घरधनी र डेरावासी अन्ततः आमनेसामने

writer

शिशिर वैद्य

शुक्रबार, १९ असार २०७७


काठमाडौँ प्रवेशसँगै परीक्षण प्रमाणपत्र ल्याउने घरबेटीको रुखो आदेशले बहालमा बस्नेको बिचल्ली भएका थुप्रै कथा छन्। कतिले अस्पतालको ढोकामै रात बिताएका छन्, कतिले सडकछेउमा राखिएका बसमा। 


असार १ गतेदेखि लकडाउन खुकुलो भएको छ। मानिसहरू मनमा डर बोकेर पनि घरबाहिर निस्कन थालेका छन्। सार्वजनिक यातायात चल्न दिइएको छैन। त्यसैले शहरबजारमा पहिलेको तुलनामा भीड निकै कम छ। बजार खुलेपनि व्यापार– व्यवसायले गति लिएको छैन। लकडाउनपछि र लकडाउनकै बीचमा पनि उपत्यका छाडेकाहरूअहिले अलिक खुकुलो भएपछि धमाधम फर्किंदैछन्। फर्किन सजिलो छैन। उपाय अनेक लगाएका छन् उनीहरूले। नाकाहरूमा दैनिक हजारौँको संख्यामा उपत्यका प्रवेश गर्नेको घुइँचो लाग्न थालेको छ। यससँगै, शहरभित्र घरबेटी, स्थानीय युवा र उपत्यका फर्किएका डेरावालबीच द्वन्द्व सुरु भएको छ। आफ्नै कोठामा, घरमा, फ्ल्याटमा छिर्न नपाउँदा द्वन्द्व हुनु स्वाभाविकै त हो। 

नःघका एक जना पसले लकडाउनको अघोषित कफ्र्यूसँग तर्सिएर घर गएका थिए। जब फर्किए उनले कल्पनै नगरेको व्यवहार टोल–समाजबाट बेहोरे। ‘दाइ नमस्कार !’भन्ने ठिटाहरू उनीसँग तेस्की र मेस्की गर्दै कराउन आए। झम्झम् पानी परिरहेको असारको बिहान उनले जिन्दगीमा नभोगेको कुरा भोग्नुप¥यो। संक्रमित नभएको प्रमाणपत्र लिएर आउने उर्दी पाए, घरबेटी र टोलका केटाहरूबाट। 

एक महिनाको लकडाउनपछि जोहो मिलाएर बाह्रबीसे फर्किएका राम पनि  काठमाडौँ आइसकेका छन्। पुतलीसडकको एक गल्लीमा फ्ल्याट भाडामा लिएर बसेका उनलाई तीनदिनभित्र परीक्षण प्रमाण पेश गर्नेगरीघरधनीले प्रवेश दिए। फर्किएको भोलिपल्ट उनी परिवारसहित टेकु अस्पतालमा संक्रमण परीक्षण गर्न पुगे। त्यहाँको भीड देखेर तर्सिए। न सामाजिक दूरीको मतलब राखिएको थियो, न मास्कको प्रयोग। ‘ओहो ! यसरी जाँच गराउन लाइन बसियो भने त संक्रमित यहीँ भइन्छ’ भन्ने डरले उनी फर्किए। ‘बरु १४ दिन कोठामा चुकुल लगाएर होम क्वारेन्टिन बस्छु, संक्रमित हुन त्यस्तो ठाउँमा चैँ जाँदिनँ’– उनले घरबेटीलाई त्यसै भने। एकहप्तादेखि उनी फ्ल्याटमा चुकुल लगाएर बसेका छन्। 

काठमाडौँ प्रवेशसँगै परीक्षण प्रमाणपत्र ल्याउने घरबेटीको रुखो आदेशले बहालमा बस्नेहरूको बिचल्ली भएका थुप्रै कथा छन्। कतिले अस्पतालको ढोकामै रात बिताएका छन्। कतिले सडकछेउमा राखिएका बसमा। कतिले रिजर्भ गरी आएको गाडीमा। काठमाडौँ प्रवेश निकै कष्टकर बनेको छ, केही दिनयता। घरधनी र स्थानीय युवा भन्छन्– ‘हामी तीन महिनादेखि लकडाउन भोगेर सुरक्षित बसेका छौँ। लकडाउनको हल्लासँगै भागेर गाउँ गएकालाई यत्तिकै कसरी प्रवेश दिन मिल्छ ? परीक्षण त गर्नैपर्छ। परीक्षणले उनीहरू पनि सुरक्षित, हामी टोलवासी पनि सुरक्षित।’ 

‘महामारी घोषित संक्रमणबाट बच्न नै सरकारले लकडाउन गरेको थियो। अब लकडाउन खुल्नेबित्तिकै काठमाडौँबाहिरबाट आएकालाई बिनापरीक्षण घरमा प्रवेश किन दिने ? सरकारले गर्नुपर्ने काम हामी गर्र्दै छौँ’–युवाहरू चोकचोकमा बहस गरिरहेछन्। केही वडाले भने बाहिरी जिल्लाबाट कोही आएको थाहा पाएमा वडा कार्यालय आफैँले टेकुमा लगेर जाँच गराउने पनि गरिरहेका छन्। 

कुरा सही उठाएका छन् युवाले। वास्तवमै बिनापरीक्षण कसैलाई पनि कतै पनि आउजाउ गर्न नदिने जिम्मेवारी सरकारको हो। लकडाउन अवधिभरि ‘कोरोना संक्रमणबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ’ भन्दै रेडियो, टीभी, टेलिफोनमा सीआरबीटी र टोलटोल, चोकचोकमा माइकिङ गर्ने स्थानीय, प्रदेश र संघीय सरकार किन बिनापरीक्षण मानिसहरूलाई यात्रा गर्न दिइरहेका छन्?एकातिर तीन महिना जनतालाई जहाँ छौँ, त्यहीँ बस भनेर लकडाउन गर्ने सरकारका प्रधानमन्त्री अहिले ‘कोरोना केही होइन, बेसार पानी खानुस् हाच्छिउँ साच्छिउँ गर्नुस्, डराउनु पर्दैन’ भन्दैछ। अर्कातर्फ, संक्रमितको संख्या दैनिक पाँचसयभन्दा बढेको तथ्यांक पनि सार्वजनिक हुँदै छ। केन्द्रीय प्रयोगशाला टेकुमा दैनिक हजारभन्दा बढी कोरोना परीक्षणका लागि पुग्ने गरेका छन्। दिनभरि झरी, घाम नभनी लाइन बसेकालाई ज्वरो जाँचेकै भरमा लक्षण नदेखिएको भन्दै होम क्वारेन्टिनमा बस्न सल्लाह दिनु गैरजिम्मेवारीको हद हो। सरकारको यस्तो विरोधाभासपूर्ण व्यवहारले कोरोना संक्रमण भयावह हुन सक्ने सम्भावना बढेको छ। 

निकै लामो बहसपछि सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाएको छ। दैनिक सयौँको संख्यामा खाडी र अन्य मुलुकबाट नेपाली स्वदेश फर्किरहेका छन्। यसरी फर्किनेको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। सेनाले फर्र्किएकालाई होल्डिङ सेन्टरमा लगेर जाँचपछि आ–आफ्नो प्रदेशअनुसारको क्वारेन्टिनमा पठाउने गरेको छ। क्वारेन्टिनका लागि विभिन्न पार्टीप्यालेस र साना–ठूला होटललाई छनोट गरिएको छ। यी सबै कामको समन्वय जिल्ला प्रशासन कार्यालयमातहत भइरहेको छ। नेपालको संविधानअनुसार तीन तहको सरकार छ। संघ, प्रदेश र स्थानीय सरकार। जिप्रका संघीय सरकारको गृह मन्त्रालयअन्तर्गतको एक संरचना हो। जसले कुनै कार्य गर्न संविधानतः अधिकारप्राप्त प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने आवश्यकता नै महसुस गर्दैन। त्यसैले उपत्यकामा विभिन्न पार्टी प्यालेस र होटललाई क्वारेन्टिन बनाउँदा महानगर, नगरपालिका, वडापालिकासँग समन्वय र सहकार्य गर्नुपर्ने आवश्यकता देखेन, यो निकायले। काठमाडौँ उपत्यकाभित्रका घना बस्ती ठमेल, पुतलीसडक, गौशालाजस्ता स्थानमा रहेका होटल क्वारेन्टिनका लागि छानिएका छन्। तर, यसको जानकारी संवैधानिक अधिकारप्राप्त वडाहरूले पाएनन्। एकातर्फ वडापालिका घरघरमा बाहिरी जिल्लाबाट कोही आए जानकारी गराउनू भन्दै माइकिङ गर्दै हिँड्ने, अर्कोतर्फ वडापालिकाभित्र रहेका सिँगै होटल क्वारेन्टिन बनेको जानकारी वडासँग नहुने ! यो विरोधाभासपूर्ण कुरालाई कसरी बुझ्ने ?केही वडापालिकाका वडा सदस्य भन्छन्,‘हामी सीडीओलाई पत्राचार गरेर क्वारेन्टिन मोडालिटी केहो, त्यसको जानकारी माग्छौँ र सोअनुसार होटलहरूले क्वारेन्टिन व्यवस्थापन गरे/नगरेको अनुगमन गर्नेछौँ।’तर, क्वारेन्टिन बनाइएका होटलमा न सुरक्षाका लागि प्रहरी खटाइएको छ, न उचित पीपीईको व्यवस्था नै गरिएको छ। केही होटलका कर्मचारी पीपीई सेटमा चप्पल लगाएर बसेका छन् भने कहीँ पीपीई लगाएरै खुद्रासामान किन्न बाहिर निस्किरहेका छन्। क्वारेन्टिनमा संक्रमित भेटिएका थुप्रै उदाहरण हुँदाहुँदै पनि यसप्रकारको हेलचेक्य्राइँले संक्रमण समुदायमा फैलन समय लाग्ला त अब ?जहाँ स्थानीय युवा अलिक जागरुक र अलि दबाब दिन सक्ने प्रवृत्तिका छन्, त्यहाँका होटल क्वारेन्टिन नराख्ने निधोमा पुगेका छन्। तर, जहाँ छैनन्, त्यहाँका होटल क्वारेन्टिन बनाइएका छन्। घना बस्तीका बीच राखिएको क्वारेन्टिनको असर र प्रभाव के हुने हो ?यसको न अध्ययन गरिएको छ, न आकलन। 

कोरोना संक्रमणको आशंकामा घरबेटी र डेरावालबीच, डेरावाल र टोलवासीका बीच बिग्रिएको सम्बन्धलाई दुवै पक्षले सहज ढंगले लिनुपर्छ। लक्षण नदेखिएकामा पनि संक्रमण देखिएका उदाहरणले बिनाटेस्ट कोरोना संक्रमित हो वा होइन, यकिनसाथ भन्न सकिने अवस्था छैन। तर, सरकार न किटको व्यवस्था गर्दछ, न मेसिनको। त्यसैले अब हामी आफैँ सचेत र सजग हुनुको विकल्प छैन। 

(लेखक वैद्य पुतलीसडक, काठमाडौँका रैथाने हुन्।) 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि