कोरोनाविरुद्ध ट्राफिकको प्लेकार्ड

writer

सम्पूर्ण

बिहिबार, ०४ असार २०७७


कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ । महाशाखालगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने विशेष अभियान सुरु गरिएको छ । 

संक्रमणको जोखिमबाट सडक प्रयोगकर्ताहरूलाई बचाउन उपत्यकाका मुख्य–मुख्य चोक र भीडभाड हुने ठाउँमा नागरिकलाई सचेत गर्न, सामाजिक दूरी कायम गर्न र सवारीसाधनमा हुने भीडभाड कम गराउन प्लेकार्डसहित ट्राफिक प्रहरी सडकमा ओर्लिएका छन् । प्लेकार्डमा‘सधैँ मास्क लगाएर यात्रा गरौँ’, ‘जोर÷बिजोर नियम पालना गरौँ’, ‘सवारीसाधनमा सामाजिक दूरी कायम गरौँ’, ‘जथाभावी हिँडडुल नगरौँ’ र ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता सुझाव लेखिएका छन् ।

महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट काठमाडौँ उपत्यकाका ८२ स्थानमा दुई सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । ‘विशेष टोलीले सधैँ मास्क लगाएर यात्रा गर्न,जोर÷बिजोर नियम पालना गर्न, सामाजिक दूरी कायम गर्न, भीडभाड नगरी बस्न आदिका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछ,’ ढकालले भने । 

बिहान ७ देखि ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म प्लेकार्ड देखाउन विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । ‘यात्रु तथा सडक प्रयोगकर्तालाई संक्रमणको जोखिमबाट सुरक्षित रहनका लागि सचेतना अभियानमा ट्राफिक प्रहरी परिचालित गरिएको छ,’ उनले भने, ‘यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि