बाँके मोडल : समुदाय जोगाएर कोरोना नियन्त्रण

writer

शंकरप्रसाद खनाल

बुधबार, १० असार २०७७


कोरोना भाइरस संक्रमण देखिएको चार हप्तामै नरैनापुरले आफूलाई कोरोनामुक्त बनाएको थियो । त्यहाँ समुदायमा भाइरस फैलन नदिन सबैले प्रयत्न गरे । 


वैशाख १९ गते नेपालगञ्ज उपमहानगरपालिका– ५ का ६० वर्षका वृद्धमा कोरोना संक्रमण देखियो । उनी बाँके जिल्लाको पहिलो संक्रमित थिए । उनको कन्ट्याक्ट टे«सिङ गर्दा थप २५ जनामा कोरोना संक्रमण भेटियो । एकै व्यक्तिबाट यति धेरै जनामा कोरोना संक्रमण फैलिएकाले नेपालगञ्जमा कोरोना समुदाय स्तरमा पुगेको चर्चा पनि भयो । नेपालगञ्ज–८ को जोलाहनपूर्वा टोललाई ‘रेड जोन एरिया’ घोषणा गरेर २५ जनासँग सम्पर्कमा रहेका व्यक्तिको थ्रोट स्वाब संकलन गर्दा भने थप संक्रमित फेला परेनन् । अहिले नेपालगञ्जमा पहिलो संक्रमित व्यक्तिकै कारण कोरोना फैलिएको भन्ने आधार पुष्टि भइसकेको छैन । पहिलो संक्रमित व्यक्तिबाट कोरोना संंक्रमण भएको हो वा अरू नै व्यक्तिबाट कोरोना सरेको भन्ने यकिन भइसकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ भन्छन्, ‘उनी नै पहिलो संक्रमित हुन् भनेर हामीले पुष्टि गर्न सकेका छैनौँ । डब्लूएचओको अध्ययन प्रतिवेदन पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।’ नेपालगञ्जमा समुदायमा कोरोना विस्तार रोक्न १ हजार ५ सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । यद्यपि, अहिले त्यहाँ कुल संक्रमितको संख्या ४१ पुगेको छ । जसमध्ये ३५ जना त आइसोलेसनबाट डिस्चार्ज नै भइसकेका छन् । 

नेपालमै एउटै पालिकामा कुनै बेला बाँकेको नरैनापुर गाउँपालिकामा सबैभन्दा बढी १ सय १८ जना संक्रमित थिए । एक जना युवाको कोरोनाबाट ज्यानै गयो । यति धेरै व्यक्तिमा कोेरोना संक्रमण भएका कारण जिल्लाको विकट नरैनापुरमा समुदाय स्तरमा कोरोना फैलिने खतरा निकै थियो । त्यहाँ भारतबाट आएका जति सबैलाई क्वारेन्टिनमा राखियो । धेरै जनालाई राखिएकाले क्वारेन्टिन व्यवस्थित हुन सकेन । तर, त्यहाँ रहेका व्यक्तिमा कोरोना सरे पनि समुदाय स्तरमा कोरोना रोक्न पाएकोमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह खुशी छन् । उनी भन्छन्, ‘हामीसँग जे जस्तोे साधनस्रोत थियो, त्यसैबाट क्वारेन्टिन सञ्चालन ग¥र्यौं । तर, भारतबाट आएका व्यक्तिलाई सीधै क्वारेन्टिनमा राखेर समुदाय स्तरमा कोरोना विस्तार हुनबाट जोगायौँ ।’ नरैनापुरमा झण्डै १ हजार २ सय व्यक्तिको कोरोना परीक्षण गरिएको थियो । जिल्लामा नेपालगञ्जपछि नरैनापुरमा नै कोरोना परीक्षण बढी गरिएको छ । समुदाय स्तरमा कोरोना विस्तार रोक्न एक जना व्यक्ति घर गएको र अर्का व्यक्ति ससुराली गएको थाहा पाएपछि दुवै परिवारका सदस्यको पनि कोरोना परीक्षण गरिएको गाउँपालिका अध्यक्ष शाह बताउँछन् । कोरोना संक्रमण देखिएको चार हप्ताको अवधिमा नै नरैनापुरले आफूलाई कोरोनामुक्त बनाएको थियो । यद्यपि, नरैनापुरमा समुदायमा फैलनबाट जोगाउन जिल्ला सुरक्षा समितिको बैठकबाट सेना नै परिचालन गरियो । अहिले पनि नरैनापुरमा सेनाको टोली खटिएको छ । त्यहाँ कुल १ सय १९ जना संक्रमित भएकोमा अब एक जना मात्र आइसोलेसनमा छन् । क्वारेन्टिन र आइसोलेसनमा विद्युत् अभाव भएको खबर मिडियाबाट आएपछि नरैनापुरमा २२ वर्षदेखि हुन नसकेको विद्युतीकरणको काम धमाधम भइरहेको छ । अब केही दिनभित्रै नरैनापुरमा विद्युत् सेवा पनि पुग्दै छ । 

जानकी गाउँपालिका भारतको सीमावर्ती स्थानीय तह हो । गाउँपालिकाको साइगाउँमा रहेका १ सय १३ जनाको आरडीटी परीक्षण गरेर घर पठाउने क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीको प्रयत्नबाट पीसीआर परीक्षण भयोे । बाँकेका प्रमुुख जिल्ला अधिकारी रामबहादुुर कुरुम्वाङको पहलमा स्वाब संकलन गर्न सम्भव भएको थियो । जेठ २२ गते जानकी गाउँपालिकाको वडा–१ का ४० जनामा कोरोना संक्रमण पुष्टि भयो । असार ५ मा सबै जना डिस्चार्ज भएर घर फर्किसकेका छन् । आरडीटी परीक्षण गरेर मात्र उनीहरूलाई घर पठाएको भए कोरोना समुदायमा सर्ने खतरा थियो । प्रमुख प्रशासकीय अधिकृत खत्री अनुभव सुनाउँछन्, ‘धेरै जना मुम्बईबाट आएका थिए । हामीलाई आरडीटी गरेर मात्र घर पठाउन डर लाग्यो । पीसीआर परीक्षण गराएर समुदायमा कोरोना फैलन रोक्यौँ ।’

नेपालगञ्ज, नरैनापुर र जानकीजस्तै अभ्यास डुडुवा गाउँपालिकामा पनि भयो । जिल्लामा संक्रमितको चाप बढेको थियो । आइसोलेसनमा राख्ने ठाउँको अभाव थियो । डुडुवा गाउँपालिकाले स्थानीय स्तरको क्वारेन्टिनलाई नै अपग्रेड गरेर आइसोलेसनका रूपमा विकास गरेको थियो । त्यहाँ रहेका कुनै पनि संक्रमितलाई लक्षण नदेखिएकाले उनीहरू १४ दिनपछि डिस्चार्ज भएका थिए । गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी संक्रमितलाई अन्य स्थानमा पठाउनुभन्दा स्थानीय स्तरमै आइसोलेसन बनाएर सेवा दिएको बताउँछन् । यो स्थानीय तहले पनि क्वारेन्टिनबाट कोरोना समुदायमा फैलन नदिन काम गरेको थियो । डुडुवा गाउँपालिकामा रहेका कुल २७ संक्रमितमध्ये अहिलेसम्म २५ जना त घर फर्किसकेका छन् । 

जिल्लामा दोस्रो धेरै संक्रमित (५४ जना) राप्ती सोनारी गाउँपालिकामा छन् । यो स्थानीय तहले पनि क्वारेन्टिनलाई आइसोलेसन बनायो । ‘लक्षण देखिएका दुई जना संक्रमितलाई खजुराको क्यान्सर अस्पतालको आइसोलेसनमा पठायौँ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय दलबहादुर बस्नेत भन्छन्, ‘लक्षण नभएका सबैलाई गाउँमै राख्ने व्यवस्था मिलायौँ । १४ दिनसम्म आइसोलेसनमा बसेका व्यक्तिलाई कोरोना परीक्षण नगर्ने सरकारले नीति ल्यायो । हामीले आफैँले भीटीएम खरिद गरेर पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठायौँ ।’ राप्ती, सोनारी–७ ले त जिल्ला स्वास्थ्य कार्यालयले १४ दिन आइसोलेसनमा बसेर डिस्चार्ज भएको भनिएका व्यक्तिलाई कोरोना रिपोर्ट नेगेटिभ नआएको भन्दै थप १० दिनसम्म राख्यो । वडा अध्यक्ष रामलखन थारु भन्छन्, ‘निको नभई घर पठाउँदा समुदायमा कोरोना सर्ने खतरा देखेर राज्यको नीतिलाई पनि बेवास्ता गर्दै हामीले आइसोलेसनबाट डिस्चार्ज नगरेका हौँ ।’

कुनै बेला नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित भएको बाँके जिल्लामा पछिल्लो समय फाट्टफुट्ट रूपमा मात्र नयाँ संक्रमित देखिएका छन् । अहिले बाँके जिल्लामा संक्रमितको संख्या घट्दो छ । मंगलबार बिहानसम्म देशभर ९ हजार ५ सय ६१ जना संक्रमित रहेकोमा नेपालमा कोरोना संक्रमित धेरै भएका जिल्लाको सूचीमा बाँके छैटौँ स्थानमा छ । 

बाँकेमा कुल कोरोना संक्रमित ३ सय ४२ जना रहेकोमा डिस्चार्ज हुने २ सय ६० जना छन् । अर्थात्, ७६ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट नरैनापुर–५ का २५ वर्षका युवा र बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको छ । अब ८७ जना मात्र बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा छन् । जसमध्ये लक्षण भएका दुई जना मात्र छन् । बाँके जिल्लाका आठ वटा स्थानीय तहले १ सय १२ वटा क्वारेन्टिनमा ६ हजार ५८ जनालाई राखिएकोमा अहिले १ हजार ४ सय ४१ जना मात्र छन् । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा ६ हजार १७ जनाको पीसीआर प्रविधिबाट र ७ हजार ५ सय ८१ जनाको आरडीटी प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भन्छन्, ‘नरैनापुरका ८८ जनाको स्वाब संकलन गरिएकोमा मंगलबार सबैको रिपोर्ट नेगेटिभ आएको छ । नरैनापुरमा कोरोना नियन्त्रण प्रदेश ५ कै लागि मोडल बनेको छ ।’
 

तपाईको कमेन्ट

मुख्य समाचार