फोब्र्सको चुलीमा फेडरर

writer

सम्पूर्ण

शुक्रबार, १२ असार २०७७


विश्व खेलकुदमा सधँैजसो सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचीमा फुटबलरहरूकै दबदबा रहन्थ्यो। महँगो पारिश्रमिक, प्रायोजन, विज्ञापन र अन्य विभिन्न स्रोतबाट फुटबल खेलाडीले आकर्षक आम्दानी गर्थे। तर, यस वर्ष चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभाव फुटबलमा पर्न गयो। यसले गर्दा खेलाडीको तलबमा भारी कटौती भयो भने उनीहरूको प्रायोजनमा पनि कमी आयो। 

यस पटक सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीमा फुटबल खेलाडीहरू पछि परे र टेनिस स्टार रोजर फेडेररले शीर्ष स्थान कब्जा गरे। 

फोब्र्सले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको सूचीअनुसार स्विस टेनिस स्टार फेडेरर पहिलो पटक सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन्। फोब्र्स म्यागजिनद्वारा जारी विश्वका सर्वाधिक कमाउने खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका फेडेररले फुटबल स्टार लियोनल मेसीलाई समेत पछाडि पारेका छन्। ३८ वर्षीय फेडेरर पछिल्लो वर्ष ८ करोड ६२ लाख पाउन्ड आम्दानी गर्दै चार स्थानमाथि उक्लिएका हुन्। उनले विभिन्न प्रायोजकबाट ८ करोड १० लाख पाउन्ड प्राप्त गरेका थिए। फोब्र्स म्यागजिनको सूचीमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो ८ करोड ५० लाख पाउन्डका साथ दोस्रो स्थानमा छन्। अघिल्लो वर्ष पहिलो स्थानमा रहेका अर्जेन्टिना तथा बार्सिलोनाका स्टार फुटबलर मेसी ८ करोड ४० लाख पाउन्डसहित तेस्रो स्थानमा झरेका छन्। चौथो स्थानमा रहेका ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पीएसजी)का नेमारले ७ करोड ७५ लाख आम्दानी गरेका थिए। अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सले ७ करोड १५ लाख पाउन्ड आम्दानी गर्दै शीर्ष पाँच खेलाडीको सूचीमा अटाउन सफल भएका छन्। 

महिला खेलाडीको सूचीमा भने जापानी टेनिस खेलाडी नाओमी ओसाका शीर्ष स्थानमा उक्लिन सफल भएकी छिन्। उनले अमेरिकाकी सेरेना विलियम्सलाई उछिनेकी हुन्। पछिल्लो १२ महिनामा २२ वर्षीया ओसाकाले विभिन्न प्रतियोगिताको पुरस्कारबाट मात्रै ३ करोड ७ लाख पाउन्ड कमाएकी छिन्। सोही अवधिमा ३८ वर्षीया सेरेनाले पुरस्कारबाट कमाएको रकमभन्दा ओसाकाले १० लाख १५ हजार पाउन्ड बढी हात पारेकी छिन्। 

पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण मेसी र रोनाल्डोजस्ता फुटबल खेलाडीको तलबमा कटौती गरिएको छ। सोही कारण टेनिस खेलाडी सर्र्वाधिक कमाइ गर्ने खेलाडीमा दरिन पुगेको फोब्र्सले जनाएको छ।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि