फिल्म रिलिज विकल्प: हलमा होइन सीधै टीभीमा

writer

सामीप्यराज तिमल्सेना

शुक्रबार, ०५ असार २०७७


सरकारले सिनेमा हललाई सबैभन्दा अन्तिममा खुल्ने सूचीमा राखेको छ। हलमा फिल्म लगाउनका लागि निर्माताले अझै छसात महिना धैर्य गर्नुपर्ने देखिन्छ। त्यतिञ्जेलसम्म कुर्न नसक्ने र मध्यम स्तरीय बजेटका फिल्मले टीभीमा रिलिज गर्ने विकल्प रोज्न थालेका छन्।


अभिनेताका रूपमा कमाएको क्रेज र पुँजी मिलाएर अभिनेता सविन श्रेष्ठले तीन वर्षअघि फिल्म बनाउने निर्णय गरे। छवि ओझाको ब्यानरबाट उद्योगमा प्रवेश गरेका उनले निर्माताका रूपमा डेब्यू गर्न पनि उनकै फिल्म छाने। रेखा थापाको डेब्यू फिल्म ‘हिरो’को शृंखलाको रूपमा नयाँ निर्देशक लिएर उनले ‘हिरो रिटन्र्स’ बनाए। तर, सुटिङ सकेको तीन वर्षसम्म पनि रिलिजको चाँजो मिलाउन सकेनन्। बारम्बार प्रदर्शन मिति घोषणा हुँदै, सर्दै गयो। तीन महिनाअघि मात्र उनले वैशाख २९ मा फिल्म रिलिज गर्ने गरी टे«लर रिलिज गरे। तर, चैतबाटै कोभिड–१९ को प्रकोप सुरु भयो। वैशाख त के, भविष्यमा पनि कहिले फिल्म रिलिज गर्ने, टुंगो भएन। हल खुल्ने समय नै अनिश्चित भएपछि उनले फिल्म हलमा नलगाई टेलिभिजनमा रिलिज गर्ने निर्णय गरे। सविनसँगै रेखा थापा र आँचल शर्माको पनि अभिनय रहेको फिल्म अहिले डिस होममा देखाइन थालेको छ। सविनले फेरि रिलिजको चाँजोपाँजो मिलाउनुभन्दा डिस होममा रिलिज गरेर धेरथोर लगानी उठाउने सोचले टीभीमै फिल्म रिलिज गर्ने निर्णय गरेको बताए। 

‘न हल खुल्ने निश्चित छ, न दर्शक आउने,’ उनले ‘सम्पूर्ण’सँग भने, ‘चुप लागेर बस्नुभन्दा टीभीमै भए पनि रिलिज गर्नु बेस भनेर यता रिलिज गर्ने निर्णय गरेँ। अनुकूल भयो भने हलमा पनि रिलिज गर्छु।’

हल खुल्ने अनिश्चितता 
यसअघि हलमा रिलिज गर्ने सोचका साथ बनाएको ‘कोपिला’ले पनि हलको मुख ताक्नुको साटो डिस होमबाटै रिलिज गर्ने निर्णय गरेको थियो। डिस होमको सिनेमा देखाउने च्यानल ‘सिनेमाघर’ बाट यो फिल्म उत्रिसकेको छ। यसैगरी, ‘गाँजाबाजा’ फेम निर्देशक गणेशदेव पाण्डेले निर्माण गरेको फिल्म ‘चिनी कम रङ कडा’ पनि चाँडै नै डिस होममा रिलिज हुन लागेको चर्चा छ।  

हल खुल्ने अनिश्चितता बढिरहँदा निर्माताले टीभीमा फिल्म रिलिज गर्ने विकल्प अपनाएका छन्। यसरी फिल्म रिलिज गर्ने निर्माताले केही हदसम्म राहत हुने आशा गरेका छन्। 

अहिलेझैँ संक्रमित बढिरहे हल खुल्ने समय थप अनिश्चित बन्ने पक्का छ। किनकि, सरकारले हालै सार्वजनिक गरेको लकडाउन खोल्ने चरणमा सिनेमा हललाई सबैभन्दा अन्तिममा खुल्ने सूचीमा राखेको छ। बाहिरतिरको अभ्यास हेर्दा नेपालमा संक्रमण बल्ल फैलन थालेकाले यो सकिन अझै तीनचार महिना लाग्ने विज्ञ बताउँछन्। कथम्कदाचित संक्रमितको संख्यान्यून हुँदै गए पनि मानिस भीडभाडमा जान सहज मान्ने समय थप तीनचार महिनाको हुने पनि उनीहरुको तर्क छ। यसो हुँदा हलमा फिल्म लगाउनका लागि निर्माताले अझै छसात महिना धैर्य गर्नुपर्नेछ। त्यतिञ्जेलसम्म कुर्न नसक्ने र मध्यमस्तरीय बजेटका फिल्मले टीभीमा रिलिज गर्ने विकल्प रोज्न थालेका छन्। 

नेपाली फिल्मका दर्शक बढे
लकडाउनका कारण डिस होममा फिल्म हेर्ने दर्शकको संख्याले पनि निर्मातालाई लोभ्याउन थालेको छ। डिस होमको सिनेमा च्यानल ‘सिनेमाघर’का कोअर्डिनेटर विकास लामिछाने लकडाउनमा फिल्म हेर्ने दर्शकको संख्या पहिलेको तुलनामा बढेको बताउँछन्। उनले यो समयमा रिलिज भएका नेपाली फिल्मले राम्रै रकम लिएर गएको जानकारी दिए। लामिछानेका अनुसार डिस होमले लकडाउन हुनुअघि ‘छक्का पञ्जा ३’ देखाइरहेको थियो। उसबेला यसको दैनिक व्यापार डेढ लाख हाराहारी थियो। ‘तर, जब लकडाउन सुरु भयो, व्यापार बढेर ठ्याक्कै दोब्बर भयो,’लामिछानेले भने, ‘यो फिल्मले मात्र होइन, योपछि रिलिज भएका फिल्मले पनि राम्रो सेयर लगेका छन्। हलमा तत्काल रिलिज हुन नसक्ने अवस्थालाई मध्यनजर गरेर हामी थप फिल्म रिलिज गर्ने तयारी गरिरहेका छौँ।’

लामिछानेका अनुसार लकडाउनको समयमा चर्चामा रहेका ‘बुलबुल‘देखि ‘मंगलम्’सम्म रिलिज भएका छन्। ‘हिरो रिटन्र्स’ र ‘कोपिला’बाहेक यहाँ रिलिज भएका अधिकांश फिल्म हलमा रिलिज भएर यता आएका हुन्। च्यानलले केही फिल्म सीधै टीभीमा रिलिज गर्ने तयारी गरिरहेको छ। 

‘पहिला यहाँ रिलिज गरेर पनि हलमा रिलिज गर्न सकिन्छ भन्ने लागेर तुरुन्तै सात फिल्मका निर्मातासँग कुराकानी गरिरहेका छौँ,’ लामिछानेले भने, ‘कुरा मिल्यो भने थप फिल्म हलमा भन्दा पहिला हाम्रोमा रिलिज हुन्छन्। यसका लागि हामी प्रतिशतमा लगाउने वा केही फिल्मलाई मिनिमम ग्यारेन्टी दिने,दुवै विकल्पमा छलफल गरिरहेका छौँ।’ 

डिस होममा रिलिज भएका फिल्मबाट निर्माताले ५५ प्रतिशत र करबापतको १३ प्रतिशत गरी ६८ प्रतिशत रकम पाउँछन्। हलबाहेक युट्युब अधिकार बेचेर धेरथोर पैसा पाउने निर्माताका लागि टीभीबाट आउने यो पैसा बोनस हुने गरेको छ। यही लोभका कारण पनि निर्माता डिस होममा रिलिज गर्ने विकल्पका लागि सधैँ तयार हुने गरेका छन्।डिस होमले एउटा फिल्मबापत दर्शकसँग २ सय २५ रुपैयाँ लिने गरेको छ। 

डिस होमबाहेक बुढासुब्बा टीभीले पनि च्यानल किनेर फिल्म देखाउने गरेको छ। तर, यसले भने हलमा रिलिज भइसकेका फिल्म मात्र देखाउने गरेको छ। बुढासुब्बाले डिजिटल राइट्ससहित ‘लम्प सम’मा किनेका फिल्म सो च्यानलमा पैसा लिएर देखाउने गरेको छ। पहिले नै अधिकार बेचिसकेकाले यो रकमभने निर्माताले पाउँदैनन्।

कमजोर फिल्मको रोजाइमा टीभी 
लकडाउनका कारण फिल्म हलभन्दा अन्यत्रै रिलिज हुन थाले पनि नेपालमा सामान्य अवस्था हुँदा केही फिल्म सीधै युट्युबमा रिलिज भएका थिए। नेपालमा हलमै चलाउने उद्देश्यले बनाएको तर नचलेर सीधै युट्यबुमा रिलिज भएको पहिलो फिल्म राजवल्लभ कोइराला निर्मित ‘राघव’ थियो। अस्ट्रेलियाका युवासँग मिलेर राजवल्लभले निर्माण गरेको फिल्म प्रचारप्रसारका लागि थप खर्च गर्न नसक्नै भन्दै युट्यबुमा रिलिज भएको थियो।  निर्माता राजवल्लभले फिल्मले हलमा गर्ने व्यापार र प्रचार खर्चको अनुपात मिलाउँदा घाटा लाग्ने देखेपछि युट्युबमा रिलिज गर्ने निर्णय गरेको बताएका थिए। 

यसैगरी, हलमै रिलिज गर्ने भनेर बनाइएको फिल्म ‘अनागत’ पनि हलमा नलागी सीधै ओटीटी (ओभर द टप) प्लेटफर्ममा रिलिज भएको थियो। अर्पण थापा र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म आइफ्लिक्समा रिलिज भएको थियो। 

लकडाउनले फिल्म रिलिजको क्यालेन्डर ध्वस्त बनाएपछि अहिले धेरै बलिउड फिल्मले ओटीटीको सहारा लिन थालेका छन्। यसमा चलेका स्टारका फिल्मदेखि ठीकैका स्टारका फिल्म पनि छन्। नेपालमा ओटीटीको उपस्थिति बलियो देखिएको छैन। त्यसैले विकल्प खोजिरहेका निर्माता टीभीमा भए पनि फिल्म रिलिज गर्न तयार हुन थालेका छन्। 

अहिलेको अवस्था हेर्दा ती फिल्मले टीभी रिलिजलाई छानेका छन्, जसको हलमा दर्शक आउने सम्भावना कमजोर छ। त्यसबाहेक ठीकैका बजेटका फिल्मले पनि यो विकल्पका पक्षमा आफूलाई उभ्याएका छन्। तर, ठूला स्टार र बजेटका फिल्मले यो हिम्मत गर्न सकेका छैनन्। यदि ठूला भनिएका फिल्म पनि टीभीमा रिलिज गर्ने निर्णय गरेर आए भने यसले निम्त्याउने परिणामको तस्बिर स्पष्ट हुन्छ। तर, नेपालमा फिल्म हेर्ने औसत दर्शक संख्या हेर्दा ठूला बजेटका फिल्मले हलनै छाडेर यता रिलिज गर्ने जोखिम लिन सक्ने अवस्था भने देखिँदैन। चाहे हलमा जतिसुकै ‘रिस्क’ किन नहोस् !

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि