मृत्यु र अपराधको ‘क्याम्प’

सम्पूर्ण
बिहिबार, ०४ असार २०७७
कोरोना भाइरस संक्रमण फैलिन नदिन संक्रमणको जोखिममा रहेका र संक्रमण फैलिएका स्थानबाट आएकालाई अलग्गै राख्न देशभर सञ्चालन भइरहेका क्वारेन्टिनका एकपछि अर्को विद्रुप रूप सार्वजनिक भइरहेका छन् । पछिल्लो पटक कैलालीको लम्कीचुहा नगरपालिकामा सञ्चालित क्वारेन्टिनमा एक महिला बलात्कृत भएको घटनाले सबैलाई स्तब्ध पारेको छ । मापदण्ड नपुगेका तथा संक्रमण फैलाउने केन्द्र बनिरहेका क्वारेन्टिनहरू जघन्य अपराधको पनि थलो बन्न थालेपछि महामारीसँग जुधिरहेका सर्वसाधारण थप चिन्तित भएका छन् ।
क्वारेन्टिन व्यवस्थापनमा तीन किसिमको त समिति नै गठन गरिएका छन् । क्वारेन्टिन सञ्चालन, व्यवस्थापन र अनुगमनका लागि छुट्टाछुट्टै समिति छन् । तर, क्वारेन्टिनमा जेजस्ता निन्दनीय हर्कत भइरहेका छन्, तिनलाई नियाल्ने हो भने यस्ता समिति हदैसम्म गैरजिम्मेवार भएको पुष्टि हुन्छ ।
राज्यले सुरक्षा प्रदान गर्ने र संवेदनशील भनिएकै स्थानमा रेखदेखमा खटिएका स्वयंसेवक र स्वास्थ्यकर्मीबाट महिला बलात्कृत हुनुले सरकारको नालायकीपन छताछुल्ल भएको छ । क्वारेन्टिन कसरी सञ्चालन गर्ने भनेर गठन गरिएका समितिहरूमा संघ तथा प्रदेशका सांसद्देखि स्थानीय सरकारका प्रमुख तथा सुरक्षा निकायका प्रमुखसमेत समेटिएका छन् । तर, क्वारेन्टिनहरू भने झन्झन् बेहाल हुँदै गएका छन् । क्वारेन्टिन निर्माण गर्ने बेलादेखि नै चुक्दै आएको सरकारले यसको व्यवस्थापनमा पनि हदैसम्मको हेलचेक्य्राइँ गरिरहेको पटक–पटक पुष्टि भएको छ ।
संक्रमितको बढ्दो संख्यासँगै क्वारेन्टिनहरूलाई ‘आइसोलेसन सेन्टर’ मा रूपान्तरण गर्दै लगिएको छ । तर, क्वारेन्टिन नै न्यूनतम मापदण्ड नपुगेका थिए । तिनैलाई संक्रमितलाई ‘आइसोलेट’ गरेर राख्ने स्थान बनाउन थालेपछि त्यहाँबाट संक्रमणको विस्तार तीव्र गतिमा हुने देखिएको छ । परीक्षण नगरी संक्रमित र स्वस्थ व्यक्तिलाई एउटै क्वारेन्टिनमा, त्यसमाथि एउटै कोठमा कोचाकोच गरेर राख्न थालेपछि त्यहाँ बसेकाले विद्रोह गर्न थालेका छन् ।
न्यूनतम मापदण्डसमेत ख्यालै नगरी प्लास्टिकका ‘टनेल’, गाईभैँसी बाँध्ने गोठ र विद्यालयका कोठालाई क्वारेन्टिनका रूपमा प्रयोग गरिएको छ । दैलेखमा संक्रमितहरूलाई चार दिनसम्म एउटै कोठमा कोचाकोच गरेर राखेको र न्यूनतम सुविधासमेत उपलब्ध नभएको भन्दै संक्रमित त्यहाँबाट बाहिरिएका थिए । त्यहाँ वडाअध्यक्ष र प्रशासकीय अधिकृतलाई क्वारेन्टिनमा बसेकाले न्यूनतम सुविधा उपलब्ध नगराएको भन्दै कुटपिट गरेका थिए । क्वारेन्टिन छोडेर बाहिरिएका संक्रमितलाई प्रहरीले लाठी चार्ज गरेर घाइते बनाएको थियो । क्वारेन्टिन व्यवस्थित हुनुप¥यो भनेर संक्रमित नै आन्दोलनमा उत्रिनुपर्ने र प्रहरीको कुटाइ खानुपर्ने स्थितिको अन्त्य नगरी तथाकथित क्वारेन्टिन र त्यसैको नाम फेरेर सञ्चालन गरिएको आइसोलेसन सेन्टरकै भरमा यो महामारी कसरी पार लाग्ला ? सबैको मनमा प्रश्न उब्जिरहेको छ ।
क्वारेन्टिन बन्न थालेदेखि नै यसको मापदण्ड र गुणस्तरबारे निरन्तर प्रश्न उठिरहेका थिए । क्वारेन्टिन निर्माणमा गरिएका खर्चबारे पनि सवाल गरिएका छन् । स्कुलका बेन्च र डेस्क जोडेर खाट बनाइएकादेखि कोठाको भुइँमा म्याट ओछ्याएर लहरै सुत्ने व्यवस्था मिलाइएका क्वारेन्टिन निर्माणमा चरम आर्थिक हिनामिना भएको आशंका सर्वत्र गरिएको छ । स्थानीय तहमा वितरण गरिएको राहत होस् या मापदण्ड नपुगेका क्वारेन्टिन, तिनमा आर्थिक अपचलन भएको शंका जनताले गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनको ‘गाइडलाइन’ अनुसार संघीय सरकारले तोकेको मापदण्डबमोजिम क्वारेन्टिन सञ्चालन गरेको भए अहिले देखापरेका बग्रेल्ती बेथिति देखिने थिएनन् ।
सरकारले तोकेको मापदण्डमा एउटा कोठमा बढीमा तीन जना मात्रै बस्नुपर्छ । छ जनाका लागि एउटा शौचालय र स्नानगृह हुनैपर्ने मापदण्ड छ । दुइटा खाटका बीचमा कम्तीमा तीन फिटको दूरी हुनुपर्छ । क्वारेन्टिनमा बस्ने र त्यसको व्यवस्थापनमा खटिनेले पालना गर्नुपर्ने थुप्रै नियम छन् । तर, अधिकांश क्वारेन्टिनमा मापदण्ड र नियमको धज्जी उडाइएको छ । देशभर करिब डेढ लाख मानिस क्वारेन्टिनमा बसिरहेका छन् । भाइरस संक्रमण नियन्त्रणमा नआउञ्जेल अझै कति समय कति मान्छे क्वारेन्टिनमा बस्नुपर्ने हो, अनुमान लगाउन सकिने स्थिति छैन । संक्रमणको संख्या बढ्दै जाँदा क्वारेन्टिन स्थलमै संक्रमितको उपचार गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले सरकारले मापदण्ड नपुगेका क्वारेन्टिनलाई मापदण्डअनुसार सञ्चालन गर्नुपर्छ । होइन भने मापदण्ड पु¥याउन सकिने स्थललाई मात्र क्वारेन्टिन बनाउन थाल्नुपर्छ ।
क्वारेन्टिनमा रहेकै अवस्थामा मृत्यु हुने क्रम बढेपछि त्रास अझै थपिएको छ । मंगलबारसम्म क्वारेन्टिनमा बसेका १८ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ११ जनाले क्वारेन्टिनमै ज्यान गुमाएका थिए । बाँकी सात जना स्वास्थ्य संस्थामा लैजाँदै गर्दा र उपचारका क्रममा मृत्यु भएको थियो । क्वारेन्टिनमा मृत्यु भएका ११ मध्ये नौ जनामा कोभिड–१९ पोजिटिभ आएको थियो । सम्भावित संक्रमणको जोखिम कम गर्न र संक्रमितबाट समुदायमा संक्रमण नफैलियोस् भनेर क्वारेन्टिनमा बसेकाको लगालग मृत्यु हुन थालेपछि देशभर क्वारेन्टिनमा बसेकाहरू त्रसित भएका छन् । क्वारेन्टिनमा बस्ने भनेपछि संक्रमण आफूमा सार्न र कुनै पनि बेला ज्यान जान सक्ने बाटोमा आफूलाई धकेल्न लागेको महसुुस सर्वसाधारणले गरिरहेका छन् । सकेसम्म क्वारेन्टिनमा बस्न नपाए हुन्थ्यो भनेर रोग नै लुकाउने स्थिति बनिरहेको छ । त्यसैले मृत्यु र अपराधस्थलका रूपमा परिणत भइरहेको क्वारेन्टिनलाई सरकारले जतिसक्दो मापदण्डअनुसार सञ्चालन गर्न थाल्नेछ, त्यसपछि मात्र संक्रमणको गतिलाई नियन्त्रण गर्दै जान सकिनेछ । होइन भने हामीले ८४ दिन लकडाउन गर्दा पनि कोभिड–१९ को उपचार तथा संक्रमण रोकथाम गर्न पर्याप्त तयारी गर्न नसकेजस्तै क्वारेन्टिन बनाएर र तिनमा मानिस राखेर मात्र भाइरसको संक्रमण फैलिनबाट रोक्न सक्नेछैनौँ ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७