घुमफिर थाले पोखरेलीले

writer

कृष्णमणि बराल/पोखरा

शुक्रबार, १९ असार २०७७


बेगनास ताल, रूपाताल र वरपरका पर्यटकीय क्षेत्रमा घुमघाममा निस्कन थाले, पोखरेली युवा । व्यक्तिगत दूरी कायम गर्दै फेवातालवरिपरि थुप्रै मान्छे टहलिन थालेका छन् । 


लकडाउन खुकुलो भएपछि पोखरेली युवायुवती पोखराआसपास घुम्न निस्कन थालेका छन् । विशेष गरी, पोखराको फेवाताल किनारमा टहलिने बढी देखिन थालेका हुन् । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडका होटल र रेस्टुरेन्ट बन्द छन् । 


विदेशी पर्यटकलाई लक्ष्य गरी खुलेका होटल, रेस्टुरेन्ट बन्द रहे पनि आन्तरिक पर्यटकका लागि खुलेका खपौदी, खहरे, गैराको चौतारा क्षेत्रका रेस्टुरेन्ट भने फाट्टफुट्ट खुलेका छन् । पोखरेली युवा जोडी ताल किनारमा रमाउन थालेका छन् । यसै गरी, पोखराको बेगनास ताल, रूपाताल र वरपरका पर्यटकीय क्षेत्रमा घुमघाममा निस्कने युवायुवती पनि उत्तिकै छन् । लामो समयदेखि घरमै रहदा दिक्क भएका लकडाउन खुकुलो भएपछि परिवार नै लिएर टहलिन आएका शिव परियारले सुनाए । ‘यसरी घुम्न निस्कँदा सामाजिक दूरी भने कायम गर्नुपर्छ,’ उनले भने, ‘हामी सबै यसमा सचेत छौँ ।’  


लामो समयको लकडाउनपछि पोखराको फेवाताल किनारमा टहलिने गरेको पोखरा–७ का नवीनराज बरालले सुनाए । यसरी निस्कँदा मास्क लगाउने र समाजिक दूरी कायम गर्नुपर्नेमा केही युवायुवती गम्भीर नभएको उनले सुनाए । ‘कतिपयलाई हामी महामारीको बीचमा छौँ भन्ने हेक्का नभएजस्तो लाग्छ,’ उनले भने ।  


पोखरामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा स्याङ्जाका दुई जना पुरुषको मृत्यु भएको छ । कोरोना सक्रमण धेरैमा देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा रहेको छुट्टै १० बेड भएको भवनमा उपचार गराइँदै आएकोमा अहिले सबै संक्रमितलाई मेडिकल वार्डमा सारेर उपचार भइरहेको छ । सबै सेवा मेडिकल वार्ड भएकै भवनबाट भइरहेकोमा सत्रंmमितलाई मेडिकल वार्डमा सारेपछि दैनिक १५ सय बिरामी उपचार हुँदै आएको अस्पतालमा अहिले कोरोना संक्रमणका डरले बिरामी जान छाडेका छन् । अहिले मुश्किलले एक सयदेखि १ सय ५० जनासम्म बिरामी उपचार गराउन आउने गरेको अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए ।


संक्रमण बढे पनि पोखरेलीको दिनचर्या भने फुक्काफाल बन्दै गएको छ । पोखरा बजार पनि उत्तिकै व्यस्त देखिन्छ । लामो समय लकडाउन भएपछि उडान भर्न नपाएका प्यारापाइलट पनि ताल किनारमा अभ्यास गर्न थालेका छन् । 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि