न फिटनेसको चिन्ता न फर्मको सुर्ता

writer

विष्णु थापा

शुक्रबार, १२ असार २०७७


केही खेलाडीले घरमै सामान्य शारीरिक कसरत गरे पनि अधिकांश खेलाडीले भने न फिटनेसमा ध्यान दिन सकेका छन्, न त खेलस्तरका बारेमै चिन्तित देखिएका छन्। उनीहरूमा ‘जे होला, देखा जाला’ भन्ने मानसिकता रहेको देखिएको छ।


२०७२ सालको विनाशकारी भूकम्पले महŒवपूर्ण पूर्वाधारमा क्षति पु¥याएपछि चार वर्षसम्म सुस्ताएको नेपाली खेलकुद गत मंसिरमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)का कारण जुर्मुराएको थियो। तेह्रौँ सागपछि नेपाली खेलकुद निश्चित ‘ट्र्याक’मा हिँड्ने विश्वास गरिएको थियो। नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुदले थुप्रै आशा पनि जगाएको थियो। तर, कोरोना भाइरस महामारीका कारण नेपाली खेलकुद फेरि शिथिल बनेको छ।

नेपालभित्र हुने र नेपालले आयोजना गर्ने विभिन्न खेलका साना–ठूला सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य प्रतियोगिता अन्योलमा परेका छन्। अधिकांश खेल विश्व खेलकुदसँग जोडिएकाले त्यसको प्रत्यक्ष असर नेपाली खेलकुदमा परेको हो।

कोरोना भाइरसको संक्रमण बढेपछि सुरु गरिएको लकडाउनका कारण सिंगो मुलुकसँगै खेलकुद पनि घरभित्रै सीमित भयो। कराते, उमा कुङ्फू, तेक्वान्दोलगायत केही खेलको अनलाइन प्रतिस्पर्धा भए पनि अन्य खेलकुद गतिविधि भने अहिलेसम्म सुचारु हुन सकेको छैन।

छैन फर्मको चिन्ता 
लामो समय घरभित्रै थुनिँदा खेलाडीहरूले फिटनेसका लागि सक्दो मेहनत गरेका थिए। तर, लकडाउन खुलेपछि उनीहरूलाई फिटनेससँगै खेलस्तर (फर्म) को पनि चिन्ता थपिएको छ।
 
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल चाँडोभन्दा चाँडो खेलकुद क्षेत्रलाई सहज अवस्थामा फर्काउन लागिपरेकाले खेलस्तरमा धेरै असर नपर्ने बताउँछन्। ‘हामी चाँडोभन्दा चाँडो खेल क्षेत्रलाई सहज अवस्थामा फर्काउन लागिपरेका छौँ’, सदस्यसचिव सिलवाल भन्छन्, ‘स्थितिको सहजता हेरेर चाँडै नै निर्णय गछौं।’ उनी कोरोना भाइरसको महामारीका कारण प्रशिक्षण र प्रतिस्पर्धामा धेरै असर पुगेकाले खेलकुदमा व्यावसायिकता अँगालेका मुलुकको तुलनामा नेपालमा कम मात्रै असर परेको बताउँछन्। 
  
विदेशका खेलाडीले घरभित्रै बसेर विभिन्न प्रविधिमार्फत फिटनेसमा आधारित व्यायामलाई ध्यान दिँदै आफ्नो फर्मलाई पनि कायमै राखेका छन्। विदेशी खेलाडीले प्रविधिलाई बढीभन्दा बढी प्रयोग गरिरहँदा हाम्रा खेलाडी भने यी सबै कुराबाट टाढा छन्। केही खेलाडीले घरमै सामान्य शारीरिक कसरत गरे पनि अधिकांश खेलाडीले भने न फिटनेसमा ध्यान दिन सकेका छन्, न त खेलस्तरका बारेमै चिन्तित देखिएका छन्। उनीहरूमा ‘जे होला, देखा जाला’ भन्ने मानसिकता रहेको देखिएको छ। 

‘‘लामो समयसम्म खेलकुदका गतिविधि ठप्प हुँदा पुरानै फर्ममा फर्किन सकिँदैन कि भन्ने चिन्ताले खेलाडीलाई सताएको हुन्छ। वर्षौंदेखि ठूलो लगानी गरेका खेलाडी खेलकुदबाटै पलायन हुन सक्छन्।’’ 
दीपक श्रेष्ठ, कराते प्रशिक्षक 


भलिबल प्रशिक्षक जगदीश भट्ट आफू फिट हुनुपर्छ र प्रशिक्षण गर्नुपर्छ भन्ने भावना खेलाडीमा हराउँदै गएको बताउँछन्। ‘खेलाडीमा आफू फिट हुनुपर्छ भन्ने भावना हराउँदै गएको छ,’ उनी भन्छन्, ‘यसले खेलाडीलाई मात्र होइन, समग्र खेलकुदलाई नै दीर्घकालिन असर पु¥याउँछ।’

‘‘खेलाडीमा आफू फिट हुनुपर्छ भन्ने भावना हराउँदै गएको छ। यसले खेलाडीलाई मात्र होइन, समग्र खेलकुदलाई नै दीर्घकालिन असर पु¥याउँछ।’’
जगदीश भट्ट, भलिबल प्रशिक्षक 


लामो समयसम्म घरभित्रै सीमित हुँदा तत्कालका लागि मात्र नभई खेलाडीको खेल जीवनमा पनि दीर्घकालीन असर पर्ने देखिएको छ। लामो समयसम्म प्रशिक्षणबाट टाढा रहँदा उनीहरूको प्रदर्शन खस्किने मात्र होइन, खेल क्षेत्रबाट पलायन हुने अवस्था पनि आउन सक्ने देखिएको छ। 

पलायनको सम्भावना 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कराते प्रशिक्षक दीपक श्रेष्ठ अहिलेको अवस्था लम्बिँदै जाने हो भने सबैभन्दा ठूलो असर खेलाडीलाई पर्ने बताउँछन्। ‘खेलाडीहरूले एउटा निश्चित उमेर वा प्रतियोगितासम्म खेल्ने र त्यसपछि सन्न्यास लिने सोचेका हुन्छन्,’ उनी भन्छन्, ‘अहिलेको परिस्थितिले सबैभन्दा बढी मार त्यस्ता खेलाडीलाई परेको छ। आफ्नो बढ्दो उमेरका कारण उनीहरूले विभिन्न प्रतियोगिता खेल्ने अवसर गुमाउँछन्।’ प्रशिक्षक श्रेष्ठका अनुसार उमेरसमूहका खेलाडी पनि प्रत्यक्ष मारमा पर्छन् र  अरू खेलाडीमा पनि फिटनेससँगै खेलस्तर नै खस्किने खतरा रहन्छ। 

प्रशिक्षक श्रेष्ठ लामो समयसम्म खेलकुदका गतिविधि ठप्प हुँदा खेलाडी पलायन हुने अवस्था आउनेतिर पनि औँल्याउँछन्। ‘लामो समयसम्म खेलकुदका गतिविधि ठप्प हुँदा पुरानै फर्ममा फर्किन सकिँदैन कि भन्ने चिन्ताले खेलाडीलाई सताएको हुन्छ,’ उनी भन्छन्, ‘खेलकुदै नभएपछि किन यसमा लागिरहने भनेर उनीहरू अरू क्षेत्रमा जाने अवस्था आउँछ। वर्षौंदेखि ठूलो लगानी गरेका खेलाडी खेलकुदलाई छाडेर अन्यत्रै लाग्नु खेलकुदका लागि ठूलो घाटा हो।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव सिलवाल महामारीको अवस्थामा खतरा मोल्न नसकिने भन्दै ‘पर्ख र हेर’को अवस्थामा बस्नुको विकल्प नभएको बताउँछन्। ‘यो खेलाडी, प्रशिक्षकसँगै हाम्रो पनि चिन्ता हो,’ उनी भन्छन्, ‘महामारीको अवस्थामा हामी पनि खतरा मोल्न सक्तैनौँ। बन्द, हडताल, प्राकृतिक प्रकोपजस्ता घटना भएको भए पनि प्रशिक्षणलाई सुचारु गर्न सकिन्थ्यो। तर, अहिलेको परिस्थिति फरक छ। प्रशिक्षण थालेसँगै अरू चिन्ता पनि थपिन्छ। त्यसलाई पनि हामीले आकलन गर्नुपर्छ।’

लय गुम्ने खतरा 

कराते प्रशिक्षक श्रेष्ठ विदेशी खेलाडीले अवलम्बन गरेका उपायलाई हामीले पनि जतिसक्दो चाँडो अपनाउनुपर्नेमा जोड दिन्छन्। ‘जस्तोसुकै महामारीमा पनि विदेशी खेलाडीको पर्फर्मेन्स खस्किएको हुँदैन,’ उनी भन्छन्, ‘उनीहरूको खेलस्तर बढेको बढ्यै हुन्छ। हाम्रो स्तर चाहिँ खस्किने हुनु हुँदैन। हाम्रा खेलाडीले पनि उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ। त्यसका लागि जतिसक्दो चाँडो प्रशिक्षण सुरु गर्नुपर्छ।’

अहिले नेपालले कुन खेल खेल्ने भन्ने लक्ष्य निर्धारण गरिएको छैन। यसै वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेलकुद एक वर्ष पर सरेको छ। एसियाली खेलकुद (एसियाड) आउन पनि धेरै समय बाँकी छ। त्यसले गर्दा केका लागि प्रशिक्षण सुरु गर्ने भन्ने द्विविधा राष्ट्रिय खेलकुद परिषद्लगायत निकायलाई परेको देखिएको छ। यस हिसाबले सबैभन्दा अगाडि आउने खेल पर्व ओलम्पिक नै हो। ओलम्पिकमा नेपालले सीधै छनोट भएर खेल्ने सम्भावना अत्यन्त कम छ। अनिवार्य कोटामार्फत नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्समा एक जना गरी तीन खेलाडीको ओलम्पिक सहभागिता सुनिश्चित भइसकेको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि यसअघि नै विभिन्न खेलका थप १२ जना खेलाडीलाई ‘वाइल्ड कार्ड’ का लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा सिफारिस गरिसकेको छ।

कराते प्रशिक्षक श्रेष्ठ लक्ष्य निर्धारण गर्न नसकेका कारण खेलकुद क्षेत्र रुमलिएको बताउँछन्। ‘हामीले सबैभन्दा पहिले लक्ष्य निर्धारण गर्नुपर्छ,’ उनी भन्छन्, ‘लक्ष्य निर्धारण गरेपछि मात्र खेलाडीलाई तयार बनाउने हो। लक्ष्य निर्धारण नभएसम्म केका लागि प्रशिक्षण गर्ने भन्ने द्विविधामा खेलकुद नेतृत्व छ।’

ओलम्पियन तथा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी खेलाडी दीपक विष्ट तत्काल प्रशिक्षण सुरु नगर्ने हो भने सागमा स्वर्ण जितेर उच्च फर्ममा रहेका खेलाडीको लय गुम्ने खतरा रहेको बताउँछन्। ‘सागमा स्वर्ण पदक जितेका खेलाडीलाई लक्ष्य गरी अब पहिलो चरणको तयारी सुरु गर्न आवश्यक भइसकेको छ,’ विष्ट भन्छन्, ‘अब कोरोनाबाट सुरक्षित रहँदै खेलकुद गतिविधि सुचारु गर्नुको विकल्प छैन।’

कराते प्रशिक्षक श्रेष्ठ शून्यको अवस्थामा रहेका हाम्रा खेलाडीबाट अब पदकको आशा गर्नु बेकार रहेको बताउँछन्। ‘लामो समय हाम्रा खेलाडी घरभित्र थुनिएका छन्। उनीहरू घरभित्र सीमित हुँदा फर्म र पर्फर्मेन्समा पनि नकारात्मक असर पर्ने देखिएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा हाम्रा खेलाडीबाट पदक आशा गर्नु बेकार हुन्छ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि