‘थला पर्दा निधारमा हात राखिदिने  कोही हुँदैन’

writer

सम्पूर्ण

शुक्रबार, १२ असार २०७७


चितवन, भरतपुर घर भएकी अञ्जु भण्डारी सन् २००४ मा बेलायत गइन्। त्यहाँ उनीपिटरबरो सिटी हस्पिटलमा हेल्थकेयर असिस्टेन्टका रूपमा काम गर्छिन्। काम गर्दैगर्दा उनी पनि कोरोना भाइरस संक्रमित भइन्। उनले कोरोनालाई कसरी जितिन् ? उनकै शब्दमाः 


त्यस दिन बिहानै ६ बजे मोबाइलमा म्यासेज आयो– ‘तपाईंको कोभिड–१९ को रिपोर्ट नेगेटिभ छ।’ 

म्यासेज पढेर खुशी हुनुपर्ने हो तर हुन सकिनँ। यो भाइरसले तीन महिनायता मानसिक पीडा मात्र दिएको थिएन, एक हप्तादेखि बेडमै लडाएको थियो। अस्पतालमा कोरोनाका बिरामी आउन थालेदेखि नै घरको रुटिन फेरियो। छुट्टै कोठामा सुत्ने, छुट्टै ट्वाइलेट प्रयोग गर्ने, परिवारका सदस्यबाट दुई मिटर परै बस्ने, एकअर्काको सामान नचलाउने,चलाउनैपर्ने भए प्रयोग गरेपछि राम्ररी सफा गर्ने...हामी सजग थियौँ। फलफूल, स्वास्थ्यवद्र्धक खानासँगै अरू ‘सप्लिमेन्ट’पनि लिन थालेका थियौँ। भिटामिन डी र सी लिन थालेको त वर्षौं भइसक्यो। जिम, मर्निङ वाक, साइक्लिङ नियमित गथ्र्यौं। चुरोट,रक्सी सुँघेको पनि थिइनँ। जंकफुड पनि औँलामा गनेर सकिने मात्र खाइयो होला। 

म वार्ड ग्रिनमा काम गर्छु। त्यहाँ पोजिटिभ केस हत्तपत्त राखिँदैन, तर अहिलेजस्तो अस्पताल आउने सबैलाई चेक भने गरिँदैनथ्यो। कामबाट फर्किंदा आफूसँग भाइरस आएजस्तो लाग्थ्यो। हस्पिटलमा लगाएका लुगा काम सकिएपछि ब्यागमा प्याक गरेर घरको बगैँचामा दुईतीन घण्टाका लागि राखिदिन्थेँ। बगैँचामा रहेको धारामा हातखुट्टा धोएर श्रीमान् या छोरीले घरको ढोकादेखि बाथरुमको धारा खोलेर ठिक्क पारेपछि मात्र घरभित्र पस्थेँ। 

अप्रिल २८ मा नाइट ड्युटी गरेर बिहान घर फर्किंदा ठीकै थिएँ। सुतेर उठेपछि अलि कमजोरी र थकाइ महसुस भयो। तीन दिन लगातार काम गरेर थाकेजस्तो लाग्यो। बगैँचातिर घुमेँ। छोरीहरू र श्रीमान्बाट टाढा रहेँ। खाना पनि छुट्टै कोठामा खाएँ र सुतेँ। भोलिपल्ट उठ्दा सुक्खा खोकी सुरु भयो। टाउको दुख्न थाल्यो। भोलिपल्ट काममा जानु थियो तर फोन गरेर बताएपछि अस्पतालले ‘कोभिडको लक्षण हो,आफूलाई आइसोलेट गर्नू, ज्वरो नाप्नू, सास फेर्न गाह्रो भयो भने एम्बुलेन्सलाई फोन गर्नूर परिवारलाई पनि १४ दिनका लागि आइसोलेट हुन  लगाउनू’भन्यो।

दिउँसोबाट ज्वरो पनि आउन थाल्यो। शरीर भतभती पोल्न थाल्यो। जलनले चिसो पानीमा हाम्फाल्ने मन हुन्थ्यो। पानी खाँदा जलन कम हुन्छ कि भनेर यति पानी खाएँकि हरेक २० मिनेटमा ट्वाइलेट जानुपर्ने भयो। तर, पनि जलन बीसको उन्नाइस भएन। छोरीहरू एउटा कुनाबाट निन्याउरो मुख लाएर हेरिरहेका हुन्थे। अस्पतालमा कोभिडको बिरामी ल्याउन थालेदेखि श्रीमान् चिन्तामा हुनुहुन्थ्यो। ‘काम छोडे नि हुन्थ्यो’भनेजस्तो गर्नुहुन्थ्यो। ‘केही हुँदैन’ भनेर सम्झाउँथेँ।बिरामी हुँदा आफ्नो मान्छेले माया गरेर हात निधारमा राखिदिए आधा रोग त्यसै बिसेक भएर जान्छ। तर, यहाँ त रोग सर्छ भनेर आफ्नो मान्छेबाट टाढा बस्नुपर्ने स्थिति आएको छ। तेस्रो दिन जलन अलि कम भयो तर सास फेर्न गाह्रो हुन थाल्यो। फोक्सोको एक्सरसाइज गर्दै घोप्टो परेर सुत्न थालेँ। बान्ता आयो। पखाला पनि चल्यो। गेडागुडीको रस,बेसार पानी, दूधमा मह मिसाएर श्रीमान्ले ढोकामा राखिदिनुहुन्थ्यो। नरुच्दा पनि खान्थेँ। त्यसै दिन बेलुका जेनतेन ड्राइभिङ गरेर स्वाब दिएर आएँ। 

चौथो दिन पनि सास फेर्न गाह्रो भयो। साथै, गन्ध र स्वाद थाहा नपाउने भएँ। शरीर दुख्न थाल्यो।यति कमजोरी भयो कि बेडबाट उठ्नै नसक्ने भएँ। अरू बेला चार पाइलामा पुुगिने ट्वाइलेट पुग्न पनि १० पाइला हिँड्नुपर्ने भयो। भित्ताकोसहारा लिई हिँड्थेँ। बेडमा उत्तानो परेर पल्टिन्थेँ। पूरै कोठा घुमेजस्तो लाग्थ्यो। दुई हप्तासम्म यस्तै भयो। दुई हप्ता उभिन नसक्दा झलझली बिदामा साइक्लिङ अनि जिम गरेको सम्झिन्थेँ।

पाँचौँ दिन बिहान रिपोर्ट आयो, नेगेटिभ। कोरोना नभए किन यस्तो भयो ?शंका र डर लाग्यो। हेल्थ सर्भिसको कोभिड स्पेसलमा फोन गरेर लक्षण र स्वाब लिँदाको अवस्थाबारे बताएँ। उनीहरूले लक्षण कोभिडको तर स्वाब लिँदा नमिलेको या पर्याप्त भाइरस घाँटीमा नभएको हुनसक्ने भएकाले फेरि परीक्षण गर्न सुझाए। अरू औषधि चलाउन मिल्ने थिएन। प्यारासिटामोल लिने गर्थें। यसै बीच श्रीमान्लाई कुनै लक्षण देखिएन र उहाँको टेस्ट पनि नेगेटिभ आयो। 

१० दिनसम्म ज्वरो आयो त्यसपछि टेस्ट गराएको रिपोर्ट पोजिटिभ आयो। तर, नेपालमा रहेको परिवारलाई दुई हप्तासम्म ढाँटेँ। रुघा लागेको भनेँ।अलिकति ठीक भएपछि मात्र आफूलाई कोरोना संक्रमण भएको बताएँ। पछि बगैँचातिर निस्कन थालेँ। घरबाहिर निस्कने आँट चार हप्तासम्म आएन। एक्लै हिँड्न डर लाग्थ्यो। चार हप्तासम्म नियमित प्यारासिटामोल खाएँ। त्यसपछि शरीर दुखेको बेलामा खान्थेँ। शरीर सहनै नसक्ने गरी छ हप्तासम्मदुख्यो र यो दुखाइ प्रायः बेलुकातिर हुन्थ्यो। छ हप्तापछि रातिको सिफ्टमा काममा गएँ। सातौँ हप्तामा एन्टी बडी जँचाउँदा नेगेटिभ आयो। यतिबेला शरीरको दुखाइ कम भएपनि गन्ध र स्वाद अझै फर्केको थिएन। नाक टालिएको जस्तो हुन्थ्यो। तर, बिस्तारै सबै ठीक भयो। महिनौँपछि घरको वातावरण पहिलाजस्तै सामान्य भएको छ।

प्रस्तुतिः कृष्णप्रसाद शर्मा, लन्डन

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि