घरबेटी मर्कामा डेरावाल झन् मर्कामा

writer

शिशिर वैद्य

बुधबार, ०३ असार २०७७


कोभिड महामारीको असर घरबेटी र डेरावालको सम्बन्धमा पनि परेको छ। घरबेटी भन्छन्– हामी मर्कामा छौँ, ऋण लिएर घर बनाएका हौँ। उता, डेरावाल भन्छन्– सुको आम्दानी छैन, भाडा कसरी तिर्नु ?


असार १ गतेबाट झण्डै तीन महिनादेखिको लकडाउनलाई खुकुलो पारिएको छ। अर्थात्, देश आंशिक रूपमा खुलेको छ। राजधानी र उपत्यकाका शहरबजारमा एकाएक भीड बढेको छ। सधैँ भीडमा ठेलमठेल गर्दै जीवन बिताउन अभ्यस्त बनिसकेका उपत्यकावासी लकडाउन खुलेपछि चार जना मानिस सँगै हिँडेको देखे पनि तर्सिने भएका छन्। उनीहरूको मुखबाट अनायास निस्किने गरेको छ–‘ओहो,   कस्तो भीड !’

लकडाउन खुलेसँगै सरकारी र निजी कार्यालयहरू पनि खुलेका छन्। सार्वजनिक यातायात चलेको छैन, तर निजी सवारीसाधन बेफिक्री चलेका छन्। जोर/बिजोर प्रणाली र मोटरसाइकलमा दुईजना चढ्न नमिल्ने नियम बनाइएको छ। यसको समर्थन गर्नेहरू छन्। तर, नियम मान्नेभन्दा नमान्नेको संख्या अधिक छ। 

लकडाउनका कारण शहर हेर्न नपाएर उकुसमुकुस, वाक्कदिक्क भएका थिए, शहरवासी। एक पटक शहर घुम्ने रहर जाग्नु, आफन्तको मुहार हेर्न इच्छा लाग्नु स्वाभाविकै पनि हो। लकडाउनसँगै शहरबजारको अर्थव्यवस्था सुचारु भएको छ। ग्राहकको संख्या कम भएपनि पसलहरू खुलेका छन्। शहर बिस्तारै शहरजस्तो देखिन थालेको छ। 

घरधनी भर्सस डेरावाल
लकडाउन खुलेसँगै शहरमा घरधनी र भाडामा बस्नेको सम्बन्धमा तिक्तता आएको छ। लकडाउन अवधिको भाडाको विषयलाई लिएर बहस चर्किएको छ। कतै समझदारीमा बहस सल्टिएको छ, कतै द्वन्द्वको स्थिति आएको छ। कोही घरधनी एक महिनासम्मको भाडा छाड्ने मुडमा छन्, कोही नछाड्ने। बैंकबाट ऋण लिएर घरबनाएका घरधनीहरू‘बैंकले ब्याज छाडे भाडा मिनाहा गर्छु’ भन्दैछन्। तर, बैंक ब्याज मिनाहा त परको कुरा, उल्टै ब्याज चाँडै तिर्न ताकेता गर्दैछ। 

मेरा केही साथी छन्, जो भाडामा बस्नेको कामधाम बन्द भएकाले सहृदय बनेका छन्। उनीहरू भन्छन्– ‘सबतिर बन्द छ, यस्तोमा केगरी भाडा ल्याओ भन्नु ? बरु उल्टै दालचामल सकिए माग्नू है भनेका छौँ। यत्रो वर्षको चिनजान र आत्मीयता छ कसरी एकाएक निष्ठुरी बन्नु ?’उता, मनन ठाकुरका घरबेटीजस्ता पनि छन् कोही,जसले भाडा नदिएको झोकमा पसलमा ताल्चा लगाइदिए। कतै इर्शाद हुसेनका घरबेटी जस्ता पनि छन्, जसले महिनादिन बानेश्वरमा लकडाउनका कारण अड्किएर डेरामा फर्किएका उनलाई घरमा पस्नै दिएनन्। समस्या एउटा कोठा डेरामा लिएर बसेकाहरूको पनि छ, सिंगै घर लिएर लाखौँ बहाल तिर्नेको पनि छ।

भनिन्छ लक्ष्मी चञ्चल हुन्छिन्। एकठाउँमा बास बस्दिनन्। उत्पादक र उपभोक्ताका बीच आदानप्रदान भइरहने हुनाले नै अर्थतन्त्रलाई चलायमान भनिन्छ। अर्थतन्त्र ठप्प हुनु भनेको थुप्रै समूह र समुदाय संकटमा पर्नु हो। तीन महिनाको लकडाउनले अर्थतन्त्र ठप्प पार्‍यो। उद्योग, कार्यालय र बजार बन्द हुँदा उत्पादन क्षेत्रमा काम गर्ने उद्योगी, उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यापारीदेखि उपभोग गर्नेहरूसम्म मर्कामा परे। सक्नेहरूले केही समय धाने, नसक्नेहरू राहतको खोजीमा लागे। राहत नपाउने र आर्थिक रूपमा विपन्न मान्छेहरू शहरमा बस्दा भोकले मरिने डरले सयौँ किलोमिटर हिँडेर आ–आफ्ना जिल्ला पुगे। त्यो हिँडाइको, त्यो पीडाको हिसाबकिताब अर्थतन्त्रका अंकहरूमा पक्कै देखिनेछैन। 

लकडाउन बढ्दै जाँदा शहरमा रोजगारीका लागि डेरा लिएर बसेकाहरूको माग एउटै थियो– लकडाउन अवधिभरिको बहाल छुट हुनुपर्छ। सरकारले पनि डेरामा बस्नेलाई राहत दिन भाडा मिनाहाको प्रस्ताव गर्‍यो। तर, दुःखम्सुखम् डेढ/दुईतले घरबनाएका, चारकोठामा दुई कोठा भाडामा लगाएका, एक सटर बहालमा लगाएर आफ्नो र परिवारको सम्पूर्ण खर्च चलाउने घरधनी पनि छन् यहाँ।बैंकबाट ऋण लिएर हरेक महिना ब्याजपनि तिर्दै र आफ्नो खर्च पनि चलाउँदै आएका घरधनी पनि छन्। दुईतीन महिनाको बहाल मिनाहा गर्नु अर्थात् उनीहरूको वर्षभरिको बजेट उथलपुथल हुनु।घरधनी हुँदैमा सम्पन्न नै हुनुपर्छ भन्ने छैन। विभिन्न पारिवारिक समस्याले कतिपय घरधनीहरू भाडमा बस्नेभन्दा पनि दरिद्र अवस्थामा रहेका थुप्रै उदाहरण भेटिन्छन् यहाँ। समस्या बहालवालाको मात्रै होइन, यी साना घरधनीलाई पनि उत्तिकै छ। साना घरधनीको समस्या एकठाउँमा छ भने ठूला घरधनीहरूझन् अधिक समस्यामादेखिन्छन्। महिनाको लाखौँ तिरेर सलकवल बहालमा लिएका पसलेहरू, होटल र रेस्टुरेन्टहरूले बहालमा मिनाहा खोजे घरधनीले कसरी धान्न सक्लान् ?

लकडाउन आंशिक खुलेपनि व्यवसाय पहिलेकै गतिमा चल्न निकै समय कुर्नुपर्ने पक्का छ। यो समस्याको समाधान घरधनी र बहालमा बस्नेको आपसी समझदारीमा नै भएको बेस !दुवै पक्ष ‘विन–विन’मा पुग्ने अवस्था बन्नुपर्छ। नत्र द्वन्द्व र वैमनस्य बढ्छन्। 

फर्केलान् र विदेशी डेरावासी ?
उपत्यकालगायत विभिन्न जिल्लामा डेरा लिएर बस्नेमा नेपालीका साथसाथै थुप्र्रै भारतीय नागरिक पनि छन्। बिहार, उडिसा, कोलकाता, राजस्थानलगायत अनेक भारतीय शहरका मानिस लाखौँको संख्यामा नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि छरिएर बसेका छन्। तीबाहेक चीन, कोरिया, जापान, युरोपका विभिन्न देशका मानिस पनि विभिन्न प्रयोजनका लागि डेरा लिएर बसेका छन्। पछिल्ला केही वर्षमा चिनियाँ नागरिक रोजगारीका लागि नेपालमा बस्ने क्रम ह्वात्तै बढेको छ। ठूला लगानी गरेर होटल, रेस्टुरेन्ट र पसल सञ्चालन गरेका चिनियाँहरू ठमेललगायत ठाउँमा प्रशस्त भेटिन्छन्। लकडाउनले आर्थिक कारोबार ठप्प पारेपछि यी सबै देशका नागरिक पनि बेरोजगार बनेका छन्। 

लकडाउन लम्बिँदै जाँदा भारतीय कामदार दूतावासले व्यवस्था गरेको हवाई र बससेवाबाट भटाभट घर फर्किए। त्यस्तै अन्य देशका थुप्रै नागरिक पनि आ–आफ्ना देश फर्किए। नेपाल सरकारले लकडाउन खोल्न गरिरहेको आनाकानी र नेपालमा दिनानुदिन बढ्दै गएको संक्रमितको संख्याका कारण पनि विदेशी नागरिकहरू नेपाल छाड्न हतारिए। भारतीय र अन्य देशका नागरिकलाई घरभाडामा दिएका घरधनीहरू अन्योलमा परेका छन्। ‘नजाओ भनूँ, यता काम छैन, बजार बन्द छ, तिनीहरूले पनि कतिञ्जेल धानून्,’ एक जना घरधनी विचलित मनलिएर गुनासो गर्दै थिए, ‘फर्किन्छौँ भनेर गएका त छन्, तर खै नेपालीहरूलाई नै देश भित्र आउन दिन गाह्रो मानिरहेको सरकारले उनीहरूलाई कहिले प्रवेश देला?’

ललितपुर, पाटनकीएक जना परिचित दिदी पनि चिन्तामा थिइन्– ‘पछिल्लो तीन महिनाको भाडा लकडाउनका कारण मागिएन। अब घर गएका छन्। केही नभएपनि चारपाँच महिना आउनेवाला छैनन्। अब केगर्ने ?’ उनी हाउजिङमा बस्छिन्। पाटन शहरको उनको घरपूरै सुनको काम गर्ने बंगालीहरूले भरिएको छ। तर,अहिले कोही छैनन्। सबै घर गएका छन्। बहालको चिन्ताका साथमा उनलाई पूरै घर खाली हुँदा सुरक्षाको चिन्ताले सताएको छ।‘घर बहालमा दिएर यस्तो समस्या पनि भोग्नुपर्ला भन्ने सोचेकी पनि थिइनँ,’ ती दिदीले भनिन्, ‘घर भाडामा गएको छ, तर भाडामा बस्ने कोही छैनन्।’

पीसीआर रिपोर्टबिना प्रवेश निषेध !
पहिले घरधनी र बहालवालको सम्बन्ध भाडा लिनु र दिनुमा मात्रै सीमित हुन्थ्यो। तर, महामारीले अब यो सम्बन्धमा पीसीआर रिपोर्टलाई पनि जोडिदिएको छ। काठमाडौँ छाडेर आ–आफ्ना गाउँ र प्रदेश फर्किएका बहालवालाहरूसँग घरधनी पीसीआर रिपार्ट माग्दैछन्। नत्र घरमा प्रवेशनिषेध छ। पीसीआर रिपोर्टको माग घरधनीको मात्रै होइन, स्थानीय निकाय र टोले स्वयंसेवकहरूको पनि रहेको छ। लकडाउनका क्रममा स्थानीय निकाय स्वयं माइकिङ गर्दै हिँडेको थियो– ‘यस वडाका घरधनीहरूले आफ्नो घरमा बहालमा बस्ने जो कोही पनि हालसालै काठमाडौँ बाहिरबाट आएका छन् भने वडामा जानकारी दिनुहुन विनम्र अनुरोध छ। संक्रमणबाट जोगिन वडावासीलाई सचेत हुन स्थानीय सरकार अनुरोध गर्दछ।’

घरधनी र स्थानीय सरकारले पीसीआर रिपोर्ट मागेपनि सरकार लक्षण नदेखिएकालाई पीसीआर जाँच नगर्ने रणनीतिमा छ। सरकारले दक्षिणीसिमानामा जे गल्ती गर्‍यो, जुन रणनीतिले देशमा संक्रमण फैलियो, त्यही गल्ती यहाँ पनि दोहोर्‍याउँदैछ। लकडाउन खुलेसँगै बाहिरबाट काठमाडौँ प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ। तर, सरकार न जाँच गरिरहेको छ, न ती मानिसहरूको कन्ट्याक्ट ट्रेस गर्ने रणनीति नै छ। कोरोना संक्रमणलाई जति भयावह महामारी भनेर सरकारले प्रचार गरिरहेको छ, त्यससँग लड्ने रणनीति भने ज्यादै फितलो देखिएको छ। सरकारको यो चरित्रले उपत्यका जस्तो घना बस्ती भएको र सधैँ भीड रहने ठाउँमा संक्रमण फैलिने जोखिम बढाएको छ। अब सरकारको भर परेर हामी संक्रमणबाट बच्न सक्ने अवस्था छैन। त्यसैले घरधनी र डेरावाल सबै आ–आफैँ सचेत र सजग हुनुको विकल्प छैन। भाडालगायत समस्या यी दुई पक्षले एकअर्कालाई मर्का नपारी आफैँ समाधान गर्नुपर्छ।

तपाईको कमेन्ट

मुख्य समाचार