खाल्डो ‘सेन्ट्रिक’ जीवन

writer

विजयालक्ष्मी

बिहिबार, १८ असार २०७७


अनुभूति-

अफिस खुल्ने नियम बने तर खाल्डो (काठमाडौँ) बाहिरका कर्मचारी ल्याउने नियम बनेन। अर्काको कारलाई मोटो रकम तिरी निजी कार बनाई धेरै मानिस जसोतसो उपत्यकामा छिरे। तर, यहाँका कोठे घर छिर्न मुश्किल छ। ती घर महिनैपिच्छे जति नै रकम तिरे पनि हाम्रा निजी हुन सकेनन्।


घर र भवनको फरक चार वर्षअघि काठमाडौँ छिरेपछि थाहा पाएकी थिएँ। आफ्नो गाउँको घर छोडेर काठमाडौँमा भवन खोजिरहकी थिएँ, जसको एक कोठा भाडामा लिई मैले नयाँ घर बनाउनु थियो। 

केही दिनअघिसम्म मेरो घर फराकिलो थियो। तर, काठमाडौँ खाल्डो छिरेपछि मनमा मात्र फराकिलो रह्यो घर। वास्तविकतामा एउटा चार गजको कोठामा समेटियो। भुइँतलाको सानो कोठाको पश्चिम कुनामा धेरै स्टोरेज भएको सिंगल लो बेड, जसले दराजको पनि काम गर्छ, त्यसपछाडि चेपमा खाँदिएका केही थान काला झोला। छेउको किताब राख्ने र्‍याक, त्यसमा नअटेका किताब–कपीको ठूलो चाङ त्यसकै आडमा लगाइएको छ। कोठाको एउटा कुनामा फोहोर लुगा थुपार्छु। कोठाका बीचमा ओछ्याइएको गलैँचा। जसमाथिको सानो टेबलमा सधैँ धुलो जमाउँदै थोत्रो ल्यापटप उत्तानो परिरहन्छ। भुइँभरि छरिएका चार्जर, इयरफोन, मल्टिप्लगका तानाबाना। पूर्वी कुनामा ग्यास चुलो मात्र अट्ने किचेन र्‍याक, त्यसको आडमा मिलाएर राख्न खोजिएका भाँडाकुँडा, पानीका बाल्टी र चामलको बोरा। ढोकापछाडि लहरै ठोकिएका काँटीमा खातमाथि खात उनिएका लुगा र ढोका लगाएपछि ड्रेसिङ रुमको काम गर्ने कुना। यही हो मेरो घर र मजस्ता धैरैको घर। 

तर, विडम्बना, मेरो घर अरू कसैको भवनमा छ। महिनैपिच्छे केही रकम तिरेर आफ्नो घरलाई त्यही भवनको कोठामा पोखाउने चाँजोपाँजो मिलाउँछु। आज पनि त्यहीँ छ मेरो घर र त्यहाँ पुग्ने प्रयत्न गर्दै छु। 

संसारै महामारीको चपेटामा परेका बेला कोरोना र भोकमरी दुवैको त्रासमा काठमाडौँ छोडी आफ्नो गाउँ फर्किने म र मजस्ताको जमात ठूलै थियो। त्यो सानो कोठे घरलाई ताल्चाको जिम्मा लगाई छोडेको तीन महिना भइसक्यो। महामारीले गाउँ धकेले पनि पेटले फेरि काठमाडौँ बोलाइरहेछ। ‘काठमाडौँ उपत्यकाका तीन वटै जिल्लालाई एउटै मानी अधिराज्यभर जिल्लाभित्र निजी सवारी साधन चलाउन दिने र बिस्तारै बजार र अफिस खुल्ने रे’ भन्ने खबर आउन थाले। कर्मचारी काठमाडौँबाहिर भए पनि के भयो ? अफिस त काठमाडौँमै छ। अफिस खुल्यो। एक हप्तामा हाजिर हुने सूचना आयो।

प्याकेटका खाना खाने बानी परेका हामीलाई लाग्यो काठमाडौँमा त्यस्तै प्याकेटमा सफलता बाँडिन्छ। अन्त्यमा हामी तिनै प्याकेटभरि हावा भरिएझैँ अस्तित्वहीन हुन के बेर ? 

अफिस खुल्ने नियम बने तर खाल्डो (काठमाडौँ) बाहिरका कर्मचारी ल्याउने नियम बनेन। अर्काको कारलाई मोटो रकम तिरी निजी कार बनाई धेरै मानिस जसोतसो उपत्यकामा छिरे। तर, यहाँका कोठे घर छिर्न मुश्किल छ। ती घर महिनैपिच्छे जति नै रकम तिरे पनि हाम्रा निजी हुन सकेनन्।

यसमा दोष न भवन मालिकको छ, न त हाम्रो। हामी बाध्यताले भवनको गेट ढकढक्याइरहेछौँ। अनि भवन मालिक आफ्नो र परिवारको सुरक्षाका लागि हामीलाई कोठे घर छिर्न दिइरहेका छैनन्। कोरोना महामारी केही हदसम्म दोषी होला, तर मुख्य दोष छ, खाल्डो ‘सेन्ट्रिक’ जीवन प्रणालीको।  

हामी कहाँ स्रोत र जमिनको अभाव छैन, जहाँ आफ्नै भवन र त्यसमा घर बनाउन नसकियोस्। हामी कहाँ आवश्यकता धेरै छन्। जुन हाम्रा गाउँका जमिनमा अटाएनन्। जुन त्यहाँका स्रोतले अघाएनन्। हाम्रो स्रोत बढेको छैन, तर जीवनस्तर यस्तो उकालो लागेको छ कि मानाँै हाम्रा खुट्टा जमिनमा धसिँदा हामी जून छुन तन्किरहेछौँ। अचम्म लाग्छ, आफ्नो तन्काइमा गाउँदेखि तन्किएर काठमाडौँका कुना–कुना चिहाउँदै छु। खुट्टा त्यही गाउँमा रहँदा त्यो सपनाजडित आवश्यकताको तन्काइ शरीरले कसरी थामोस् ? अव्यवस्थित यो तन्काइ चुँडिनु निश्चित थियो। यो महामारी त एक हावाहुरी मात्र हो, जसले गति बढाएको छ। यसअघि पनि निरन्तर सपना चँुडिइरहेका थिए र चुँडिइरहनेछन्। 

काठमाडौँ खाल्डोमा हरेक वर्ष भवन बढिरहेका छन्। तिनका कोठा–कोठालाई घर बनाउने जमात पनि बढिरहेको छ। लाग्छ, यो खाल्डो मायानगरी हो, नदीको घुमाउने दहझैँ सबै वस्तु, पातपतिंगर आफूतर्फ तानिरहेछ। एसईई सकिएपछि काठमाडौँ, १२ पास गरेर काठमाडौँ, आमाबुबाले विवाह अस्वीकार गरे भागेर काठमाडौँ, गाउँमा दुःख भयो सुख खोज्दै काठमाडौँ ! मेरा सबै नातेदार बसाइँ सरिसके, उनीहरूको पछि–पछि म पनि काठमाडौँ !

काठमाडौँ छिर्ने जमातझैँ बाहिरिने जमात पनि छ। केही स्रोत र सपनाले टाट पल्टिएर गाउँ फर्किन्छन्। कोही अझ तन्किँदै संसार चियाएर टाट पल्टिन काठमाडौँबाट उड्छन्। अनि यस्तो जमात पनि छ, जो यहाँ एक खुट्टा मात्र टेक्न मिल्ने जमिन पाए पनि टिकिरहन चाहन्छ। ऊ खाल्डोभित्र गल्लीको कुकुरझैँ भौँतारिरहन्छ। एक भवनदेखि अर्कोमा आफ्नो घर सारिरहन्छ। यदि उसको नाममा गाउँमा फराकिलो जमिन भए त्यसलाई निचोरेर खाल्डोमा सानो माटो किन्छ, ऋण गरेर भवन ठड्याउँछ र त्यसको टुप्पाबाट गमक्क परी यसरी वरपर हेर्छ। मानौँ, ऊ खाल्डोकै राजा हो। 

सपना चुँडिएकाहरू खाल्डोबाट बाहिरिए पनि तिनले छोडेका कोठे घर कहिल्यै खाली हुन्नन्। अझ दिनैपिच्छे उपत्यकाका कुना–कुनामा भवन थपिइरहन्छन्। तिनका पनि कुनै कोठा खाली रहन्नन्। यहाँ सपना र सपना देख्नेको कमी छैन। थानकोटबाट हेर्दा काठमाडौँ भरिएको डस्टबिनजस्तो देखिए पनि यसभित्र चियाउने र खोस्रेर केही भेटिन्छ कि भनेर आशावादी हुनेको पनि यहाँ कमी छैन।

काठमाडौँ मायानगरी न हो, यसले माया रचिरहेछ। अनेकाँै सपनाको चिता जलाउँदै गर्दा अन्य सपनालाई पनि आगोले पुतलीलाई बोलाएझैँ बोलाइरहन्छ। त्यसैले त पुरानो बानेश्वरका मान्छे मुश्किलले हिँड्न मिल्ने गल्लीमा ठडिएका भवनदेखि मनोहरा खोलाका पुलमुनिका छाप्रोसम्म मान्छेका घर बनिरहेछन्। खाली भइरहेछन्, पुनः भरिइरहेछन्। 

यो महामारीले काठमाडौँको केही बिगार्नेछैन। अहिले चेत पाएर गाउँ फर्किएकाहरू मजस्तै गरी पुनः पेटले बोलाएर फिर्नेछन्। उनीहरू नफर्के पनि छोरानाति फर्किनेछन्। न त महामारीले यहाँका भवनको नै केही बिगार्नेछ। त्यस भवनका बासिन्दा महिनौँपछि फर्किए पनि आफ्नो घर, आफ्नो पलङ, आफ्ना सरसामान राखिदिएकोमा भवनलाई मूल्य चुकाउनेछन्, घरभाडा तिर्नेछन्। धुलो टकटकाई मुसाले काटेका बिस्तरा फेर्नेछन्। तेस्रो–चौथो तलासम्म तल इनारबाट बाल्टीमा पानी ओसार्नेछन्। पुनः त्यही भवनको कोठामा आफ्नो घर बनाउनेछन्। 

मजस्ता हज्जारौँ मानिस एकातर्फ महामारी र अर्कोतर्फ खाल्डोकेन्द्रित जीवन प्रणालीको जाँतोमा पिल्सिएका छौँ। हामीले अरूको लहैलहैमा सपना देख्यौँ, अरूकै पछि–पछि खाल्डो छिर्‍यौँ र आज अरूकै ढोका ढकढक्याएर आफ्नो घर छिर्ने अनुमति माग्दै छौँ। यहाँको सामाजिक प्रणालीले हामीलाई आफ्नो जग बलियो बनाउनभन्दा पनि सपना देख्न हौस्यायो। हामी अब सपनाको वायुपंखी घोडामा सवार भई आकाशको बाटो लक्ष्य भेटिनेमा ढुक्क भयौँ। जग बलियो बनाई आफ्ना लागि आफैँ बाटो बनाउनतर्फ लागेनौँ। प्याकेटका खाना खाने बानी परेका हामीलाई लाग्यो काठमाडौँमा त्यस्तै प्याकेटमा सफलता बाँडिन्छ। अन्त्यमा हामी तिनै प्याकेटभरि हावा भरिएझैँ अस्तित्वहीन हुन के बेर ? 

मनमा यी सब कुरा खेलाई यो मायानगरीलाई जति गाली गरे पनि मेरो जीवन विवश छ। सधैँ १५ रुपैँयामा पुगिने अफिस जान भोलिलाई कुनै बिजोर नम्बर प्लेटको निजी सवारी साधन खोज्नु छ। नातेदारकोमा कति बसौँ, कुनै मनकारी भवन मालिकलाई रिझाएर आफ्नो घर बसाउन कोठा खोज्नु छ। 

जति नै विरोध गरुँ, मेरो पनि तपाईंको झैँ खाल्डोकेन्द्रित छ जीवन।

तपाईको कमेन्ट