संसारभरि नै जागिर गुमाउँदै पत्रकार

writer

सम्पूर्ण

बुधबार, ०३ असार २०७७


संसारभरिका मानिस यतिबेला बढीभन्दा बढी समाचार पढिरहेका छन्। कोरोना भाइरस महामारीको विषयमा अटुट खबर प्रकाशन÷प्रसारण भइरहेका छन्। तर, पत्रकारिता र पत्रकारले भने बितेको दशकमै सबैभन्दा खराब समयको सामना गर्नु परिरहेको छ। विश्वभर हजारौँ पत्रकारले जागिर गुमाएका छन्। 


एमी ब्रदर्स सन् १८९२ मा प्रकाशन हुन थालेको ‘द डेनभर पोस्ट’मा काम गर्थिन्। उनी मल्टिमिडिया प्रोड्युसरथिइन्।फिल्डमा खटिएकी थिइन्। त्यतिबेलै उनले जागिर गुमेको खबर पाइन्।

खबरले उनलाई नराम्ररी झस्कायो। कोरोना भाइरस महामारी सुरु भएयता उनी अन्य समयभन्दा बढी व्यस्त भएकी थिइन्। जागिर गुमेको दिन पनि रेसलिङ खेलाडीले लगाउने कपडा बनाउने एउटा कम्पनीले स्वास्थ्यकर्मीका लागि मास्क बनाउन थालेको भिडियो खिच्न उनी गएकी थिइन्।

‘खेलको बीचमा प्रशिक्षकले मैदानबाट बाहिर निकालिदिएजस्तो लाग्यो,’ ब्रदर्स भन्छिन्, ‘आफ्नो समुदायमा भएका घटनालाई उजागर गरिरहेकी थिएँ। तर, एक्कासि जागिरबाट निकालिएको खबरले स्तब्ध भएँ।’

महामारीको बीचमा रोजगारी गुमाउने पत्रकार उनी एक्ली होइनन्।अमेरिकाको इन्डियाना राज्यको ब्लुमिङ्टन शहरबाट निस्कन्छ,‘द हेराल्ड टाइम्स’।यसको वरिष्ठ कार्यकारी सम्पादक थिए, रिच ज्याक्सन। ५४ वर्षीय ज्याक्सन मेको अन्तिममा कामबाट निकालिए। अफिस जाँदै गर्दा पार्किङमै उनले आफू निष्कासित भएको खबर सुने। त्यतिमात्र होइन, पत्रिकाले दिएको अपार्टमेन्ट पनि उनलाई खाली गर्न भनियो। अर्थात्, जागिरबाट निकालिएको दुई दिनपछि नै उनी बेघर भए।

दुःखद संयोग, ज्याक्सनले पत्रकारितामा पछिल्लो समय घरबारविहीनका विषयमा कलम चलाइरहेका थिए। महामारीका बीचमा अचानक जागिर गुमेपछि आफैँ बेघर भए। उनी शहरको एउटा मोटेलमा गएर बसे। एउटा ब्लग खोले, जसको नाम छ, ‘द होमलेस एडिटर’। त्यसयता ७४ हजार जनाले उनको ब्लग पढिसकेका छन्। उनी कार्यरत पत्रिका सञ्चालन गर्ने कम्पनीले मर्जरका कारण ज्याक्सनको जागिर गएको बताएको छ।
‘केवल आधा घण्टामा म ‘समबडी’बाट ‘नोबडी’ भएँ,’ उनले ब्लगमा लेखेका छन्।

मिडियामा महामारीको प्रहार 
संसारका मानिस यतिबेला बढीभन्दा बढी समाचार पढिरहेका छन्। हरेक समाचार कक्षले एकैदिन सयौँ समाचार उत्पादन गरिरहेका छन्। अझ कोरोना भाइरस महामारीको विषयमा त अटुट खबर प्रकाशन÷प्रसारण भइरहेको छ। तर, पत्रकारिता र पत्रकारले भने बितेको दशकमै सबैभन्दा खराब समयको सामना गर्नुपरिरहेको छ। विश्वभर हजारौँ पत्रकारले रोजगारी गुमाएका छन्। जागिरमै भएकामध्ये पनि कैयौँले तलब पाएका छैनन्।

कोभिड–१९ का कारण संसारभर रोजगारी संकट आइपरेको छ। आर्थिक क्षेत्र तहसनहस भएसँगै सञ्चारमाध्यमलाई टिक्न मुश्किल परिरहेको छ। त्यसैले संसारभरका सञ्चारमाध्यमबाट ठूलो संख्यामा पत्रकार निकालिँदैछन्।समाचार पत्र, म्यागजिन होस् वा डिजिटल प्रकाशक, सबैले रोजगारी कटौती गरिरहेका छन्। अमेरिकामा ‘लस एन्जलस टाइम्स’, ‘द हलिउड रिपोर्टर’, ‘बजफिड’ले पत्रकारलाई निकाल्ने र बाध्यात्मक छुट्टीमा पठाउने गरिरहेका छन्।प्यू रिसर्च सेन्टरका अनुसार सन् २०१७ मा अमेरिकामा समाचारकक्षमा काम गर्नेहरूको जम्मा संख्या करिब८८ हजार थियो।‘न्युयोर्क टाइम्स’ले हालै समाचारमा काम गर्ने ३६ हजार जनाको तलब घटेको वा रोजगारी कटौती भएको अनुमान गरेको छ।यही अवस्था संसारभर छ।

ओहायो राज्यको क्लिभल्यान्डस्थित प्लेन डिलर नामक पत्रिकामा ३२ जना स्टाफ थिए। महामारीको प्रहारसँगै अहिले त्यहाँ चार जना मात्र बाँकी छन्। महामारीले खासगरी डिजिटल मिडियालाई ठूलो धक्का लागेको छ। सन् २०२० मा थुप्रै डिजिटल मिडियाले नाफा हुने अनुमान गरेका थिए।‘बजफिड’, ‘ग्रुप नाइन’ र ‘भाइस’ले नाफा कमाउने आकलन गरेर ठूलठूला योजना बनाएका थिए। तर, कोरोना महामारीसँगै ती योजना धूलिसात् भएका छन्। बजफिडले बेलायत र अस्ट्रेलियाको कभरेज नै बन्द गर्ने निर्णय गरेको छ।

पत्रकारको जागिर जानु उसका लागि मात्र घाटाको विषय होइन। यसले पत्रिकाको गुणस्तर त घटाउँछ नै, सँगसँगै समुदायले पनि थुप्रै कुरा गुमाउँछ। कतिपय सञ्चारमाध्यममा यसबेला स्थानीय समाचारै छैनन्। ‘पत्रकारिता नहुँदा के हुन्छ?’ कोलम्बिया जर्नालिजम स्कुलस्थित टो सेन्टर फर डिजिटल जर्नालिजमकी संस्थापक निर्देशक एमिली बेल भन्छिन्, ‘अध्ययनबाट हामीले थाहा पाएका छौँ, भ्रष्टाचार बढ्छ। स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरका राजनीतिकर्मी जवाफदेहिताबाट सजिलै उम्किन सक्छन्।’अमेरिकामा पत्रकारसम्बन्धी केही संस्थाले रोजगारी बचाउन सरकारको हस्तक्षेप पनि आवश्यक पर्ने बताएका छन्।

पैसै नभएर हो त?
‘दी एटलान्टिक’ म्यागजिनको धेरैजसो सेयर लौरेन पावेल जब्सको स्वामित्वमा छ। उनको जम्मा सम्पत्ति १९.५ अर्ब डलर छ। गएको केही महिनामा उनको सम्पत्तिमा तीन अर्ब डलरभन्दा बढी थप भएको छ।सन् २०११ मा पति स्टिभ जब्सको मृत्युपछि उनी धनी भएकी हुन्। तर, सम्पत्ति बढिरहँदा पनि जब्सले गत मे महिनामा ‘दी एटलान्टिक’का २० प्रतिशत पत्रकार कटौती गर्ने निर्णय गरिन्।

‘हामी हाम्रा ६८ जना सहकर्मीलाई अबका दिनमा दी एटलान्टिकमा ठाउँ छैन भनेर सूचित गर्दैछौँ,’ म्यागजिनका स्टाफलाई अध्यक्ष डेभिड ब्राड्लीले लेखेका थिए। त्यस्तै, स्टाफको तलब रोक्का गरिने, कार्यकारीहरूको तलब घटाइने पनि उनले बताएका थिए।

यो समाचारले सामाजिक सञ्जाल र खासगरी पत्रकारिताको वृत्तमा हलचल ल्यायो। ‘दी एटलान्टिककी मालिक्नी लौरेन पावेल जब्स बर्खास्त भएका ६८ जनालाई आगामी तीन हजार वर्षसम्मका लागि तलब दिनसक्ने गरी धनी छिन्,’ लेखक ज्याक सनफिल्डले लेखे।

यसअघि लस एन्जलस टाइम्सका अर्बपति मालिक प्याट्रिक सुन सियोङले अप्रिलमा पत्रकारको तलब कटौती गर्दा पनि यस्तै आक्रोश देखिएको थियो। यसबेला थुप्रै मिडिया अर्बपतिको हातमा छ।‘टाइम म्यागजिन’को स्वामित्व मार्क बेनिअफसँग छ भने ‘द वासिङ्टन पोस्ट’को जेफ बेजोस र ‘लस भेगास रिभ्यू जर्नल’को स्वामित्व सेल्डन एडल्सनसँग छ। तसर्थ पुँजीपतिहरूले पत्रकारलाई पैसा तिर्नै नसकेर रोजगारी कटौती भने गरेका होइनन्। यद्यपि, पत्रिकामा लगानी व्यापारका दृष्टिले धेरै नाफामूलक मानिँदैन।

विश्वभर ठूलो रोजगारी संकट छ। हरेक प्रकृतिका व्यवसायमा धक्का लागेको छ, जसको असर समाजका हरेक पक्षमा परेको छ। तर, ती सबैबारे मानिसले थाहा पाउने सम्भावना भने कम भएको छ। किनभने,त्यसबारे खबर दिने पत्रकार नै रोजगारी गुमाइरहेको छ।

पहिले पनि थिएन राम्रो लक्षण
उसो त महामारीअघि पनि पत्रकारिताका लागि सुखद लक्षण थिएन।हरेक महादेशमा उदाएका लोकप्रियतावादी र दक्षिणपन्थी शासकहरूले पत्रकारलाई शत्रु घोषित गरेका थिए। अझै पनि बढीजसो ‘ओरिजिनल रिपोर्टिङ’ उत्पादन गर्ने पत्रिकाको विज्ञापन आय सुकेको थियो। सूचनाको अनेकौँ माध्यम र प्लेटफर्मको विकासले पत्रकारितामाथिको निर्भरता टुटेको थियो। र, सबभन्दा भयानक पक्ष, पत्रकारितामाथि विश्वासको संकट उदाएको थियो।

त्यसमाथि महामारीले संकट झन् बढाइदिएको छ। अचानक गुणस्तरीय समाचारको माग बढेको छ। विश्वसनीय वेबसाइटमा पाठक र दर्शकको चाप बढेका छन्। थुप्रै सञ्चारमाध्यमले नयाँ पाठक र सब्सक्राइबर कमाएका छन्। तर, विज्ञापनको आम्दानी भने ठप्प भएको छ। सन् २०१९ मा यो चिन्ताको विषय थियो। त्यो चिन्ता अहिले संकटको विषय बनेको छ।

महामारीअघि सन् २०१९ को पहिलो पाँच महिनामा मात्र अमेरिकामा तीन हजारभन्दा बढी पत्रकारको रोजगारी खोसिएको थियो।गानेट एन्ड म्याक्लासी कम्पनीको स्वामित्वमा रहेका अनेकौँ पत्रिका, डिजिटल पत्रकारिताका अन्वेषक मानिने बजफिड, भाइस मिडिया र सीएनएनजस्ता टेलिभिजनले पनि रोजगार कटौती गरेका थिए।त्यो सन् २००९ यताकै सबैभन्दा ठूलो कटौती थियो। त्यसबेला वित्तीय संकटपछि अमेरिकामा झण्डै आठहजार पत्रकारले रोजगारी गुमाएका थिए।

महामारीबाहेक समाचार कक्षमा रोजगारी गुम्नुका केही कारण छन्। स्थानीय पत्रिकाहरूले विज्ञापनबाट हुने आय गएको दशकमा तीव्र गतिमा गुमाए। किनभने, पाठक अनलाइनतर्फ सरे। पत्रकारलाई कामबाट निकालेपछि तिनको गुणस्तर पनि खस्कियो, जसका कारण डिजिटल सब्सक्राइबरसमेत घट्न थाले। पुँजीपतिहरूले लगानी गरेका डिजिटल मिडिया स्टार्टअपहरूले सुरुमा धेरैभन्दा धेरै पत्रकारलाई जागिर दिए। तर, केही समयपछि उनीहरूको मुख्य ध्यान नाफामा केन्द्रित भयो। अहिले हरेक कम्पनीले फेसबुक र गुगलसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ। अमेरिकामा अनलाइन विज्ञापनको तीनचौथाइ हिस्सा यही दुई प्लेटफर्मले ओगट्छन्।

अनलाइन मिडियामा रोजगारी अस्थिर छ। पत्रकारहरू चाँडोचाँडो कामबाट निकालिने, नयाँ काम खोज्ने क्रम तीव्र गतिमा बढ्ने गर्छ। त्यसैले यस्ता मिडियामा पत्रकारहरू युनियनमा आबद्ध हुने क्रम पनि बढेको छ। भक्स मिडिया, जसले भर्ज, इटरजस्ता अनलाइन चलाउँछ, त्यहाँ नयाँ खालको सम्झौता गरिएको छ। जसअन्तर्गत कामबाट निकालिए पत्रकारले कम्तीमा ११ साताको तलब क्षतिपूर्तिबापत पाउँछ।

पेवालले टिकाउन सक्छ पत्रकारितालाई
सन् २००९ मा द न्युयोर्क टाइम्समा एउटा ठूलो बहस थियो। वित्तीय संकट पार भएलगत्तै पेवाल प्रणाली (पाठकले पैसा तिरेर मात्र सामग्री पढ्न पाउने व्यवस्था) सुरु गर्ने कि नगर्ने भन्नेमा यो बहस केन्द्रित थियो। दुवैतर्फका तर्क बलिया थिए। के मानिसले समाचार पढ्न पनि पैसा तिर्लान्? यसको जवाफ स्पष्ट थिएन। भएका पाठक पनि भड्किने डर थियो। तर, विज्ञापनको आय खुम्चिँदो थियो। निकै तयारी र अध्ययनपछि सो पत्रिकाले २८ मार्च २०११ मा पेवाल सुरु गर्‍यो। त्यसबेला एक महिनामा मानिसले निःशुल्क २० वटा लेख पढ्न पाउँथे। यो प्रयोग सफल भएसँगै निशुल्क लेखको संख्या घट्दै गयो।

नौ वर्षपछिको अवस्था हेर्ने हो भने न्युयोर्क टाइम्सले यसमा स्पष्ट सफलता हात पार्‍यो। अहिले उसका ५० लाख सब्सक्राइबर छन्। उसको समाचार कक्षमा पत्रकारको संख्या हालसम्मकै धेरै अर्थात् १७ सयभन्दा बढी पुगेको छ। उसको कदमलाई अरूले पनि पछ्याए। वासिङ्टन पोस्टले २०१३ मा, द न्युयोर्कर र दी एटलान्टिकले २०१४ मा पेवालको व्यवस्था गरे।

पेवालले गुणस्तरीय पत्रकारितालाई फस्टाउने मौका दिएको छ। पछिल्लो समय हेर्दा पेवाल लागू गर्ने सञ्चारमाध्यम टिकेका देखिन्छन्। त्यसैले गुणस्तरीय पत्रकारितालाई टिकाउन अब विज्ञापनभन्दा पनि पेवाल महŒवपूर्ण हुने देखिन्छ।
–एजेन्सीको सहयोगमा कवि आचार्य
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि