खेलाँची गर्दा  कोरोना पुग्यो समुदायमा

writer

ललितबहादुर बुढा/सुर्खेत

बिहिबार, १८ असार २०७७


लकडाउनको झण्डै दुई महिनासम्म स्थानीय तह र प्रदेश सरकारले क्वारेन्टिन र  आइसोलेसन सेन्टर निर्माणमा केवल झारा टारे । अहिले संक्रमितको चाप थेग्नै मुश्किल भएको छ । स्वास्थ्य पूर्वाधार निर्माणमा लापर्बाही गरिएकाले अवस्था जटिल बनेको हो ।
 


जेठ ५ मा कर्णालीमा पहिलो कोरोना संक्रमण पुष्टि भयो । भारतबाट फर्किएका दैलेखको आठबीस नगरपालिकाका युवामा कोरोना देखियो । उनी अहिले कोरोना जितेर घरमा छन् । देशका सबै प्रदेशमा कोरोना संक्रमण भइरहँदा जेठ पहिलो साताबाट मात्र कर्णालीमा संक्रमण भित्रिएको थियो । सुरुवातमा भारतबाट फर्किएकाहरूमा मात्र संक्रमण देखिएको कर्णालीमा खेलाँची गरिएकै कारण अहिले समुदायमा नै संक्रमण फैलिएको छ ।
    

अन्य प्रदेशमा संक्रमणको दर बढ्दै थियो । त्यतिबेला कर्णालीमा एक जना मात्र संक्रमित थिए । तर, पहिलो संक्रमितको उपचार र आइसोलेसन व्यवस्थापनमै लापर्बाही भयो । कोरोना पुष्टि हुँदा पनि उनलाई अन्य व्यक्तिसँँगै केही दिनसम्म क्वारेन्टिनमा राखियो । चौतर्फी विरोधपछि मात्र उनलाई क्वारेन्टिनबाट आइसोलेसनमा सारिएको थियो । बिस्तारै संक्रमितको संख्या पनि थपियो । तर, पनि भारतबाट आएर क्वारेन्टिनमा राखिएकामा मात्र संक्रमण देखिन्थ्यो । यसैलाई नजिर बनाएर स्थानीय र प्रदेश सरकार कोरोना समुदायमा गइनसकेको भन्दै ढुक्क थिए । 
    

क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापनमा पनि खेलाँची भयो । भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण र उद्धारमा लापर्बाही गरियो । भारतबाट फर्किनेको लर्कोले जेठ मध्यतिर क्वारेन्टिनमा चाप थेग्नै मुश्किल भयो । प्रदेश सरकारले व्यवस्थापनको सबै जिम्मा स्थानीय तहलाई दिएर पन्छियो । स्थानीय तहले पनि थेग्न नसकेपछि मान्छे रातारात आरडीटीको भरमा क्वारेन्टिनबाट घर पठाइए । यही कारण जेठ अन्तिमसम्म क्वारेन्टिनमा मात्र सीमित रहेको कोरोना असार लागेसँगै समुदायमै फैलियो । संक्रमण समुदायमा पुगेपछि अवस्था जटिल बनेको छ । 
    

डोल्पाका ५८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भयो । उनी न संक्रमित क्षेत्रबाट आएका थिए, न त संक्रमित व्यक्तिको सम्पर्कमा नै पुगेका थिए । तर, पनि उनमा कोरोना देखियो । केही दिनअघि प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका दैलेखका तीन जनामा पनि कोरोना संक्रमण देखियो । उनीहरू पनि गाउँमै थिए । अन्य रोगको उपचार गर्न आएका उनीहरूमा कोरोना संक्रमण देखिएको हो । यस्तै संक्रमण सरेको हुन सक्ने आंशकामा परीक्षण गर्दा अस्पतालका केही स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आयो । यसले पनि कोरोना समुदायमा फैलिएको पुष्टि गरेको छ । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना संक्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताए । क्वारेन्टिनबाट फैलिएको कोरोना समुदायमा पनि गएकाले थप जोखिम बढेको उनको भनाइ छ । 

भारतबाट फर्किएकाहरूमा मात्र देखिएको कोरोना पछिल्लो समय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणमा समेत देखिन थालेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘संक्रमण देखिएको एक महिनामै संक्रमितको संख्या एक हजार नाघ्यो । सुरुमा त संक्रमण क्वारेन्टिनमा मात्र थियो । असार लागेसँगै क्वारेन्टिनबाहिर पनि संक्रमण देखियो । जनप्रतिनिधिदेखि सुरक्षाकर्मीसम्ममा संक्रमण देखिन थालेको छ ।’ कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि अब परीक्षणलाई समुदायमै केन्द्रित गर्नुपर्ने बताएका छन् । ‘समुदायमा पनि संक्रमण देखिन थाल्यो,’ उनले भने, ‘अब परीक्षणलाई समुदायमा केन्द्रित गर्नुपर्छ । भारतबाट आउनेको चाप पनि बिस्तारै घट्दै छ । यस कारण पनि हाम्रो ध्यान अब समुदाय स्तरमा हुनुपर्छ ।’

आरडीटीको भर पर्दा समस्या
    

संक्रमण समुदायमा फैलिनुमा परीक्षणमा गरिएको लापर्बाही मुख्य कारण हो । कर्णालीमा हालसम्म संक्रमित क्षेत्रबाट करिब ६० हजार नागरिक भित्रिएका छन् । त्यसमध्ये अधिकांशलाई आरडीटी परीक्षण गरेर घर पठाइएको छ । आरडीटीकै भर परेका कारण पनि कोरोना समुदायमा पुगेको पुष्टि भएको छ ।
सुर्खेतको पञ्चपुरीका एक युवालाई आरडीटी परीक्षण गरेर क्वारेन्टिनबाट घर पठाइयो । आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो । तर, घरमा पुग्नेबित्तिकै उनको मृत्यु भयो । मृत्युपछि मात्र उनको पीसीआर परीक्षण गरियो । पीसीआर रिपोर्टमा भने कोरोना पोजिटिभ देखियो । सोमबारसम्म कर्णालीमा कोरोनाबाट छ जनाको मृत्यु भइसकेको छ । उनीहरूको मृत्युपछि मात्र पीसीआर परीक्षण गरिएको थियो । अर्थात्, आरडीटीमा नेगेटिभ देखिए पनि उनीहरूको मृत्युपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

स्थानीय र प्रदेश सरकारले आरडीटीमा भर परेर कोरोना परीक्षणमा गम्भीर खेलाँची गरे । आरडीटी रिपोर्ट नेगेटिभ आएर घर पठाइएकाबाटै समुदायमा कोरोना फैलिएको आंशका गरिएको छ । किनकि, हतारमा आरडीटी गरेर घर पठाइएकालाई पीसीआर रिपोर्ट पोजिटिभ आएपछि रातारात घरबाट पुनः क्वारेन्टिन र आइसोलेसनमा ल्याउने गरिएको छ । संक्रमित क्षेत्रबाट भित्रिएका सबैको पीसीआर परीक्षण गर्न नसक्दा पनि कोरोना समुदायमा फैलिएको सामाजिक विकास मन्त्रालयले स्वीकार गरेको छ । प्रदेश सरकारले कर्णाली प्रवेश गर्ने मुख्य नाकामा नै स्वास्थ्य परीक्षण र क्वारेन्टिन व्यवस्थापन गर्ने भने पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा कोरोना गाउँसम्म पुगेको हो ।

झारा टार्ने पूर्वतयारी

लकडाउनको झण्डै दुई महिनासम्म त स्थानीय तह र प्रदेश सरकारले क्वारेन्टिन र  आइसोलेसन सेन्टर निर्माणमा केवल झारा टारे । संक्रमितको उपचारका लागि आइसोलेसन बनाउन ध्यानै दिएनन् । अहिले संक्रमितको चाप थेग्नै मुश्किल भएको छ । स्वास्थ्य पूर्वाधार निर्माणमा लापर्बाही गरिएकाले अवस्था जटिल बनेको हो ।
एउटै स्थानीय तहमा तीन हजारसम्म नागरिक भित्रिए । रातारात सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाएका स्थानीय तहले एउटै कोठामा ५० जनासम्मलाई भेडाबाख्राजसरी कोचेर राखे । यसले पनि संक्रमण फैलियो । टिपर, ट्रक र ट्र्याक्टरमा समेत नागरिकलाई ओसारिएका कारण अहिले संक्रमितको व्यवस्थापन हम्मेहम्मे भएको छ । सुरुमा व्यवस्थापनमै चुकेका स्थानीय तहलाई अहिले संक्रमितको व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । 

कर्णालीमा सबैभन्दा बढी संक्रमित भएको दैलेखमा त संक्रमित सडकमै निस्केर आन्दोलनमा उत्रिए । व्यवस्थापन नहुँदा संक्रमित चिसो भुइँमा सुत्न बाध्य छन् । डाक्टरको निगरानी, उपचार तथा औषधिको व्यवस्था हुन नसकेको उनीहरूले गुनासो गरिरहेका छन् । तर, आफूहरू संक्रमितको व्यवस्थापनमा जुधिरहेको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।
 

‘बजेट अभाव छ, मापदण्डअनुसारको क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाउन सकेका छैनाँै,’ दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढाले भने, ‘संघीय सरकारबाट निर्देशनबाहेक कुनै पनि सहयोग पाएका छैनौँ ।’ यस्तै जिल्लाकै महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले भने, ‘संक्रमितको व्यवस्थापनमा हैरानी खेप्नुपरेको छ । उनीहरूलाई स्कुलमै राखेका छौँ । डाक्टर र स्वास्थ्यकर्मी पर्याप्त छैनन् ।’ गाउँपालिकामा एकै पटक धेरै संक्रमित भएपछि व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ ।

असारपछि मात्र समुदायमा परीक्षण 

क्वारेन्टिन र संक्रमितको सम्पर्कमा आएका व्यक्तिको परीक्षण घट्दै गएको खण्डमा मात्र समुदाय स्तरमा कोरोना परीक्षण गर्ने तयारी गरिएको छ । संक्रमणमुक्त गाउँ–टोल, घोषणा गर्न समुदायमा परीक्षण गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

समुदाय स्तरमा परीक्षण गर्दा संक्रमणको जोखिममा रहेका, आरडीटी गरेर क्वारेन्टिनबाट घर पठाइएका र दीर्घरोगका बिरामीलाई पहिलो प्राथमिकतामा राखिनेछ । समुदाय स्तरबाट संकलित स्वाब पुल टेस्ट विधिबाट परीक्षण गरिने मन्त्रालयले जनाएको छ । 

कोरोनासँग लड्न कर्णाली प्रदेशले पाँच वटा रणनीति अपनाएर अघि बढ्ने भएको छ । पहिलो चरणमा क्वारेन्टिनमा रहेका सबैको पीसीआर परीक्षण गरिनेछ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार संक्रमितसँगको सम्पर्कमा आएका सबैको परीक्षण, आरडीटी परीक्षण गरेर घर पठाइएकाको परीक्षण, वृद्ध र दीर्घरोगीको पीसीआर परीक्षण र आईसीयू तथा भेन्टिलेटर खरिद गरेर कोरोनासँग जुध्ने रणनीति बनाइएको छ ।

रित्तिन थाले क्वारेन्टिन

हाल कर्णाली प्रदेशभर ४३ हजार २ सय ६० बेड संख्याका क्वारेन्टिन छन् । विदेशबाट आउनेको संख्या घटेसँगै क्वारेन्टिन पनि खाली हुन थालेका छन् । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार सोमबारसम्म प्रदेशभर ६ हजार ४५ जना नागरिक मात्रै क्वारेन्टिनमा छन् । तीमध्ये ५ हजार १ सय २१ जना पुरुष र ९ सय २४ जना महिला छन् । विदेशबाट गाउँ फर्कने नागरिकको संख्या घटेसँगै वडामा निर्माण गरिएका क्वारेन्टिन हटाइने भएको छ । जिल्ला र पालिकामा तयार पारिएका सुविधासम्पन्न र ठूला क्षमताका क्वारेन्टिन मात्रै सञ्चालनमा ल्याइनेछ । महाशाखा प्रमुख डा. तिवारीका अनुसार सोमबारसम्म झण्डै आठ सय स्वाब प्रयोगशालामा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र सुर्खेतस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा करिब चार÷चार सयको हाराहारीमा स्वाब रहेको उनको भनाइ छ । पछिल्लो समय कर्णालीमा भित्रिएका ४६ हजार ९ सय ९६ जनामध्ये सोमबारसम्म २० हजार ९ सय ४० जनाको पीसीआर परीक्षण र २७ हजार ३ सय १९ जनाको आरडीटी गरिएको छ ।

उपकरण खरिदमा १६ करोड खर्च

कोरोनाको त्रासपछि कर्णाली प्रदेश सरकारले स्वास्थ्य उपकरण खरिदमा १६ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख विनोदकुमार आचार्यले मन्त्रालयबाट हालसम्म औषधि र उपकरण खरिदमा १६ करोड २६ लाख रुपैयाँ खर्च भएको बताए । त्यसमध्ये दुई करोड रुपैयाँ संघीय सरकारबाट प्राप्त बजेट हो भने अरू रकमान्तर गरेर खर्च गरिएको हो । जटिल केसका संक्रमितको उपचारका लागि प्रदेशभर हाल १८ वटा भेन्टिलेटर र ४० वटा आईसीयू रहेका छन् । 


 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि