिक सयौँ डेरावाल टेकु अस्पतालको चक्कर काट्ने गर्छन् । कतिपयले त काठमाडौँ आएको १५ दिन भइसक्दा पनि घरबेटीले छिर्न नदिएको गुनासो गरे । यस्तै समस्या लिएर टेकु अस्पताल पुगेका थिए, राजु घतानी । उनी १५ दिनपहिले नै दोलखास्थित आफ्नो घरबाट निस्केका थिए । घरबेटीले पस्न नदिने पो हुन् कि भन्ने आशंकाले उनले आरडीटीसमेत गराएर आएका थिए । तर, भक्तपुर, सल्लाघारीस्थित आफ्नो डेरामा पुग्दा घरबेटीले उनलाई भित्र पस्न दिएनन् । ‘घरबाट सीधै कोठामा पुगेको थिएँ,’ उनले भने, ‘आरडीटी गरेको रिपोर्ट पनि देखाएँ । तर, घरबेटीले ‘यसले हुँदैन, पीसीआरको रिपोर्ट चाहिन्छ, लिएर आऊ’ भनेर फर्काए ।’ 

राजु हाल एक जना आफन्त पर्ने भाइको कोठामा बसिरहेका छन् । त्यहाँबाटै अफिस आउजाउ गरिरहेका छन् । भाइको कोठामा बसेको १५ दिन पुगेपछि अब कोठामै बस्छु भनेर पुगेका उनलाई घरबेटीले फेरि पस्न दिएनन् । ‘घरबेटीले उल्टै थर्काएर पठाए,’ राजुले भने, ‘‘तिमी आएको थाहा पाए भने वरिपरिकाले हामीलाई पनि क्वारेन्टिनमा राख्छन्, बरु तिमी आएको हामी कसैलाई भन्दैनौँ, पीसीआरको रिपोर्ट लिएर मात्र आऊ’ भनेर फर्काइदिए ।’ 

राजु त्यस घरमा बस्न थालेको पाँच वर्ष भयो । पाँच वर्ष त के हो र, १६ वर्षदेखि एउटै डेरामा बस्दै आएका पुरन राजवंशीलाई पनि घरबेटीले भित्र छिर्न दिएनन् । उनी सात दिनअगाडि इटहरीबाट काठमाडौँ आएका थिए । ‘इटहरीबाट आएपछि सीधै कोठामा पुगेँ, तर छिर्न दिएनन्,’ उनले भने, ‘हाल आफन्तकोमा बसेको छु ।’ पीसीआर परीक्षणका लागि टेकु अस्पताल पुगेका उनले चित्त दुखाउँदै भने, ‘एक दिन त सडकमै सुत्न बाध्य भएँ । १६ वर्षदेखि बसेको घरले मलाई भरोसा गरेन । गाउँबाट झोलाभरि कोरोना लिएर फर्केको जस्तो व्यवहार गरे, घरबेटीले । ‘पीसीआरको रिपोर्ट नलिई मेरो घरमा नआउनू’ भनेका छन् । 

डेरावालसँग पीसीआर रिपोर्ट माग गर्ने अधिकांश घरबेटीले ‘स्थानीय बासिन्दाले किचकिच गर्ने’ बहाना बनाउने गरेका छन् । रामेछाप घर भई हाल बालकुमारी, ललितपुर बस्दै आएका भक्तबहादुर अधिकारी असार ७ गते उपत्यका छिरेका थिए । जताततै पीसीआर रिपोर्ट नभई घरमा छिर्न दिँदैनन् भन्ने सुनेका उनी साथीको कोठामा बस्न गए । असार १२ गते आफू बस्ने कोठामा पुगेका अधिकारीलाई छिमेकीको बहानामा घरबेटीले पीसीआर रिपोर्ट मागे । ‘१२ गते म रुममा पुगेँ,’ उनले भने, ‘तर, घरबेटीले ‘छिर्न त दिन्छु, तर स्थानीयले रिपोर्ट नभई कसैलाई नछिराउनू’ भनेका छन्, रिपोर्ट लिएर आऊ’ भनेर प्रेसर दिए ।’ गत शुक्रबार टेकु अस्पतालमा पीसीआर टेस्टका लागि पुगेका उनलाई डाक्टरहरूले परीक्षण गर्न नपर्ने भन्दै फर्काइदिएका थिए । 

त्यसै गरी, ग्वार्को, ललितपुर बस्ने जानुका श्रेष्ठ पनि पीसीआर टेस्ट गरिमाग्न टेकू अस्पताल पुगेकी थिइन् । उनलाई घरबेटीले कोठामा छिर्न त दिएछन्, तर छरछिमेककाले गुनासो गरेको भन्दै कोरोना रिपोर्ट लिएर आउन दबाब दिएको उनले बताइन् । ‘कोठामा बस्यौँ, केही भनेका थिएनन्,’ जानुकाले भनिन्, ‘दुईतीन दिनपछि एक्कासि घरबेटीले ‘छिमेकबाट दबाब आयो, पीसीआर रिपोर्ट लिएर आउनू, नत्र हामीलाई पनि बाहिर निस्किन दिँदैनन्’ भनेपछि बाध्य भएर टेस्ट गर्न आएकी छु ।’ 

घरबेटीका आफ्नै तर्क, आफ्नै समस्या  
रहरले नभई करले पीसीआर रिपोर्ट माग्नुपरेको मध्यपुर थिमि नगरपालिकाका घरधनी मीनबहादुर प्रजापतिले बताए । ‘कसैलाई बाहिरबाट हेरेर कोरोना छ वा छैन भन्न सकिँदैन,’ उनले भने, ‘रहेछ भने त घरमा बूढी आमा हुनुहुन्छ । साना केटाकेटी छन् । उनीहरूको ज्यानलाई त खतरा भयो नि ।’ परिवारलाई संक्रमण होला भन्ने भयले निर्धक्क भएर कसैलाई पनि घरमा छिराउन नसकेको उनले बताए । ‘अब कोठामै आएर बस भनौँ भने पनि त्यो मान्छे तरकारी लिन बाहिर त अवश्य निस्किन्छ, ’ उनले भने, ‘त्यस्तो समयमा कतै समाजमै कोरोना फैलिने त हैन भन्ने डर पनि हुने रहेछ ।’ 

मीनबहादुरले घरबेटीका रूपमा आफू ठूलो धर्मसंकटमा परेको बताए । ‘घरमा छिर्न नदिऊँ त लामो समय बसेका, परिवारका सदस्यजस्तै डेरावाल छन्,’ उनले भने ‘दिऊँ भने कतै परिवारकै ज्यान जोखिममा त पारिएन भन्ने डर हुन्छ । हामी त ठूलो धर्मसंकटमा परेका छौँ ।’ डेरामा बस्नेले १४ दिनसम्म घरमै क्वारेन्टिनमा बस्ने ग्यारेन्टी दिए कोठामा बस्न दिन आफू तयार भएको उनले प्रस्ट पारे । ‘तर, उसको माध्यमबाट हाम्रो परिवार वा समाजमा कोरोना फैलिनु भने भएन । यसको ग्यारेन्टी भने उसले गर्नैपर्छ ।’

कीर्तिपुर नगरपालिकाका घरबेटी महेश महर्जनको समस्या भने छुट्टै छ । उनले समाजको डरले डेरावाललाई घरमा बस्ने अनुमति दिन नसकेको बताए । ‘मलाई पनि थाहा छ, म पनि डेरावालको समस्या बुझ्छु,’ उनले भने, ‘तर, समाजका मान्छेले ‘यदि कसैलाई छिराइस् भने तेरो घरमा पनि ताला लगाइदिन्छौँ’ भन्छन् । हामी के गरौँ ?’ उपत्यकाबाहिरबाट आएका कसैलाई कोठामा बस्न दियो भने समाजले बहिष्कार गर्ने उनले बताए । ‘समाजले बहिष्कार गर्ने डरले कसैलाई छिर्न दिएका छैनौँ,’ उनले भने, ‘यदि कसैले मलाई कोरोना लागेको छैन भन्ने पुष्टि गर्छ भने हामीलाई समस्या छैन । कसैले औँला उठाउन पनि सक्दैन । चेक गरेपछि व्यक्ति स्वयंलाई पनि ढुक्क हुन्छ ।’


‘घरबेटी न डेरावाल दोष कोरोनाको हो’  

नेत्र ओझा, समाजशास्त्री 
घरबेटी र डेरावालको सम्बन्ध अहिले जस्तो देखिएको छ, त्यसलाई खास सन्दर्भमा हेरिनुपर्छ । हालको पृथक् सन्दर्भमा कुनै एक पक्षलाई दोष दिनु हुँदैन । 

कोरोना प्रकोप मानव समुदायका निम्ति नयाँ घटना हो । मान्छेलाई नयाँ परिस्थिति बुझ्न गाह्रो भएकाले घरबेटी र डेरावाल दुवै पक्षमा यस्तो खटपट आएको हो । राज्यको नीति नै भौतिक र व्यक्तिगत दूरी पालन गर्नुपर्छ भन्ने रहेकाले यसले आम जनसमुदायमा ठूलो प्रभाव पारेको छ । यो संकटको घडीमा घरबेटीका आफ्नै बाध्यता छन्, डेरावालका आफ्नै समस्या छन् । घरबेटी नै अन्य जिल्लामा निस्किएको र घर फर्किंदा उसलाई पनि वरिपरिको समुदायले समस्यामा पारेको देखिन्छ । त्यसैले यस्ता कुरामा कुनै निश्चित समुदाय र वर्गलाई दोष दिनुभन्दा पनि मिलेर अगाडि बढ्नुपर्छ । 

राज्यले बनाएको नीति नै स्पष्ट नभएकाले यसले दुई पक्षबीच खाडल सिर्जना गरेको छ । राज्यका तर्पmबाट ठूलो कमजोरी भएको छ । विशेष परिस्थितिमा मान्छेको सोच्ने तरिका पनि विशेषै हुन्छ । यस्ता समस्यालाई कसरी हल गर्ने भनेर राज्य नै अगाडि सर्नुपर्छ । 

‘पीसीआर रिपोर्ट लिएर आऊ’ भन्नुमा घरबेटीको न कुनै आर्थिक चलखेल देखिन्छ, न कुनै पूर्वाग्रह । समाचारदेखि राज्यका विभिन्न अंगद्वारा जनताको दिमाग हेजिमोनाइज्ड गरिएको छ । यही डरको कारणले उनीहरूको सम्बन्धमा दरार सिर्जना भएको हो । न घरबेटी, न डेरावाल, दोष त कोरोनाको हो । 

यो महामारी लामो समयसम्म रह्यो भने यसले घरबेटी र डेरावालको मात्र नभएर सबै सम्बन्धमा आमूल परिवर्तन ल्याउँछ । संयुक्त परिवारमा पनि खटपट ल्याउँछ । सामाजिक मात्र होइन, सांस्कृतिक रूपमै ठूलो परिवर्तन आउन सक्छ । 


‘काठमाडौँका घरबेटी एट्टिट्युडवाला छन्’

प्रमोद भट्ट, समाजशास्त्री 
कोरोना भाइरसले घरबेटी र डेरावालको सम्बन्ध दीर्घकालीन रूपमै बिगार्ने देखिएको छ । कोही–कोही त केसम्म भन्छन् भने यी दुईको सम्बन्ध सबैभन्दा खराब मोडमा आइपुगेको छ । तर, काठमाडौँका घरबेटी र डेरावालको सम्बन्ध विगतमा पनि त्यति राम्रो थिएन । काठमाडौँका रैथाने समुदायहरू ‘हामी नै सर्वेसर्वा हौँ’ भन्छन् । बाहिरबाट आउने मान्छे हाम्रा लागि कोही होइनन् भन्ने प्रवृत्तिले बेलाबेलामा समस्या देखिने गरेका छन् । विकसित देशमा बाहिरबाट आउने प्रवासीलाई जुन व्यवहार गरिन्छ, काठमाडौँले पनि उपत्यकाबाहिरबाट आउनेलाई त्यस्तै खालको व्यवहार गरेको देख्न सकिन्छ । 

मान्छेहरू विभिन्न बाध्यताले काठमाडौँ आएका हुन्छन् । यता काठमाडौँका रैथाने भने उनीहरूलाई धाक देखाउँछन् । यसलाई हामी दास मानसिकता पनि भन्न सक्छौँ । 

यस्ता घटना काठमाडौँ उपत्यकामा मात्र सुनिने गरेका छन् । काठमाडौँबाहिरका शहरमा यस्ता घटना कहिल्यै सुनिँदैनन् । यसले पनि काठमाडौँका घरबेटीहरूमा केही बढी एट्टिट्युड भएको देखाउँछ ।

काठमाडौँबाहिरबाट आएका मान्छेले उपत्यका बिगारे भन्ने बहस पनि बेला–बेलामा सुन्ने गरिन्छ । यस्ता आरोप यहाँ परापूर्वकालदेखि बस्दै आएका रैथानेले लगाउने गरेका छन् । काठमाडौँको आफ्नै सभ्यता थियो, बाहिरका मान्छेले बिगारे भन्ने सुनिन्छ । बाहिरबाट आएर यहाँ शासक वर्गमा उक्लेका मान्छेले बिगारे पनि होलान् । तर, गरिखानका लागि काठमाडौँ आउनेले के बिगारे होलान् र ? काठमाडौँले आफ्नो आर्थिक आधार नै बाहिरका मान्छे हुन् भन्ने कुरा कहिल्यै स्वीकार गरेन । 

घरबेटी र डेरावालको सम्बन्ध पहिलेदेखि नै त्यति गतिलो थिएन । यसमा शक्तिसम्बन्धको पनि कुरा आउँछ । पहिले कोठामा बस्नेले धेरै पानी प्रयोग गरे, पाहुना बढी बोलाए भनेर निकालेको पनि सुनिन्थ्यो । अहिले संकट देखियो र यी दुई बीचका समस्या सतहमा देखिएका छन् । समस्या भने पहिल्यैदेखि थिए ।

अहिले एक्कासि यस्तो समस्या आउनुमा गलत सूचना प्रवाह पनि जिम्मेवार छ । राज्य तहबाट स्पष्ट सन्देश प्रवाह गर्न सकेको भए यस्ता समस्या देखिने थिएनन् । घरबेटीहरूमा डरको मनोभाव छ । ‘मेरो परिवार र मलाई कोरोना लाग्छ कि’ भन्ने भयग्रस्त मनोविज्ञानले घरबेटी र डेरावालको सम्बन्ध खुम्चिएको देखिन्छ । 


‘सरकार नालायक भएपछि जनताको मन भयग्रस्त हुन्छ’

गोपीलाल न्यौपाने, मनोविद् 
कोरोनाको विषयमा जेजति जानकारी र सूचना बाहिर आए, तिनले मानिसलाई आतंकित बनाएका छन् । यस्ता कुराले मानिसको दिमागमा गहिरो प्रभाव पार्छ । ‘कोरोना संक्रमितको नजिक जानु हुँदैन, नजिक मात्र पर्‍यो भने पनि कोरोना लागिहाल्छ’ भन्ने जस्ता प्रचारले मान्छेहरूको ‘लङ टर्म मेमोरी’मा गएर सेट भएको छ । यथार्थ एकातिर छ, त्यसको प्रचार गलत ढंगले भयो । यथार्थ के हो भने संसारभरि एक करोडभन्दा बढी केस छन् । पाँच लाख मान्छेको ज्यान गएको छ । त्यसको मलतब जम्मा पाँच प्रतिशत संक्रमितको मृत्यु भएको छ । पाँच प्रतिशतमा पनि पहिलेदेखि नै औषधि सेवन गर्दै आएका दीर्घरोगी बढी छन् । यो तथ्य मान्छेहरूलाई न सरकारले बुझाउन सक्यो, न मिडियाले नै । उल्टै सरकार कोरोनाले भयावह स्थिति ल्याउँछ भन्ने प्रचार गर्न पुग्यो । सरकार जनतामैत्री हुन सकेन । उसका कामहरू उत्साहजनक भएनन् । त्यसको प्रभाव घरबेटीमा पनि पर्‍यो, डेरावालमा पनि पर्‍यो । सरकार नालायक भएपछि जनताको मन भयग्रस्त हुन्छ ।  

दोस्रो कुरा हो– ‘ग्रुप थिङ्किङ’ । यसले कसरी काम गर्छ भने कुनै समूहले एक भएर एउटा विचार वा मानसिकता तयार गर्छन्, एउटा अनुशासन बनाउँछन् । त्यसमा अरू कोही छिर्न खोज्यो वा उनीहरूको मापदण्ड भंग भयो भने विवाद निस्कन्छ । अहिले डेरावाला र घरबेटीको बीचमा पनि त्यही देखिएको छ । उनीहरूको सम्बन्धमा ग्रुप थिङ्किङले काम गरेको देखिन्छ । घरबेटी–घरबेटी मिलेर एउटा नियम बनाए । उनीहरूले बनाएको मापदण्डमा डेरावालहरू छिर्न आएको उनीहरूलाई महसुस भयो । त्यसैले ‘पस्न दिँदैनौँ’ भन्न थाले । डेरावाल भनेका घरबेटीको आश्रयमा जाने व्यक्ति हुन् । त्यसैले घरबेटीले उनीहरूलाई नियम लगाउन सक्ने भए । 

तेस्रो कुरा, ज्ञानको अभावले पनि हो । कोरोना लागेको मान्छे वास्तवमा आइसोलेसनमै बस्ने हो । चाहे त्यो सरकारले बनाएको कोरोना अस्पतालमा बसोस्, चाहे होटलमा बसोस् वा आफ्नै कोठामा । ऊ कोठामा रहँदा अन्य कोठाको व्यक्तिलाई सार्ने कुरा त आउँदैन । घरको कोठा पनि एउटा सेल्फ क्वारेन्टिन हो । तर, यो कुरा यहाँका घरबेटीहरूले बुझेको देखिएन । ढोकाभित्र पस्यो कि कोरोना सर्‍यो भन्ने मानसिकताले समस्या उब्जिएको देखिन्छ । यतिसम्म कि कसैलाई कोरोना लागेको छ भने वरिपरिका मान्छेहरू आतंकित हुन्छन् । यी सबै कुरा चेतनाको अभावले भएका हुन् । यसलाई सरकार र मिडियाले बुझाउन सक्नुपर्छ । 

संकटको समयमा डेरावालको समस्या घरबेटीले बुझ्नु आवश्यक छ । आज काठमाडौँका घरबेटीले डेरावाललाई बस्न दिएनन् भने भोलि काठमाडौँमा मान्छे आउन छोड्छन् । उपत्यकाका कतिपय घरबेटीको आर्थिक आधार नै भाडा हो । त्यस्तै, काठमाडौँमा मान्छे आएनन् भने व्यवसायहरू कसरी चल्छन् ? 

अहिले सबैमा कोरोनाको डर छ । घरबेटीमा त्यो डर अन्यमा भन्दा बढी देखिएको छ । सरकारले पनि आतंकित पार्ने ढंगले डर पैदा गराएको छ । आफू काम नगर्ने, अनि जनतालाई त्रस्त पारेर घरभित्रै थुन्ने काम गरेको देखिन्छ । त्यसैले यो प्रवृत्तिले घरबेटीमा डरको साइकोलोजी बनेकाले यस्ता समस्या देखिएका हुन् ।


‘डेरावालले सीधै घरबेटीलाई सोधेर आउनुपर्‍यो’  

रमेश महर्जन, मेयर, कीर्तिपुर नगरपालिका
उपत्यकाबाहिरबाट आउने मानिसलाई हामीले अहिले अनिवार्य रिपोर्ट लिएर आउनुपर्छ भन्न  मिलदैन । अहिले सरकारले होम क्वारेन्टिनको अवधारण लिएर आएको छ । यो निर्णयभन्दा अगाडि चाहिँ हामीले रिपोर्ट लिएर आउनेलाई मात्रै बस्न दिएका थियौँ । 

तर, होम क्वारेन्टिनको अवधारणा हाम्रो नगरमा उपयुक्त हुँदैन । किनकि, यहाँ एकदमै घना बस्ती छ । एउटै घरमा धेरै परिवार बस्छन् । घरको ट्वाइलेट, बाथरुम, बरन्डा, प्यासेज सबैले 

प्रयोग गर्ने एउटै हुन्छ । यस्तो अवस्थामा बाहिरबाट आउने मानिसहरू आफ्नै कोठामा बस्दा पनि सबैसँग घुलमिल हुने भए । यदि आउने मान्छे संक्रमित रहेछ भने अन्यमा पनि संक्रमण हुने डर भयो । यहाँ यति समय सुरक्षित बसेका मानिस पनि जोखिममा हुने अवस्था छ । त्यसैले हामीलाई अहिले यस्तो अवधारणा नै मुख्य समस्या भएको छ । 

हाम्रो नगरमा सबै घरधनीले पीसीआर रिपोर्टबिना डेरावाललाई बस्न दिँदैनौँ पनि भनेका छैनन् । केहीले घरमा एउटा कोठा मात्रै प्रयोग गर्न दिएर छुट्टै बस्ने व्यवस्था पनि गरिदिएका छन् । तर, सबै घरहरूमा छुट्टै कोठा र शौचालयको व्यवस्था छैन । यस्तो व्यवस्था नहुने घरधनीले आउन चाहने डेरावालसँग रिपोर्ट मागेका हुन । किनकि, उनीहरू पनि संक्रमणको जोखिममा पर्न सक्छन् । यसको जिम्मेवारी कसले लिने ? मैले भन्नुपर्दा अहिले उपत्यकाबाहिरबाट डेरामा फर्किनु छ भने घरबेटीसँग सोध्नुपर्छ । यदि घरधनीले सुरक्षित भएको महसुस गर्छ, ‘आउनू’ भन्छ । अनि मात्रै बाहिरका मान्छेले आउनु उपयुक्त हुन्छ । अन्यथा, आफन्तकोमा कतै छुट्टै क्वारेन्टिनमा बसेर आउनुपर्‍यो । हाम्रोतर्फबाट आउन चाहनेलाई न सहयोग हुन्छ, न अवरोध । सीधै घरबेटीसँगको सहकार्यमा आउनुपर्‍यो । 

क्वारेन्टिनमा राख्नका लागि हामीसँग सीमित स्रोत छ । दिनको एकदुई सय जना मान्छे आउँछन् । सबैलाई हामी क्वारेन्टिनमा राख्न सक्दैनौँ । हाम्रो करिब दुई सय क्षमताको क्वारेन्टिन छ । तर, यसमा विदेशबाट आएकालाई प्राथमिकता दिएका छौँ ।

तपाईको कमेन्ट