घाइते खेलाडीलाई लकडाउन बन्यो ‘मलम’

writer

विष्णु थापा

बिहिबार, १८ असार २०७७


लकडाउनअघि धेरैजसो भलिबल खेलाडी घाइते थिए। उनीहरूका लागि लकडाउनले ‘रिकभरी’को अवसर दिएको छ। भलिबल प्रशिक्षक जगदीश भट्ट यस हिसाबले लकडाउनलाई सुखद मान्छन्। 


कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि नेपाली खेलकुद ठप्प अवस्थामा छ। खेलकुदका गतिविधि नहुँदा खेलाडीहरू घरभित्रै सीमित भएका छन्। लामो समय घरभित्र रहँदा उनीहरूले फिटनेससँगै खेलस्तर (फर्म) कै चिन्ता गर्न थालेका छन्। उनीहरू पुरानै लयमा कसरी फर्किने भनेर चिन्तित भइरहँदा भलिबलका केही स्टार खेलाडीहरूका लागि लकडाउन निकै फलदायी बनेको छ।  

घाइतेलाई निको हुने मौका 
हुन त अहिलेको समय राष्ट्रिय खेल भलिबलका लागि ‘अफ सिजन’ हो। भलिबल इन्डोर खेल भए पनि पूर्वाधारका अभावमा नेपालमा हुने अधिकांश प्रतियोगिता भने आउटडोरमा हुने भएकाले अहिलेको मौसम भलिबलका लागि प्रतिकूल हुन्छ। नेपालमा मंसिरदेखि फागुन–चैतसम्म देशव्यापी रूपमा भलिबलका प्रतियोगिता हुने गरेका छन्। अहिलेको सिजनमा प्रतियोगिता नभए पनि खेलाडीले नियमित प्रशिक्षण भने गरिरहेका हुन्थे। तर, कोरोना भाइरसको महामारी र लामो लकडाउनका कारण प्रतियोगिता र प्रशिक्षण दुवै प्रभावित बनेका छन्। महामारी र लकडाउन घाइते खेलाडीका लागि भने निकै उपयोगी बनेको छ। 

अन्य खेलाडीले लगातार खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहँदा घाइते खेलाडी आफूले खेल्न नसक्दा मानसिक तनावमा पर्न सक्थे। लकडाउन घाइते खेलाडीका लागि फलदायी भएको छ।

लकडाउनअघि धेरैजसो भलिबल खेलाडी घाइते भएकाले उनीहरूका लागि यो समय रिकभरीका लागि फलदायी भएको भलिबल प्रशिक्षक जगदीश भट्ट बताउँछन्। ‘कोरोना भाइरसको महामारी सुरु हुनुअघि महिला तथा पुरुष टोलीका धेरै खेलाडी घाइते थिए,’ प्रशिक्षक भट्ट भन्छन्, ‘लकडाउन उनीहरू रिकभर हुने समय बनेको छ। यसलाई सुखद मान्नुपर्छ। लकडाउन नभई लगातार खेल भइरहेको भए घाइते खेलाडीहरू मानसिक तनावमा पर्न सक्थे।’ उनी अन्य खेलाडीले लगातार खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहँदा घाइते खेलाडी आफूले खेल्न नसक्दा मानसिक तनावमा पर्न सक्ने बताउँछन्। ‘लगातार खेल भइरहेको भए आफ्ना साथीहरूको प्रदर्शन देखेर घाइते भएर बसेका खेलाडी विभिन्न कुरा सोचेर मानसिक तनावमा पर्न सक्थे’, प्रशिक्षक भट्ट भन्छन्, ‘लकडाउन घाइते खेलाडीका लागि फलदायी भएको छ।’ 

प्रतिभादेखि विनितासम्म घाइते
गत वर्ष महिला तथा पुरुष टोलीका चर्चित खेलाडीहरूले चोट बोकेका थिए। महिला टोलीकी महत्त्वपूर्ण सदस्य प्रतिभा माली गत माघमा घाइते भएकी थिइन्। पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपका क्रममा उनको बायाँ घुँडामा चोट लागेको थियो। माघ ९ मा चोट बोकेकी उनको माघ २० गते घुँडाको शल्यक्रिया गरिएको थियो। 

सशस्त्र प्रहरीको एपीएफ क्लबविरुद्धको फाइनल खेलका क्रममा न्यू डायमन्ड एकेडमीकी प्रतिभाले चोट बोकेकी थिइन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा स्पाइक गर्ने क्रममा उनलाई चोट लागेको थियो। त्यसयता प्रतिभा कोर्टबाहिरै छिन्। कोरोना भाइरसको महामारीका कारण उनले घरमै आराम गरिरहेकी छन्। उनी अझै आठ–नौ महिना कोर्टबाहिरै हुनेछिन्। डाक्टरले कम्तीमा एक वर्ष प्रतिभाले खेल्न नसक्ने बताएका छन्। 

यसै गरी, राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी सरस्वती चौधरी पनि घाइते छिन्। गत फागुनमा पर्वतको बेनीमा आयोजना भएको दिदीबहिनी कप भलिबल प्रतियोगिताका क्रममा एपीएफ क्लबकी सदस्य सरस्वती घाइते भएकी थिइन्। नेपाल पुलिस क्लबसँगको फाइनल खेलमा उनको दायाँ खुट्टा मर्किएको थियो। 

सरस्वतीसँगै सशस्त्र प्रहरी बल एपीएफका नेबिका चौधरी र कप्तान विनिता बुढाथोकी पनि घाइते भएका थिए। ढोरपाटन महिला भलिबल लिगका क्रममा नेबिकाको ढाडको समस्या बल्झिनुका साथै दायाँ खुट्टाको हड्डी फुटेको थियो। राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तानसमेत रहेकी विनिता नेपालगञ्जमा गत फागुनमा आयोजना भएको प्रधानमन्त्री कप भलिबल प्रतियोगिताका बेला घाइते भएकी थिइन्। खुट्टामा गम्भीर चोट लागेपछि उनको गत फागुन ३० गते शल्यक्रिया गरिएको थियो। उनी कम्तीमा छ महिना मैदानबाहिर रहने चिकित्सकले बताएका छन्। 

त्यसै गरी, राष्ट्रिय टोलीकी महत्त्वपूर्ण सदस्य कमला पुन पनि घाइते छिन्। उनको घुँडामा पानी भरिएको थियो। उपचारपछि स्वास्थ्यलाभ गरिरहेकी छन्। उनी पूर्ण रूपमा ठीक नभईकनै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप र गत मंसिरमा घरेलु भूमिमा भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएकी थिइन्। यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लिबेरोको भूमिकामा खेल्ने गरेकी विभागीय टोली नेपाल पुलिस क्लबकी कमलाले घाइते भएपछि सेटरबाट खेल्दै आएकी छन्। 

उता, पुरुष टोलीका पनि धेरै खेलाडी घाइते छन्। राष्ट्रिय टोलीका कप्तान इम राना घुँडाको समस्याबाट पीडित छन्। नेपाल पुलिस क्लबका खेलाडी इम तेह्रथुममा खेल्दा घाइते भएका थिए। त्यसयता उनको चोट लगातार बल्झिँदै आएको छ। राष्ट्रिय टोली तथा पुलिसकै ओपन स्पाइकर कुलबहादुर थापा पनि ढाडको समस्याले पीडित छन्। स्पाइक गर्दा धेरै उफ्रँदा ढाडमा समस्या आएको जनाइएको छ। 

चर्चित खेलाडीले खेल्न छाडे
लगातार चोट बोकेपछि राष्ट्रिय टोलीका धेरै खेलाडीले भलिबल खेल्नै छाडेका छन्। कोही भने सक्रिय खेलाडी जीवन टुंग्याएर नयाँ खेलाडी उत्पादनमा सक्रिय भएका छन्। एक समयका चर्चित खेलाडी चन्द्र कुँवर खेलका क्रममा लगातार घाइते भए। उपचार गराएपछि केही समय खेल्न सहज भए पनि पुनः चोट बल्झिएपछि उनी खेल नै छाडेर प्रशिक्षणमा संलग्न भए। चोटकै कारण अर्का खेलाडी नरेन्द्र शाहीले पनि खेल्न छाडे। त्यसै गरी, राष्ट्रिय टोलीका पूर्वकप्तान टीकाराम महतोले घुँडामा चोट बोकेपछि सक्रिय खेल जीवन टुंग्याएका थिए। 

राष्ट्रिय प्रतियोगितामा कामना विष्टले जति छिटो चर्चा बटुलिन्, त्यति चाँडै नै उनी भलिबलबाट टाढा पनि भइन्। नेपाल पुलिस क्लबमा आबद्ध कामनाबाट धेरैले ठूलो आशा राखे पनि चोटका कारण उनका समर्थकले निराश हुनुपर्‍यो। २०७३ सालमा पर्वतमा सम्पन्न दिदीबहिनी कप भलिबल प्रतियोगिताका क्रममा घाइते भएकी कामना चोटका कारण कोर्टमा फर्किन सकेकी छैनन्। भर्खर २० वर्ष भए पनि चोटले उनको खेल जीवनमा भने ठूलो धक्का लागेको छ। त्यसै गरी, खुट्टामा गम्भीर चोट बोकेपछि नेपाल पुलिस क्लबकी पार्वती अर्यालले पनि भलिबल खेल्न छाडेकी छिन्। 

चार कारणले खेलाडी घाइते
प्रशिक्षक जगदीश भट्टका अनुसार भलिबल खेलाडी मुख्यतः चार कारणले घाइते हुने गरेका छन्। आवश्यक क्यालोरी (पोषण) नपुग्नु, मानसिक तनाव हुनु, अव्यवस्थित प्रतियोगिता र प्रशिक्षण स्थल र तापक्रम नमिल्नु, यी चार कारणले खेलाडी बढी घाइते हुने गर्छन्। ‘खेलाडीका लागि आवश्यक पोषण, शारीरिक अवस्था र फिटनेसबीच तालमेल भएन भने खेलाडी बढी घाइते हुन्छन्,’ प्रशिक्षक भट्ट भन्छन्, ‘कति खेल्ने, कति प्रशिक्षण गर्ने भन्ने मानसिकतासँगै तापक्रम र प्रतियोगिता स्थलका कारण पनि खेलाडीले चोट बोकिरहेका छन्।’ उनका अनुसार खेलाडीको उचाइ र तौलअनुसार क्यालोरी फरक–फरक हुने गर्छ। सामान्यतया एक जना खेलाडीलाई ६० क्यालोरी आवश्यक पर्छ। यसबाहेक अन्य पोषण तत्त्व पनि मिलाएर खान सकियो भने मात्र खेलाडी घाइते हुनबाट बच्ने प्रशिक्षक भट्ट बताउँछन्। 

एकैपटक धेरै प्रतियोगिता हुनु र नेपाल भलिबल संघको मापदण्डअनुरूप प्रतियोगिता सञ्चालन हुन नसक्नुले पनि खेलाडी चोट बोक्न बाध्य छन्। पछिल्लो समय नेपाल भलिबल संघ र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले मात्रै इन्डोर र म्याटमा प्रतियोगिता सञ्चालन गर्दै आएका छन्। यसबाहेकका प्रतियोगिता भने आउटडोर र अव्यवस्थित स्थलमा सञ्चालन हुँदै आएका छन्, जसले गर्दा खेलाडीले लगातार चोट बोक्ने गरेका छन्। 

भलिबल खेलाडीका मुख्य चोट 
भलिबलका धेरैजसो खेलाडीले शरीरका चार अंगमा चोट बोक्ने गर्छन्। भलिबल धेरै चलेर खेल्नुपर्ने खेल भएकाले पनि खेलाडीहरू धेरै घाइते हुने गरेका छन्। भलिबल खेलाडीमा मुख्यतः गोलीगाँठो (एंकल), घुँडा, ढाड र पाखुरामा समस्या देखिन्छन्। अहिले घाइते भएका खेलाडीलाई यही चार अंगका चोटले सताइरहेको प्रशिक्षक भट्ट बताउँछन्। ‘भलिबल खेलाडी सबैभन्दा बढी एंकल इन्जुरीबाट पीडित हुन्छन्,’ उनी भन्छन्, ‘त्यसपछि पाखुराको चोटले पनि धेरैलाई सताएको हुन्छ। भलिबलमा धेरै उफ्रनु परेकाले महिलाको तुलनामा पुरुष खेलाडी बढी घाइते हुन्छन्।’

तपाईको कमेन्ट