सबै छन्, सँगै छन् र, पनि वृद्धवृद्धा एक्लै !

writer

रत्न प्रजापति

शुक्रबार, १२ असार २०७७


धेरै मानिस हाल घरभित्रै सीमित छन्। यो अवस्थामा घरका वृद्धवृद्धाले परिवारको साथ र सहयोग पाउनुपर्ने हो। तर, परिस्थिति भने उल्टो छ। ‘इम्युनिटी’ कम भएका वृद्धवृद्धामा कोरोना संक्रमण पो भएको छ कि भन्दै परिवारका अन्य सदस्य उनीहरूको नजिक पर्न डराइरहेका छन्। केटाकेटी टीभी र मोबाइलमै झुम्मिने भएकाले कुरा गर्ने साथी पनि पाइरहेका छैनन्, उनीहरूले। 


विश्व हल्लाउने महाशक्ति राष्ट्रलाई नै हल्लाउने गरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले यतिखेर पूरै विश्वको जनजीवन प्रभावित छ। यतिसम्म कि विश्वका मानिसको जीवनशैली नै फेरिएको छ। मानिसको दिनचर्या बदलिएको छ। धेरै मानिसको क्रियाकलापै घरभित्र सीमित भएको छ। कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यून गर्ने र यसबाट सुरक्षित रहने उत्तम उपायको रूपमा बन्दाबन्दीलाई स्विकारेर विश्वभरका मुलुकले बन्दाबन्दी घोषणा गरेकाले अर्बौं मानिस एकान्तवासमा छन्। भाइरस सर्ला भन्ने सन्त्रासले मनोवैज्ञानिक रूपमा सबै वर्गका मानिस भयभीत छन्, आतंकित छन् र पीडित छन्। 

मानिस तत्कालका लागि आफ्ना सपना, इच्छा र आकांक्षालाई थाती राखेर घरभित्रै सीमित हुन बाध्य छ। सधैँ सामाजिक सहकार्यमा रमाउने मानिस अहिले शारीरिक दूरी कायम राखेर बस्न बाध्य छ। यो विडम्बना र यो दुर्भाग्य कोरोनाकै कारण निम्तिएको हो। विज्ञहरूका अनुसार कोरोना भाइरसको उत्पत्ति र संक्रमण चाहिँ मानिसकै बेवास्ताका कारण भएको हो। मानिस बढी अप्राकृतिक बन्दै गएको र प्रकृतिको संरक्षणभन्दा बढी दोहनमा उद्यत भएको, अनि प्राकृतिक नियमलाई उल्लंघन गरेको कारण यस्तो समस्या आएको विज्ञहरूको ठहर छ। 

वृद्धवृद्धा सधैँ बन्दाबन्दीमै हुन्छन्। किनभने, उनीहरू धेरै टाढा यताउता जानै सक्दैनन्। उनीहरू सधैँ ‘सेल्फ क्वारेन्टिन’मै हुन्छन्। किनभने, वृद्धवृद्धा सधैँ घरमै हुन्छन् र घरमै बस्छन्। वृद्धवृद्धा सधैँ ‘आइसोलेसन’मै हुन्छन्। किनभने, उनीहरूसँग कोही नजिक हुँदैनन् र हुन चाहँदैनन्। 


स्वास्थ्य विज्ञहरूका अनुसार कोरोना भाइरसको सबैभन्दा बढी जोखिममा वृद्धवृद्धा छन्। किनभने, उनीहरूको ‘इम्युनिटी’ अर्थात् रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ। कोरोना भाइरस संक्रमणको प्रकृति र प्रवृत्तिलाई विश्लेषण गरेर स्वास्थ्य विज्ञले इम्युनिटी कमजोर भएका मानिसमा यो भाइरस छिटो संक्रमति हुने बताउँदै आएका छन्। उमेरगत दम, खोकीजस्ता पुरानो रोग र कमजोर स्वास्थ्य अवस्थाका वृद्धवृद्धा नै कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका देखिन्छन्। विश्व स्वास्थ्य संगठनले पनि मुटुरोग, मधुमेह, उच्च रक्तचाप, दम आदि रोग भएका व्यक्तिलाई कोरोना भाइरस संक्रमणको बढी जोखिम रहेको जनाएको छ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संक्रमित र मृत्यु हुनेहरूको उमेर र शारीरिक अवस्थालाई विश्लेषण गरेर विज्ञहरूले विशेष गरी वृद्धवृद्धा छिटो प्रभावित हुन सक्ने भएकाले उनीहरू बढी सावधान हुनुपर्ने र उनीहरूलाई संक्रमण हुनबाट जोगाउनुपर्ने बताउँदै आएका छन्। वृद्धवृद्धालाई कोरोना भाइरस संक्रमण भएमा यसको मृत्युदर पनि उच्च हुने बताइएको छ। 

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणबाट संक्रमण पुष्टि भएका र मृत्यु भएका बिरामीको आधारमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको अनुपात पाँच प्रतिशत रहेको छ। यसै गरी, निको हुनेहरूको अनुपात ५३ प्रतिशत रहेको छ (जुन २१ सम्मको तथ्यांकअनुसार)। यसरी संक्रमितको तुलनामा मृत्यु हुनेको अनुपात न्यून भएकाले कोरोना भाइरसबाट धेरै भयभीत हुनुपर्ने र अत्तालिनुपर्ने अवस्था नरहेको देखिन्छ। भय र चिन्ताले मानसिक तनाव मात्रै बढाउँछ। अन्ततः त्यही तनावले स्वास्थ्यलाई हानि पु¥याउँछ। यद्यपि, जोखिमबाट बच्नका लागि सजगता र सावधानी भने अपनाउनैपर्छ। विशेष गरी, कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी जोखिममा वृद्धवृद्धा रहेको र तुलनात्मक रूपमा उनीहरूको मृत्युदरसमेत बढी रहेकाले घर, परिवार, समुदाय र राज्यले पनि उनीहरूको सुरक्षामा बढी ध्यान दिनुपर्ने खाँचो देखिएको छ। 

वल्र्डोमिटर्स डट इन्फोमा दिइएको विवरणअनुसार अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा १७ वर्षसम्मका ०.०६ प्रतिशत, १८ देखि ४४ वर्षसम्मका ३.९ प्रतिशत, ४५ देखि ६४ वर्षसम्मका २२.४ प्रतिशत, ६५ देखि ७४ वर्षसम्मका २४.९ प्रतिशत र ७५ वर्षभन्दा माथिका ४८.७ प्रतिशत रहेका छन्। यसरी तुलनात्मक रूपमा हेर्दा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेमा वृद्धवृद्धाको मृत्युदर उच्च रहेको देखिन्छ। यसले उनीहरू नै बढी जोखिममा रहेको पुष्टि हुन्छ।

वृद्धवृद्धा सदा उपेक्षित 
नेपालको सन्दर्भमा पनि कोरोना भाइरस संक्रमणबाट तुलनात्मक रूपमा वृद्धवृद्धा बढी जोखिममा रहेकाले उनीहरूको स्वास्थ्य सुरक्षा अहिलेको प्रमुख चुनौती बनेको छ। मुलुकमा १८.७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेकाले आवश्यक पोषण र उचित स्वास्थ्योपचारको अभावमा असमयमै बूढो हुनुपर्ने नियति धेरै नेपालीले भोग्दै आएका छन्। विसं २०६८ को जनगणनाअनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा ६० वर्षमाथिका वृद्धवृद्धाको संख्या २१ लाख ५४ हजार ४ सय १० रहेको छ। यो कुल जनसंख्याको ८.१३ प्रतिशत हो। तर, ७० वर्षमाथिका वृद्धवृद्धाले मात्रै वृद्धभत्ता पाउने प्रावधानले गर्दा १२ लाख ७६ हजार वृद्धवृद्धा मात्रै वृद्धभत्ता पाउने सूचीमा परेका छन्। 

तुलनात्मक रूपमा शहरका भन्दा गाउँका र दुर्गम क्षेत्रका विपन्न परिवारका वृद्धवृद्धाको जीवन सधैँ नै जोखिममा रहने गरेको छ। आवश्यक पोषण, स्याहारसुसार र औषधोपचारको अभावमा धेरै वृद्धवृद्धाले निकै कष्टकर र असुरक्षित जीवन गुजार्दै आएका छन्। शहरमा व्यस्त जीवनशैलीले वृद्धवृद्धा उपेक्षित छन् भने गाउँमा गरिबीले उपेक्षित हुन बाध्य छन्। गरिबीको पीडाले रन्थनिएर परिवारका काम गर्न सक्ने उमेरका मानिसहरू घर छोडेर रोजगारीको खोजीमा अन्यत्र लाग्ने प्रवृत्तिले गाउँका विपन्न परिवारका वृद्धवृद्धाको जीवन अत्यन्तै कष्टकर र कारुणिक बन्दै आएको छ। सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदा उनीहरूको जीवन असुरक्षित र अमर्यादितसमेत रहँदै आएको छ।

आवश्यक पोषण, स्याहारसुसार र औषधोपचारको अभावमा अत्यन्तै असुरक्षित र जोखिमपूर्ण जीवन जिउँदै आएका वृद्धवृद्धालाई राज्यले प्रदान गर्दै आएको वृद्धभत्ताले केही भरथेग गरेको तथ्यलाई नकार्न सकिँदैन। तर, यो भत्ता नै पर्याप्त भने पक्कै होइन। किनभने, अझै पनि गाउँका धेरै वृद्धवृद्धाले नागरिकता र स्वयं वृद्धवृद्धाकै स्वास्थ्यका कारण यस्तो भत्ता पाउनबाट वञ्चित हँुदै आएको अवस्था छ। राज्यले प्रदान गरेको सुविधाबाट उमेर पुगेका सबै वृद्धवृद्धा लाभान्वित हुन नसकेको यथार्थलाई अझै पनि राज्यले मनन गरेको र यस्तो अवस्थाको अन्त्य गर्न पहल गरेको देखिँदैन। 

अहिलेको अवस्थामा कोरोना भाइरस संक्रमणबाट सबै वर्ग र तहका मानिस जोखिममा परेका छन्। वृद्धवद्धा अझ बढी जोखिममा रहेकाले उनीहरूको जीवनरक्षाका निम्ति घर, परिवार, समुदाय र राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

बन्दाबन्दीका कारण सबै कार्यालय खुलेका छैनन्। सबै उद्योग तथा कलकारखाना पनि सञ्चालनमा आउन सकेका छैनन्। निर्माण, पुनर्निर्माण तथा अन्य आर्थिक क्रियाकलाप प्रभावित भएकाले कामकाजी धेरै मानिस फुर्सदमा छन्। शहर र सदरमुकाममा रहेका धेरै कामकाजी मानिस आफ्नै गाउँ फर्केका छन् भने अझै कति फर्कने प्रतीक्षामा छन्। यो अवस्थाले गर्दा गाउँगाउँका घरपरिवारका वृद्धवृद्धाले पनि परिवारको साथ पाएका छन्। यद्यपि, सहारा कुन हदसम्म पाएका छन्, त्यो भने भन्न सकिने अवस्था छैन। 

बन्दाबन्दी पूर्ण रूपमा खुलेको छैन। सर्वसाधारणले भोगेको असुविधालाई ध्यानमा राख्दै बन्दाबन्दी असार १ गतेदेखि केही खुकुलो मात्रै पारिएको छ। संक्रमितको संख्या बढे अथवा संक्रमणको क्रम नियन्त्रणमा नआए जुनसुकै बेला सरकारले पुनः पूर्ण बन्दाबन्दी गर्न सक्नेछ। असार ४ गते एकैदिन थप ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। यसले पनि अझै स्थिति भयावह बन्न सक्ने र पुनः पूर्ण बन्दाबन्दी हुन सक्ने संकेत गरेको छ। 

वृद्धवृद्धा सधैँभरि बन्दाबन्दीमै 
अझै पनि धेरै मानिस घरभित्रै सीमित छन्। यो अवस्थामा घरका वृद्धवृद्धाले परिवारको साथ र सहयोग पाउनुपर्ने हो। तर, परिस्थिति भने उल्टो छ। ‘इम्युनिटी’ कम भएका वृद्धवृद्धामा कोरोना संक्रमण पो भएको छ कि भन्दै परिवारका अन्य सदस्य त्यसै पनि सशंकित हुने गरेकाले उनीहरूको नजिक पर्न डराइरहेका छन्। केटाकेटीहरू टीभी र मोबाइलमै झुम्मिने भएकाले कुरा गर्ने साथी पनि पाइरहेका छैनन्, वृद्धवृद्धाले। उनीहरू सँगै बसेर टीभी हेर्न र कुराकानी गर्नबाट सधैँ वञ्चित नै छन्। एकातिर बन्दाबन्दीको बाध्यता र अर्कातिर कोरोना भाइरस संक्रमणको भयले गर्दा घरबाट निक्लेर सार्वजनिक पाटीसम्म गएर भजनकीर्तनमा सामेल हुने र समकालीनहरूसँग बसेर दुःखसुख बाँड्ने अवसरबाट पनि वञ्चित छन्, वृद्धवृद्धा। यसो यताउता हिँडडुल गर्नबाट पनि वञ्चितै छन्। उनीहरू घरको चार भित्ताभित्र बन्दी बनेका छन्। सबैबाट र सबैतिरबाट उपेक्षित हुँदा यतिखेर वृद्धवृद्धाको जीवन झनै टीठलाग्दो बनेको अवस्था छ। 

वृद्धवृद्धा सधैँ बन्दाबन्दीमै हुन्छन्। किनभने, उनीहरू धेरै टाढा यताउता जानै सक्दैनन्। उनीहरू सधैँ ‘सेल्फ क्वारेन्टिन’मै हुन्छन्। किनभने, वृद्धवृद्धा सधैँ घरमै हुन्छन् र घरमै बस्छन्। वृद्धवृद्धा सधैँ ‘आइसोलेसन’मै हुन्छन्। किनभने, वृद्धवृद्धासँग कोही नजिक हुँदैनन् र हुन चाहँदैनन्। कोरोना भाइरस सर्ने मनोवैज्ञानिक त्रासका कारण अहिलेको बन्दाबन्दी, क्वारेन्टिन र आइसोलेसनले वृद्धवृद्धा झनै एक्लिएका छन्। 

यसै पनि इम्युनिटी कमजोर भएका वृद्धवृद्धा कोरोनाको सन्त्रासले झनै कमजोर बन्न सक्छन्। अहिलेको अवस्थामा वृद्धवृद्धामा एन्जाइटी (चिन्ता) र ओसीडी (अब्सेसिभ कम्पल्सिभ डिस्अर्डर अर्थात् गतिविधि दोहो¥याइरहने रोग) लाग्न सक्ने सम्भावना रहेको मनोविद्हरू बताइरहेका छन्। यस्तो हुन नदिन परिवारका सदस्यको साथ, सहयोग र सान्त्वनाको खाँचो पर्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने र पोषणयुक्त खानेकुरा, उचित सरसफाइ,  सावधानी र भरोसाको अनुभूतिले कोरोना संक्रमणको जोखिम न्यून गर्छ। निश्चित शारीरिक दूरी कायम राख्दै सामाजिक दूरीलाई नजिक बनाउन सक्यौँ भने मात्रै वृद्धवृद्धालाई कोरोना भाइरस संक्रमणको जोखिमबाट बचाउन सकिनेछ। 

तपाईको कमेन्ट