फेवाफाँटमा खेत खन्दै  विदेशी पर्यटक

writer

कृष्णमणि बराल/पोखरा

शुक्रबार, १९ असार २०७७


पोखरामा रहेका पर्यटक लकडाउनका कारण देश फर्कन पाएका छैनन् । उनीहरू खेत खनेको, हलो जोतेको भिडियो बनाएर युट्युबमा अपलोड गरिरहेका छन् ।


इटालीका ४२ वर्षीय ओस्कार नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतादेखि निकै आकर्षित छन् । १८ वर्षयता नियमित नेपाल आइरहने उनी कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गर्नुअघि पोखरामै थिए । 

लकडाउनपछि युरोपका विभिन्न देश जाने चार्टर्ड प्लेनको व्यवस्था भए पनि उनले पोखरा नै सुरक्षित ठाने र यहीँ छन् । आइतबार पोखराको फेवाताल किनारमा भेटिएका उनले नेपालको प्राकृतिक सुन्दरता र संस्कृतिले आफूलाई तानेको सुनाए । 

फ्रान्सकी क्लारा । 

हिन्दी र नेपाली भाषा अध्ययन गरेका ओस्कार १८ वर्षदेखि भारतको बनारसमा बस्दै आएका थिए । उनले प्रत्येक वर्ष नेपाल आइरहने बताए । ‘इटालीमा बेला–बेलामा आमाबुबालाई भेट्न गइरहन्छु,’ उनले नेपाली भाषामै भने ।

लकडाउनमा पोखरामा रहँदा सुरक्षित र शान्त महसुस गरिरहेको उनले बताए । इटालीमा पछिल्ला दिनमा कोरोना संक्रमण घट्दै गएको तर नेपालमा बढ्दै गएकोमा उनी चिन्तित छन्  । जीवनबारे अध्ययन गर्न र मानवता पढ्न बनारस बसेको उनले सुनाए । ‘नेपाल पनि जीवनबारे बुभ्mन र मानवता अध्ययन गर्न महŒवपूर्ण स्थान हो,’ उनले भने, ‘त्यसैले प्रत्येक वर्ष नेपाल आउने गर्छु ।’ 

छ महिना विश्वका विभिन्न देश घुम्ने लक्ष्यसाथ निस्केका फ्रान्सका एक जोडी पनि अन्य पर्यटकजस्तै नेपाल आएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहँदा लकडाउन घोषणा भयो । उनीहरू यहीँ रोकिए । कोभिड–१९ विश्वभर फैलनुअघि फ्रान्सको पेरिसबाट क्लारा र मासिन नेपाल आएका थिए । ९० दिन पोखरा बसेर तीन दिनअघि मात्र चार्टर्ड प्लेनमा घर फर्केका छन् । केही दिनअघि भेट हुँदा उनले प्राकृतिक वातावरणमा रमाएको सुनाएकी थिइन् । लकडाउनमा पोखरा बस्दा सुरक्षित महसुस गरेको पनि उनले बताएकी थिइन् । ‘दूतावासले घर फर्कन चाहने नागरिकलाई आफैँ चार्टर्ड प्लेनको शुल्क तिरेर जाने व्यवस्था मिलाए पनि हामी गएनौँ,’ उनले भनेकी थिइन्, ‘पोखरा नै सुरक्षित लाग्यो ।’ तर, तीन महिना पोखरामा रमाएपछि उनीहरू अहिले फर्किसकेका छन् । 

फुड क्वालिटी हेर्ने विज्ञ २२ वर्षीया क्लारा र आईटी इन्जिनियर ३३ वर्षीय मासिनको जोडी लकडाउनमा लेकसाइडको सांग्रिला होम्समा बसेको थियो । त्यहाँ बस्दा यो जोडी कहिलेकाहीँ नेपाली खाना पकाएर खान्थ्यो ।

इटालीका ओस्कार पोखराको लेकसाइडमा । 

युक्रेनकी जोनी र रुसका मारी पनि लकडाउनअघिदेखि नै पोखरामा छन् । फ्रान्सेली जोडी क्लारा–मासिन बसेकै होम्समा बस्दै आएको यो जोडीको दिनचर्या पनि उस्तै छ । आफ्नो देशमा संक्रमण बढेपछि उनीहरूलाई पनि पोखरा सुरक्षित लाग्यो । ९० दिनको भिसा लिएर नेपाल बसेको जोडीले लकडाउन खुकुलो भएपछि पोखरावरपर सुरक्षित रूपमा घुमफिरमा निस्कने गरेको छ । 

पर्यटक प्रहरी कार्यालय, पोखराका अनुसार पोखरामा अझै पनि विभिन्न देशका करिब दुई सय पर्यटक रहेका छन् । लकडाउनको अवधिमा पोखराबाट एक हजारभन्दा बढी पर्यटक काठमाडाँै हुँदै विभिन्न देशले व्यवस्था गरेको चार्टर्ड विमानबाट घर फर्किए । यहीँ आफू सुरक्षित हुने ठानेका र घर फर्कने व्यवस्था नमिलाएका पर्यटक पोखरामै छन् । 
यहाँ रहेका केही पर्यटकले युट्युबमा आफ्नो दिनचर्या भिडियोसहित राख्ने गरेका छन् । लकडाउनमा पोखराको फेवाताल किनार, लेकसाइड सेरोफेरोमा रमाएको भिडियो नेदरल्यान्ड्सका थोमसले राखेका छन् । फेवातालको सिरान फेवाफाँटमा कान्ला खनेको, हलो जोतेको भिडियो बनाएर बेलायतका वेल्सले युट्युबमा सेयर गरेका छन् । लेकसाइडमा किनमेल गर्न गएको, कोठामा खाना पकाएको, योग गरेको, युट्युबमा हेरेर नेपाली भाषा सिक्दै गरेको, डान्स सिक्दै गरेको आदि भिडियो विदेशी पर्यटकले युट्युबमा राख्ने गरेका छन् । भिडियोमा उनीहरूले नेपालको प्राकृतिक सुन्दरता, आतिथ्य सत्कार र संस्कृतिको प्रशंसा गरेका छन् । 

 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि