मानसिक रोगः महामारीले जन्माएको अर्काे महामारी

writer

सम्पूर्ण

बिहिबार, ११ असार २०७७


कोरोना संक्रमणका लक्षण खोकी, ज्वरो, सास फेर्न कठिनाइ, स्वाद र गन्ध थाहा पाउने शक्ति क्षय आदि हुन्। तर, छटपटी, आवेग, भय, शून्यता, आत्महत्या– कोरोनाले धेरै मानिसमा यस्ता समस्या पनि निम्त्याइरहेको छ। यस भाइरसले भित्रभित्रै अर्को महामारीलाई पनि जन्म दिइरहेको छ–मानिसक रोगको महामारी। 



डा. लोर्ना ब्रिन न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टरकी प्रसिद्ध चिकित्सक थिइन्। महामारी सुरु भएपछि इमर्जेन्सी कक्षमा उनले अनेकौँ कोरोना भाइरस संक्रमितको उपचार गरिन्, कैयौँको ज्यान बचाइन्, कैयौँको ज्यान बचाउन नसक्दा दुःखी भइन्।

संक्रमितको उपचार गर्दागर्दै उनी आफैँलाई कोरोना लाग्यो। तर, उनले हिम्मत हारिनन्। कोरोनाको सफल उपचारपछि काममा फर्किन्। कोरोनाले हराउन नसकेको उनलाई मनोरोगले हरायो। ४९ वर्षीया डा. ब्रिनले अप्रिलको अन्त्यमा आत्महत्या गरिन्।

‘उनी युद्ध लड्न गएकी थिइन्, हिरो थिइन्,’ उनका बुबा फिलिप ब्रिनले भने।

डा. ब्रिनले कोरोनाको ‘एपिसेन्टर’मा काम गरेकी थिइन्। न्युयोर्क राज्यमा मात्र झण्डै चार लाख मानिस संक्रमित भएका छन् भने ३० हजारभन्दा बढीको ज्यान गएको छ। उनलाई कोरोना लागेपछि निको हुन डेढ हप्ता लाग्यो। त्यसपछि उनी फेरि काममा फर्किन्। तर, उनको स्वास्थ्य अवस्था कमजोर थियो। त्यसैले परिवारले उनलाई भर्जिनियास्थित सार्लोट्सभिल पु¥यायो, जहाँ उनको परिवार बस्थ्यो।

त्यहीँ उनलाई अस्पताल भर्ना गर्नुप¥यो। उनकी आमा डाक्टरका रूपमा काम गर्ने अस्पतालमै उनको उपचार भयो। एक सातापछि उनी अस्पतालबाट डिस्चार्ज भइन् र आमासँग बस्न थालिन्।केही दिनपछि उनी दिदीकहाँ बस्न गइन्, जहाँ उनले आत्महत्या गरिन्। डा. ब्रिनलाई त्यसअघि मानसिक स्वास्थ्यसम्बन्धी कुनै समस्या थिएन।

कोरोना संक्रमणको लक्षण हामीलाई थाहा छ– खोकी, ज्वरो, सास फेर्न कठिनाइ, स्वाद र गन्ध थाहा पाउने शक्ति क्षय...। तर, छटपटी, आवेग, भय, शून्यता, आत्महत्या– कोरोनाले धेरै मानिसमा यस्तो समस्या पनि निम्त्याइरहेको छ। महामारीका कारण विश्वभर पौने पाँच लाख मानिसको ज्यान गइसकेको छ भने करिब ९२ लाख मानिस संक्रमित भइसकेका छन्। तर, कोरोना भाइरसले भित्रभित्रै अर्को महामारीलाई पनि जन्म दिइरहेको छ– त्यो हो मानिसक रोगको महामारी। यसबाट कति मानिस प्रताडित भएका छन्, कुनै तथ्यांक छैन।

विश्व स्वास्थ्य संगठनले मे महिनामै आगामी दिनमा ‘मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा भयंकर वृद्धि हुने’ चेतावनी दिएको थियो।महामारीका कारण करोडौँ मानिसले रोजगारी गुमाए, दशाँै लाख मानिस चरम आर्थिक समस्यामा परे। एकैपटक झण्डै दुई अर्ब मानिस लकडाउनमा बस्न बाध्य भए। तीमध्ये कतिपय चरम एकान्तमा थिए।

महामारीले धेरै मानिसलाई चिन्ता र एकान्तमा पु¥यायो, जसका कारण धेरैमा मानसिक समस्या देखिन थालेको छ।हरेक दिन सयौँ मानिसको मृत्यु, आइसोलेसन र भय पैदा हुँदा विश्वव्यापी रूपमा मनोवैज्ञानिक चोट उत्पन्न भएको छ।अमेरिकी सरकारका एजेन्सी तथा विज्ञहरूले मानसिक समस्याको हालसम्मकै ठूलो लहर आउने चेतावनी दिइरहेका छन्। डिप्रेसन, दुव्र्यवहार, ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ र आत्महत्याजस्ता समस्या ह्वात्तै बढ्ने उनीहरूको विश्लेषण छ।

कोरोना भाइरस महामारी सुरु हुँदा विश्वका प्रायः स्वास्थ्य संस्था त्यसका लागि तयार थिएनन्। अब मानसिक रोगको महामारी आइपर्दा पनि ती तयार अवस्थामा नहुने चिन्तासमेत व्यक्त गर्न थालिएको छ। विश्वभर मानसिक स्वास्थ्यसम्बन्धी तयारी, पूर्वाधार कमजोर नै छ।

अमेरिका सबैभन्दा बढी प्रभावित
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको देश हो, अमेरिका। हालसम्म झण्डै २४ लाख मानिस संक्रमित भइसक्दा त्यहाँ १ लाख २२ हजारभन्दा बढी मान्छेले ज्यान गुमाएका छन्। त्यसैले मानसिक स्वास्थ्यमा महामारीको सबैभन्दा ठूलो प्रभाव पनि अमेरिकामै देखिन्छ।

तथ्यांकहरूले देखाएअनुसार अमेरिकामा डिप्रेसन (उदासी) र एन्जाइटी (चिन्ता) को समस्या तीव्र रूपमा बढ्न थालिसकेको छ।‘द जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन’ले गरेको एक अध्ययनमा सहभागीमध्ये १४ प्रतिशतले आफूलाई उच्च तहको मानसिक तनाव भएको बताएका थिए। कोभिड–१९ को महामारीअघि यो संख्या मात्र चार प्रतिशत थियो।

कैजर फ्यामिली फाउन्डेसनले गरेको अर्को सर्वेक्षणमा झण्डै आधाजसो अमेरिकीले कोरोना भाइरस संकटले आफ्नो मानसिक स्वास्थ्यलाई क्षति गरेको बताएका छन्। संघीय सरकारले मानसिक तनाव परेका व्यक्तिहरूका लागि तोकेको हटलाइनमा आउने एसएमएसको संख्या अघिल्लो वर्षको तुलनामा यो वर्षको अप्रिलमा एक हजार प्रतिशतले वृद्धि भएको छ। अप्रिलमा करिब २० हजार मानिसले सो हटलाइनमा एसएमएस गरेका थिए।

अनलाइन थेरापी कम्पनी टकस्पेसले फेब्रुअरीको मध्यदेखि आफ्ना सेवाग्राहीको संख्यामा ६५ प्रतिशत वृद्धि भएको जनाएको छ। ‘मानिसहरू साँच्चै डराएका छन्,’ टकस्पेसका सीईओ ओरेन फ््रयांक भन्छन्, ‘जहाँ–जहाँ भाइरसको प्रकोप बढी छ, त्यहीँ मानसिक समस्या पनि बढी छ। तर, मलाई केले सबैभन्दा चकित बनाएको छ भने नेताहरू यसबारे कुरा गरिरहेका छैनन्। यसबारे ह्वाइटहाउसमा कुनै ब्रिफिङ भएको छैन। कुनै योजना बनाइएको छैन।’

मेन्टल हेल्थ अमेरिका नामक एड्भोकेसी ग्रुपका अध्यक्ष पाउल जियोनफ्रिडो भन्छन्, ‘यदि हामीले यो समस्याबारे अहिले नै केही गरेनौँ भने मानिसहरूले आउने लामो समयसम्म मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपर्नेछ।’ 

महामारीका कारण उत्पन्न आर्थिक संकटले पनि मानसिक समस्यालाई बढाउने विज्ञहरू बताउँछन्। टेक्ससस्थित मिडोज मेन्टल हेल्थ पोलिसी इन्स्टिच्युटको अनुमानअनुसार महामारीका कारण बेरोजगारी दरमा पाँच प्रतिशतको वृद्धि भए अमेरिकामा आत्महत्याको संख्या चार हजारले वृद्धि हुने र ड्रग ओभरडोजका कारण थप पाँच हजार हाराहारी मानिसले ज्यान गुमाउनेछन्।तर, बेरोजगारी दर २० प्रतिशतले वृद्धि भए आत्महत्याबाट १८ हजार र लागुपदार्थ अतिप्रयोगबाट २२ हजारको ज्यान जाने सो संस्थाको अनुमान छ।

झण्डै एकतिहाई अमेरिकी उपचार आवश्यक पर्ने किसिमको एन्जाइटी वा डिप्रेसनसँग जुधिरहेका छन्। अमेरिकाको जनगणना ब्युरोले गरेको सर्वेक्षणअनुसार सन् २०१८ को तुलनामा आठ गुणा बढी अमेरिकी वयस्क गम्भीर मानसिक समस्यामा छन्।

तर, यस्ता प्राकृतिक विपत्तिबाट सिर्जित मानसिक रोग अस्थायी प्रकारको हुने चिकित्सकहरू बताउँछन्। यसअघिका विपत्ति, भूकम्प, आँधीबाट पीडितमा दीर्घकालसम्म मानसिक समस्या कमै रहेको देखिएको थियो। तर, मानसिक समस्याको पूर्ण असर देखिन लामो समय लाग्छ। त्यसैले अहिले नै यसको असर यति हुन्छ भन्न सकिन्न।

कोरोनाको दोस्रो शिकार
मानसिक रोगको महामारीबाट सबैभन्दा बढी स्वास्थ्यकर्मी, पसल सञ्चालक, डेलिभरीको काम गर्ने मानिस जोखिममा रहेको विज्ञहरू बताउँछन्।वास्तवमा स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको दोस्रो शिकार नै भन्न थालिएको छ।

‘बिरामी मानिसको उपचार गर्न र भयंकर दुःखको साक्षी बस्न हामी बानी परिसकेका हुन्छौँ,’ इमर्जेन्सी डिपार्टमेन्टकी डाक्टर फ्लाभिया नोबे भन्छिन्, ‘तर, कोभिडका कारण त्यस्तो संख्या ह्वात्तै बढेको छ।हामीलाई विष पिएजस्तो हुन्छ।’

न्युयोर्कमा संक्रमण बढ्न थालेपछि मार्चमा नोबे क्विन्सस्थित एक अस्पतालमा काम गर्न थालिन्। त्यहाँ उनले जे भोगिन्, हप्तौँपछि पनि ती दृश्यले उनलाई पछ्याउन छाडेका छैनन्।आफन्तलाई फेरि देख्न पाइनेछैन भन्ने थाहा पाएपछि एम्बुलेन्स आएकै बाटोमा विरक्तिएका बिरामीका परिवारजनलाई डाक्टरहरूलेसम्झाउनुप¥यो।प्रत्येक मिनेटमा बिरामीको श्वासप्रश्वास प्रणाली अवरुद्ध भएको थाहा पाएर पनि केही गर्न नसकेको कठोर अनुभूति लिनुप¥यो। बिरामीलाई ‘तपाईं अस्पताल भर्ना हुन मिल्नेगरी बिरामी हुनुभएको छैन’ भनेर घर पठाउनुप¥यो।त्यो पनि केही घण्टामै उनीहरू फिर्ता आउनेछन् भनेर जान्दाजान्दै! सीमित स्रोत र साधनका कारण कुनै बिरामीको ज्यान बचाउन भेन्टिलेटरमा राख्ने र कसलाई मृत्युको मुखमा छाडिदिने भन्ने कठिन निर्णय पनि स्वास्थ्यकर्मीले गर्नुप¥यो।

‘यस्ता कुरा तपाईंको अन्तर्मनमा टाँसिएर बस्छन्,’ नोबे भन्छिन्, ‘यस्तो अवस्थामा पनि तपाईंले सकारात्मक कुरामा ध्यान दिनुपर्ने हुन्छ। आशा पनि औषधिजस्तै हो।’

चीनमा महामारी उच्चतम बिन्दुमा हुँदा यसले स्वास्थ्यकर्मीमाथि पार्ने प्रभावबारे एउटा अनुसन्धान गरिएको थियो। १ हजार २ सय ५७ जना डाक्टर र नर्स अध्ययनमा सहभागी थिए। त्यसमध्ये झण्डै आधाले डिप्रेसनको गुनासो गरेका थिए। त्यस्तै ४५ प्रतिशतले एन्जाइटी र ३४ प्रतिशतले अनिद्राको समस्या भएको बताएका थिए।

अझ बेलायतमा त महामारीअघि नै ५० प्रतिशत डाक्टर र ४० प्रतिशत नर्सले तनावसम्बन्धी मनोविकार सामना गरिरहेका थिए।

कोरोनाबाट संक्रमित बिरामीमा पनि मानसिक समस्या देखिने सम्भावना ज्यादा हुन्छ। सामान्य अवस्थामा पनि आईसीयूमा समय गुजारेका बिरामीमा मानसिक समस्या देखिने सम्भावना २० प्रतिशतले बढ्छ।

यतिबेला जुनसुकै उमेर समूहका मानिस मानसिक विकारको शिकार बन्न सक्छन्। सन् १९८० र ९० को दशकमा जन्मिएका मानिसहरूले जीवनको सुरुवातमै अनेकौँ धक्का बेहोरिसकेका थिए। अनेकौँ युद्ध, सन् २००८ को वित्तीय संकटजस्ता कारणले आत्महत्या, लागुऔषध सेवनजस्ता समस्या उनीहरूमा उच्च थियो। महामारी सुरु भएसँगै यो उमेरसमूहमा मानसिक रोग ह्वात्तै बढेको छ। अर्काेतर्फ, वृद्धवृद्धामा महामारीको सबैभन्दा ठूलो असर देखिएको छ। भाइरसका केन्द्रहरूमा अघिल्लो पुस्ता नै सखाप भएको छ। खासगरी, नर्सिङ होममा बसेकाहरू धेरै मृत्युको मुखमा पुगेका छन्। जो बाँचेका छन्, ती पनि अवसादको आगोले डढिरहेका छन्।

आत्महत्यामा वृद्धि
मानसिक स्वास्थ्यमा कोरोना भाइरस महामारीको प्रभाव बल्ल देखिन सुरु हुँदैछ। यसको प्रभावको स्तर र व्यापकताबारे अहिले नै अनुमान गर्न कठिन छ।कोरोनाले दशाँै लाख मानिसलाई मृत्यु नजिकै छ भन्ने आभास दिलाएको छ। अस्पतालका आपत्कालीन उपचारकक्ष, आईसीयूमा लाइन देखापरेको छ।

महामारीले मानसिक स्वास्थ्यमा पारेको अन्तिम असर आत्महत्याको दरबाट प्रकट हुने विज्ञहरू बताउँछन्। तत्कालै सबै तथ्यांक स्पष्ट नभइसकेपनि पछिल्लो समय विश्वका थुप्रै स्थानमा आत्महत्या दरमा वृद्धि भएको पाइएको छ। वास्तवमा अहिले कुन दरमा आत्महत्या बढेको छ भन्ने स्पष्ट हुन अझै महिनौँ लाग्नसक्छ। किनभने, हरेक घटनाको विस्तृत अध्ययनपछि मात्रै त्यसको कारणसम्म पुग्न सकिन्छ। तर, यति चाहिँ स्पष्ट छ– कोरोनाका कारण एन्जाइटीमा उल्लेख्य वृद्धि भएको छ। र, आत्महत्यासँग एन्जाइटीको नजिकको सम्बन्ध छ।

‘अहिलेको समय त आफैँमा प्राकृतिक प्रयोगजस्तो छ,’ हार्वर्ड विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक म्याथ्यू नक भन्छन्, ‘अहिले एन्जाइटीमा वृद्धि मात्रै भएको होइन। महŒवपूर्ण पक्ष त सामाजिक एकान्त हो। हामीलाई थाहा छ, एकान्त आत्महत्यासँग सम्बन्धित छ। हामीले यसअघि यस्तो कहिल्यै भोगेका थिएनौँ।’

जोखिम कसरी घटाउने?
‘यो कहिले समाप्त होला? यो चरण सकिएपछि पनि म ठीक हुँला?’ प्रायः मानसिक समस्या झेलिरहेका बिरामीले आफूलाई सोध्ने प्रश्न हो यो। तर, एउटा सकारात्मक पक्ष के छ भने मानसिक स्वास्थ्यमा सुधार ल्याउने प्रमाणित तरिका उपलब्ध छन्।

पहिलो कुरा त बिरामीले सकारात्मक दृष्टिकोण राख्नुपर्छ। त्यस्तै, बिरामीले आफ्नो शक्तिको सराहना गर्ने, आफ्नो स्वास्थ्य, तन्दुरुस्ती, जीवनको गुणस्तरजस्ता पक्षको ख्याल राख्ने, मित्रहरूसँग सम्पर्क कायम गर्ने, मनका कुरा गर्ने, आफ्नो आलोचना सकभर नगर्ने, कुनै पनि विषयमा बढी नसोच्ने, समस्याबाट तर्किनेभन्दा हिम्मत सँगाल्ने गर्नुपर्छ।शारीरिक कसरत तथा दौडले तनाव घटाउन सक्ने विज्ञहरूले बताएका छन्।
(एजेन्सीको सहयोगमा कवि आचार्य ) 
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट