‘खेलाडीको हौसलामै लकडाउनले प्रहार गरेको छ’

writer

सम्पूर्ण

शुक्रबार, ०५ असार २०७७


रमेशकुमार सिलवाल, सदस्यसचिव, राष्ट्रिय खेलकुद परिषद्

नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रमेशकुमार सिलवालले गत वर्षदेखि नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्। उनीसँग कोरोना भाइरसको महामारीसँगै सुरु भएको लकडाउनका कारण नेपाली खेलकुदले भोग्नुपरेका समस्या र चुनौतीमा केन्द्रित रहेर गरिएको कुराकानीः 


लामो लकडाउनका कारण खेलाडीहरू घरभित्रै थुनिएका छन्। उनीहरूलाई घरबाट बाहिर निकालेर नियमित प्रशिक्षणमा फर्काउने विषयमा परिषद्ले के–कस्ता योजना बनाइरहेको छ ?
अहिलेको परिस्थिति असामान्य छ। त्यसैले सबै कुरा हाम्रो हातमा मात्र छैन। लकडाउन सुरु भएसँगै आ–आफ्ना घरमा फिजिकल फिटनेस र मेन्टल फिटनेसमा लाग्न खेलाडीलाई हामीले आग्रह गरेका थियौं। उपलब्ध स्रोतसाधनका आधारमा आफूलाई फिट राख्न भनेका छौँ। अर्थात्, मर्निङ वाक, जिम, योग, स्किपिङ जे गरेर हुन्छ, फिट रहन भन्यौँ। दोस्रो चरणमा जुमबाट धेरै खेलको प्रशिक्षण सुरु गरेका छौँ। समूहमा खेलिने धेरै खेल भएकाले जुमबाट मात्र सम्भव देखिएको छैन। प्रशिक्षकहरूसँग कुराकानी गर्दा पनि भौतिक उपस्थितिजस्तो नहुने अनुभव उनीहरूले बताएका छन्। तर, पछिल्ला दुई सातामा भने स्थितिलाई खुकुलो बनाउने काम गरेका छौँ। यस अवधिमा एकल खेलका राष्ट्रिय टोलीका खेलाडीको प्रशिक्षण सुरु गरिसकेका छौँ। विभागीय टोलीले पनि नियमित प्रशिक्षण सुरु गरिरहेका छन्। अब कोरोना भाइरसको परीक्षण गरेर समूहमा खेलिने खेलहरूको पनि प्रशिक्षण गर्ने तयारी गरिरहेका छौँ। असार मसान्तसम्म बी डिभिजन र सी डिभिजन फुटबल लिग सम्पन्न गर्ने गरी तयारी पनि थालेका छौँ। तर, सरकारले अझै केही दिन पर्खन भनेकाले हामी सरकारी निर्णयलाई पर्खिरहेका छौँ। चाँडोभन्दा चाँडो खेल क्षेत्रलाई सहज अवस्थामा फर्काउने अभियानमा छौँ। यसका लागि स्थितिको सहजता हेरेर निर्णय गर्ने कि भन्नेमा छौँ।

फर्म नै बिग्रिने चिन्ता खेलाडीले गरिरहेका छन्। उनीहरू ‘फिजिकल फिटनेस’ले मात्र हुँदैन भनिरहेका छन् नि ?
यो खेलाडी, प्रशिक्षक र हाम्रो पनि चिन्ता हो। महामारीको समयमा हामी  खतरा मोल्न सक्तैनौँ। बन्द, हडताल, प्राकृतिक प्रकोपजस्ता घटना भएको भए पनि प्रशिक्षणलाई सुचारु गर्न सकिन्थ्यो। तर, अहिलेको परिस्थिति फरक छ। प्रशिक्षणसँगै अरू चिन्ता पनि थपिन्छन्। त्यसलाई हामीले आकलन गर्नुपर्छ। यसका लागि हामीले गर्नुपर्ने प्रयास गरिरहेकै छौँ। त्यो प्रयासको परिणाम आइसकेको छैन। हतारमा निर्णय गर्दा जटिल परिस्थिति नआओस् भन्नेमा सजग छौँ। यो चिन्ता नेपालका खेलाडीलाई मात्र परेको छैन, विश्वभरका खेलाडीलाई परेको छ। त्यसैले हामी आफैँ सुरक्षित हुँदै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो।

‘‘महामारीका कारण खेलाडीको हौसलामा पनि असर परेको छ। यसै गरी, उनीहरूले पाउने आर्थिक रकममा पनि असर परेको छ।’’ 

यस्तै परिस्थिति रह्यो भने के गर्ने भन्ने रणनीति राखेपले बनाएको होला नि ? 
हाम्रो अपेक्षा भनेको अहिलेको असामान्य अवस्था जतिसक्दो चाँडो सामान्य बनोस् भन्ने हो। विज्ञहरूका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणको पिक टाइम आइसकेको छैन। विदेशमा सात दिनभित्र संक्रमितको संख्या दोब्बर भएको छ। हाम्रो देशमा आठ दिनमा दोब्बर भएको छ। यही अवस्था रहेमा अबको आठ दिनभित्रै यो संख्या दोब्बर हुने देखिन्छ। त्यसैले यो समयमा कति जनाले कोरोनालाई जित्छन्, मृत्यु दर कस्तो रहन्छ भनेर हेरेपछि मात्र रणनीति तय गर्न सकिन्छ। परिषद् अहिले पर्ख र हेरको अवस्थामा छ। एकल खेलका लागि प्रशिक्षण थाल्न सके पनि कन्ट्याक्ट हुने खेलको प्रशिक्षण सुरु गर्ने अवस्थामा छैनौँ।  

कोरोनाले नेपाली खेलकुदमा के असर पु¥याएको छ ? 
यसले नेपाली खेलकुदलाई अवश्य पनि असर पु¥याएको छ। अहिले अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने १२ वटा मुलुक खुला छन्, २४ वटा मुलुकमा आंशिक लकडाउन छ। यी ३६ देशबाहेक अन्य देश कोरोनाका कारण आक्रान्त छन्। यस्तो अवस्थामा खेलकुदमा मुख्यतः दुइटा असर परेको देखिन्छ। प्रशिक्षण र प्रतिस्पर्धामा असर। अहिले अन्तर्राष्ट्रिय स्तरमा पनि कुनै पनि प्रतियोगिता भएको छैन। केही दर्शकबिनाको लिग फुटबल भए पनि अरू गतिविधि ठप्प छ। खेलकुदमा व्यावसायिकता अँगालेका मुलुकको तुलनामा हामीकहाँ कम मात्रै असर परेको छ। 

अर्को, खेलाडीको हौसलामा पनि असर परेको छ। यसै गरी, उनीहरूले पाउने आर्थिक रकममा पनि असर परेको छ। यो विश्वव्यापी रूपमा परेको असर हो। कुनै संघसंस्थाबाट परेको असर होइन। 

नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट खेलकुदमुखी भएन भन्दै आउनुभएको छ। खेलकुदलाई सरकारले सम्बोधन गर्न नसकेको हो ?
सैद्धान्तिक रूपमा सरकारको खेलकुदलाई हेर्ने दृष्टिकोण सकारात्मकै छ। हामीले उठाएका कुरा नै बजेटमा आएका हुन्। सिद्धान्तको कार्यान्वयन विनियोजित बजेटले गर्ने गर्छ। खेलकुदको विनियोजित बजेट नै निराशाजनक छ। अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल, रंगशाला, प्रादेशिक रंगशाला, एक स्थानीय तह एक खेल मैदान, हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गर्ने, खेलाडीको स्तर उकास्न प्रतियोगिता र प्रतिस्पर्धा गर्ने भनिएको छ। यसमा हामीले विमति राख्नुपर्ने ठाउँ छैन। तर, यो सिद्धान्तलाई विनियोजित रकमले मार्गदर्शन गर्ने भएकाले त्यो अपर्याप्त भयो भनेको हो। तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) का लागि सुरुमा बजेटमा ५० लाख मात्र विनियोजित भएको थियो। तर, नेपाल सरकारले हामीलाई ३ अर्ब ६५ करोड रुपैयाँको बजेट दियो। हामीले पनि इमानदारीपूर्वक काम गरेर २ अर्ब ६५ करोडभित्र तेह्रौँ दक्षिण एसियाली खेलकुद सम्पन्न गरेर एक अर्ब रुपैयाँ सरकारकै खातामा फिर्ता गरिदिन सफल भयौँ। नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने भनेर सरकारले घोषणा गरेको छ, बजेट ५० लाख मात्रै छ। सरकारले पूर्वाधार निर्माण र प्रतियोगिताका लागि बजेट दिन्छु भनेको छ। काम गर्दै गएमा बजेट पाउनेमा आशावादी पनि छौँ। तर, बजेट भाषण मात्रै हेर्दा आशावादी हुने ठाउँ छैन। 

नवौँ राष्ट्रिय खेलकुद तोकिएको समयमै हुने सम्भावना कत्तिको छ ?
अहिलेसम्म नवौँ राष्ट्रिय खेलकुद नहुने स्थिति छैन। गण्डकी प्रदेशमा दुइटाबाहेक सबै खेलको पूर्वाधार निर्माण भइसकेको छ। पौडी र सुटिङको पूर्वाधार बनाउनुपर्ने अवस्था छ। त्यो निर्माण गर्न सकिएन भने पनि त्यसको वैकल्पिक व्यवस्था हामीसँग छ। यसले गर्दा पूर्वाधार निर्माणका कारण प्रतियोगितालाई असर पार्दैन। अर्को कुरा, हामीलाई राष्ट्रिय प्रतियोगिता गर्न तीन महिनाको समय भए पुग्छ। कोरोना भाइरसको संक्रमण मंसिरसम्ममा रोकियो भने पनि हामीलाई राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न समस्या हुँदैन। त्यसैले अहिलेसम्मको अवस्थामा नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ। यसमा शंका गर्नुपर्ने ठाउँ छैन।

तीन महिनामा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिन्छ ? 
किन नसक्नु ? तीन महिनाभित्र जिल्ला र प्रदेशस्तरीय छनोट प्रतियोगिता गर्न सक्छौँ। 

तेह्रौँ दक्षिण एसियाली खेलकुदको सम्पूर्ण हिसाबकिताब तीन महिनाभित्र सार्वजनिक गर्छाैं भन्नुभएको थियो। छ महिना बितिसक्दा पनि नगर्नुको कारण के हो ?
हामीले आन्तरिक रूपमा सम्पूर्ण तयारी गरिसकेका छौँ। अब उपयुक्त समय हेरेर केही दिनमै खर्च विवरण सार्वजनिक गर्छौं। 

यही विषयलाई लिएर तपाईंको आलोचना हुन थालेको छ नि ?  
हामीले अहिलेको परिस्थितिलाई पनि हेर्नुपर्छ। सामान्य र असामान्य परिस्थिति एउटै हुँदैन। मैले खेलाडी र प्रशिक्षकको पुरस्कार रकम पनि एक महिनाभित्रै उपलब्ध गराउँछु भनेको थिएँ, तर कतिपय प्रक्रियागत कारणले केही ढिला भयो। पुरानो प्रक्रियामा खेलाडीको पुरस्कारमा कर कट्टीको प्रावधान थियो। कर नकाटी पुरस्कार रकम दिन फेरि नयाँ प्रक्रिया थाल्नुपर्ने भयो। यसले गर्दा केही समय ढिला भए पनि खेलाडीले पूरै रकम पाउन सफल भए। कर कट्टी भएन। प्रक्रियागत कारणले केही समय मात्रै लागेको हो। 

अर्को कुरा, पहिलोदेखि आठौँ राष्ट्रिय खेलकुद र सागका पनि दुई वटा संस्करणका हिसाबकिताब कसैले पनि सार्वजनिक गरेका थिएनन्। मैले पहिलो चोटि यो प्रतिबद्धता व्यक्त गरेको हुँ। चाँडै नै सार्वजनिक गर्छु।

सागका पदक विजेतालाई आजीवन भत्ताको विषय पनि आएको छ। यसबारे प्रस्ट पारिदिनुस् न।

यसअघिका सागका पदक विजेताले जस्तै तेह्रौँ सागका पदक विजेताले पनि भत्ता पाउँछन्। यसका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ। घोषणा हुन मात्र बाँकी छ। 

अहिले अधिकांश संघहरूको कार्यकाल सकिएको छ। अब नयाँ खेलकुद ऐन आएपछि मात्रै संघहरूले नयाँ नेतृत्व पाउँछन् कि पुरानै ऐनअनुसार अधिवेशन हुन्छ ?
संघहरूको अधिवेशनका लागि ऐनले रोकेको छैन। अहिलेको असहज परिस्थितिले रोकिएको हो। केन्द्रको अधिवेशनअघि जिल्ला र प्रदेशको अधिवेशन गर्नुपर्ने अवस्था छ। अहिलेको असहजताले यो काम रोकिएको हो। परिस्थिति सहज हुनासाथ सबै संघको अधिवेशन हुन्छ।

धेरै संघ नयाँ ऐनलाई कुरेर बसेको पनि देखिएको छ नि ?
नयाँ खेलकुद ऐन प्रमाणीकरण भएर लागू भएपछि हामी त्यही ऐनअनुरूप चल्नुको विकल्प छैन। त्यसैले परिस्थिति सहज हुने बेलासम्म नयाँ ऐन आयो भने त्यहीअनुसार हुन्छ र नयाँ ऐन आएन भने पुरानै ऐनअनुरूप पनि संघको नेतृत्व चयन हुन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि