कस्तो हुनेछ आगामी प्रलय ?

writer

दी इकोनोमिस्ट

शुक्रबार, १९ असार २०७७


जुन सरकारले निकट भविष्यलाई गम्भीरतापूर्वक लिन्छ, उसको बाटो अतीतको भन्दा धेरै फरक हुन सक्छ। त्यस्तो सरकारले केही चुनावी चक्रभन्दा पर पनि आफ्नो उपलब्धिलाई कायम राख्ने तरिका देख्न सक्छ। वातावरण संरक्षण र आणविक युद्धको खतरालाई रोक्न ठीक यस्तो प्रवृत्ति आवश्यक छ।


सन् १९९३ मा ‘दी इकोनोमिस्ट’ले संसारलाई आकाशतर्फ नियाल्न आग्रह गरेको थियो। त्यसबेला पृथ्वीमा ठोक्किन सक्ने उल्कापिण्डबारे मानिसको ज्ञान निकै कम थियो। ठूलो उल्कापिण्ड पृथ्वीमा ठोक्किए आणविक युद्ध र विशाल ज्वालामुखी विष्फोटले जस्तै ठूलो क्षति गर्न सक्थ्यो। यस्तो घटना हुने सम्भावना निकै कम थियो। तर, कसैले ध्यान नदिएको अवस्थामा त्यसबेला यसबारे अध्ययन गर्नु जरुरी थियो।

मानिस चाहेरै अज्ञान रोज्छ भन्ने उदाहरण हो, उल्कापिण्ड। सम्भावना कम भएका तर ठूलो असर पार्ने घटना जीवनका वास्तविकता हुन्।व्यक्तिगत रूपमा मानिसहरू यस्ता खतराबाट बच्न सरकारको सहारा खोज्छन्। मिले र सकेसम्म बिमा गर्छन्। तर, सरकारहरू यस्ता खतरालाई तबसम्म बेवास्ता गरिरहन्छन्, जबसम्म उनीहरू कुनै कदम चाल्न बाध्य हुँदैनन्। यो सरासर गैरजिम्मेवारी हो र यो भविष्यप्रतिको धोका हो।

कोभिड–१९ यही भयंकर धोकाको दुःखद उदाहरण हो।संक्रामक रोग–विज्ञ, महामारी–विज्ञहरूले दशकौँअघिदेखि रुघाखोकीजस्तो देखिने महामारी जनावरबाट मानिसमा सर्ने चेतावनी दिँदै आएका थिए। तर, जब सार्स–कोभ–२ भाइरस फैलिन सुरु भयो, तब त्यसलाई जित्ने व्यावहारिक योजना र सो योजना कार्यान्वयन गर्न आवश्यक सामग्री, जनशक्ति र विज्ञता एकदमै कम मुलुकसँग मात्र देखियो। जोसँग यस्तो तयारी थियो, तिनलाई निकै ठूलो फाइदा भयो। ताइवानमा हालसम्म सातजनाको मात्रै कोभिड–१९ बाट ज्यान गएको छ। अरूको तुलनामा उसको अर्थतन्त्रलाई निकै कम क्षति पुगेको छ।

महामारीको अनुभव त थुप्रै मुलुकलाई छ। उसोभए मानिसका लागि वास्तवमै नयाँ खतरा के हुनसक्छ त? सूर्यलाई वरिपरिबाट ढाकेर राख्ने मुकुट– जुन सूर्य ग्रहणको बेला देखिन्छ, ले अन्तरिक्षमा बेलाबखत विद्युतीय कण फालिरहन्छ। कहिलेकाहीँ त्यस्ता कणको संख्या धेरै हुने गर्छ, जसलाई कोरोनल मास इजेक्सन (सीएमई) भन्ने गरिन्छ।उत्तरध्रुवीय र दक्षिणध्रुवीय ज्योति (नर्दर्न लाइट एन्ड सदर्न लाइट) तिनै कणका कारणले उत्पन्न हुन्छन्।यस्ता कणले विद्युत् ग्रिड र सञ्चार सम्पर्कलाई निकम्मा तुल्याउन सक्छन्।

गएको शताब्दीमा विद्युत् मानव जीवनको अत्यन्त महत्त्वपूर्ण हिस्सा बनेको छ। तर, यो अवधिमा ठूलो सीएमईको असर पृथ्वीमा परेको छैन। असर प¥यो भने हरेक प्रकारका स्याटलाइट प्रणाली प्रभावित हुनेछन्। हवाई तथा जलयात्रा, सञ्चार र क्षेप्यास्त्र आक्रमणको सूचना दिने स्याटलाइट निकम्मा हुनसक्छन्। पृथ्वीको ठूलो हिस्सामा महिनौँसम्म विद्युत् उपलब्ध नहुन सक्छ। यो शताब्दीमा यस्तो प्रलय आइपर्ने सम्भावना ५०ः५० छ।सम्भावना धेरै नभए पनि यो खतरालाई बेवास्ता गर्न सकिन्न। यस्तो घटना भइहाले यसबारे सोच्ने जिम्मा सरकारमा भएको कसलाई दिने भन्ने कुनै पनि मुलुकका नेतालाई थाहा नहुन सक्छ।

हो, अहिले कुनै पनि सरकारले ठूलो सीएमई वा विश्वभरको बालीनाली ध्वस्त पार्नेगरी विष्फोट भएको ज्वालामुखी देखेको छैन। त्यस्तो ज्वालामुखी सन् १८१५ मा इन्डोनेसियाको ताम्बोरामा विष्फोट भएको थियो। त्यसैले यस्ता घटना हुनसक्छन् भन्ने दूरदृष्टि विश्वभरका सरकारसँग छैन। तर, त्यसो भनेर सुख पाइँदैन। भविष्यमा हुनसक्ने जोखिमलाई नियाल्नु पनि सरकारको एउटा काम हो। यस्तो प्रयासका लागि आवश्यक औजार तिनलाई वैज्ञानिकहरूले उपलब्ध गराउँछन्। तर, सरकारले नभनी, पैसा नदिई र कामको वास्ता नगरी कुनै पनि विद्वानले यस्तो काम गर्दैन। कुनै खास जोखिमका बारेमा काम गराउन निजी क्षेत्रले आवश्यक सहयोग गर्न सक्छ। तर, समग्र समाजका लागि यसले योजना बनाउँदैन।

सत्य हो, न पृथ्वीको ज्वालामुखीलाई नियन्त्रण गर्न सकिन्छ, न सूर्यको कणलाई। तर, त्यसबारे समयमै चेतावनी दिने प्रणाली विकास गर्न सम्भव छ। अहिले हामीले गर्नसक्ने तयारी त्यही नै हो।इतिहासमा पनि सक्रिय ज्वालामुखी विष्फोट हुने ठाउँनजिक रहेका ठूला शहरहरूले तिनलाई राम्ररी नियाल्ने गरेका थिए। जापानको फुजी, स्पेनको पोपोकतेपेतल र इटालीको विसुवियसलाई उदाहरण मान्न सकिन्छ। कमसेकम विष्फोट भएपछि मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी चाहिँ अत्यन्त आवश्यक छ। यस्तो तयारी गर्नु साह्रै कठिन पनि छैन।

त्यस्तै, पृथ्वी र सूर्यको बीचमा रहेको स्याटलाइटले ठूलो सीएमई आउँदैछ भनेर आधा घण्टाअघि सूचना दिए विद्युत् प्रसारण लाइन सञ्चालकहरूले के गर्ने, सरकारले त्यसका लागि आवश्यक योजना बनाउन जरुरी छ। त्यस्तो बेलामा अत्यावश्यक उपकरणका लागि अफलाइन ब्याकअपको सुनिश्चितता गर्न सकिन्छ। यस्तो प्रणाली ज्वालामुखीबारे सूचना दिने प्रणालीभन्दा अवश्य पनि महँगो हुनेछ। जोखिम केही हदसम्म मात्रै कम गर्न सक्छ भने पनि त्यस्तो प्रणाली बनाउनु उपयुक्त हुन्छ।

सम्भावित महामारीबारे बेलैमा चेतावनी दिने व्यवस्था गर्नु पनि साह्रै मुश्किल काम होइन।जंगली जनावरबाट मानिसमा सर्ने सबै रोगकारक भाइरस तथा जीवाणुलाई रोक्नु असम्भव छ। तर, जहाँ सबैभन्दा बढी र सघन जंगली पारिस्थितिक प्रणालीको शोषण हुन्छ, त्यहाँ केही सीमा तोक्दा मात्रै पनि सहयोग पुग्छ। त्यतिले पनि जोखिम निकै घटाउन सक्छ। जनावरमा पाइने भाइरस र ती भाइरस मानिसमा सर्नसक्ने ठाउँको निगरानी गर्नु सम्भव छ।यसका लागि एक मुलुकले अर्कोलाई विश्वास नगर्न सक्छ। त्यसैले ठूलो पारदर्शिता हासिल गर्न सकिन्छ, जहाँ विश्वासको संकट हुँदैन। यो काम सुरु गर्ने कुनै मिति छ भने त्यो आजै हो। किनभने, सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीभन्दा अघि सुनामीबारे बेलैमा चेतावनी दिने प्रणाली सीमित थिए। तर, आज त्यस्ता प्रणाली धेरै छन्।

आज विश्वले जलवायु परिवर्तन तथा आणविक युद्धबाट उत्पन्न हुने प्रलयको खतरा बेहोरिरहेको छ। यस्तो अवस्थामा माथि उल्लिखित गुप्त खतराप्रति तयारी गर्न जोड दिनु अव्यावहारिक लाग्न सक्छ। तर, एउटा प्रलय आए अर्को आउँदैन भन्ने हुँदैन। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि संरचनागत परिवर्तन आवश्यक छ। हाल थुप्रै मुलुकले यस्ता परिवर्तन गरिरहेका छन्। तर, धेरै हदसम्म ती अपर्याप्त छन्। अन्य खतराका लागि बेग्लै तयारी आवश्यक छ। त्यसमाथि रहस्यमय खतराप्रतिको तयारीले हामीले जान्दै आएका खतराको तयारीमा पनि सघाउँछ। जोखिम समाप्त गर्ने होइन, जोखिम न्यूनीकरणबारे सोच्नु उपयुक्त हुन्छ। यसले आणविक हतियारलाई सधैँ तैनाथीमा नराख्ने र हतियार नियन्त्रण गर्नेजस्ता कदमलाई प्रेरित गर्छ। वातावरणीय निगरानीलाई गम्भीर रूपमा लिने हो भने त्यसले जलवायुुसम्बन्धी कुनै गडबडी देखिए बेलैमा सूचित गर्न सक्छ।

भविष्यमा देखिनसक्ने जोखिमलाई नियाल्नु र जे देखिन्छ, त्यसलाई व्यवस्थित रूपमा टिपोट राख्नु बुद्धिमानी हो।यो हाम्रो परिकल्पनाको विस्तार पनि हो। जुन सरकारले निकट भविष्यलाई गम्भीरतापूर्वक लिन्छ, उसको बाटो अतीतको भन्दा धेरै फरक हुनसक्छ। त्यस्ता सरकारले केही चुनावी चक्रभन्दा पर पनि आफ्नो उपलब्धिलाई कायम राख्ने तरिका देख्न सक्छन्। वातावरण संरक्षण र आणविक युद्धको खतरालाई रोक्न ठीक यस्तो प्रवृत्ति आवश्यक छ। यसले राहत पनि दिन सक्छ। पृथ्वीको नजिक आएका प्रायः सबै ठूला उल्कापिण्ड अहिले पत्ता लागिसकेका छन्। ती कुनै पनि खतरनाक थिएनन्। पृथ्वी सोचेभन्दा सुरक्षित त रहेछ नै, यो कुरा थाहा पाउँदा यो स्थान अझ सुन्दर बनेको छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि