खोपको होडबाजी

writer

सम्पूर्ण

बुधबार, १० असार २०७७


सारा संसार कोरोनाको खोप तयार हुने आशमा छ । वैज्ञानिकहरूले भाइरसविरुद्ध युद्ध छेडेका छन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भाइरस होइन, संसारविरुद्ध खोप युद्ध थालेका छन् । 


कोरोना भाइरसविरुद्ध खोप पत्ता लगाउन विश्वव्यापी प्रतिस्पर्धा चलिरहेको छ । खास गरी, चीन अमेरिका र बेलायत यो प्रतिस्पर्धामा देखिएका छन् । उनीहरूबीच खोप युद्ध नै चलिरहेको छ । अहिले कोरोना भाइरसविरुद्धका १३ वटा खोप मानिसमा परीक्षण भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अरू १ सय २९ वटा खोप ‘प्रि–क्लिनिकल’ प्रयोगको चरणमा छन् । 

मानिसमाथि परीक्षण भइरहेका १३ मध्ये पाँच वटा खोप चिनियाँ वैज्ञानिकले बनाएका हुन् । छैटौँ खोप भने चिनियाँ–जर्मन कम्पनीले संयुक्त रूपमा निर्माण गरिरहेको छ । 

अहिले धेरै कम्पनीले आफ्नो खोप भरपर्दो र चाँडै उपलब्ध हुने दाबी गरिरहेका छन् । सबैभन्दा आक्रामक ढंगले युनिभर्सिटी अफ अक्सफोर्ड अगाडि आएको छ । अक्सफोर्डका वैज्ञानिकले पहिले खोप सफल हुनेमा आफूहरू ८० प्रतिशत विश्वस्त रहेको बताएका थिए । तर, धेरैजसो खोप असफल हुनेछन् । 

खोप विकास निकै जोखिमपूर्ण कार्य हो । कहिलेकाहीँ मानिसमा ठूलो मात्रामा परीक्षण भइसकेको खोप पनि असफल हुन सक्छ । 
सन् १९८४ मा अमेरिकी स्वास्थ्यमन्त्री मार्गरेट हेकलरले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिन्– ‘वैज्ञानिकहरूले एड्सको कारक भाइरस सफलतापूर्वक पत्ता लगाएका छन् । यसको खोप दुई वर्षभित्र परीक्षणका लागि तयार हुन सक्छ ।’ त्यसयता झण्डै ४० वर्ष बित्यो, ३ करोड २० लाखको ज्यान गइसक्यो । तर, संसार अझै एचआईभीविरुद्धको खोपको प्रतीक्षा गरिरहेको छ । 

यो खोजी सन् १९८० को दशकमा समाप्त भएन । सन् १९९७ मा राष्ट्रपति बिल क्लिन्टनले १० वर्षभित्र खोप बनाइसक्न अमेरिकी वैज्ञानिक तथा चिकित्सकलाई चुनौती दिए । तर, त्यसले पनि काम गरेन । एचआईभी एड्स रोगको प्रकृतिका कारण नै खोप विकासमा कठिनाइ सुरु भयो । 
‘इन्फ्लुएन्जाले हरेक वर्ष आफूलाई परिवर्तन गर्न सक्छ । त्यसैले अघिल्लो वर्ष संक्रमणका कारण वा खोप लगाएपछि अर्को वर्ष संक्रमण हुँदैन । तर, एचआईभी एक पटकको संक्रमणमै रूपान्तरित भइसक्छ,’ रोटाभाइरसको खोप पत्ता लगाउने टोलीका एक सदस्य पाउल ओफिट भन्छन्, ‘शरीरभित्रै एचआईभी रूपान्तरित भइरहन्छ । जसको अर्थ हो, तपाईं एचआईभीका हजारौँ हाँगाबिँगाबाट संक्रमित हुनुहुन्छ । यसले आफ्नो रूप पनि फेरिरहन्छ, तपाईंको प्रतिरक्षा प्रणाली पनि ध्वस्त बनाउँदै जान्छ ।’
कोरोनाको खोपमा पनि यस्तै दुःखान्त बेहोर्नुपर्ने हुनसक्छ ।

चीनको प्रविधि पुरानो

चीनको खोप बनाउने तरिका बिलकुल अलग छ । उसले पुरानो तरिकाबाट खोप बनाइरहेको छ । अर्थात्, चीन निष्क्रिय भाइरसलाई नै खोपमा बदल्ने पुरानो प्रविधिमा लगानी गरिरहेको छ । यो तरिका विगतमा धेरै वटा खोप बनाउन प्रयोग भइसकेको छ । हेपाटाइटिस ए, इन्फ्लुएन्जा र पोलियोको खोप यही प्रविधिबाट बनेका हुन् । तर, पछिल्लो समय वैज्ञानिकहरू नयाँ प्रविधि विकासमा जुट्न थालेका छन् ।
चीनले अपनाएको प्रविधि सरल छ । यसमा प्रयोगशालामा भाइरस हुर्काइन्छ । ताप अथवा रसायनको प्रयोग गरेर एकबाट दुई बन्ने भाइरसको शक्ति नष्ट गरिन्छ । त्यसपछि निष्क्रिय बनेको सो भाइरसलाई खोपका रूपमा शरीरमा पठाइन्छ । यस्तो भाइरस शरीरमा प्रवेश गर्नेबित्तिकै मानिसको प्रतिरक्षा प्रणालीले त्यसमा भएको एन्टिजेन पहिचान गर्छ र त्यसविरुद्ध एन्टिबडी बनाउन थाल्छ, जसले सक्रिय भाइरसको संक्रमण पनि हुन दिँदैन । 

चीनमा बनिरहेका एउटाबाहेक सबै खोप यही पुरानो प्रविधिका हुन् । मानिसमा परीक्षण हुन बाँकी विश्वभरका १ सय २९ खोपमध्ये पाँच वटा मात्रै यो प्रविधिका छन्, जसमध्ये दुइटा चिनियाँ कम्पनीले नै बनाइरहेका हुन् भने जापान, कजाकस्तान र फ्रान्समा पनि यो प्रविधिको एक–एक वटा खोप बनिरहेका छन् । 

प्रायः पश्चिमा वैज्ञानिक भने नयाँ प्रविधितर्फ आकर्षित भएका छन् । जसमध्ये धेरैजसो ‘न्युक्लिक एसिड’ खोपको प्रयोगमा सक्रिय छन् । यस्तो खोप कृत्रिम रूपमा निर्माण गरिएको भाइरसको डीएनएमा आधारित हुन्छ । तर, हालसम्म यस्तो प्रविधिबाट विकसित कुनै पनि खोप मानिसमा आम प्रयोगको अनुमति दिइएको छैन । अहिले अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले बनाइरहेको एमआरएनए खोप यही प्रविधिको हो । आगामी जुलाईमा ३० हजार सहभागीमा यो खोप परीक्षण हुने अपेक्षा गरिएको छ । 

विकसित मुलुकले निष्क्रिय भाइरसबाट खोप बनाउने प्रविधिमा रुचि नदेखाउनुको एउटा कारण हो– यस्तो खोपको सीमित प्रभाव । अर्थात्, यस्तो खोपले निश्चित समयसम्म मात्रै मानिसलाई भाइरसबाट रक्षा गर्छ । त्यसपछि फेरि अर्को खोप लगाउनुपर्ने हुन्छ । त्यस्तै, शरीरमा यस्तो खोपको नकारात्मक प्रतिक्रिया देखिने जोखिम पनि बढी हुन्छ । यसलाई ‘इनह्यान्स्ड डिजिज रेस्पोन्स’ भनिन्छ । खोपमा भाइरसलाई सिँगै पठाइने हुनाले त्यसले शरीरमा हानिकारक एन्टिजेन पनि पु¥याउन सक्छ । 

रुबेला खोप आविष्कार गरेका स्टेन्ली एलन प्लटकिन यस्तो खोप सुरक्षित छ भनेर पर्याप्त तथ्यांक उपलब्ध भएपछि मात्रै आम मानिसमा प्रयोग गर्न दिइनुपर्ने बताउँछन् । ‘यस्तो खोपका विषयमा धेरै चिन्ता र चासो छन् । ‘इनह्यान्स्ड डिजिज रेस्पोन्स’ का साथै एन्टीजेनका केही हिस्सा (एपिटोप्स) पनि नष्ट गर्छ भन्ने छ,’ विश्व स्वास्थ्य संगठनका सल्लाहकार समेत रहेका प्लटकिन भन्छन् ।

तथापि, अहिले नै यस्तो चिन्ता समान्यतः सैद्धान्तिक रूपको भएको वैज्ञानिकहरू बताउँछन् । कुनै पनि खोप लगाउँदा मानिस वा जनावरको शरीरले कसरी प्रतिक्रिया जनाउँछ भन्ने विषयमा त लामो परीक्षण अवधिबाट टुंगो लगाउन बाँकी नै छ । 

अप्रिल र मेमा प्रकाशित भएका दुई छुट्टाछुट्टै रिपोर्टहरूले निष्क्रिय भाइरसबाट बनाइने खोपबारे यस्ता धेरै प्रश्नको जवाफ दिएको छ । एउटा रिपोर्ट बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स र सरकारी स्वामित्वको सिनोफार्मको टोलीले लेखेको थियो । त्यस्तै, अर्को टोली निजी स्वामित्वको सिनोभ्याक बायोटेकको थियो । दुवै अध्ययनमा चिम्पान्जीमा भने यो खोपको नकारात्मक प्रतिक्रिया देखिएको थिएन । 

गत साता मात्रै चाइना नेसनल बायोटेक ग्रुप र सिनोभ्याकले आ–आफ्नो खोपले पहिलो र दोस्रो चरणको परीक्षण पार गरेको बताएका छन् । यस्तो खोपको फाइदा पनि छ । ‘एउटा फाइदा भनेको यो प्रविधि स्थापित भइसकेको छ । संसारभर यस्ता खोप उत्पादन गरिन्छन्,’ युनिभर्सिटी अफ अकल्यान्डकी सहप्रध्यापक हेलेन पिटोसिस ह्यारिस भन्छिन्, ‘तर, सुरक्षाको मापदण्ड एकदमै उच्च छ र भाइरस पनि धेरै मात्रामा उत्पादन गर्नुपर्छ ।’
खोप बनाउने विभिन्न तरिका छन् । त्यसमध्ये धेरै पैसा निष्क्रिय भाइरसबाट खोप बनाउने तरिकामा लगाए पनि चीनले पाँच तरिकाले खोप बनाउन सरकारी संस्थालाई परिचालन गरेको छ । जसमा एडेनोभाइरस भेक्टर खोप, रिकम्बिनेसन प्रोटिन भ्याक्सिन, इन्फ्लुएन्जा भाइरस भेक्टर भ्याक्सिन र न्युक्लिक एसिड भ्याक्सिन छन् । खोप विकासका लागि चीनले आफ्नै कम्पनीहरूमाझ प्रतिस्पर्धा गराइरहेको छ । 

एडेनोभाइरस प्रविधिमा पश्चिमा कम्पनीहरू पनि तीव्र प्रतिस्पर्धा गरिरहेका छन् । बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड, अस्ट्राजेनेका र अमेरिकाको जोन्सन एन्ड जोन्सनले पनि एडेनोभाइरस खोप नै विकास गरिरहेका छन् । 

आगामी हिउँदसम्ममा खोप तयार गरिसक्ने चीनको योजना छ । तर, तेस्रो चरणको परीक्षणमा ढिलाइ भइरहेको छ । किनभने, चीनमा अहिले कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ । त्यसैले क्यानडा र ब्राजिलमा परीक्षणका योजना बनेका छन् । फरक–फरक खोप तयार हुनु एकदमै राम्रो कुरा भएको ह्यारिस बताउँछिन् । 

खोप कसको ?

सारा संसार कोरोनाको खोप तयार हुने आशमा छ । वैज्ञानिकहरूले भाइरसविरुद्ध युद्ध छेडेका छन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भाइरस होइन, संसारविरुद्ध खोप युद्ध थालेका छन् । अमेरिका र बेलायतबाहेक विश्वका सबै मुलुकले कोरोनाको खोप सार्वजनिक सम्पत्ति हुने घोषणा गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि खोपमा आफ्नो देशले स्वामित्व नखोज्ने घोषणा विश्व स्वास्थ्य संगठनको भर्चुअल सभामा गरे । तर, अमेरिकाले भने बौद्धिक सम्पत्तिमा अधिकार हुनुपर्ने बतायो । 

विश्व स्वास्थ्य संगठनको सभामा कोस्टारिकाले कोभिड–१९ का सबै खोप र औषधिमाथि सामूहिक स्वामित्व हुनुपर्ने प्रस्ताव राखेको थियो । जसअनुसार चिनियाँ राष्ट्रपति सी र युरोपेली संघका सबै नेताले ती खोप सार्वजनिक सम्पत्ति हुने बताए । तर, अमेरिका सो सभामा सहभागी भएन । बरु उसले डब्लूएचओ नै परित्याग ग¥यो । 

कोरोनाविरुद्धको खोपको स्वामित्व निश्चित कम्पनीको हातमा भए के हुन्छ ? यसका लागि हामी एक पटक फेरि एड्सबाट सिर्जित दुःखान्ततर्फ फर्किनुपर्ने हुन्छ । सन् १९९४ देखि २००४ सम्म एड्सको औषधिको स्वामित्व केही कम्पनीहरूमा मात्र थियो । जसका कारण एड्सका बिरामीले एक वर्षको औषधि किन्न १० देखि १५ हजार डलरसम्म तिर्नुपर्ने भयो । धेरैले यो खर्च धान्न सकेनन्, जसकारण १० वर्षको अवधिमा लाखौँले ज्यान गुमाए । अन्ततः भारतको एउटा कानुनले दैनिक एक डलरभन्दा सस्तोमा एड्सको औषधि प्राप्त गर्ने अनुमति दियो । हाल एड्सको औषधिमध्ये ८० प्रतिशत भारतमा बन्छ ।  त्यसैले कोरोनाविरुद्धको खोप औषधि कम्पनीहरूको नाफाको माध्यम मात्रै बन्न नदिनु निकै महŒवपूर्ण छ । 
–एजेन्सीको सहयोगमा कवि आचार्य 
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट