सत्ता राजनीतिका अप्रिय दृश्य

writer

सम्पूर्ण

बुधबार, १७ असार २०७७


कोरोना महामारी र यसले सिर्जना गरेका कैयौँ समस्या थप महामारी भइरहेको बेला  राजनीतिक तहमा ‘नयाँ महामारी’ को संकेतले जनतालाई भरंग बनाएको छ । बलियो बहुमतप्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षडयन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए– ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ ।’ उनले भारतको यो प्रयासमा नेपालका नेताहरूको समेत साथ रहेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीबाट प्रस्ट भाषामा जुन तहको टिप्पणी आएको छ, यसले ‘राजनीतिक महामारी’को स्पष्ट संकेत गर्दछ । 

तर, सार्वभौम देशको सार्वभौमसत्तासम्पन्न जनताका प्रतिनिधिबाट चुनिएका प्रधानमन्त्रीलाई छिमेकी देशको सरकारले हटाउने चलखेल गर्दै छ र त्यसमा आफ्नै देशका नेताहरूको साथ रहन्छ भने त्यो देश र जनताप्रतिको घोर अपमान हो । सत्तारूढ दलभित्रको राजनीति कुन तहसम्म कचमचिएको छ भन्ने अनुमान सर्वसाधारण जनताले पनि सजिलै लगाउन सक्ने भएका छन् । पार्टीभित्रको आन्तरिक राजनीतिमा आफूलाई दर्बिलो बनाइराख्न र सरकार तथा पार्टीमा आफ्नो विकल्प छैन भन्ने पुष्टि गर्न मात्र प्रधानमन्त्रीले यो तहको अभिव्यक्ति दिएका हुन् भने यसले कोरोनाले अन्य महामारी सिर्जना गरेजस्तै राजनीतिक तहमा पनि ‘नयाँ महामारी’ उत्पन्न हुन सक्छ । प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर पार्टीभित्र प्रश्न उठाइरहेका उनका सहकर्मी कमरेडले सरकार हटाउने चलखेल कहाँ, कसरी भयो, त्यसको जवाफ माग्ने भएका छन् । 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उधारो सहमति गर्दा ‘ओलीजीले धोका दिनुहुन्छ भन्ने प्रमाणित भइसकेको’ बताउँदै स्थायी कमिटीको बैठकबाट वार कि पार गर्नुपर्ने बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल ‘दुवै अध्यक्ष जुनसुकै बेला पनि आफूहरूलाई मात्रै फाइदा हुने निर्णय लिन पछि पर्दैनन्, ओलीजीमाथि त कुनै विश्वासै छैन, प्रचण्डमाथि पनि भरोसा गरिहाल्न सकिन्न’ भन्छन् । उता, प्रधानमन्त्री ओली भने ‘अल्पमत र बहुमतको कुरा गरेर मलाई हटाउने खेल भइरहेको छ, म पनि हेर्छु, के हुन्छ ?’ भन्दै आएका छन् । पार्टीको नेतृत्वमा रहेका नेताहरूबीच यो हदसम्मको अविश्वास पैदा भएपछि ‘राजनीतिक महामारी’ निकट रहेको अनुमान लगाउन थालिएको छ । जनस्वास्थ्यको यो महामारीमा जनताले विविध संकट भोगिरहेको छ । यी संकटमाथि राजनीतिक तहमा उत्पन्न हुने संकटले जनताको दुःख  थप वृद्धि गर्नेछ । त्यसैले सत्तारूढ दलका नेताहरूले यो बेला सत्ताको दाउपेचको राजनीति गर्नुभन्दा पनि कोरोना भाइरसको महामारीबाट जनताको ज्यान कसरी जोगाउने र तहसनहस भएको अर्थतन्त्रलाई कसरी उकास्ने भन्नेमा ध्यान दिन जरुरी छ । 

महामारी व्यवस्थापनमा सरकार दिन प्रतिदिन चुकिरहेको छ । सरकारका हरेक कदममा कुनै न कुनै त्रुटि भइरहेका छन् । सरकारप्रति जनताको अविश्वास बढ्दै गएको छ । तर, यही बेला सरकार अपदस्थ गराउने खेलमा सत्तारूढ दलकै नेताहरू लाग्ने अवस्था आउनु सुखद कुरा होइन । बहुमतप्राप्त दलबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने विषय पार्टीको संसदीय दलको नेता चयन हुने प्रक्रियाबाटै हुने भएकाले नेकपाले पार्टीभित्रै मन्थन गरेर यो विषय टुंगोमा पु¥याउन सक्नुपर्छ । एकले अर्कोलाई ‘देखाइदिन्छु’ भन्ने मुडमा पार्टीका शीर्ष नेताहरूले राजनीति गरिरहने हो भने अहिलेको संकट झनै गहिरिएर जाने सम्भावना छ । कोरोना भइरसको संक्रमण सुरु भएदेखि नै कुनै न कुनै राजनीतिक मुद्दामा अल्झिरहेको सरकार र सत्तारूढ दलका नेताले फेरि पनि जनताका अगाडि उभिएर मत माग्नुपर्ने दिन आउँछ भनेर सम्झिनुपर्छ । कुनै पनि तर्क र निहुँ देखाएर यो महामारीलाई बेवास्ता गर्दै राजनीतिक खिचातानीमा भुलिरहने छुट सत्तारूढ दलका नेताहरूलाई छैन । 

कोरोना संक्रमण फैलिन नदिन सरकारले अवलम्बन गरेका रणनीति असफल हुँदै गएका छन् । संक्रमण समुदायमा फैलिन नदिनका लागि बनाइएका क्वारेन्टिन व्यवस्थित ढंगले सञ्चालन गर्न नसक्दा संक्रमण समुदायमा पुगिसकेको विज्ञहरूले बताएका छन् । तर, सरकारले भने हालसम्म संक्रमण समुदायमा नफैलिएको दाबी गर्दै आएको छ । कोरोना संक्रमण विस्तार तीव्र गतिमा भइरहेको र यसले समुदायमा महामारीको रूप लिन लागेका बेला सत्ता राजनीतिमा जेजस्ता दृश्य देखिएका छन्, तिनले जनतामा आक्रोशसँगै चिन्ता पनि थपिदिएका छन् । त्यसैले सत्तारूढ दलले पार्टीभित्रको खिचातानीलाई कोरोना महामारीसँग मिसाएर राजनीतिक महामारीको ढोका नखोल्दा नै बेस हुन्छ । 
 

तपाईको कमेन्ट