नातावाद अलिअलि गुटबन्दी चर्काे

writer

सामीप्यराज तिमल्सेना

शुक्रबार, ०५ असार २०७७


नेपाली फिल्म उद्योग-
    
‘नेपाली फिल्म उद्योगमा नेपोटिजम मात्र छैन, ग्रुपिजम, लभ अफेयर्स, तुलना, पत्रकार÷युटुयुबरसँग कलाकारको अनावश्यक साँठगाँठ... यस्ता धेरै कुरा छन्। यहाँ नामका कारण पाइलैपिच्छे तुलना हुन्छ। मैले जति नै राम्रो,फरक काम गरे पनि प्रश्न उठाइन्छ। यी कुराले कति ठाउँंमा मलाई मानसिक पीडा भएको मेरा नजिकका केहीबाहेक कसैलाई थाहा छैन। केही समयअघि म पनि डिप्रेस्ड थिएँ। यहाँ त यतिसम्म कि इन्स्टा÷फेसबुकका फलोअरका आधारमा समेत केहीले मेरो कामको मूल्यांकन गर्ने गरेका छन्। जसको धेरै फलोअर, त्यसलाई बढीकाम दिइन्छ। जसको धेरै युट्युब इन्टरभ्यू आउँछ, ऊ हिट कलाकार कहलाइन्छ।’

नेपालमा यदाकदा चर्चामा आउने विषय‘नेपोटिजम’अर्थात् परिवारवाद वा नातावादलाई लिएर अभिनेत्री वर्षा शिवाकोटीले फेसबुकमा लेखेको स्ट्याट्य हो, यो। दुई दिनअघि बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि उनको आत्महत्याको पछाडि बलिउडमा विद्यमान परिवारवादलाई कारण मान्दै बहस सुरु भएको छ। त्यहाँको चर्चाको बाछिटा नेपालसम्म आइपुगेको छ। नेपाली कलाकार पनि नेपालमा नातावादसँगै गुटबन्दीले आफू पीडित भएको भन्दै फेसबुकमा पोखिन थालेका छन्। यही क्रममा वर्षाले लामो स्ट्याट्स लेख्दै नेपाली फिल्म उद्योग नेपोटिजमसँगै ग्रुपिजमले पनि ग्रस्त भएको टिप्पणी गरेकी हुन्। 

गुटबन्दीग्रस्त उद्योग   
वर्षा नेपालकी पहिलो अभिनेत्री हुन्, जसले नेपाली फिल्म क्षेत्रमा बढ्दै गएको गुटबन्दीलाई लिएर गत सालै औँला उठाएकी थिइन्। एकै दिन रिलिज भएका ‘वीरविक्रम २’ र ‘जात्रैजात्रा’मध्ये  पत्रकार तथा युट्युबरले ‘जात्रैजात्रा’लाई च्यापेर ‘वीरविक्रम २’लाई बेवास्ता गरेको देखेपछि उनले आक्रोश थाम्न सकेकी थिइन्। उनले गत साल पनि स्ट्याटस लेख्दै गुटबन्दीलाई लिएर गुनासो गरेकी थिइन्। 

उनले लेखेकी थिइन्– ‘न म स्टार किड, न कसैको गर्लफ्रेन्ड, न हिट ब्यानरको रेगुलर मेम्बर, न कुनै युट्युब च्यानलको अफिसियल हिट एक्टर। बस्, कामको परिचय बनाउन निरन्तर लागिरा’को विचरा ‘सो कल्ड रिजर्भ आर्टिस्ट। अनि, हलसम्म मेरा लागि किन जाने ? वेस्ट अफ टाइम ! फिल्मको त के कुरा गर्नु ? हिट एक्टर्स हिट मुभी !’

‘‘नेपाली फिल्म उद्योगमा नातावाद त होइन, गुटबन्दी चाहिँ धेरै छ। केही कलाकार र युट्युबर मिलेर बाँकी कलाकारलाई बाइपास गर्ने गरेका छन्।गुटबन्दीबाट मजस्तै थुप्रै फिल्मकर्मी पीडित छन्।’’ 
–वर्षा शिवाकोटी, अभिनेत्री 

 

वर्षा नातावादभन्दा पनि गुटबन्दीबाट आफू पीडित भएको बताउँछिन्। ‘नातावाद हाबी छ भनेर चाहिँ भन्दिनँ,’ उनले भनिन्, ‘तर, गुटबन्दी चाहिँ धेरै छ। केही कलाकार र युट्युबर मिलेर बाँकी कलाकारलाई बाइपास गर्ने गरेका छन्,’उनले भनिन्, ‘मेरो केसमा चाहिँ सबैभन्दा धेरै म नाम मिलेर पीडित छु।’ 

वर्षाले अर्की अभिनेत्री वर्षा राउतसँग नाम मिलेकै कारण आफू पीडित भएको बताइन्। ‘हुन त यो हामी दुवैको दोष होइन,’ उनले भनिन्, ‘तर, उनीसँग नाम मिल्दा अनाहकमा दुःख पाएकी छु।’ उनले भर्खरै मात्र वर्षा राउतको विवादमा आफूले गाली खाएको पनि बताइन्। वर्षा राउतभन्दै वर्षा शिवाकोटीलाई गाली गरेपछि उनले फेसबुकमा स्ट्याटस राख्दै नाम–थर राम्ररी हेरेर मात्र गाली गर्न आग्रह गरेकी छिन्। 

‘‘नेपालमा परिवारवाद त्यस्तो खासै देखिँदैन। आफ्ना छोराछोरीको क्रेज नहुँदानहुँदै जबर्जस्ती फिल्म खेलाएको वा अरूको फिल्ममा कास्ट गराउन दौडधूप गरेको भए पो नातावाद छ भन्न मिल्थ्यो। तर, त्यस्तो छैन। गुटबन्दी चाहिँ छ। त्यस्तो घातक गुटबन्दी भने छैन। साथीसाथीमै अघोषित गुटबन्दी छ।’’
दीपेन्द्र लामा, निर्देशक 

वर्षाले झैँअभिनेत्री नम्रता सापकोटाले पनि नेपालको कलाकारिताको अभ्यासलाई लिएर असन्तुष्टि जाहेर गरेकी छिन्। उनले नेपालमा बलिउडमा झैँ गुटबन्दीले प्रतिभावान् कलाकार ओझेलमा परेको गुनासो गरेकी छिन्।

‘नेपाली फिल्म क्षेत्रमा धेरै यस्ता व्यक्ति छन्, जसले कला र कलाकारिताभन्दा आफ्नालाई बढी महŒव दिन्छन्,’ नम्रताको टिप्पणी थियो, ‘कलाकार चाहियो भन्दै विज्ञापन पनि गरिन्छ, तर जब फिल्म घोषणा हुन्छ, त्यसपछि कलाकारको अनुहार हेर्दा नयाँ कोही हुँदैनन्। आफ्नै छोरा, छोरी, भाइ, भतिजा हुन्छन्।’ 

‘रमझमभित्रको अँध्यारो’ 
सोमबार साँझ उनले फेसबुक लाइभमा उक्त टिप्पणी गरेकी थिइन्। पछिल्लो समय फिल्म क्षेत्रमा बढ्दै गएको नातावादलाई लिएर उनले धारणा राखेकी थिइन्। सामाजिक सञ्जालमा सहानुभूति देखाउने मानिसहरूढोँगी रहेको भन्दै आक्रोश पनि व्यक्त गरेकी थिइन्  । ‘जुन फिल्म आफ्नै आमा–बाबाले बनाएका हुन्छन्, छोराले टन्नै पैसा लियो भनेर बजारमा वाहियात हल्ला फिँजाउँछौँ,’ उनले भनेकी थिइन्, ‘यहाँ आफूले फिल्म बनाउँछन् र आफैँ खेल्छन्। हामीले मेहनत गरेको केही अर्थ छैन।’ 

अभिनेता आमेश भण्डारीले पनि फिल्म उद्योगलाई एउटा परिवार भने पनि त्यो भनाइ व्यवहारमा लागू नभएको गुनासो गरेका छन्। उनले पनि फेसबुकमा लामो स्ट्याटस लेख्दै फिल्मी दुनियाँ बाहिरबाट हेरेजस्तो चम्किलो नभएको निष्कर्ष निकालेका छन्। 

‘‘नेपाली फिल्म क्षेत्रमा धेरै यस्ता व्यक्ति छन्, जसले कला र कलाकारिताभन्दा आफ्नालाई बढी महŒव दिन्छन्। कलाकार चाहियो भन्दै विज्ञापन पनि गरिन्छ, तर जब फिल्म घोषणा हुन्छ, त्यसपछि कलाकारको अनुहार हेर्दा नयाँ कोही हुँदैनन्। आफ्नै छोरा, छोरी, भाइ, भतिजा हुन्छन्।’’
नम्रता सापकोटा, अभिनेत्री  


‘रमझमको यो संसारमा नियालेर हेर्दा भित्र अँध्यारो छ,’ आमेशले लेखेका छन्, ‘मुभी हेर्न मज्जा त आउँछ, तर भित्र आफ्नै कहानी दर्दनाक छ। पर्दामा देखिने उसको हाँसोभित्र धेरै पीडा दबेको हुन्छ। तर, विडम्बना, कलाकारले खुला रूपमा आएर कसैलाई पीडा भन्न सक्दैन। किनकि, मान्छेले उसको पीडाको कहानीमा विश्वास नै गर्दैनन्। दर्शकको नजरमा हिरो जहिल्यै पावरफुल हुन्छ र सबैले सोच्छन् रियलमा पनि यस्तै होला।’ 

आमेशले नेपालमा थोरै कलाकार र उद्योग पनि सानो भएकाले सबैलाई मिलाएर काम दिन सकिने,तर उद्योगमा सबैजना पैसाको पछि लाग्ने भएकाले त्यहाँ गएर परिवार खोज्दा कहिल्यै नपाइने गुनासो गरेका छन्। 

नेपालमा बलिउडमा जस्ता नातावादको जालो नभए पनि गुटबन्दी भने प्रशस्त रहेको जानकारहरू बताउँछन्। यसले गर्दा प्रतिभावान् कलाकार पनि कामबाट वञ्चित भइरहेको निर्देशक दीपेन्द्र लामाको ठम्याइ छ।‘नेपालमा परिवारवाद त्यस्तो खासै देखिँदैन,’ लामा भन्छन्, ‘आफ्ना छोराछोरीको क्रेज नहुँदानहुँदै जबर्जस्ती फिल्म खेलाएको वा अरूको फिल्ममा कास्ट गराउन दौडधूप गरेको भए पो नातावाद छ भन्न मिल्थ्यो। तर, त्यस्तो छैन। गुटबन्दी चाहिँ छ। त्यस्तो घातक गुटबन्दी भने छैन। साथीसाथीमै अघोषित गुटबन्दी छ।’

नेपालमा कलाकारका छोराछोरीकोफिल्म क्षेत्रमा राम्रै उपस्थिति छ। तर, एकाधलाई छाडेर कसैले पनि प्रभाव पार्न सकेका छैनन्। स्टार किडमा सबैभन्दा चर्चामा रहेका अनमोल केसी हुन् भने पछिल्लो समय झरना थापाकी छोरी सुहाना थापाले पनि राम्रो प्रभाव छाडेकी छिन्। कलाकार तथा निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत र कलाकार टीका पहारीका छोरा गौरव पहारी पनि बाबुकै लिगेसी समातेर अभिनयमा आएका छन्। निर्देशक नारायण पुरीका छोरा संयम पुरीको डेब्यू राम्रै थियो तर एकदुई थप फिल्म खेलेर संयम अमेरिका पलायन भइसकेका छन्। यसरी हेर्दा यो क्षेत्रमा आएका कलाकारका सन्तानलाई डेब्यू गर्न सजिलो भए पनि टिकिरहन गाह्रो भएको देखिन्छ।

बलिउडमा भने यो रोग व्यापक रहेको टिप्पणी छ। बलिउडमा यस विषयलाई सतहमा ल्याउने श्रेय कंगना रनौटलाई जान्छ। उनले करण जौहरकै कार्यक्रममा गएर उनलाई नै प्रतिभाभन्दा पनि वंशवादका आधारमा काम गराएको भन्दै आलोचना गरेकी थिइन्। त्यसयता पनि कंगनाले नातावादविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी छिन्। 

निर्देशक लामाले भनेझैँ नेपालमा कलाकारका छोराछोरीले भनसुनकै आधारमा काम पाएका छैनन्। तर, बढ्दो असुरक्षाले निर्माता÷निर्देशकले कलाकार र प्राविधिकलाई मिलाएर गुट बनाउने क्रम भने बाक्लिन थालेको छ। यो गुटबन्दीले भोलिका दिनमा कस्तो परिणाम दिन्छ ? त्यसपछि मात्र यसका फाइदा÷बेफाइदाबारे बहस गर्न सकिन्छ। तर, केही कलाकारले मुखै फोरेर गुनासो गर्नु राम्रो संकेत पक्कै होइन। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि