‘राजधानी फर्किनु  अपराधसरी भएको छ’

writer

अञ्जानबाबु, गायक

शुक्रबार, १९ असार २०७७


तीन महिनापछि घर पर्वतबाट काठमाडौँ जाने तयारी चल्दै थियो। लुगाफाटो राख्ने झोलासकेसम्म सानो बनाउन खोज्दै थिएँ। लकडाउनको बेला यसै पनि मान्छेदेखि मान्छे त्रस्त हुने अवस्था थियो। झन् ठूलो झोला बोकेको मान्छे देखिए ‘यो लामो यात्रा गरेर आएको मान्छे हो’ भन्ने पथ्र्यो सबैलाई। आँट गरेर ठूलो झोला बोकेर पोखरातर्फ लागेँ।

असार ५ गते बिहान ६ बजे रानीपौवास्थित गोदामघरबाट सामानहरू बोकेर हामी चढेको ट्रक अगाडि बढ्यो। ट्रकमा खाद्यान्न र मेसिनरी सामान थिए। गुरु थिए, मेरा साथी राजन। सहचालक थिएनन्। मलाई राजनले ‘बाटोमा पुलिसले सोध्यो भने गाडीकै स्टाफ भन्नू, है’ भनेर सिकाए। दर्शन ट्रान्सपोर्टका सामानहरू ठाँउठाँउका पसलमा छाड्दै, भाडा उठाउँदै गरेँ। दुलेगौडा, दमौली, मुग्लिङ, मलेखुलगायत धेरै ठाँउमा सामान झार्दै हिँड्दा मेरो हालत साँच्चै एक जना अनुभवी सहचालकको जस्तै भएको थियो। 

हामीसाँझ ५ बजे नागढुंगा आइपुग्यौँ। काठमाडौँ खाल्डोभित्र छिर्दा लडाइँ नै जितेको अनुभव भयो। मैले सोचेभन्दा धेरै फरक भएछ, यहाँको जीवन। मान्छेहरूले खासै अरूलाई वास्ता गरेजस्तो लाग्दैनथ्यो। तर, जब डेरा पुगेँ, मान्छेहरू सशंकित भएर हेर्न थाले। मानौँ, ठूलै अपराध गरेर आएको अपराधी हुँ म। घरबेटी दिदीले बोलाएर १० मिनेट क्लास दिनुभयो–‘ट्वाइलेट भुइँतलाको प्रयोग गर्नू, माथि जाँदा भ¥याङ नसमाईकन उक्लनू र १४ दिन कोठामै बस्नू।’ 

सुरुमा काठमाडौँ पुग्न पाए मात्र हुन्थ्यो भन्ने लागेको थियो। तर, घरबेटी दिदीको कुराले एकछिन त किन आइएछ जस्तो पनि लाग्यो। जे होस्, तीन महिनापछि म डेरामा छिरेँ। तीन महिनासम्म बन्द भएको पसल हेर्ने जाँगर पनि चलेन। केही बेर कोठामा पल्टिएँ। त्यसपछि मन न हो, आफ्नो गरिखाने माध्यम के कस्तो छ भनेर पसल खोलेँ। मुसाहरूले पसल हेर्नै नहुने बनाएका रहेछन्। धेरै सामान ¥याकबाटझरेर फुटेका थिए। 

मन बेचैन भयो। कोठामा १४–१४ दिन कसरी थुनिएर बस्नु ? बाहिरनिस्कियो भनेपनि मानिसले के भन्लान् ?अफिससम्म जान–आउन पाए पनि त हुन्थ्यो। तर, घरबेटी दिदीको कुरा सुन्दा त्यो पनि सहज हुने देखिएन। मन डुलाउँदाडुलाउँदै त्यो रात बित्यो। 

केही दिनपछि एक जना साथीले टेकु अस्पतालमा हामीसँगै पढेका साथी कार्यरत छन् भन्ने जानकारी दिए। सोधखोज गरियो। पत्ता लाग्यो। मैले कोरोना परीक्षण गराएँ। रिपोर्ट नेगेटिभ आयो। त्यो रिपोर्ट मैले घरबेटी र वडा कार्यालयलाई देखाएँ। त्यसपछि बल्ल मेरा लागि स्थिति केही सामान्य बन्यो। 

मेरा लागि त साथीको सहयोगले काम ग¥यो र पुनः काममा फर्किन सकेँ। तर, अन्य हजारौँ मान्छेलाई रोजीरोटीका लागि राजधानीकै भर पर्नुपर्छ। जो राजधानीबाहिर बगरमा छटपटिएको माछाको जस्तो मनोदशामा छन्, उनीहरूका लागि राजधानी चन्द्रमामा पुग्नुसरह भएको छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि