सलह फैलिने सम्भावना कम

writer

नारायण अधिकारी

बिहिबार, १८ असार २०७७


नेपालमा सलह भारतको राजस्थानबाट आएको अनुमान गरिएको छ। प्रजननका लागि यो पुनः त्यहीँ फर्किने सम्भावना बढी भएको विज्ञहरू बताउँछन्।


अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलहको संख्या वृद्धि हुने सम्भावना न्यून रहेको विज्ञहरू बताउँछन्। शनिबार चारवटा झुण्डमा नेपाल छिरेको सलहमा आइतबार नयाँ समूह पनि थपिएको छ। लाखौँको संख्यामा रहेको सलहको उक्त समूह कपिलवस्तुमा देखिएको हो। प्रदेश नं.२, ५ र ७ का सीमाआसपास नयाँ समूह देखिएको छ। 
 
कृषि तथा वन विज्ञान विश्वविद्यालयका कीट विज्ञान विभागका प्रमुख प्रा.डा. सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न बालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्छ। उनले भने, ‘त्यस्तो ठाउँ नेपालमा छैन। यस हिसाबले नेपालमा सलह फैलिने सम्भावना कम रहेको छ।’

वातावरणीय प्रभावका कारण थप अनौठो नभएमा सलह उपयुक्त प्रजनन क्षेत्रतर्फ फर्किने अनुमान विज्ञले गरेका छन्।‘नेपालमा सलह भारतको राजस्थानबाट आएको हुन सक्छ,’ उनले भने, ‘प्रजननका लागि यो पुनः त्यहीँ फर्किने सम्भावना बढी छ।’ अफ्रिकाबाट सात हजार किलोमिटर पार गरेर आएजस्तो नदेखिएको र अहिले आएको सलह भारतको सो क्षेत्रकै भएको विज्ञले आँैल्याएका छन्। ‘नेपालमा आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका हुन्,’ तिवारीले भने, ‘सलहको आयु छैटौँ चरणसम्म हुन्छ। सरसर्ती हेर्दा अहिले आएका सलहमध्ये पाँचौँ थप एक हप्ता, चौथो डेढ हप्ता र तेस्रो दुई हप्ता मात्रै रहने अनुमान गरेका छौँ।’
 
प्रजननका लागि वयस्क सलह फर्किने अनुमान पनि विज्ञले गरेका छन्।‘धेरै आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘तर, पूर्वतयारी चाहिँ गर्नुपर्छ।’ उनका अनुसार सलह साधारण फट्यांग्रा प्रजातिको नै हो। यसको सिङ छोटो हुन्छ। पछाडिको खुट्टा दह्रो र मोटो हुन्छ। यो कीरा समूहमा बस्न मन पराउँछ। ‘यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्छ र आफ्नो जीवनकालमा यसले तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ,’ डा. तिवारीले भने, ‘१० देखि ६५ दिनमा अण्डाबाट बच्चा बन्छ।’ 
 
सलहका बच्चा एकदेखि तीनमहिनामा पूर्ण वयस्क हुने, वयस्क चारदेखि पाँच महिनासम्म बाँच्ने, वयस्क सलह लामो समयसम्म हावामा उड्न सक्ने र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्ने तिवारीले बताए। ‘सलह एक ठाउँबाट अर्काे ठाउँमा वा एक खेतबाट अर्काे खेत गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो वनस्पतिलाई छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीव हो,’ उनले भने, ‘एक दिनमा लगभग १ सय ३० किलोमिटरसम्म हूल बनाएर हिँड्छ।’
 
संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतयासलह प्रतिदिन दुई ग्रामसम्म खान सक्छ र एक किलोमिटरको हूलमा हुने करिब चारदेखि आठ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ। 

सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्त्वपूर्ण कारण ठानिएको छ। सलहको संख्या आठ हजार गुणासम्म बढेको बताइन्छ। विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ। वातावरणमा भएको सुक्खापनले यिनीहरूको संख्या ह्वात्तै बढेको विज्ञ बताउँछन्। 

कतिपय देशले सलह नियन्त्रण गर्न हेलिकप्टरबाट विषादी प्रयोग गरेको बताइन्छ। हाल प्रयोगमा आएका विषादीमा मालाथिएन र फेनिट्रोथिएन प्रमुख हुन्। वातावरणीय एवं स्वास्थ्यको दृष्टिकोणले यी विषादी राम्रा नभए पनि सलह नियन्त्रणका लागि उपयुक्त ठानिएका छन्। तर, विषादी प्रयोग गरिसकेपछि ती खाद्यान्न बालीमा विषादीको पर्खनुपर्ने अवधिलाई मध्यनजर गरी बाली भिœयाउनुपर्नेविज्ञ बताउँछन्। विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित, साँघुरा–प्रकृतिका एवं सिफारिस मात्रामा छर्किनुपर्छ। ‘विषादी छर्ने व्यक्तिले आफ्नो शरीरलाई पूर्णरूपमा ढाकी मुखमा मास्क र चस्मा लगाएर मात्र छर्नुपर्छ,’ डा. तिवारीले भने,‘घरायसी प्रयोगमा लगाइने बालीलाई जाली एवं अलि ठूलो बारले ढाकेर राख्नुपर्छ।’

    कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकाल थन्काउने बेला भएको बालीलाई टिपेर वा काटेर तत्काल थन्क्याउनुपर्नेमा जोड दिन्छन्। ‘सानो जग्गा वा करेसाबारीमा लगाइएका बाली एवं धानका ब्याड आदिलाई हाल केही समय प्लास्टिक, झुल एवं स्याउलाले ढाकेर राख्नु उपयुक्त हुन्छ,’ ढकालको सुझाव छ।
 
सलह बसेका हाँगा र बिरुवालाई हल्लाएर वा आवाज निस्कने सामान बजाएर एवं पानीको फोहरा प्रयोग गरेर पनि यसलाई धपाउन एवं व्यवथापन गर्न सकिन्छ। ‘विषादी प्रयोग गर्नुपर्ने अवस्थामा आफूलाई पायक पर्ने ठाउँका प्राविधिकको सल्लाहबमोजिम विषादी सुरक्षित र सिफारिस मात्रामा प्रयोग गर्नुपर्छ,’ ढकालले भने। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि