बन्दाबन्दीले बिचल्लीमा मनोरञ्जन मजदुर

writer

सामीप्यराज तिमल्सेना

शनिबार, १३ असार २०७७


गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेसँगै फिल्म, म्युजिक भिडियो र टीभी सिरिजको सुटिङ ठप्प भएको छ । यसले सुटिङमै आश्रित करिब १० हजार प्राविधिक र मनोरञ्जन मजदुर बिचल्लीमा परेका छन् ।


फिल्म तथा मनोरञ्जन क्षेत्रमा कार्यरत प्राविधिक मजदुरको समस्याबारे एउटा टेलिभिजन कार्यक्रममा बोल्न गएका चलचित्र प्राविधिक संघका पूर्वअध्यक्ष मनोज केसी टेलिभिजनमा बोल्दाबोल्दै भक्कानिए । अरूका समस्याबारे कुरा गरिरहँदा उनले आफ्नै दुःख धेरैबेर लुकाउन सकेनन् । लाइभ कार्यक्रममै उनी रुन थाले । रुँदारुँदै उनले आफूलाई खान समस्या नभए पनि काम ठप्प हुँदा औषधि खर्च जुटाउन मुश्किल भएको बताए । 

‘खानलाई त जेनतेन पुगेको छ, तर उपचारका लागि साथीभाइसँग मागेर काम चलाइरहेको छु,’ उनले कार्यक्रममा दुखेसो पोखे, ‘एकदमै गाह्रो भइरहेको छ ।’ 

स्पटब्वाई हुँदै प्रोडक्सन म्यानेजरसम्म भएका मनोजसमस्याग्रस्त प्राविधिक तथा मजदुरको ज्वलन्त उदाहरण हुन् । टाउकोमा आएको समस्याका कारण दैनिक थेरापी गराइरहेका उनी यसका लागि आवश्यक खर्च जुटाउन नसकेर तनावमा छन् । आफूहरू आश्रित रहेको फिल्म उद्योग कोभिड–१९ का कारण ठप्प भएपछि आफूजस्ता धेरै मानिस समस्यामा परेको उनले बताए । ‘हाम्रो रोजीरोटी नै सुटिङ हो,’ उनले ‘अन्नपूर्ण सम्पूर्ण’सँग भने, ‘सुटिङै ठप्प हुँदा जीविकामा समस्या हुन थालेको छ ।’ सुटिङमा पूर्णतया आश्रित उनीहरूकोभिड–१९ को संक्रमणको डरले सुटिङ नै बन्द भएपछि दैनिक जीवन गुजाराकै लागि संघर्ष गर्ने अवस्थामा पुगेका छन् । कसैलाई खानको समस्या छ भने कसैलाई कोठाभाडाको । कसैलाई भने मनोजलाई जस्तो औषधि उपचारको पनि जोहो गर्नुपर्ने बाध्यता छ ।

सुटिङ नभएपछि छाक संकटमा 
गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेसँगै फिल्म, म्युजिक भिडियो र टीभी सिरिजको सुटिङ ठप्प भएको छ । यसले सुटिङमै आश्रित करिब १० हजार प्राविधिक बिचल्लीमा परेका छन् ।
बजेट र कलाकार हेरी एउटा फिल्ममा ३५ देखि ४० जनासम्म प्राविधिक कार्यरत हुन्छन् भने म्युजिक भिडियोमा १० देखि १५ जनासम्मको सहभागिता हुन्छ । टेलिभिजन सिरिजमा पनि यही हाराहारीमा प्राविधिकको आबद्धता रहन्छ ।

‘‘सुटिङ नहुँदा यस क्षेत्रमा कार्यरत हामी प्राविधिकआत्तिन थालेका छौँ । हामीलाई    हातमुख    जोर्नैसंकट भइसक्यो । करिब १२ सय प्राविधिकलाई तत्काल राहतको खाँचो भएकाले विकास बोर्डमा सूची बुझाएका छौँ ।’’ 
पुष्कर लामा, अध्यक्ष, चलचित्र प्राविधिक संघ

उनीहरूमध्ये केही सम्झौताका आधारमा काम गर्छन् त, कोही दैनिक ज्यालामजदुरीमा । तर, सुटिङ बन्द भएपछि अहिले यो जनशक्ति जनजीवन सामान्य भएर सुटिङमा फर्कने दिन औँलागनेर बसिरहेको छ । 

लकडाउनलगत्तै दैनिक मजदुरी गर्ने प्राविधिकलाई मर्का परेको भन्दै चौतर्फी चासो र चिन्ता व्यक्त भएको थियो । यसैका आधारमा फिल्मकर्मीले प्राविधिकको राहतका लागि भनेर गच्छेअनुसार रकम पनि उपलब्ध गराएका थिए । यसरी उपलब्ध पैसाबाट चलचित्र प्राविधिक संघले खाद्यान्न किनेर घरघरमै पु¥याएको पनि थियो । तर, यसरी पाएको राहतले महिनादिनभन्दा बढी धान्ने अवस्था नभएको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । ‘त्यो त दैनिक ज्यालादारी गर्ने प्राविधिकलाई एकदुई हप्तालाई राहत हुन्छ भनेर बाँडेका हौँ,’ उनले भने, ‘लकडाउन भएकै तीन महिना भइसक्यो । अझै कहिले खुल्छ, थाहा छैन । अब पो बिचल्ली होलाजस्तो छ ।’

पुष्करले लकडाउन भएदेखि हालसम्म १८ लाख रुपैयाँ हाराहारीको राहत बाँडेको जानकारी गराए । नेपालदेखि अमेरिकासम्मका फिल्मकर्मीले पठाएको पैसाबाट प्राविधिक संघले खाद्यान्न सहयोग गरेको थियो । तर, सुटिङसम्बन्धी गतिविधि अनिश्चित बनिरहँदा यस क्षेत्रमा कार्यरत प्राविधिक आत्तिन थालेको उनले बताए । ‘अहिलेसम्म जसोतसो धानियो,’ उनले भने, ‘तर, सरकार वा विकास बोर्डले यो क्षेत्रका मजदुरको समस्यालाई गम्भीर भएर नहेर्ने हो भने उनीहरू असाध्यै संकटमा पर्ने अवस्था छ ।’ 

‘भूकम्पमा पनि यस्तो गाह्रो थिएन’ 
करिब ३५ वर्षदेखि नेपाली फिल्ममा काम गरिरहेका मनबहादुर लामा लकडाउन लम्बिँदै जाँदा पाँच जनाको परिवार कसरी पाल्ने भन्ने सोचले अत्यासमा छन् । नेपाली फिल्मका विविध विधामा काम गर्दै आएका मनबहादुर पछिल्लो समय भने किचेनमा काम गर्छन् । उनीसँगै भान्छामा अरू तीनजना मजदुर काम गर्छन् । उनीहरू सबैले दिनको पाँच हजार रुपैयाँ पाउँछन् । 

मनबहादुरलाई अहिले चामल, नुन–तेलसँगै डेरा भाडाको चिन्ताले सताउन थालेको छ । ‘भूकम्पमा पनि यस्तो गाह्रो परेको थिएन,’ उनले भने, ‘झट्टै काममा फर्केका थियौँ ।’ तर, अहिले सबले गाह्रो छ भन्छन् । झन् उमेर खाएकालाई त सुटिङमा पनि लाँदैनन् ।अब यो उमेरमा अरू काम पनि आउँदैन । बिचल्ली होलाजस्तो छ ।’ मनबहादुर अहिले ७७ वर्षका भए । 

उता, २५ वर्षीय क्यामरा टेकर दुर्गा कुमाललाई भने लकडाउनकै समयमा झन् चोट थपिएको छ । बुटवलतिर फिल्मको सुटिङ चलिरहँदा नै लकडाउन हुने समाचार आयो । बुटवल नै स्थायी घर भएका दुर्गा  उतै बसे । तर, घरमा अचार हाल्नका लागि आँप टिप्न रूखमा चढेका उनी लडेर नराम्ररी घाइते भए । ‘एकातिर काम छैन, अर्कातिर उपचार खर्च !’उनले उदास स्वरमा भने, ‘निकै अप्ठेरोमा छु । तर, यो समय चाँडै सकिन्छ भन्ने आशामा छु ।’ 

तीन वर्षदेखि क्यामराटेकरको काम गरिरहेका दुर्गालाई जे जस्तो भए पनि यो क्षेत्रै छाडेर जान भने मन छैन । ‘हामीलाई मात्र हैन, सबैलाई गाह्रो परेको छ,’ उनले भने, ‘आत्तिनु हुन्न । हरेस खानु हुन्न ।’ उनले भविष्यमा यही क्षेत्रमा क्यामरापर्सनका रूपमा सक्रिय हुने सपना देखेका छन् । 

दैनिक ज्यालःहजार÷बाह्र सय 
फिल्म  निर्माणमा प्राविधिकको महŒवपूर्ण भूमिका रहने भए पनि पारिश्रमिकमा भने उनीहरू निकै ठगिइने गरेका छन् । कलाकारले एउटा फिल्ममा उति नै समय दिएबापत ५० लाख रुपैयाँसम्म पाइरहँदा सेटमा काम गर्ने मजदुर, स्पटब्वाई, लाइट टेक्निसियन, किचेन वर्कर आदिले भने मुश्किलले दिनको हजार÷बाह्र सय पाउँछन् । तर, यो काम पनि उनीहरू वर्षैभरि पाउँदैनन् । वर्षा र जाडोयाम गरेर चार महिनाजति सुटिङ हुँदैन भने फिल्म कमबनेको समयमा उनीहरूले कहिलेकाहीँ थप दुईतीन महिनै खाली बस्नुपर्ने हुन्छ । 

प्राविधिक संघका अध्यक्ष पुष्कर लामा एकदुई महिना सुटिङ बन्द हुँदा पनि प्राविधिकलाई जीविकामा समस्या हुने गरेको अनुभव सुनाउँछन् । ‘महिना मर्नेबित्तिकै तलब आउने भए पो पैसा जगेडा हुन्छ,’ उनले भने, ‘एक त पारिश्रमिक कम छ, त्यसमाथि एक महिना काम गरेर तीन महिना खाली बस्नुपर्ने अवस्था !अझ त्यसमाथि कति निर्माताले पैसा पनि पूरा दिँदैनन् । उप्रीमाथि थुप्री भनेझैँ यस्तो विपत्तिमा त बिहान–बेलुका हातमुख जोर्नै समस्या हुन्छ ।’

पुष्करले यतिबेला स्वास्थ्यको मापदण्डबनाएर म्युजिक भिडियोको सुटिङसम्म पनि सरकारले खोलिदिए केही प्राविधिकलाई राहत हुने बताए । उनका अनुसार यतिबेला तीज गीतको सुटिङ हुने समय भएकाले केही प्राविधिकले काम पाउने थिए । 

चुह्लो बाल्ने उपाय 
पुष्करसँग पूर्णतः सहमत छन्, म्युजिक भिडियो निर्देशक शंकर बिसी । म्युजिक भिडियो कलाकार संघका अध्यक्षसमेत रहेका शंकरले सरकारले सुरक्षा मापदण्ड बनाएर म्युजिक भिडियो सुटिङका लागि अनुमति दिए धेरै कलाकार तथा प्राविधिकको घरमा चुह्लो बल्ने धारणा व्यक्त गरे । ‘अघिल्लो साल यो समयमा मैले मात्र ८०–८५वटा तीज गीतको निर्देशन गरेको थिएँ,’ उनले भने, ‘मेरो टिममा कम्तीमा ५० जनाले काम पाउँछन् । अहिलेलाई यति काम मात्र गर्न पाए पनि धेरैलाई राहत हुन्थ्यो ।’

कामको अनिश्चितताले चिन्तित प्राविधिकको नजर यतिबेला चलचित्र विकास बोर्डमा टिकेको छ । भर्खरै अध्यक्ष पाएको बोर्डले प्राविधिक संघसँगै बाँकी संघसंस्थाबाट पनि क्षतिको विवरण मागिरहेको छ । सरकारले एकद्वार प्रणालीबाट राहत बाँड्न निर्देशन दिएकाले बोर्ड आफैँले खाद्यान्न बाँड्न मिल्दैन । तर, क्षतिको पूर्ण विवरण आइसकेपछि कुनै न कुनै शीर्षकमा प्राविधिकलाई सम्बोधन गर्न आफूहरूले गृहकार्य गरिरहेको बोर्ड अध्यक्ष दयाराम दाहालले बताए । उनले बोर्ड सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा क्षति संकलन समिति गठन गरेको र त्यसैको निष्कर्षका आधारमा केही न केही गर्ने बताए । ‘क्षतिको पूर्ण विवरण आइसकेपछि बोर्डको स्रोतले भ्याउने जति बोर्डले दिने र नपुगे सरकारसँग पनि काम गर्ने सोच बनाएका छौँ,’ दाहालले भने, ‘हप्तादिनमै परिस्थितिको एउटा ‘पिक्चर’ आउँछ । त्यसपछि के कसरी अप्ठेरोमा परेकालाई सम्बोधन गर्ने भन्ने टुंगोमा पुग्छौँ ।’

प्राविधिक संघका अध्यक्ष पुष्करले करिब १२ सय प्राविधिकलाई राहतको खाँचो रहेको भन्दै विकास बोर्डमा सूची बुझाएको जानकारी दिए । 

तपाईको कमेन्ट