रातभरि करायो एसईई हरायो

writer

सृजना खड्का

बुधबार, ०३ असार २०७७


गत चैत ६ गतेका लागि तय माध्यमिक शिक्षा परीक्षा (एसईई) कोभिड–१९ महामारीका कारण स्थगित भयो।देशभरि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी परीक्षा दिन तम्तयार थिए। तर,करिब तीन महिनाको अन्योलपछि हालै मन्त्री परिषद्ले एसईई परीक्षा नलिने र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न दिने निर्णय गर्‍यो।


विद्यार्थीको गुनासोः ‘हामीलाई ‘कोरोना ब्याच’को ट्याग लाग्यो’

काठमाडौँ, पुरानो बानेश्वरस्थित क्याम्ब्रिज पब्लिक हाई स्कुलबाट यस वर्षको एसईईका लागि तयार थिए, विज्ञान ढुंगाना र पे्ररणा नेपाल। विज्ञानलाई प्री–एसईई राम्रो गर्न नसकेकोमा पछुतो छ। प्रेरणाले पनि ‘जे गर्ने हो एसईईमै गर्ने हो’ भनेर कम्मर कसेकी थिइन्। ‘कोरोनाको डरैडरमा पनि तयारी गर्न छाडिएको थिएन,’ विज्ञानले भने, ‘जसरी भएपनि राम्रो गर्नुपर्छ भनेर घुँडा धसेर पढेको थिएँ। मेहनत सबै खेर गयो। रातभरि करायो, दक्षिणा हरायो भन्थे। हाम्रा लागि त रातभरि करायो, एसईई हरायो भनेजस्तो पो भयो।’

प्रेरणाको पनि उस्तै दुखेसो छ। एसईई दिन नपाएकोमा खिन्न छिन्। अझ छिमेकी, आफन्त र साथीभाइले ‘कोरोना ब्याच’ भनेकोमा दुःखी छिन्। ‘कसैलाई भेट्नै हुँदैन, ‘तिमीहरूलाई मोज भो, जाँचै नदिई पास है’ भन्छन्,’ उनले भनिन्, ‘उनीहरूको कुरा सुन्दा नरमाइलो लाग्छ। कतिले त ‘कोरोना ब्याच’ भन्दै खिसी गर्छन्।’सामाजिक सञ्जालतिर पनि यसपालि एसईई नदिनेलाई कोरोना ब्याच भनेर सम्बोधन गरिएको छ।

भक्तपुर, च्याम्हासिंहस्थित बागिश्वरी माध्यमिक विद्यालयकी उष्णा मानन्धर एसईई रद्द नभएको भए खुशी हुन्थिन्। ‘सबैले तिमीहरू त ‘जाँचै नदिई पास !’ भन्छन्,’ उनलाई नमज्जा नलागेको छ, ‘त्यत्रो मेहनत गर्दा पनि जाँच नभएर मानिसहरूको त्यस्तो कुरा सुन्नुपर्दा दुःख लाग्छ। हाम्रो पीडा हामीलाई मात्र थाहा छ।’

तर, काठमाडौँ, बानेश्वरस्थित काव्य स्कुलका इशान गौतमले एसईई नहुनुलाई सकारात्मक रूपमा लिएका छन्। ‘जाँच दिन नपाए पनि हामीले १० कक्षामा धेरै कुरा सिक्यौँ,’ उनले भने, ‘अहिले एसईईका लागि गरेको मेहनतले हामीलाई ११ र १२ कक्षामा निकै सहयोग पुग्नेछ।’   सोही स्कुलका निकुञ्ज ढकालले घोकेर दिइने परीक्षा दिनुभन्दा नदिनु बेस भएको बताए। ‘हामीमा कोसँग कति क्षमता छ भनेर हाम्रा शिक्षकबाहेक अरूलाई थाहै हुँदैन,’ उनले भने, ‘उहाँहरूले हामीलाई जति नम्बर दिनुहुन्छ, त्यो नै हाम्रो रियल रिजल्ट हो।’

कोही खिन्न, कोही दंग

काठमाडौँ, बानेश्वरस्थित रत्न राज्य माध्यमिक विद्यालयबाट एसईईको तयारीमा रहेका सौगात सापकोटा र सामना भट्टले एसईईको रिजल्ट आउनेबेलासम्म पनि एसईई हुन्छ भनेर सरकारलेलाखौँ विद्यार्थीलाई झुलाएको बताए। ‘हामीले महिनौँ दिन–रात नभनी पढ्याँै,’ सौगातले भने, ‘न पढेको कुरा जाँचमा लेख्न पाइयो, न एसईईको अनुभव गर्न पाइयो। न त रिजल्ट आएपछिको खुशीयाली नै परिवारसँग बाँड्न पाइयो।’

सामना भने अहिले गरेको मेहनत पछि काम लाग्नेमा ढुक्क छिन्। तर, प्रतिस्पर्धामा उत्रिन नपाएकोमा भने खिन्न छिन्। ‘देशभरिबाट प्रतिस्पर्धा हुँदा देशभरि चिनिने मौका पाइन्थ्यो,’ उनले भनिन्, ‘स्कुलभित्र मात्र प्रतिस्पर्धा हँुदा आफ्नो क्षमता नै जान्न पाइएन।’

उता, सामनाका बुबा तर्कराज भट्टकोभने एसईई भएकै भए पनि आफ्नी छोरीलाई जोखिम लिएर जाँच दिन पठाउने सोच थिएन। ‘आफ्ना छोराछोरीको पढाइभन्दा ज्यान ठूलो हो,’ उनले भने, ‘अहिलेको परिस्थिति अनुसार एसईई नभएकै राम्रो भयो। तर, हाम्रा छोराछोरीले गरेको दुःखको उचित मूल्यांकन स्कुलले गर्नुपर्छ।’

काठमाडौँ, पेप्सीकोलास्थित नेक्सन इन्टरनेसनल स्कुलकी नीलिमा श्रेष्ठले एसईई दिन नपाए पनि कलेजमा गएर राम्रोसँग पढ्ने बताइन्। ‘एसईई हुँदैन भन्ने निर्णय आएको अघिल्लो दिनसम्म मरिमेटेर पढियो,’ उनले भनिन्, ‘खबर सुनेपछि केही छिन त असाध्यै रिस पनि उठ्यो। अब रिसाएर केही हुँदैन भन्दै कुन कलेज पढ्ने, के पढ्ने भनेर साथीभाइहरूसँग सल्लाह गर्न थालेकी छु।’

भक्तपुर, थिमीस्थित आदर्श माध्यमिक विद्यालयबाट एसईईको तयारीमा रहेका ब्रियन गौतमलाई भने एसईई नभएकोमा खुशी लागेको छ। ‘एसईई दिएर नेपाल टप गरौँला भन्नेलाई चिन्ता परेको होला, म त खुशी छु,’ उनले भने, ‘साथीहरू अब पार्टी गर्नुपर्छ भन्न थालेका छन्।’

स्कुललाई अभिभावकको दबाब

रत्न राज्य माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा भट्टले एसईई नहुने भनेसँगै धेरै विद्यार्थी झनै अन्योलमा रहेको बताए। ‘एकथरी विद्यार्थीमा स्कुलले कसरी नम्बर देला, हामीले न्याय पाउँछौ/पाउँदैनौँ भन्नेखालका मनोभावना देखिन्छ,’ उनले भने, ‘अर्काथरी भने जाँच दिन नपरेकोमा मख्ख छन्,खुशीयाली मनाइरहेका छन्।’

केही अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो नम्बर दिन अप्रत्यक्ष दबाब दिन थालेको उनले बताए। ‘तर, हामी सरकारले जस्तो कार्यविधि निकाल्छ, त्यहीअनुसार नतिजा निकाल्छाँै,’ उनले भने, ‘सबैले आफ्नो कर्मको फल पाउँछन्। कर्म नगर्नेलाई कुनैपनि हालतमा फल मिल्दैन।’

काठमाडौँ, बूढानीलकण्ठस्थित लोएल्टी एकेडेमीका प्रिन्सिपल योगेशचन्द्रविक्रम सम्बाहाम्फेले १० कक्षा र ११ कक्षाको बीचमा एउटा ठूलो पर्खाल बनिरहेको हुनाले अबका दिनमा एसईई स्कुलले नै लिनुपर्ने बताए।

तर, स्कुलले आन्तरिक मूल्यांकन गर्दा धेरै हस्तक्षप हुनसक्ने अनुमान उनले गरेका छन्। ‘अब बिस्तारै छोराछोरीको ग्रेडमा विचार गरिदिनुपर्‍यो भन्दै अभिभावकहरू आउन थाल्नुहुन्छ,’ सम्बाहाम्फेले भने, ‘तर, अभिभावकले स्कुलले सजिलैसँग जति भन्यो उति नम्बर हालिदिन्छ भनेर नसोचे हुन्छ।’

अबका दिनमा एसईईलाई स्थानीय स्तरको जिम्मा लगाइदिनुपर्ने उनको मत छ। ‘आगामी दिनमा पनि एसईई हुनुपर्छ,’ उनले भने, ‘तर, यसलाई हौवा बनाएर विद्यार्थीलाई तर्साउने काम गर्नुहुँदैन। जसरी युनिभर्सिटी लेभलका परीक्षाहरू कतिखेर भए, को टपर भए, थाहा हुँदैन, एसईईलाई पनि त्यस्तै बनाउनुपर्छ।’

क्याम्ब्रिज पब्लिक हाई स्कुलकी प्रिन्सिपल रीता राईले भने थुप्रै विद्यार्थी दुःखी भएको देखिन्। आन्तरिक मूल्यांकनका कारण पहिलाको परीक्षामा हेलचेक्य्राइँ गर्ने विद्यार्थीलाई अप्ठ्यारो पर्ने उनको आकलन छ। ‘धेरैले पहिलाको परीक्षाको लागि कम अभ्यास गरेका थिए,’ उनले भनिन्, ‘एसईईमा राम्रो गरौँला भन्ने सोच धेरैको थियो। त्यही कारण पनि धेरै विद्यार्थी दुःखी भएका छन्। अहिले धेरै नम्बर आयो भने एसईईमा राम्ररी पढ्दैनन् भनेर हामीले पनि टाइट गरेर कपी जाँचेका थियाँै।’

आन्तरिक मूल्यांकनका कारण धेरै स्कुल विकृतिको बाटोमा जान सक्ने सम्भावना देखेकी छिन्,प्रिन्सिपल राईले। ‘आफ्नै हात जगन्नाथ भन्दै आफ्नो स्कुलको विज्ञापन गर्न र अभिभावक खुशी बनाउन पासै नहुने विद्यार्थीलाई पनि ‘ए प्लस’, ‘ए’ दिएर स्कुलहरूले नपठाउलान् भन्न सकिँदैन,’ उनले भनिन्, ‘यस्तो खालको अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि राज्यले केही कदम चाल्नुपर्छ।’

नेक्सन स्कुलका प्रिन्सिपल आरबी कटवाललाई अबका दिनमा एसईई खारेज गर्नुपर्छ भन्ने तर्क अनावश्यक लाग्छ। ‘एसईई भएन भने बच्चाहरू बिग्रन्छन्,’ उनले भने, ‘अहिले आन्तरिक मूल्यांकन गर्ने भनेपछि स्कुलबाट अभिभावकको ठूलो अपेक्षा देखिन थालेको छ। ‘बी’ ल्याउन नसक्नेलाई ४ जीपीए चाहियो। जो फेल होला भन्ने छ, उसलाई ‘ए’ चाहियो।’ अभिभावकका यस्ता अपेक्षाबाट पन्छिनका लागि आठ कक्षाको नतिजा, एसईईभन्दा अगाडि भएको जाँचको नतिजा, यसभन्दा अगाडिका एसईईका नजिताहरूलाई आधारमानेर कसैलाई पक्षपात नगरी निष्पक्ष नतिजा निकाल्न सकिने उनले बताए।

कटवाल ग्रेडिङ पद्धतिका विरोधी हुन्। ‘निरन्तर मूल्यांकन पद्धतिबाट नै ग्रेडिङ हुन्छ,’ उनले भने, ‘तर, यहाँ परीक्षा लिएर ग्रेडिङमा रूपान्तरण गर्ने काम भएको थियो। अहिलेसम्म हामीले ग्रेडिङलाई न्याय दिन सकेका थिएनाँै। यो वर्ष न्याय दिन सक्ने भयाँै।’

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेयसरी स्कुलमा छोराछोरीको ग्रेड बढाइदिनुपर्‍यो भन्दै दबाब दिने अभिभावकलाई अपराधीमान्छन्। ‘जुन अभिभावकले शिक्षकलाई दबाब दिएर आफ्ना छोराछोरीको नम्बर बढाउनुपर्‍यो भन्छन्, उनीहरू अपराधी हुन्,’ वाग्लेले भने, ‘आफ्ना छोराछोरीको भविष्य बिगार्ने त्यस्ता अभिभावकलाई समातेर जेल हाले हुन्छ। विद्यार्थीले ल्याएको अंकमा बढाइचढाइ गर्नुपर्‍यो भन्ने अधिकार उनीहरूलाई हुँदैन।’

एसईईको पक्ष/विपक्षमा प्रिन्सिपल

काठमाडौँ, काँडाघारीमा रहेको अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराइले एसईई नहुँदा विद्यार्थीबीच प्रतिस्पर्धाको भावना नहुने बताइन्।‘यस्तो परीक्षा प्रणालीले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना हराएर जान्छ,’ उनले भनिन्, ‘त्यस्तै, भोलि छात्रवृत्तिको कुरामा कलेजले उनीहरूलाई नपत्याउन सक्छ।’

तर, भक्तपुर, गट्ठाघरस्थित सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल दीपिका रिमाल थापालाई आन्तरिक मूल्यांकन उचित लाग्छ। स्कुलका शिक्षकले जति विद्यार्थीको नाडी अरू कसैले छाम्न नसक्ने भएकाले आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशन गर्ने निर्णयप्रति उनी सकारात्मक छिन्। ‘कुन विद्यार्थीको क्षमता कति छ भनेर स्कुलको शिक्षकजति अरू कसैलाई थाहा हुँदैन,’ उनले भनिन्, ‘त्यसैले शिक्षकले कुनै पनि हालतमा बदमासी गर्दैनन्। ‘सी’, ‘डी’, ‘ई’ ग्रेड ल्याउनेखालका विद्यार्थीलाई उनीहरूले कदापि ‘ए प्लस’ र ‘ए’ ग्रेड दिँदैनन्।’

एसईई खारेज गर्नुपर्छ भन्ने विचारको विपक्षमा छिन्, थापा। यस वर्ष विशेष कारणले एसईई नभए पनि आगामी वर्षमा निरन्तर होस् भन्ने उनको चाहना छ। ‘एसईई नै खारेज गर्‍यौँ भने विद्यार्थीले झन् पढ्दैनन्,’ उनले भनिन्, ‘कलेजका लागि सक्षम विद्यार्थी बनाइदिने काम विद्यालयको हो। एसईई खारेज गरियो भने भोलि कलेजले ‘क्रिम स्टुडेन्ट’ पाउँदैनन्। कलेजको स्तर पनि खस्किँदै जान्छ। प्लस टू पढ्ने विद्यार्थी पनि भोलि सातआठ कक्षामा पढ्नेजत्तिका पनि हुँदैनन्।’

बागिश्वरी विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद धन्साले पनि एसईईलाई यत्तिकै खारेज गर्न नहुने बताए। एसईई नहुँदा विद्यार्थीमा मेहनत गर्ने भावना हराएर जानेउनको बुझाइ छ। ‘यो वर्ष पनि केन्द्रीय तहले नगरे पनि स्थानीय तहलाई मात्र भए पनि गर्न दिएको भए हुन्थ्यो,’ उनले भने, ‘विद्यार्थीको शुल्क उठाएर जाँच नलिँदा भोलि ‘हाम्रो परीक्षा शुल्क फिर्ता गर्’ भनेर विद्यार्थीले आन्दोलन गर्न सक्छन्।’

प्री–एसईईको आधारमा एसईईका विद्यार्थीको मूल्यांकन गर्नुगलत भएको धन्साले तर्क गरे। ‘पहिलो र दोस्रो परीक्षामा कतिपय विद्यार्थी छुटेका हुन सक्छन्,’ उनले भने, ‘यसरी आन्तरिक मूल्यांकन गर्दा मार्कसिटको महत्त्व घट्छ। धेरै पढ्ने र उच्च आकांक्षा राख्ने विद्यार्थीलाई यस्तो निर्णयले दुःखी बनाएको छ। ‘कोरोना ब्याच’ भनेर उनीहरूलाई दाग लगाइदिने काम सरकारले गरेको छ।’

काव्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटाले फरक मत राखे। उनले तीन घण्टाको जाँच (मेमोरी टेस्ट) ले विद्यार्थीले जिन्दगीमा गरिखान्छ वा खाँदैन भन्ने कुराको मापन गर्न नसकिनेविचार व्यक्त गरे। ‘हामी उहिल्यैदेखि यस्तो खालको मेमोरी टेस्ट खारेज गर्नुपर्छ भन्ने पक्षमा छाँै,’ उनले भने, ‘विद्यार्थीको स्मरणशक्तिभन्दा पनि उनीहरूको ‘एनालिटिकल टेस्ट’ गनुपर्छ। बालबालिकाले सम्झिएर, घोकेरभन्दा पनि अनुभव गरेर लेखेका कुरामा धेरै दम हुन्छ। अन्यथा, ‘वातावरण प्रदूषणबारे निबन्ध लेख’ भन्यो भने विद्यार्थीको जवाफ‘हामीलाई पढाएकै छैन’ भन्ने आउँछ।’

बास्कोटाले विद्यार्थीले स्कुलमा आर्जन गरेको ज्ञानलाई समाजसम्म पुर्‍याउनुपर्ने धारणा राखे। स्कुलहरूले विद्यार्थीलाई एसईईको जाँचभन्दा पनि सिर्जनात्मक क्षमता, नेतृत्व वहन गर्न सक्ने कौशल, समस्या समाधान गर्ने खुबीको पाटोमा जोड दिनुपर्ने उनले बताए। तर, हाल शिक्षकहरूलेपरीक्षाका लागि र स्कुलले ग्रेडका लागि विद्यार्थीलाई पढाइरहेको उनको विश्लेषण छ। ‘परीक्षा कहिले होला भनेर विद्यार्थीलाई मानसिक तनाव भइरहेको बेला सरकारले राम्रो निर्णय गर्‍यो,’ उनले भने, ‘उनीहरू पाकेको पिलो भएर बसेको बेलामा सरकारले फुटाउने काम गरिदियो। तर, स्कुलले यतिखेर अभिभावकलाई खुशी पार्नतिर लाग्ने होइन, विद्यार्थीको वास्तविक र पारदर्शी मूल्यांकन गर्नुपर्छ। स्कुलहरू अभिभावकको भावनामा बग्नुहुँदैन।’

प्रिन्सिपल बास्कोटाको शिक्षकहरूलाई सुझाव दिँदै भने, ‘शिक्षकहरूले ‘हिजो यो विद्यार्थीले मसँग निहुँ खोज्थ्यो, यसलाई तह लगाउने बेला आयो अनि यसलाई चाहिँ मैले गुन लगाउने बेला आयो’ भनेर मूल्यांकन गर्नुहुँदैन। यसो गर्न सकियो भने मेमोरी टेस्टले भन्दा आन्तरिक मूल्यांकनले राम्रो नतिजा दिन्छ।’

बास्कोटाझैँ नारायणप्रसाद बराल पनि एसईईको विपक्षमा छन्। उनी पोखरा, मासबारस्थित मदरल्यान्ड माध्यमिक विद्यालयका प्रिन्सिपल हुन्। माध्यमिक तहको परीक्षा कक्षा १२ मा हुने भएकाले एसईई सधैँका लागि हटाउनुपर्ने उनले तर्क गरे। ‘शिक्षासम्बन्धी ऐन परिवर्तन गरेर १२ कक्षाको परीक्षा राष्ट्रिय परीक्षाका रूपमा लिऔँ,’ बरालले भने, ‘यसो गर्दा आर्थिक र मानसिक रूपमा विद्यार्थी र अभिभावकले राहत महसुस गर्न पाउँछन्।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले यो वर्ष एसईई परीक्षा नलिने निर्णय सकारात्मक भएको बताए। ‘सरकारलाई हामीले अहिलेको अवस्थामा विद्यार्थीहरू प्रताडित भए, यसपटकलाई आन्तरिक मूल्यांकनका आधारमा मार्कसिट दिनुपर्छ भनेर प्रस्ताव राखेका थियौँ,’ उनले भने, ‘सरकारले हाम्रो माग पूरा गरेको छ। यसपटकलाई सरकारले विद्यार्थीका पक्षमा निर्णय गरेको छ। यस निर्णयले विद्यार्थीहरू मानसिक तनावबाट पनि मुक्त भए, उनीहरूको शैक्षिक वर्ष पनि खेर गएन।’ परिस्थितिअनुसार एसईई स्थगनको निर्णय राम्रो भएपनि आगामी वर्षहरूमा भने यो परीक्षा गर्नुपर्ने उनको धारणा छ। त्यस्तै, स्कुुलहरूले मर्यादित, अनुशासित र प्रभावकारी ढंगले आन्तरिक मूल्यांकन गर्नुपर्ने उनले बताए। ‘यस्तो बेलामा विद्यार्थीको वास्तविक मूल्यांकन हुनुपर्छ,’ उनले भने, ‘कक्षा १० मा धेरै परीक्षा भइसकेका छन्। त्यसलाई आधार मानेर विद्यार्थीको मूल्यांकन गर्न सकिन्छ।जुन शिक्षकले पढायो, उसले जस्तो विद्यार्थीलाई कसैले पनि चिन्दैन। त्यसैले यो वर्ष विगतको भन्दा वास्तविक मूल्यांकन आउँछ।’

भविष्यमा आधारभूत तहको परीक्षा स्थानीय तह, कक्षा १० को परीक्षा प्रदेश र कक्षा १२ को परीक्षा केन्द्रले लिनुपर्ने उनको सुझाव छ।

‘खारेज गर्नुपर्छ एसईई’

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले आगामी दिनमा एसईई खारेज हुनुपर्ने बताए। ‘यसले विद्यार्थीलाई मानसिक दबाब दिइरहेको छ,’ उनले भने, ‘यसले सरकार र विद्यार्थीका अभिभावकको खर्च बढाउने काम मात्र गरेको छ। स्कुलको अन्त्य १२ कक्षा भएपछि १० कक्षामा छुट्टै परीक्षा लिइराख्नुपर्दैन।’

आन्तरिक मूल्यांकन राम्रोसँग गर्न सकियो भने बाहिरी जाँच लिन जरुरी नभएको उनले बताए। ‘आन्तरिक मूल्यांकनमा राम्रो गरेका विद्यार्थीले फाइनलमा राम्रो गर्न नसकेका हुन सक्छन्,’ उनले भने, ‘आन्तरिक मूल्यांकन राम्रोसँग गर्न सकियो भने बाहिरी जाँच लिनैपर्दैन। आजकाल त बालबालिकाले ‘मेरो कुन विषयमा कति नम्बर आउला?’ भनेर कम्प्युटरमा आफ्नो जाँच आफैँ लिन सक्छन्।’

एसईई भएन भने विद्यार्थीहरूबिग्रन्छन् भन्नेतर्क माथेमालाई कमजोर लाग्छ। ‘त्यो विद्यालयकै कमजोरी हो,’ उनले भने, ‘भोलियुनिभर्सिटीले कतिजना विद्यार्थी पास भए भनेर हेर्दैन। क–कसले जागिर पाए भनेर हेर्छ। को के–केमा सिपालु छन् भनेर हेर्छ। स्कुलले जाँचमा अंक ल्याउने होइन, जिन्दगीमा राम्रो अंक ल्याउने विद्यार्थी उत्पादन गर्नुपर्छ।’

जाँचले कहिल्यै विद्यार्थीको क्षमता, सोच्ने–विश्लेषण गर्ने शक्ति मापन गर्न नसक्ने माथेमाले बताए। ‘जाँच भनेको पढाएको कुरा सम्झेर लेख्ने प्रक्रिया मात्रै हो,’ उनले भने, ‘त्यसैले यसलाई ठूलो रूपमा लिनु हुँदैन।’

शिक्षाविद् डा. वाग्ले पनि एसईई खारेजीको पक्षमा छन्। स्कुलले कुरा नबुझेर हरेक वर्ष एसईईका विद्यार्थीलाई किताब घोटाएर पिलाउने गरेको उनले बताए। ‘स्कुलले एसईई भनेर विद्यार्थीलाई युद्धमा जान लागेको योद्धाजस्तो बनाएकाले  अहिले उनीहरू धेरै निराश भएका हुन्,’ उनले भने, ‘एसईईलाई स्कुलहरूले बेकारको अल्झो बनाएर राखेका थिए।यो वर्षलाई त्यो अल्झो टर्‍यो। अर्को वर्षदेखि यसलाई हटाउनैपर्छ।’

आन्तरिक मूल्यांकन पद्धतिमा बानी नपरेकाले स्कुलहरूले केहीजटिल माने पनि यो एकदमै वैज्ञानिक पद्धति भएको डा. वाग्लेले बताए। ‘यसका लागि स्कुलले केही गर्नुपर्दैन,’ उनले भने, ‘तीनटा त्रैमासिकको नम्बर जोड्ने हो। विद्यार्थीले वर्षभरि कमाएको कुरा भकारीमा राखेको छ। त्यही भकारीमा भएको धान उसलाई झिकेर दिने हो।’

कोभिड प्रकोपले शिक्षा प्रणालीलाई राम्रो बनाउन ठूलो अवसर दिएको डा. वाग्लेले बताए। ‘अबका दिनमा स्कुलले विद्यार्थीको अंक देखाएर अभिभावक तान्ने धन्दा बन्द हुन्छ,’ उनले भने।


‘मान्छे सर्टिफिकेटले होइन क्षमताले बाँच्छ’

प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद्

अहिले धेरै विद्यार्थीको गुनासो ‘हामीले गरेको तयारी खेर गयो’ भन्ने खालको छ। म ती विद्यार्थीलाई भन्छु– तिमीहरूले जुन किसिमको तयारी गरेका थियौ, त्यसका लागि धन्यवाद ! आफूले जीवनका लागि गरेको तयारीकहिल्यै पनि खेर जाँदैन।

एसईर्ईलाई लिएर यो वर्ष जे निर्णय भयो, एकदमै राम्रो भयो। तर, यो निर्णय यही पटकलाई मात्र हुनुभएन। यसो गर्‍यो भने यो पालि एसईई दिन नपाएका विद्यार्थीलाई ‘कोरोनाको वर्ष पास भएका विद्यार्थी’ भन्ने दाग लाग्छ। ऐन संशोधन गरेर यसलाई सधैँका लागि अन्त्य गर्ने भन्ने कुरा पनि उठेको छ। यस विषयमा छलफल गरेर नयाँ ऐनमासमावेश गरियो भने सधैँका लागि अन्त्य हुन्छ।

आन्तरिक मूल्यांकनमा पहिलो त्रैमासिकको ३० प्रतिशत, दोस्रोको ३० प्रतिशत र तेस्रोको ४० प्रतिशतलाई जोडेर नतिजा निकाल्दा विद्यार्थीलाई अन्याय हुँदैन। आन्तरिक मूल्यांकनमा समस्या पनि हुँदैन। बदमासी गर्ने ठाँउ पनि हुँदैन। प्रयोगात्मकमा भने बदमासी गर्ने ठाँउ हुन्छ। यसका लागि पनि अर्को उपाय छ। थिअरेटिकल र प्राक्टिकलका बीचमा धेरै अन्तर आउन नहुने भनेपछि शिक्षक आफैँ तह लाग्छन्। त्यस्तै, विद्यार्थीको स्तर जाँच्नका लागि स्तरीय परीक्षाहरूपनि लिन पाइन्छ। १० कक्षाको एउटा स्तरीय परीक्षाको डिजाइन बनाउन परीक्षा नियन्त्रण कार्यालयलाई जिम्मा लगाइदिन सकिन्छ। यो दुइटा उपाय लगाउन सकियो भने स्कुल र विद्यार्थी दुवैको समस्या समाधान हुन्छ।

धेरै स्कुलहरूको आन्तरिक मूल्यांकन व्यवस्थित खालको हुँदैन। उनीहरूका लागि पनि उपाय छ। एसईईका लागि भनेर बनाइएको प्रश्नपत्र विद्यार्थीलाई बाँडाँै। अनलाइनको पहुँच हुनेलाई अनलाइनबाट बाँडाँै, टेलिभिजन, रेडियोको पहुँच हुनेलाई त्यसैबाट बाँडौँ। पेनड्राइभबाट सम्भव हुनेलार्ई त्यसैबाट पठाआँै। केही पनि सकिँदैन भने पालिका–पालिकामा इमेल गरेर त्यहाँबाट शिक्षकलाई दिएर पठाऔँ। विद्यार्थीलाई १५–१५ दिनको समय दिऔँ। उनीहरूले आफ्ना आमाबुबा, दिदीदाइ जसलाई सोध्नुपर्ने हो, सोधखोज गरेर लेख्छन्। त्यसको आधारमा पनि उनीहरूको मूल्यांकन गर्न सकिन्छ। यो बेलामा समस्यामा अल्झिनेभन्दा पनि समाधान खोज्ने वातावरणतिर लाग्नुपर्छ।

स्कुलहरूले जहिले पनि एसईईलाई हाउगुजी बनाइराखे। १२ कक्षासम्मलाई स्कुल माने पनि १० कक्षाको छुट्टै जाँच लिएर बदमासी गरिरहेका छन्। यो सबै पैसा कमाउने बाटो मात्र हो। अन्तर्राष्ट्रिय स्तरमा व्यक्तिको प्रवृत्तिलाई हेर्छन्, अंकलाई हेर्दैनन्। हामीले पनि कलेज भर्ना हुँदा विद्यार्थीलाई उनीहरूको ग्रेड नसोधाँै। इतिहासकार डा. महेशराज पन्त जर्मनीमा गएर पीएचडी गरेका मान्छे हुन्। उनले जिन्दगीमा एउटा पनि स्कुल र कलेजमा पढेनन्। डा.अर्जुन कार्की तेस्रो डिभिजनमा एसएलसी पास भएका मान्छे हुन्। अहिले उनी अब्बलचिकित्सकका रूपमा चिनिन्छन्। यसले के देखाउँछ भने मान्छे सर्टिफिकेटले होइन, आफ्नो सीप र क्षमताले बाँच्ने हो।


‘मेहनत कहिल्यै खेर जाँदैन’

अभिषेक घिमिरे, संयोजक, बृहत् राष्ट्रिय शिक्षा अभियान

एसईई भनेको माध्यमिक शिक्षाको परीक्षा हो। लामो समयसम्म एसएलसी परीक्षाका रूपमा सञ्चालित यसलाई फलामे ढोकाका रूपमा प्रचार गरियो। यसको आफ्नो महत्त्व र अर्थ थियो। विद्यालय तथा शिक्षकको क्षमता यही एसएलसी परीक्षाको नतिजाले निर्धारण गथ्र्यो। अझ भनौँ, समग्र विद्यार्थीको गुणस्तर नाप्ने कडी कक्षा १०को अन्तिम परीक्षाको नतिजा थियो।

वि.सं. १९९० देखि २०७३ सम्म विद्यालय शिक्षाको संरचनाअनुसार कक्षा १० नै विद्यालय तहको अन्तिम खुड्किलो भएकाले कक्षा १० को परीक्षाले महत्त्व राख्दथ्यो। तर, वर्तमान परिवर्तित विद्यालय संरचनाअनुसार कक्षा १०को परीक्षाको पहिलेजस्तो ठूलो महत्त्व छैन। कक्षा १२ को परीक्षालाई मात्र राष्ट्रिय बोर्डले लिने र कक्षा १० तथा ११ को परीक्षा प्रदेशलाई जिम्मा दिने गरी शिक्षा मन्त्रालयमा गृहकार्य भइरहेको अवस्था छ।

कोरोना महामारीका कारण गत साल चैतमा हुने भनिएको परीक्षा अचानक स्थगित भयो। लामो समयसम्म परीक्षा हुने र नहुने वा कहिले हुने भन्ने विषयले विद्यार्थी र अभिभावकलाई पिरोल्यो। अन्ततः अधिकांश विद्यालयमा क्वारेन्टिन रहेको र विद्यमान महामारीका बीच परीक्षा लिन नसकिने भन्दै विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले मान्यतादिने गरी परीक्षा खारेज भयो।

धेरै विद्यार्थीले यो समयमा अत्यधिक मेहनत गरेका थिए। खेर गयो भन्ने कुरा आएको छ। कतिपय कमजोर अवस्थाका विद्यार्थीलाई शिक्षकले प्रभावका आधारमा अंक दिएर असक्षम विद्यार्थी पनि माथिल्लो कक्षा जाने वातावरण बन्ने भयो भने गुणस्तर खस्कन्छ भन्ने पनि कुरा आएको छ। ‘यस्तै स्थिति आउने हो भने धेरैले पीएचडी गर्ने भए’ भनेर मजाक पनि गर्ने गरिएको छ।

यस्तो अवस्थामा विद्यार्थी, शिक्षक र अभिभावकले के बुझ्नुपर्‍यो भने यो निर्णय सहज परिस्थितिमा भएको होइन। विश्वका धेरै मुलुकमा नियमित परीक्षा खारेज गरिएका उदाहरण छन्। विद्यार्थीले एक वर्षसम्म पढेकै छन्। पाठ्यभार र पाठ्यक्रम पूरा गरेकै छन्। केही न केही कुरा जानेकै छन्। परीक्षाभन्दा महत्त्वपूर्ण कुरा कति जानेको वा बुझेको छ भन्ने हो। यस अर्थमा विद्यार्थीको असक्षमताका विषयमा धेरै शंका गर्नुपर्ने वा अत्तालिनुपर्ने स्थिति छैन।

अर्को कुरा, तीन घण्टे परीक्षाले नै सबै कुराको मापन गर्न सक्छ भन्ने होइन। हिजो परीक्षामा सफल भएका विद्यार्थी जिन्दगीमा असफल बनेका पनि छन्। परीक्षामा असफल भएकाहरू आज समाजमा आ–आफ्ना क्षेत्रमा सफल बनेर उदाहरणीय बनेका पनि छन्।

विद्यार्थीको मूल्यांकन गर्ने अधिकार शिक्षकलाई दिन सकियो भने तीनघण्टे परीक्षाभन्दा पनि स्वच्छ मूल्यांकन हुन सक्छ। शिक्षक र विद्यालयलाई विश्वास गर्नुको विकल्प छैन। कक्षा ११ को प्रवेश परीक्षामा पनि विद्यार्थीको अर्को चरणको मूल्यांकन हुने नै छ। त्यसबेला विद्यालयले निश्चित विषय पढ्न सक्षम विद्यार्थीमात्र छनोट गर्ने अवसर प्राप्त हुन्छ।

त्यसैले यो निर्णयबाट आत्तिनुपर्ने स्थिति छैन। जो विद्यार्थीले बन्दाबन्दीको समयमा अत्यधिक मेहनत गरेका थिए, त्यो कुरालाई शिक्षकले पक्कै मनन गर्नेछन्। नभए पनि आफूले जानेको कुरा खेर जाँदैन। फेरि आफूले पढेर जानेको कुरा परीक्षाका लागि मात्र पनि त होइन। पछि पनि काम आइहाल्छ।

जे भएको छ, साह्रै सकारात्मक भएको छ। तीन–चार वर्षअगाडि नै गर्नुपर्ने निर्णय कोरोना महामारीका कारण बल्ल भएको छ। यो स्वागतयोग्य छ। अब मूल्यांकन प्रक्रियालाई अझ व्यवस्थित बनाएर निरन्तर र वैज्ञानिक मूल्यांकन प्रक्रिया अवलम्बन गरी शिक्षकलाई नै जिम्मेवार बनाउन सकियो भने सबै विद्यार्थीलाई न्याय हुन्छ।

तपाईको कमेन्ट

मुख्य समाचार