क्वारेन्टिनमा बलात्कारीदेखि सर्पसम्मको भय

परमानन्द पाण्डे/टीकापुर
बिहिबार, ११ असार २०७७
कैलालीका क्वारेन्टिन सबै दृष्टिले असुरक्षित छन्। केही हप्ताअघि क्वारेन्टिनमा सामूहिक बलात्कारजस्तो जघन्य अपराध भयो। हावाहुरी चल्दा जस्तापाताको छानो उडाउने डर छँदै छ। त्यसमाथि सर्पको बिगबिगी।
कैलालीको लम्कीचुहा नगरपालिका–१ की ३१ वर्षीय महिला घरनजिकैको क्वारेन्टिनमा बलात्कारको शिकार भइन्। भारतको बैंगलोरबाट फर्किएकी उनी जेठ २० गते गौरीफन्टा नाका भएर लम्की पुगेकी थिइन्। स्थानीय सरकारले बनाएको क्वारेन्टिनमा बसिन्। क्वारेन्टिनका लागि संघीय सरकारले निश्चित मापदण्ड बनाएको छ। उचित सुरक्षाको प्रबन्ध, स्वास्थ्यकर्मीको व्यवस्था, उचित खानपिन, नियमित रेखदेख, सुरक्षाकर्मीको पहरा आदि। निर्देशिकामा क्वारेन्टिनको व्यवस्थापन नेपाली सेनाले गर्ने उल्लेख छ। तर, लम्कीचुहा–१ ले बनाएको शहीद स्मृति माविको क्वारेन्टिनमा माथि उल्लिखित कुनै प्रबन्ध छैन। आधाजसो घेरा पर्खाल, केही भाग काँडेतार र बाँकी खुल्ला छ। जतिबेला जो पनि निर्धक्क प्रवेश गर्न सक्ने अवस्था छ। दिउँसो नै असुरक्षित लाग्ने यो क्वारेन्टिनमा सुरक्षाकर्मी परको विषय हो, गेटमा पहरा दिने चौकीदारसमेत छैनन्।
क्वारेन्टिनमा स्वयंसेवक रहेका लक्ष्मण परियार र स्वास्थ्यकर्मी किशोर परियारलेपीडितको अस्मितामा प्रहार गरेका हुन्। अर्का स्वयंसेवक सर्जन विकले बलात्कारको भिडियो खिचेका थिए। सर्जनले आफूलाई रुपैयाँ नदिए भिडियो सार्वजनिक गरेर भाइरल बनाउने धम्कीसमेत दिएका थिए।
‘मैले पटक–पटक आग्रह गर्दा पनि मानेनन्,’ पीडितले भनिन्, ‘ममाथि दुव्यर्वहार गरे। डरले कराउन सकिनँ। आफूलाई बचाउने भएभरको प्रयास गरे पनि बचाउन सकिनँ। बिहान आमा र भाइलाई खबर गरेँ।’
बलात्कारको आरोपमा तीन जनाविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले लम्कीचुहाका २० वर्षीय लक्ष्मण, २२ वर्षीय किशोर र १८ वर्षीय सर्जनविरुद्ध बलात्कारको मुद्दा दायर गरेको हो।
सामूहिक बलात्कारको आरोपमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए। ‘पीडित महिलाको किटानी जाहेरीपछि उनीहरूलाई तत्काल पक्राउ गरी सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरेका थियौँ,’ प्रवक्ता विष्टले भने, ‘पीडितको स्वास्थ्य परीक्षणसमेत गरेर अनुसन्धान प्रक्रियामा रहेका छौँ।’ उनीहरूमाथि जबर्जस्ती करणी अभियोगमा मुद्दा दायर गरिएको हो। पीडित महिला लम्कीचुहामै आफन्तको संरक्षणमा बस्दै आएकी छिन्।
किशोर स्थानीय स्वाथ्यकर्मी हुन्। लक्ष्मण र सर्जन वडाले खटाएका स्वयंसेवक हुन्। क्वारेन्टिनको व्यवस्थापनका लागि उनीहरूलाई दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म पारिश्रमिक दिने गरी वडा कार्यालयले खटाएको थियो।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले लम्की घटना खेदपूर्ण भएको बताए। बजगाईंका अनुसार लम्कीचुहा नगरपालिकामा ३६ वटा क्वारेन्टिनमा चार हजारभन्दा बढीलाई राखिएको छ। क्वारेन्टिनको व्यवस्थापनका लागि वडा अध्यक्षको नेतृत्वमा सम्बन्धित विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक र वडाको प्रतिनिधि रहने व्यवस्था गरिएको छ। ‘क्वारेन्टिनभित्रै भएको घटनाले दुःखी बनाएको छ,’ बजगाईंले भने, ‘दोषीलाई कानुनबमोजिम कारबाही हुनुपर्छ।’
वडाको लापर्बाही
वडा नं. १ को कार्यालयले क्वारेन्टिन व्यवस्थापनमा लापर्बाही गरेको आरोप लाग्दै आएको छ। आफ्ना कार्यकर्तालाई पारिश्रमिक पाउने गरी खटाउनुले समेत समस्या भएको स्थानीय केशव खत्रीले बताए। वडा नं. १ का अध्यक्ष जनकबहादुर बममाथि सुरुदेखि नै लापर्बाही गरेको आरोप लाग्दै आएको थियो। वडाध्यक्ष बमले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बस्नेलाई म्याद सकिएको बिस्कुट खाजाका रूपमा यसअघि दिएका थिए।त्यस्तै, लम्कीचुहाकी कोरोना संक्रमति महिला पानसरा विकलाई १२ दिनमै घर पठाएका थिए। १४ दिनमा उनको रिपोर्ट पोजिटिभ आएपछि उनको सम्पर्कमा रहेका थप ५२ जनालाई क्वारेन्टिनमा राख्नुपरेको थियो।
सर्पको बिगबिगी
टीकापुर नगरपालिका वडा नं. ६ का वडा सदस्य लायकराम चौधरी राष्ट्रिय मावि, बेलुवाको क्वारेन्टिनमा बस्दै आएका छन्। केही दिन यता पानी पर्न थालेपछि तराई क्षेत्रमा सर्पहरू निस्किने क्रम बढेको छ। क्वारेन्टिनमा सर्पको बिगबिगी छ। क्वारेन्टिन निकै असुरक्षित बनेका छन्। ‘अहिलेसम्म पाँच वटा सर्प मारिसकेका छौँ,’ चौधरीले भने, ‘दिउँसो खासै डर नभए पनि राति सर्पको डर बढेको छ।’
कैलालीमा भारतबाट आएकालाई विभिन्न विद्यालयमा क्वारेन्टिन बनाएर राखिएको छ। केही जीर्ण पुराना भवन छन्। लकडाउन सुरु हुनअघि नै विद्यालय बन्द भएपछि सरसफाइको कमीका कारणसमेत क्वारेन्टिनमा जोखिम बढ्दै गएको छ। ‘वर्षायाम लागि सक्यो, पुराना कच्ची भवनहरू छन्,’ जनप्रकाश आधारभूत विद्यालय, बाघमाराका शिक्षक रघुनाथ उपाध्यायले भने, ‘वर्षायाममा भुइँतला भएका स्कुलमा सर्प रविषालु कीराको डर हुन्छ।’
विषालु सर्प, कीरा मात्रै नभएर हावाहुरीको समेत जोखिम बढेको छ। जस्तापाताको छानो हावाहुरीले उडाउने गरेको छ। विद्यालयमा बनाइएका क्वारेन्टिनमा हावाहुरी आउँदा थप जटिलता थपिने क्वारेन्टिनमा बस्नेले बताए।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७