चीनको च्याम्पियन बन्ने निर्दयी रणनीति

writer

सम्पूर्ण

बिहिबार, १८ असार २०७७


पहिलो सहभागिता निराशाजनक भएपछि चीनले तीन दशकभन्दा बढी समयसम्म ओलम्पिकमा सहभागिता जनाएन। ओलम्पिकमा पदक जित्नका लागि भित्रभित्रै निरन्तर रूपमा तयारी गरिरह्यो। विभिन्न राष्ट्रका खेलाडीको प्रदर्शनलाई केलाएर मिहिन ढंगले तयारी गर्‍यो। 


विश्व खेलकुद जगत्मा चीनले दबदबा कायम गर्दै आएको धेरै समय भइसकेको छ। कुनै समय रुस, अमेरिका र युरोपेली राष्ट्रको दबदबा हुने ओलम्पिक र वल्र्ड च्याम्पियनसिपजस्ता ठूला अन्तर्राष्ट्रिय खेल मेलामा एसियाली मुलुक चीनले पनि सशक्त उपस्थिति जनाउँदै आएको छ। पछिल्लो ओलम्पिक गेम्समा त चीन सुपरपावरका रूपमा उदाएको छ। 

चीनले सन् १९८४ देखि विश्व खेलकुदमा तेज रफ्तार लिएको हो। त्यसयता अन्तर्राष्ट्रिय पदकको चाङ नै लगाएको छ। ओलम्पिकको सुपरपावर चीनका लागि खेलकुद युद्धको मैदानभन्दा कम छैन। उसको सफलताको पछाडि निकै दुःखकष्ट र खास कारण छ। यही कारण चीन लगातार आफूलाई अब्बल साबित गर्दै आएको छ। ओलम्पिकलगायत पदक तालिकामा शीर्षताको लडाइँ लड्दै आएको छ।

युद्धको तयारीजस्तो प्रशिक्षण
यो सफलता चीनले रातारात प्राप्त गरेको भने होइन। यसका लागि उसले ठूलो मेहनत, परिश्रम र संघर्ष गर्दै आएको छ। विश्व खेलकुदमा आफ्नो दबदबा कायम राख्नका लागि गर्ने मेहनत र परिश्रम कुनै युद्धको तयारीभन्दा कम छैन। चीनले सञ्चालन गर्ने प्रशिक्षण यति कठिन छ कि त्यो कुनै खेलाडीका लागि सजायभन्दा कम हुँदैन।  

चीनले सन् १९५२ मा फिनल्यान्डमा आयोजना भएको हेलसिन्की ओलम्पिकदेखि सहभागिता जनाएको हो। त्यसपछि ३२ वर्षसम्म ओलम्पिकका कुनै पनि संस्करणमा सहभागिता जनाएन। पहिलो सहभागितामा चीनले सशक्त प्रदर्शन गर्न सकेन। प्रतियोगिताका लागि केही समय तयारी गरे पनि पदकबाट भने टाढा नै रह्यो। अझ ओलम्पिकमा सहभागी हुनुअघि चीनको ताइवानसँग मतभिन्नता थियो। दुवै देशका ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सँग आफ्नो सहभागिताका लागि आग्रह गरेका थिए। कुन देशले आधिकारिक सहभागिता पाउँछ भन्ने अन्तिममा मात्र टुंगो लागेको थियो। निकै दुःख सहेर चिनियाँ टोली हेलसिन्की पुगेको थियो। ४० सदस्यीय चिनियाँ टोलीमध्ये पौडीबाज हू च्याङ्यू मात्र उद्घाटनअघि हेलसिन्की पुगेका थिए। अरू खेलाडी र अफिसियल उद्घाटनपछि मात्र पुगेकाले उनीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएनन्। चीनले पुरुष फुटबल, बास्केटबल र पौडीमा भाग लिए पनि पौडीमा च्याङ्यूले मात्र प्रतिस्पर्धा गरेका थिए। ३८ पुरुष र दुई महिला गरी ४० सदस्यीय चिनियाँ टोली १० दिन हेलसिन्की बसेर स्वदेश फर्किएको थियो। त्यही बेलादेखि चीनलाई विश्व खेलकुद मञ्चमा ‘द पिपुल्स रिपब्लिक अफ चाइना’का नामले चिनिँदै आएको छ। 

पहिलो सहभागिता निराशाजनक भएपछि चीनले तीन दशकभन्दा बढी समयसम्म ओलम्पिकमा सहभागिता जनाएन। ओलम्पिकमा पदक जित्नका लागि भित्रभित्रै निरन्तर रूपमा तयारी गरिरह्यो। विभिन्न राष्ट्रका खेलाडीको प्रदर्शनलाई केलाएर मिहिन ढंगले तयारी गर्‍यो। विदेशी खेलाडीलाई आफ्ना खेलाडीले टक्कर दिन सक्ने र पदक जित्ने निश्चित भएपछि मात्र सन् १९८४ को लस एन्जलस ओलम्पिकमा चीन पुनः सहभागी भयो। सन् १९८४ को ओलम्पिकमा चीनले सबैको अपेक्षाविपरीत १५ स्वर्ण, आठ रजत र नौ कांस्य गरी ३२ पदक जित्न सफल भयो र पदक तालिकाको चौथो स्थान ओगट्यो। 

जनतालाई खेलकुदप्रति जागरुक बनाइयो  
लस एन्जलस ओलम्पिकमा चीनले ओलम्पिकमा पदक जित्छ भनेर कसैले पनि सोचेका थिएनन्। पहिलो सहभागिता निराशाजनक भएकाले पनि कसैले पनि महत्त्व दिएका थिएनन्। चीनले कसैैले नसोचेको कुरा गरेर देखाइदियो। सन् १९८४ पछि चीनले ओलम्पिकमा कहिले पनि खाली हात फर्कनुपरेन। त्यसपछि लगातार पदकको चाङ नै स्वदेश भिœयाउन थाल्यो। सन् २०१६ को रियो ओलम्पिकसम्म चीनले २ सय २४ स्वर्ण जित्यो। त्यसै गरी, १ सय ६७ रजत र १ सय ५५ कांस्य गरी कुल ५ सय ४६ पदक जितेको थियो। 

चीनको यस परिवर्तनको पछाडि परिश्रमसँग दीर्घकालीन योजनाको ठूलो हात छ। उसले आफ्नो अर्थ व्यवस्थालाई बलियो बनाउनुका साथै खेलकुदमा पनि ध्यान केन्द्रित गर्‍यो। आफ्ना जनतालाई खेलकुदमा पनि भविष्य छ भन्ने कुरा सुनिश्चित गर्‍यो। यसका लागि सानो–सानो समूह बनाएर जनतालाई खेलकुदप्रति जागरुक बनायो। विशेष गरी, गाउँ र साना शहरमा खेलकुदको अभियान चलायो। किनभने, ती ठाउँमा रोजगारीको अवसर थिएन। त्यसैले त्यहाँका बालबालिकाका आमाबुबालाई विश्वासमा लिएर खेलकुदमा लगाउन प्रेरित गर्‍यो। विद्यालयहरूमा खेलकुदलाई अनिवार्य बनायो। 

चीन आफ्ना जनतालाई खेलकुदबारे सम्झाउन सफल भयो। सबैले सरकारको अभियानमा साथ दिए। तर, यससँगै अर्को चुनौती थपियो, आधारभूत संरचना र पूर्वाधारको। चीनले सुरुमा १० हजार अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ सेन्टर बनायो, जहाँ अन्तर्राष्ट्रिय ट्रेनिङ सेन्टरमा हुनुपर्ने सम्पूर्ण सुविधा थियो। खेलाडी र प्रशिक्षण स्थल तयार भयो। तर, प्रशिक्षक पर्याप्त थिएनन्। त्यसपछि उसले खेलाडीसँगै प्रशिक्षकको पनि तालिम सुरु गर्‍यो। प्रशिक्षक आफैँ सक्षम नभई राम्रा खेलाडी उत्पादन हुन सक्दैनन् भन्ने सोचेर प्रशिक्षकलाई मुख्य प्राथमिकतामा राखियो। यससँगै पदक दिलाउन सक्ने खेललाई पहिलो प्राथमिकतामा राख्यो। चीनलाई थाहा थियो, टिम गेम्समा राम्रो प्रदर्शन गर्न सकिँदैन। त्यसैले उसले व्यक्तिगत स्पर्धामा आफ्ना खेलाडीले राम्रो गर्न सक्ने इभेन्टलाई मात्र बढी महत्त्व दियो।

उदाहरणका लागि चिनियाँको शरीर जिम्न्यास्टिकका लागि अनुकूल थियो। उसले त्यस्ता खेललाई प्राथमिकतामा राख्यो भने कम प्रतिस्पर्धा हुने खेललाई छान्यो। जिम्न्यास्टिकसँगै जुडो, पौडी, एथ्लेटिक्सलाई उसले क्रमैसँग अगाडि बढायो। त्यसै गरी, टेबलटेनिस र ब्याडमिन्टनमा पनि छोटो समयमै चामत्कारिक प्रदर्शन गर्न सफल भयो।   

तीन वर्षकै उमेरमा प्रशिक्षण
धेरैजसो देशमा पाँच वर्षपछि मात्र बालबालिकालाई खेलकुदको प्रशिक्षण दिने प्रचलन थियो। चीनले त्यसमा पुनर्विचार गर्‍यो। उसले ठूला प्रतियोगितामा पदक जित्ने हो भने योभन्दा कम उमेरबाटै खेलाडी तयार पार्ने रणनीति अवलम्बन गर्‍यो। यही रणनीतिअनुरूप साना बालबालिकालाई निकै कडा र कठिन ट्रेनिङ दिन सुरु गर्‍यो, जुन अहिले पनि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ। तीन वर्षभन्दा कम उमेरका खेलाडीले घण्टौँसम्म कठिन टे«ेनिङ गर्ने गरेका छन्। उनीहरू कहिले घण्टौँसम्म डण्डीमा झुण्डिन्छन् भने कहिले लामो समयसम्म पानीमा डुबिरहन्छन्। यसले उनीहरूलाई बलियो र साहसीसँगै कुशल खेलाडी बनाउने विश्वास चीनको छ। कठिन ट्रेनिङबाटै खेलाडी च्याम्पियन बन्न सक्ने मान्यता चीनले अवलम्बन गर्दै आएको छ। 

विद्यालयहरूमा घण्टौँसम्म बिनाकारण कठिन सजाय पनि दिने गरिन्छ। यसको एउटै कारण हुन्छ, बच्चाले आफ्नो तागत बढाउन सकून् र आफ्नो आन्तरिक शक्तिबारे जान्न सकून्। पछिल्लो समय चीनको नैनिङ प्रान्तस्थित जिम तथा ट्रेनिङ सेन्टरको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। भिडियो र तस्बिरले धेरैलाई भावुक पनि बनाएको छ। स–साना बालबालिका रुँदै÷कराउँदै प्रशिक्षण गरिरहेको दृश्य साँच्चै नै हृदयविदारक छ। यो भिडियो र तस्बिर देखेर धेरैले चीनलाई निर्दयी पनि भनेका छन्। तर, यो विश्व खेलकुद मञ्चको बादशाह चीनको च्याम्पियन खेलाडी बनाउने रणनीतिकै एउटा पाटो हो।
–एजेन्सी 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि