लकडाउनमा फैलिएको डिप्रेसनको डढेलो

writer

सृजना खड्का

बिहिबार, ११ असार २०७७


– अढाई महिनामा झण्डै १४ सय आत्महत्या 
– मखुन्डोभित्र मानसिक समस्या लुकाइरहेका छन्, व्यवसायी 
– ‘आत्महत्या गनेर बस्ने होइन, रोक्न खोज्ने हो : मनोविद् 

 


अछामको बयलपाटा अस्पतालमा कार्यरत सिद्धार्थ आउजीले कामबाट निकालिएपछि शरीरमा पेट्रोल छर्केर आत्मदाह गरे। सख्त घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो। उनी अस्पतालमा सरसफाइ कर्मचारी थिए। जागिरबाट निकालिएपछि बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ भएको भन्दै जीउमा पेट्रोल छर्केर आफूलाई जलाएका थिए। अस्पतालले आर्थिक संकट परेको बताउँदै उनीलगायत ३३ जना कर्मचारीलाई जागिरबाट हटाएको थियो। दुई महिनाअघि अस्पतालबाट आफूलाई हटाएको चिठी हातमा परेपछि सिद्धार्थ तनावमा थिए। 
०००

अर्घाखाँचीको क्वारेन्टिनमा बस्दै आइरहेका ४३ वर्षीय दुवबहादुर विकले  केही दिनअघि आत्महत्या गरे। उनले आरडीटी परीक्षणमा कोराना भाइरस पोजिटिभ देखिएलगत्तै क्वारेन्टिननजिकै गएर आत्महत्या गरेका थिए। जेठ १४ गते भारतको पञ्जाबबाट आएका उनलाई स्थानीय हरि माविको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनबाट बाहिर निस्केर बिहान ३ बजेतिर उनले झुण्डिएर आत्महत्या गरेका थिए। 
०००

बझाङको छबीस पाथीभेरा गाउँपालिकामा क्वारेन्टिनमा बसेका एक युवाले हालसालै आत्महत्या गरे। क्वारेन्टिनमा कोही कसैले आवतजावत नगरून् भन्ने उद्देश्यले डोरीको बार हालिएको थियो। सोही डोरीले क्वारेन्टिनभित्रै झुण्डिएर तीयुवाले आत्महत्याको बाटो रोजे। भारतको बैंगलोरबाट असार ६ गते उनी नेपाल आएका थिए। क्वारेन्टिनमा उनीसहित चार जना बस्दै आएका थिए।
०००

मोरङको बेलबारी नगरपालिकामा एक जना व्यक्तिले पहिले आमाको हत्या गरे, त्यसपछि आत्महत्या गरे। ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमालाई इँटा प्रहार गरी हत्या गरेपछि तरकारी काट्ने चक्कुले घाँटी रेटेर आत्महत्या गरेका थिए। उनीहरू घरमा आमाछोरा मात्रै बस्दै आइरहेका थिए।

अढाई महिनामा १४ सय आत्महत्या
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा लगभग १० लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन्। संसारभर बढी आत्महत्या हुने देशमध्ये नेपाल सातौँ स्थानमा पर्ने संगठनले जनाएको छ। काठमाडाँै, नक्सालस्थित प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार नेपालभर कोरोना महामारीपछि २०७६ चैत १८ देखि २०७७ जेठ ३१ गतेसम्म १ हजार ३  सय ७१ जनाले आत्महत्या गरे। तीमध्ये झुण्डिएर १ हजार १ सय ४४ जना, विष खाएर १ सय ९७ जना, शरीरमा आगो लगाएर एक जना, औजार तथा हातहतियार प्रयोग गरेर सात जना, हाम्फालेर १२ जना, करेन्ट लगाएर एक जना र डुबेर नौ जनाले आत्महत्या गरेका छन्।

कोरोना महामारीपछि भएको लकडाउन र लकडाउनपछि आफ्नो भविष्यको अनिश्चितता, जागिर गुम्नुको पीडा, बिनातलब काम गर्नुपर्ने अवस्थाका कारण मानिसमा डिप्रेसन हुने र आत्महत्याको बाटो रोज्ने गरेको मनोचिकित्सकहरूको भनाइ छ। यसको असर कोरोना–काल सकिएपछि पनि लामो समयसम्म पर्ने उनीहरूको विश्लेषण छ। 

आत्महत्याको प्रयास गर्नेमध्ये झण्डै ९५ प्रतिशत मानसिक रोगले ग्रस्त हुने विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ। संगठनले मानसिक रोग भन्नाले पूरै विक्षिप्त हुनु, जथाभावी गरेर हिँड्नु मात्र नभई शारीरिक रूपमा पूरै स्वस्थ तर आफू र वरिपरिको वातावरणसँग मेलमिलाप नभई भित्रभित्रै पीडित हुनुलाई पनि व्याख्या गरेको छ। तीमध्ये अस्वाभाविक रूपमा उदास भइरहने मनोरोग ‘डिप्रेसन’ आत्महत्याको प्रमुख (करिब ८० प्रतिशत) कारण भएको मनोचिकित्सक बताउँछन्। मदिरा तथा लागुपदार्थ दुव्र्यसन, व्यक्तित्वको गडबडी आदि पनि आत्महत्याका कारण हुन्। 

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्रा.डा. सरोजप्रसाद ओझा सामान्य अवस्थामा भन्दा कोभिड–१९ ले गाँजेको समयमा आत्महत्या २० प्रतिशतले बढेको बताउँछन्। आगामी दिनमा आत्महत्या गर्नेको संख्या झनै बढ्न सक्ने उनको अनुमान छ। ‘हाम्रो समाजमा आत्महत्या हिजो पनि थियो, आज पनि उत्तिकै छ,’ उनी भन्छन्, ‘तर, कोभिड महामारी, लकडाउन, क्वारेन्टिन र आइसोलेसनले मानिसलाई मनोसामाजिक रूपमा झनै कमजोर बनाएको छ।’ उनका अनुसार यस्तो बेला धेरैको मन डराउने, आत्तिने हुन्छ। धेरैले चिन्तालिन थाल्छन्। यस्तानकारात्मक सोच बढ्दै गएर डिप्रेसन भएपछि मानिसले आत्महत्याको बाटो रोज्छन्। कतिपयलाई बचाउन सकिन्छ भने धेरैले ज्यान गुमाउँछन्। 

व्यापारमा घाटा, आफन्त गुमाउनु पर्दाको पीडा, क्वारेन्टिनमा बस्नुपर्दाको तनावजस्ता विभिन्न कारण मानिसमा मानसिक समस्या देखिएको ओझाको भनाइ छ। यस्ता खालका मनोसामाजिक समस्यालाई कडा खालको मानसिक रोगसँग दाँज्न उनी उचित देख्दैनन्। ‘धेरैले यस्तो समस्या निको हुँदैन भन्ठान्छन्,’ उनी भन्छन्, ‘मानसिक समस्या हुनेबित्तिकै कडा खालको औषधि खानुपर्छ, सामान्य अवस्थामा फर्किन सकिँदैन भन्ने कतिपयको नकारात्मक बुझाइ हुन्छ। यस्तो खालको विचार मनमा राख्नुहुन्न। मनोपरामर्श लिएर सकारात्मक मनोविज्ञानका साथ अगाडि बढ्नुपर्छ।’ अहिले अप्ठ्यारो परिस्थिति भएकाले यस्तो अवस्थासँग घुलमिल हुन सिक्नुपर्ने डा. ओझा बताउँछन्। सकारात्मक सोच र बलियो आत्मबलले जस्तोसुकै मानसिक समस्या पनि ठीक हुने उनको भनाइ छ। आउँदा  दिनमा यस्ताखालका समस्या बढ्ने सम्भावना भएकाले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन जरुरी ठान्छन्, उनी। ‘यस्तो बेलामा जनचेतना फैलाउने, हटलाइन नम्बरहरू व्यवस्थित र सक्रिय बनाउने काम गर्नुपर्छ,’ डा. ओझा भन्छन्, ‘त्यस्तै, मानसिक स्वास्थ्य सेवाप्रवाहका लागि दक्ष जनशक्ति विकासमा जोड दिनुपर्छ। संसारको हरेक राज्यले अबका दिनमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नेछन्।’

आत्महत्या प्रयासको डरलाग्दो तथ्यांक 
मनोचिकित्सक प्रा.डा. रवि शाक्य आत्महत्याको प्रयास गर्नेहरूको तथ्यांक आत्महत्या गर्नेको तथ्यांकभन्दा डरलाग्दो हुने बताउँछन्। ‘आत्महत्या बढ्यो वा बढेन भन्ने थाहा पाउनका लागि आत्महत्या प्रयासको तथ्यांक पनि बाहिर आउनुपर्छ,’ डा. शाक्य भन्छन्, ‘प्रहरीको तथ्यांकमा भएका भन्दा पनि बढी आत्महत्या र आत्महत्या प्रयासका घटना हाम्रो समाजमा छन्।’ आत्महत्याका लागि गरिएका प्रयास परिवारका सदस्यले लुकाएर राख्ने चलन रहेको उनी बताउँछन्। ‘आत्महत्यालाई धेरैले दुर्घटना भनेर भित्रभित्रै लुकाउने गरेको पाइएको छ,’ उनी भन्छन्, ‘यस्ता कुरालाई लुकाएर राख्नु हुँदैन। किनभने, महामारीको बेलामा विभिन्न मानसिक उतारचढाव देखापर्छन्। ती उतारचढावलाई बुझ्न सकिएन भने जीवनमा ठूलो दुर्घटना हुन सक्छ। अहिले चिन्तासँग सम्बन्धित मानसिक रोग तीव्र गतिले बढिरहेको छ।’ 

डिप्रेसन र आत्महत्याजस्ता विषयलाई आक्कलझुक्कल मात्र नभएर समयसमयमा चर्चा गर्न जरुरी ठान्छन्, डा. शाक्य। ‘यस्तो विषयको चर्चा विशेष परिस्थितिमा मात्र होइन, सधैँ गरिरहनुपर्छ,’ उनी जोड दिन्छन्, ‘यस्तो महामारीको बेलामा त झन् मानसिक स्वास्थ्यका सम्बन्धमा मानिसहरूले धेरै कुरा सुन्नु र बुझ्नु आवश्यक छ। अहिले मानसिक समस्यासँग सम्बन्धित हटलाइनहरू छन्। समस्यामा परेका मानिसले तिनको सहायता लिन सक्छन्। आत्महत्या गर्ने सोच मनमा आयो भने कसैले पनि लुकाउनु हुँदैन। सही ठाउँमा मद्दत लिन जानुपर्छ।’

उपत्यकाबाहिरबसेकालाई समस्या 
मानसिक रोग विशेषज्ञ डा. रितेश थापा हरेक महामारीमा मानसिक समस्या लामो समयसम्म देखिने बताउँछन्। ‘चाहे सार्स होस् वा मर्स, स्वाइन फ्लू होस् वा इबोला, जस्तोसुकै महामारीको बेलामा मानसिक स्वास्थ्य सँगसँगै जोडिएर आउँछ,’ उनी भन्छन्, ‘त्यसैले कोरोनाका कारण मानिसहरूको मानसिक स्वास्थ्यमा समस्या देखिनु स्वाभाविक हो। सुरुमा लकडाउन हुँदा कोरोनासँग सम्बन्धित धेरै प्रश्न आउँथे भने अहिले कोरोना मात्रै नभएर घरेलु हिंसादेखि आर्थिक क्षतिका कुरा लिएर मानसिक समस्या भएको हो कि भन्ने शंकाले भरिएका प्रश्नहरू आउन थालेका छन्।’

डिप्रेसन भएका मानिसलाई मनोचिकित्सक तथा मनोविद्ले एक्लै नबस्न, कुराकानी गर्न, घुमफिर गर्न, साथीभाइहरूसँग समय बिताउन सुझाव दिने गरेका छन्। तर, अहिले बाहिर निस्किने वातावरण छैन। मानिसहरूघरभित्रै खुम्चिएर बसेका छन्। धेरैले लकडाउनलाई बाध्यकारी रूपमा लिएकाले घरमा बस्दा मानिसहरू डिप्रेस्ड हुने गरेको डा. थापाको ठहर छ। ‘धेरैजनालाई लकडाउनको कारणले घरभित्रै बसेर पनि मानसिक रोग भएको छ,’ उनी भन्छन्, ‘लकडाउन केही खुकुलो भएपनि सार्वजनिक यातायात नचलेका कारण मानिसहरू बाहिर निस्किन पाएका छैनन्। यस्तो बेलामा सकारात्मक सोच राख्ने, सामाजिक सञ्जालबाट टाढै बस्ने, दिनचर्यालाई निरस नबनाउनका लागि केही न केही कुरामा आफूलाई व्यस्त राख्ने गर्नुपर्छ। दिउँसो सुत्ने अनि रातभरि जाग्राम बस्ने गर्नु हुँदैन।’ 

उपत्यका बाहिरका मानिसमा उपचारको पहुँच नहुँदा धेरैलाई गाह्रो भइरहेको डा. थापा बताउँछन्। ‘लकडाउनका कारण मानसिक समस्या भएर बाहिरी जिल्लाका धेरैले फोन गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘उनीहरू उपचारका लागि आउन खोजिरहेका छन्। तर, पाइरहेका छैनन्। आफू बसेको ठाँउमा उपचार पहुँचमा नहुँदा धेरैलाई गाह्रो भएको छ। कतिपयले बीचैमा औषधि छाड्नुपरेको जानकारी गराएका छन्।’

बालबालिका दोहोरो मारमा 
मनोविद् गोपाल ढकाल तुलनात्मक रूपमा पहिलाभन्दा अहिले मानसिक रोगका बिरामी बढेको बताउँछन्। ‘अहिले कोरोनाको जोखिममा सबैजना छन्,’ उनी भन्छन्, ‘तर, पनि आर्थिक, पारिवारिक र व्यक्तिगतकारण केही मानिस थप जोखिममा छन्। त्यसमा पनि कोरोनाको संकट र लकडाउनले बालबालिकामा धेरै असर गरेको छ।’

गत आर्थिक वर्षमा २ सय ५० जना बालबालिकाले आत्महत्या गरेका थिए। तर, लकडाउन अवधिमा १ सय ५० जनाभन्दा बढी बालबालिकाले आत्महत्या गरेको तथ्यांक बाहिर आएको छ। साथीभाइबाट टाढा रहनु, परिवारमा ठूलो मानिसको रिस आफूमाथि थोपरिनु, सामाजिक सञ्जालको गलत प्रयोग गर्नु आदि उनीहरूलाई आत्महत्यातिर धकेल्ने कारण भएको ढकाल बताउँछन्। ‘कतिपय बालबालिकाले भने सिको गरेर पनि आत्महत्या गर्ने गरेको पाइएको छ,’ उनी भन्छन्, ‘मरेपछि पत्रपत्रिका, सामाजिक सञ्जालमा नाम र फोटो आउने भन्दै पनि कतिपयले आत्महत्या गरेको पाइएको छ। आत्महत्याका समाचार भाइरल बनाउँदा समाजमा हामीले नकारात्मक नतिजा भोग्नुपर्छ।’

मानसिक रोगलाई हेर्ने समाजको दृष्टिकोण त्रुटिपूर्ण भएको मनोविद् ढकालले ठम्याएका छन्। उनी एउटा घटना स्मरण गर्छन्। 

एक जना १७ वर्षीया किशोरीको व्यवहारमा अचानक परिवर्तन आउन थाल्यो। परिवारलाई केही पनि थाहा थिएन। तर, एक जना छिमेकी महिलाले उनको व्यवहार परिवर्तन भएको थाहा पाइन्। उनले किशोरीकी आमालाई एक दिन भनिन्, ‘तपाईंको छोरीको व्यवहारमा परिवर्तन आएको छ। समयमै उपचार गर्न लैजानू।’ उनले यति भन्न नपाउँदै किशोरीकी आमाले गाली गर्दै भन्न थालिन् – ‘मेरी छोरीलाई मानसिक रोगी भन्ने ? तिमीहरूले भन्दैमा म अस्पताल लैजान्छु ?’तर, छिमेकीलाई गाली गरेको केही दिनपछि नै ती महिलाले छोरी गुमाइन्। किशोरीले आत्महत्या गरिन्। ‘मानसिक रोगीलाई समाजले दुव्र्यवहार गर्ने भएकाले मानिसहरू रोग पालेर बस्न बाध्य छन्,’ मनोविद् ढकाल उक्त घटनालाई जोड्दै भन्छन्, ‘आफू, परिवारको सदस्य वा आफन्तलाई मानसिक रोग छ भने समाजले के भन्ला भनेर लुकाउने गरिन्छ। बालबालिका र किशोरकिशोरका हकमा पनि यही कुरा लागू हुन्छ। अझ यस्तो बेलामा बालबालिका झन् जोखिममा हुन्छन्।’ 

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय पनि यो बेला बालबालिका अधिक जोखिममा हुने बताउँछन्। ‘बालबालिकाको मस्तिष्क राम्रोसँग विकास भइसकेको हुँदैन,’ उनी भन्छन्, ‘उनीहरूलाई के गर्ने, के नगर्ने, ज्ञान हुँदैन। परिपक्व तरिकाले निर्णय लिन सक्ने खालका हुँदैनन्। हर्मोनको कारण पनि उनीहरूको मुडलाई परिवर्तन गरिरहेको हुन्छ। के गरौँ, कसो गरौँ, हुने हुन्छ। यस्तो परिस्थितिमा परिवार र आफन्तले उनीहरूलाई बुझिदिनुपर्छ।’

मनोविद् डा. करुणा कुँवर बालबालिकालाई डिप्रेसन हुन्छ भन्ने तथ्य नै धेरैलाई थाहा नभएको बताउँछिन्। ‘थुप्रै बालबालिकाले डिप्रेसनका कारण आत्महत्या गरेका उदाहरण छन्,’ उनी भन्छिन्, ‘परिवारका सदस्यले बेलैमा उनीहरूको मनोभावना नबुझ्दा ती कलिला केटाकेटीले आत्महत्याको बाटो समाउने गर्छन्।’ 

जसरी शारीरिक चोटपटक लाग्दा आकस्मिक रूपमा उपचारको प्रबन्ध मिलाइन्छ, त्यसरी नै मानसिक रोगको पनि उपचार समयमै गर्नुपर्ने आवश्यकता उनले देखेकी छिन्। ‘जसरी हामी कसैको हातखुट्टा भाँचियो भने तुरुन्तै अस्पताल लैजान्छौँ,’ उनले भनिन्, ‘त्यसरी नै मानसिक रोगलाई पनि हामीले आकस्मिक रूपमा हेर्नुपर्छ। अहिले धेरैले उपचारका लागि आउन नपाइरहेको गुनासो गरिरहेका छन्। यस्तो बेलामा आफूलाई जहाँ पायक पर्छ, त्यहीँ गएर परामर्श लिन सकिन्छ। अहिले पालिका–पालिकामा परामर्श केन्द्र सञ्चालन भइरहेका छन्। त्यस्ता ठाँउबाट पनि धेरैले सहयोग लिन सक्छन्।’

ढकाल कोभिड र लकडाउनका कारण मात्र आत्महत्या बढेको मान्न तयार छैनन्। ‘पहिला पनि आत्महत्या गर्नेको संख्या कम थिएन,’ उनी भन्छिन्, ‘धेरैले लकडाउनले आत्महत्या बढ्यो भनिरहेका छन्। पहिला मिडियामा यस्ता कुरा कम आउने भएकाले कम थाहा भएको हो। अहिले सबैको हातहातमा सूचनाको पहुँच भएकाले यस्ता घटना बाहिर आएका हुन्।’ढकाल ‘आत्महत्या ह्वात्तै बढ्यो’ भन्ने खालका सूचना प्रवाह गर्दा त्यसले समाजमा नकारात्मक सन्देश जाने बताउँछिन्। ‘यस्ता सूचनाले सामान्य मानिसमा पनि तनाव पैदा गर्छ,’ उनी भन्छिन्। 

डिप्रेसन भएको कसरी थाहा पाउने ?
मनोविद् तथा मनोचिकित्सकका अनुसार डिप्रेसन हुँदा रुन मन लाग्ने, निराश हुने, एक्लै बस्न रुचाउने, झर्को लाग्ने, दिक्क मान्ने, बोल्न मन नलाग्ने, छटपटी हुने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, आत्मग्लानि हुने, नकारात्मक सोच आउने, निद्रा कम पर्ने, खानामा रुचि नहुने, आफूलाई निकम्मा सम्झने, ‘मर्न पाए हुन्थ्यो’ भन्ने, शंका लाग्ने, कानमा आवाज आएको अनुभूति हुनेलगायत लक्षण देखिने गर्छन्। कतिलाई आफूलाई मानसिक समस्या छजस्तो अनुभूति पनि हुन्छ। आफू बेकार, असहाय, निकम्मा वा निराश भएको भाव व्यक्त गर्ने,आत्महत्याबारे कुराकानी गर्ने, मृत्युबारे सोचिरहने, मर्ने उपायबारे जानकारी खोज्ने, मृत्यु हुनसक्ने खालका काममा जोखिम उठाउने, आफ्ना साथीहरूसँग नजानिँदो तरिकाले बिदाइ वा माफी माग्ने, दुःखी भइरहेको मान्छे अचानक खुशी वा शान्त हुनेजस्तालक्षण कसैले देखाउँछन् भने उनीहरूबाटआत्महत्या प्रयास हुन सक्छ। यस्ता लक्षण देखाउनेलाई यथाशीघ्र परामर्श तथा उपचार आवश्यक हुने र परिवार, साथी वा आफन्तले यसमा सहयोग गर्नुपर्ने मनोविद्हरू बताउँछन्।  

कुरा सुनिदिने मानिसको अभाव 
मनोविश्लेषक वासु आचार्यलाई पहिलेको तुलनामा आजभोलि परामर्शका लागि धेरै फोन आउने गरेको छ। हालसालै मात्र उनलाई एउटा फोन आयो। फोनगर्ने मानिस नेपालका एक जना सफल होटल व्यवसायी थिए। फोनमा उनले आचार्यलाई भने, ‘अहिलेको अवस्थामा आत्महत्याबाहेक मसँग अर्को उपाय छैन।’

उनलाई ‘अब के गर्ने’ भन्ने चिन्ताले सबैभन्दा बढी सताएको मनोविश्लेषक आचार्य बताउँछन्। बैँकको ऋण कसरी तिर्ने, घर लिलाम भयो भने के हालत होला, श्रीमती र बालबच्चालाई पहिलाको जस्तै खुशी कसरी बनाउने भन्ने कुरा ती व्यवसायीको मुख्य चिन्ताको विषय थियो।उनी अहिले आचार्यसँग परामर्श लिइरहेका छन्। 

त्यस्तै, केही समयअघि आएको अर्को एउटा फोन पनि आचार्य सम्झन्छन्। एक जना युवाले भनेका थिए, ‘लकडाउनले मनमुटाव भएर गर्लफ्रेन्डसँग ब्रेकअप भयो। आवेगमा उसले अरू कसैसँग बिहे गर्ने निर्णय गरी। त्यो खबर सुनेदेखि मेरो मनमा आत्महत्याको सोच आउन थालेको छ। ब्रेकअप भुलाउन साथीहरूसँग बाहिर निस्कौँ भने पनि बाहिर निस्किने वातावरण छैन। म के गरौँ ?’

आत्महत्याको ८० प्रतिशत कारण डिप्रेसन भए पनि अहिलेको अवस्थामा आत्महत्याको कारण डिप्रेसन मात्रै नभएको मनोविश्लेषक आचार्य बताउँछन्। उनका अनुसार डिप्रेसनसँगै तीव्र तनाव, आवेग, अवस्थासँग समायोजित हुन नसक्ने विकार (एड्जस्टमेन्ट डिसअर्डर) पनि आत्महत्याका कारण हुन्। ‘अहिले मानिसहरू खुशी हुने आधार निकै कम छन्,’ उनी भन्छन्, ‘सीमित घेराभित्र बस्नुपरेको अवस्था छ। तन्नेरीले साथीभाइलाई आफ्नो कुरा राख्न पाइराखेका छैनन्। गृहिणी माइत जान पाइराखेका छैनन्। प्रेमी–प्रेमिका भेट्न पाइरहेका छैनन्।’

आत्महत्या गर्न खोज्ने वा सोच राख्ने व्यक्तिले विभिन्न संकेत तथा लक्षण देखाउने आचार्य बताउँछन्। ‘आत्महत्याको योजना बनाएको मानिसले केही न केही जानकारी दिइरहेको हुन्छ,’ उनी भन्छन्, ‘केही न केही संकेत गरिरहेको हुन्छ। ‘यहाँबाट हाम फराल्यो भने मरिन्छ कि मरिँदैन?’, ‘मलाई बाँच्नै मन छैन’ जस्ता अभिव्यक्ति उसले निकाल्छ। यो भनेको ‘म मर्न खोज्दैछु, तिमीहरूले मेरो कुरा बुझिदेओ न’ भन्न खोजेको हो। तर, आफन्त र परिवारले ‘के हावा कुरा गरेको ? अबदेखि यस्तो कुरा नगर है !’ भनेर टार्ने गरेका छन्।’ यस्तो बेलामा व्यक्तिले भावनात्मक रूपमा उत्पन्न भएका पीडा, चिन्ता र असहज दिनचर्याको विकल्प खोजिरहेको हुने मनोविश्लेषक आचार्य बताउँछन्। ‘आत्महत्या गर्न खोजिरहेको मानिसलाई आत्महत्या गलत हो भन्ने थाहा हुन्छ,’ उनी भन्छन्, ‘‘तर, ऊ त्यसबाट सजिलै निस्किन सकिरहेको हुँदैन। हामीलाई सामान्य लाग्ने कुरा उसका लागि पहाड लागिरहेको हुन सक्छ। सासूसँग झगडा परेको कुरा लकडाउनमा फसेकी बुहारीले सामान्य नमान्न सक्छिन्। कसैको सहयोग नपाई अपजस खाँदै निरन्तर भान्छा सम्हाल्नुपरेको गृहिणीको समस्या सामान्य नहुन सक्छ। संक्रमणको डर अरूलाई भन्दा बढी आफूलाई हुन्छ भन्ने थाहा पाएका वृद्धवृद्धाको समस्या सामान्य नहुन सक्छ।’ 

मानसिक रूपमा अस्वस्थ मानिसलाई उसका कुरा सुनिदिने मानिसको जरुरत हुने आचार्य बताउँछन्। ‘यस्तो बेलामा उसलाई मूल्यांकन नगरी उसको कुरा सुनिदिने गर्नुपर्छ,’ उनी भन्छन्, ‘उसलाई सम्झाउने, सिकाउनेभन्दा पनि उसलाई स्विकार्नुपर्छ। यसो गर्न सकियो भने उसले कहिले, कसरी आत्महत्याको योजना बनाएको छ खरर भन्छ। उसले एकदमै डरलाग्दो कुरा गर्न सक्छ। तर, सुन्ने बेलामा नआत्तिई, छक्क नपरी उसको कुरा सुन्नुपर्छ।’ अहिलेको अवस्थामा मानसिक स्वास्थ्यलाई हेलचेक्य्राइँ गरियो भने भोलिका दिनमा यसले एकदमै डरलाग्दो रूप लिन सक्ने उनी बताउँछन्। ‘लैंंगिक विभेदमा परेका महिला, घरभित्र थुनिएका युवादेखि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत भोलिका दिनमा मानसिक रोगको समस्या हुन सक्छ,’ उनी भन्छन्। 

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय मान्छेलाई आत्महत्याबाट जोगाउन सकिनेमा विश्वस्त छन्। भन्छन्, ‘आत्महत्या कसैले रोकेर रोकिन्न भन्ने कुरा अन्धविश्वास हो। समयमा उचित सजगता अपनाउन सकियो भने यस्तो दुःखद घटनाबाट मानिसलाई बाहिर निकाल्न सकिन्छ।’

मनोरोगको उच्च जोखिममा व्यवसायी
मनोसामाजिक परामर्शदाता क्षितिजकिरण श्रेष्ठ लकडाउनका कारण मानसिक समस्या देखिएका मानिसलाई निरन्तर काउन्सिलिङ गरिरहेका छन्। विभिन्न समस्या लिएर उनलाई दैनिक धेरैले फोन गर्छन्। ‘युवायुवतीमा प्रेम सम्बन्धका समस्या आएका छन्,’ उनी भन्छन्, ‘सधैँ भेटघाट गरिरहेका जोडीहरू भेट्न नपाउनेबित्तिकै एकअर्कालाई अविश्वास गर्न थाल्छन्। फोन र म्यासेजको जवाफ नपाउँदा झगडा गर्छन्। परिवार साथैमा भइदिँदा कुराकानी गर्न नपाएर प्राइभेसी नहुनेजस्ता समस्या देखिएका छन्। यी सबै कारणले उनीहरूमा तनाव सिर्जना भएको छ।’ 

श्रेष्ठले पाका मान्छेहरूलाई पनि परामर्श दिएका छन्। ‘एकजना ६५ वर्षको बुबा हुनुहुन्छ,’ उनी भन्छन्, ‘अरूलाई भन्दा आफूलाई रोग छिटो सर्ने थाहा पाएर उहाँले सरकारले भनेका सबै नियम फलो गर्नुभएको छ। तर, उहाँ धेरै सचेत भएको देखेर परिवारका युवा सदस्यले उहाँको खिल्ली उडाउने गर्दा रहेछन्। ‘कोरोनादेखि डराउनु भनेको नराम्रो हो कि ?’ भनेर उहाँ लामो समयदेखि चिन्तामा हुनुहुँदो रहेछ।’ परामर्शपछि ती वृद्ध ठीक भएको उनी बताउँछन्। 

त्यस्तै, विदेशमा रहेका विदेशी नेपालीले पनि धेरै गुनासो गर्ने गरेको मनोसामाजिक परामर्शदाता श्रेष्ठ बताउँछन्। ‘धेरैजसोको गुनासो सरकारले केही गरेन भन्ने हुन्छ,’ उनी भन्छन्, ‘पहिला एकदमै व्यस्त जीवनशैली बिताइरहेकाहरू एक्कासि फुर्सदिला हुँदा पनि डिप्रेसनमा गएका छन्। उनीहरू सबैमा अब के होला भन्ने चिन्ता छ।’ 

श्रेष्ठ अहिले ठूलठूला व्यवसायी मनोरोगको उच्च जोखिममा रहेको बताउँछन्। तर, पनि उनीहरूले मखुन्डो धारण गरेर समस्या लुकाएको उनी ठान्छन्। भन्छन्, ‘ठूलठूला व्यवसायीहरू जहिल्यै आफूलाई केही नभएजसरी प्रस्तुत हुन्छन्। मानसिक समस्यालाई मखुन्डोभित्र लुकाएर राख्छन्। अहिले सबैभन्दा धेरै समस्या उनीहरूलाई छ। तर, न त उनीहरू काउन्सिलिङमा आउँछन्, न त कुनै उपचारै गराउँछन्। मानसिक स्वास्थ्यको कुरा गर्न उनीहरू हिचकिचाउँछन्। नेपालको आर्थिक क्षेत्र नेतृत्व गर्ने व्यक्तिहरूलाई यस्तो समस्या भएपछि अरूको हालत के हुन्छ ?’ 

राज्यबाट उपेक्षित मानसिक स्वास्थ्य 
मनोविद् विनोद पौडेल सामान्य अवस्थामा भन्दा मानवसृजित होस् वा प्रकृलिले निम्त्याएको कुनै पनि प्रकोपमा मानिसमा मानसिक विचलन आउने बताउँछन्। ‘भूकम्पको बेलामा पनि भूकम्पको तीन महिनाअघिको आत्महत्याको तथ्यांक र भूकम्पको तीन महिनापछिको तथ्यांकलाई हेर्दा ४१ प्रतिशतले आत्महत्या बढेको देखिएको थियो,’ पौडेल भन्छन्, ‘अहिलेको अवस्थामा आत्महत्याको संख्या बढेको देखिन्छ।’ कोरोनोको महामारी कहिलेसम्म रहने हो र कहिलेदेखि पहिलाको जस्तै स्वतन्त्र भएर हिँड्न पाउने हो, व्यवसाय कहिलेबाट सुरु हुने हो जस्ता प्रश्नले सबैलाई तनाव भएको छ। ‘यस्तो अनिश्चित अवस्थामा मानिसलाई तनाव हुनु, निन्द्रा नलाग्नु, खानामा रुचि कम हुनु, नकारात्मक सोच आउनु असामान्य अवस्थाका सामान्य प्रतिक्रिया हुन्,’ पौडेल भन्छन्, ‘यो अवस्थामा जीवनमा सहीरूपले अगाडि बढे सकारात्मक र गलत रूपमा अगाडि बढे नकारात्मक असर गर्छ।’

अहिले धेरै मानिस डिप्रेस्ड भएकाले यसलाई समयमै पहिचान गर्नुपर्ने आवश्यकता देख्छन्, पौडेल। व्यवहार, सोच, व्यक्तिले गर्ने क्रियाकलापमा आएको परिवर्तनले उसलाई डिप्रेसन भए वा नभएको नजिकको मानिसलाई थाहा हुने उनी बताउँछन्। उनका अनुसार आत्महत्याको योजना बनाएको व्यक्तिले ‘वार्निङ’ दिइरहेको हुन्छ। ‘तर, ती चेतावनीलाई धेरैले बुझ्न सक्दैनन्,’ उनी भन्छन्, ‘‘तँजस्तो मान्छेले पनि कायरले जस्तो कुरा गर्ने हो?’ भनेर टारिदिन्छन्। यस्तो व्यवहारले ऊभित्र भएका कुरा दबाउन प्रेरित गरिरहेको हुन्छ। उसले पछि आफूलाई हानि पु¥याउने व्यवहार गर्न सक्छ।’

कोरोना महामारीका कारण धेरैजना घरभित्रै भएकाले विभिन्न संस्थाले टोलफ्री नम्बर राखेको बताउँदै पौडेल आफूलाई समस्या भए त्यहाँबाट सहयोग लिन सल्लाह दिन्छन्। मानसिक स्वास्थ्यमा राज्यले छुट्याउने बजेट एकदमै कम भएको उनको गुनासो छ। ‘मानसिक स्वास्थ्य राज्यबाट उपेक्षित विषय हो,’ उनी भन्छन्, ‘अहिलेको अवस्था हेरेर भोलि कस्तो दिन आउँछ भनेर अनुमान गर्न सकिन्छ। मानसिक स्वास्थ्यलाई यसरी नै बेवास्ता गर्ने हो भने भोलि अवस्था भयावह हुन सक्छ।’ उनी मनोसामाजिक सेवा बृहत् र प्रभावकारी रूपले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँछन्। 


‘आत्महत्या गनेर बस्ने होइन रोक्न खोज्ने हो’    

डा.कपिलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक 
डिप्रेसन र आत्महत्या आजको मात्र होइन, उहिलेदेखिको समस्या हो। तर, अहिले कोरोना र लकडाउनका कारण डिप्रेसन हुने र आत्महत्या गर्नेहरू बढेका छन्। पहिलादेखि नै डिप्रेसन भएका तर निको नभएकालाई पनि अहिले डिप्रेसन बल्झिएर आएको छ। उनीहरूमा समेत आत्महत्याको जोखिम बढ्ने देखिन्छ। त्यस्तै, लकडाउनका बेलामा हुने गरेका हिंसाका घटनाले पनि आत्महत्यालाई बढावा दिएको छ। मद्यपानको लत पनि पछि गएर आत्महत्याको बाटो रोज्नसक्ने कारण हो।

कोरोनाका कारण संसारभरि नै मानसिक समस्या बढ्न सक्छ भन्ने अनुमान गरिएको छ। आफू कसरी बाँच्ने, व्यवसाय पुनः कसरी सञ्चालन गर्ने,  भविष्य के होला भन्नेखालका चिन्ता देखिन थालेको छ। अबको अवस्थामा हामीले यो कारणले आत्महत्या बढिरहेको छ भनेर उजागर गर्नुभन्दा पनि के ग¥यो भने आत्महत्याजस्ता अप्रिय घटनाबाट बच्न सकिन्छ भन्नेतिर जोड दिनुपर्छ। आत्महत्याको सोच पालेर बसेका मानिसलाई प्रत्येक व्यक्तिले गम्भीरतापूर्वक लिनुपर्छ। 

हाम्रो समाजमा आत्महत्यागर्न खोज्ने व्यक्तिलाई रोकेर रोक्न सकिँदैन भन्ने अन्धविश्वास छ। तर, आत्महत्या गर्ने कोसिसमा रहेको मानिसले तुरुन्त सहयोग पायो भने ऊ रोकिन्छ। हामीले कसैले आत्महत्याको प्रयास गर्न खोजिरहेको छ भने ‘किन’को जवाफ पत्ता लगाउनतिर लाग्नुपर्छ। कसैले ‘मर्छु’ भन्यो भने उसले आफ्नो परिवार, साथीभाइ वा प्रेमी–पे्रमिकालाई धम्क्याएको होइन। यसको अर्थ हो– ऊ गहिरो मानसिक समस्यामा छ। 

मानसिक समस्या भएको व्यक्तिको कुरा धैर्यपूर्वक सुनिदिनुपर्छ। उसले मर्नुबाहेक अरू कुनै विकल्पबारे सोचेको छ भने त्यसबारे सोध्नुपर्छ। उसलाई उसले चाहेको वैकल्पिक बाटोमा हिँड्न प्रेरित गर्नुपर्छ। यदि कसैले आफ्नो कुराकानी राखिसकेपछि पनि ‘आत्महत्या नगरी छाड्दिनँ’ भन्नेखालको भाव राख्छ भने त्यो एकदमै खतरनाक अवस्था हो। यस्तो बेलामा उसलाई तुरुन्तै अस्पताल लैजानुपर्छ। 

त्यसै गरी, चर्चित व्यक्तिहरूको आत्महत्यालाई मिडियाले मसला थपेर प्रस्तुत गर्नुहुँदैन। मिडियाले यसरी प्रस्तुत गर्दा ‘यस्तो ठूलो र प्रभावशाली मान्छेले त आत्महत्या ग¥यो भने मैले किन नगर्ने?’ भन्ने खालको भाव मानिसहरूमा आउन सक्छ। आत्महत्या गरेको प्रसिद्ध व्यक्तिको अन्तिम संस्कारमा धेरै मानिस जम्मा भएको कुरा पनि देखाउनु हुँदैन। मिडियाले यस्ता कुरा हाइलाइट गर्दा आत्महत्या गर्न खोजिरहेको मान्छेलाई प्रोत्साहन मिल्न सक्छ। आत्महत्याका घटनालाई धेरै मसला थपेर हाइलाइट गर्नुहुँदैन र गुपचुप लुकाएर पनि राख्नु हुँदैन।  

तपाईको कमेन्ट

मुख्य समाचार