नायिका बेनिशा हमालका कलेजका ती दिन

writer

सृजना खड्का

सोमबार, २८ फागुन २०७४


आजकी फरासिली बेनिशा हमाल कुनै बेला अन्तर्मुखी स्वभावकी थिइन्। समयले उनलाई बिस्तारै अन्तर्मुखीबाट बहिर्मुखी बनाउँदै लग्यो।‘काम र समयले मलाई एक्स्प्रेसिभ र एक्स्ट्रोभर्ट बनायो,' उनले भनिन्।

चितवनको गीतानगरमा जन्मिएकी बेनिशा रेडियो र टेलिभिजन प्रस्तोता हुँदै फिल्म जगत्मा छिरेकी हुन्। ‘त्यो बेला म प्लस टू पढ्दै थिएँ,' विगत सम्झँदै उनले भनिन्, ‘चितवनकै कालिका एफएममा ‘आइडियल आरजे कम्पिटिसन' हुने भयो। कलेजमा पत्रकारिता पढाउने शिक्षक र साथीहरूले मलाई त्यसमा सहभागी हुने सल्लाह दिए।' त्यो २०६३ सालतिरको कुरा हो।जुन बेला एफएमको क्रेज व्यापक थियो।

प्रतिस्पर्धामा छानिएर उनी सेकेन्ड रनरअप भइन्। मीठो स्वरकी धनी बेनिशाले एफएममा काम गर्ने मौका पाइन्।उनी महिनामा चारवटा कार्यक्रम चलाउँथिन्।‘त्यहीबाट मैले जिन्दगीको पहिलो कमाइ सात सय रुपैयाँ हातमा थापेँ,' उनले भनिन्।एफएमका स्रोताले उनको नाम मेन्सन गरेर पत्राचार गर्थे।उनी दंग पर्थिन्।

त्यसैलाई उनी आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट' मान्छिन्। भन्छिन्, ‘त्यहीँबाट मैले महसुस गरेँ– आई एम समथिङ।' चितवनमा प्लस टू सकेर ब्याचलर्स पढ्न उनी काठमाडौँ आइन्। मामाघर काठमाडौँ, बसुन्धरामा बस्न थालिन्। सुरुमा काठमाडौं सोचे जस्तो पाइनन्। ‘सुरुमा त मान्छेहरूसँग खुल्नै समय लाग्यो,' उनले भनिन्, ‘यहाँको मान्छे एकदमै फर्वार्ड लागे।

 benisha-hamal1

उताबाट म प्लस टू सकेर आएको थिएँ। तर, यहाँ प्लस टू गरेका मान्छे मभन्दा निकै टाठाबाठा थिए। ब्याचलर्स गर्दागर्दै च्यानल नेपालमा उनलाई फिल्मसम्बन्धी कार्यक्रम चलाउने प्रस्ताव आयो। त्यहाँ उनले ‘पर्दा' र ‘फिल्मी टप सेभेन' नामक कार्यक्रम एक वर्षसम्म चलाइन्। त्यस्तै, नेपाल टेलिभिजनमा ‘कलिङ टाइम' र ‘हिँड्दाहिँड्दै' भन्ने कार्यक्रम पनि चलाइन्। पढाइ जारी नै थियो। त्यति नै बेला उनलाई निर्देशक प्रसन्न पौडेलले फिल्म ‘स्वर' का लागि अफर गरे। ‘फिल्म ‘स्वर' खेल्दा यो नै मेरो पहिलो र अन्तिम फिल्म हो भन्ने सोचेकी थिएँ,' उनले भनिन्।

कुनै समय उनले फिल्म लाइनमा भविष्य खोज्दै हिँड्दा परिवार आत्तिएको थियो। विशेष गरी उनका बुबा। परिवारले कुनै पनि हालतमा उनलाई अनुमति दिने अवस्था थिएन।‘यो क्षेत्रमा लागेर बाँच्ने स्थिति नै थिएन,' उनले भनिन्, ‘नेपाली कलाकार धमाधम विदेश पलायन भइरहेका थिए।'

तर, उनले भने फिल्म क्षेत्रमै आफ्नो भविष्य बनाउने निधो गरिसकेकी थिइन्। ‘ड्याडीलाई मेरो पढाइ नबिग्रने शर्तमा प्रसन्न दाइले कन्भिन्स्ड गराउनुभयो,' उनले भनिन्, ‘स्वर' फिल्मको स्क्रिप्ट पढ्दा मैले त्यसमा आफूलाई पाएँ।

तर, त्यो फिल्म मैले अनुभवका लागि मात्र गरेकी थिएँ।' त्यसपछि म्युजिक भिडियोका लागि उनलाई लगातार अफर आउन थाले। ‘त्यसपछि पछाडि फर्केर हेर्नुपरेन,' उनले भनिन्, ‘कामका लागि कहिल्यै अरूको ढोका ढकढकाउँदै जानुपरेन। बरु, काम मेरो घरको ढोका ढकढकाउँदै आयो।' अहिलेसम्म उनले दुई सयजति म्युजिक भिडियोमा काम गरिसकेकी छिन्।

काम गर्दागर्दै उनले अंग्रेजी विषयमा स्नातकोत्तर पनि गरिन्। आफ्नो सफलताको श्रेय उनी आफूभित्रको आत्मविश्वासलाई दिन्छिन्।अहिले बेनिशाको फिल्म लाग्नेबित्तिकै सुरुमा उनका बुबा फिल्म हेर्न जान्छन्। ‘जीवनमा मैले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि यही हो,' उनले भनिन्। फिल्म क्षेत्रमा आएपछि आफूले प्राप्त गरेका उपलब्धिमा उनी केकी अधिकारी र रीमा विश्वकर्मालाई पनि गन्छिन्। ‘उनीहरू मेरा अत्यन्त मिल्ने साथी हुन्,' उनले भनिन्, ‘फिल्म क्षेत्रमा साथी बन्दैनन् भन्ने सोचलाई हामीले गलत प्रमाणित गरिदिएका छौँ।'

‘स्वर', ‘महसुस', ‘मोक्ष', ‘कालो पोथी', ‘किङ', ‘झ्यानाकुटी' र ‘ब्लाइन्ड रक्स' उनले गरेका फिल्म हुन्। फिल्मका हकमा आफू ‘क्वान्टिटी'भन्दा ‘क्वालिटी'मा विश्वास राख्ने उनी बताउँछिन् । आफूले गरेका फिल्ममध्ये ‘झ्यानाकुटी'को ‘मालती' र ‘ब्लाइन्ड रक्स'को ‘सृष्टि' उनलाई मन पर्ने चरित्र हुन्।

आफूले हात हालेको काममा शतप्रतिशत दिनुपर्छ र त्यसमा रमाउनुपर्छ भन्ने सोच बेनिशाको छ। ‘पहिलो फिल्म ‘स्वर'देखि ‘ब्लाइन्ड रक्स' सम्म आइपुग्दा आफूमा धेरै परिवर्तन पाएकी छु,' उनले भनिन्, ‘काममा सिरियस भएकी छु।परिपक्व हुँदै गएकी छु।'

फिल्म खेल्नुभन्दा पहिला उनी सोच्थिन्– यो क्षेत्रमा संघर्ष गर्नुपर्दैन, धेरै पैसा कमाइन्छ, एउटा फिल्म खेल्नेबित्तिकै सबैले चिन्छन्, आदि–आदि। ‘तर, अहिले आएर बुझ्दैछु,' उनले भनिन्, ‘यो क्षेत्र त संघर्ष र धैर्यको मिश्रण पो रहेछ।'

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि