लकडाउन खोलेर लयमा फर्किंदै छ संसार

writer

सम्पूर्ण

बिहिबार, २९ जेठ २०७७


विश्व अर्थतन्त्र धराशायी भएको छ। दशौँ करोड मानिसले रोजगारी गुमाएका छन्। त्यसैले कोरोना नियन्त्रणमा आए पनि वा नियन्त्रणबाहिरै भए पनि सरकारहरू लकडाउन खोल्न आतुर देखिन्छन्। राजनीतिक नेताहरू यस्तो निष्कर्षमा पुग्नुको अर्को कारण हो, व्यावसायिक समुदायले दिएको दबाब। 


‘देशमा कोरोना संक्रमित एक जना पनि छैनन् भन्ने खबर थाहा पाउँदा म नाचँे। मेरी सानी छोरी छक्क परी। ऊ पनि मसँग नाची।’ 

न्युजिल्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेनले सोमबार कोरोनामाथि विजय प्राप्त हुँदाको खुशी संसद्मा यसरी सुनाइन्।

सोमबार मध्यरातिदेखि न्युजिल्यान्डले लकडाउन पूर्ण रूपमा हटाएको छ। ४५ दिन लामो कडा लकडाउनमा बसेको यो मुलुकमा पछिल्ला दुई सातामा कोरोना भाइरस संक्रमणको नयाँ बिरामी देखिएका छैनन्।

लकडाउन हटेसँगै सामाजिक दूरी कायम गर्न लगाइएका सबै प्रतिबन्ध फुकुवा भएको छ। अब सार्वजनिक भेला, जमघटलगायत सबै कार्यक्रम गर्न पाइनेछ।देशको सीमा भने बन्द रहनेछ।कोरोना रोकथामका लागि लगाइएका अरू सबै निषेध हटेका छन्। 

न्युजिल्यान्डमा पहिलो पटक फेब्रुअरीमा कोरोना संक्रमण देखिएको थियो। त्यसयता १ हजार १ सय ५४ जना संक्रमित भएका थिए भने २२ जनाको ज्यान गएको थियो।

न्युजिल्यान्ड २५ मार्चमा पूर्ण लकडाउनमा गएको थियो। त्यसका लागि चार चरणको सतर्कता स्तर निर्धारण गरिएको थियो।जोखिम चौथो तहमा हुँदा प्रायः व्यवसाय, स्कुल बन्द थिए भने मानिसहरूलाई घरबाट ननिस्किन आदेश दिइएको थियो। करिब पाँच साता यस्तो अवस्थामा बसेपछि खतरा एक तह घटाइएको थियो, जसमा खाद्यसामग्री बिक्री गर्ने पसल र अत्यावश्यक बाहेकका सेवा सञ्चालन गर्न दिइएको थियो। संक्रमितको संख्या ओरालो लागेसँगै मे महिनाको मध्यमा खतराको स्तर दुईमा झारिएको थियो।सोमबारबाट यो स्तर एकमा झारिएसँगै सबै व्यवसाय खुलेका छन्।

जुन २२ मा मात्र लकडाउन हटाउने योजना बनाइएको थियो। तर, १७ दिनयता एक जना पनि संक्रमित फेला नपरेपछि निर्धारित समयभन्दा दुई साताअघि नै लकडाउन हटाइएको हो। अब सबै स्कुल, व्यवसाय र काम गर्ने स्थान खुला हुनेछन्। विवाह, अन्तिम संस्कार, सार्वजनिक यातायातमा कुनै प्रतिबन्ध छैन। सामाजिक दूरीका केही नियम पालना गर्न उत्प्रेरित गरिनेछ। विदेशबाट आएकालाई १४ दिनको क्वारेन्टिनमा राखिनेछ।

यससँगै सबैभन्दा पहिले लकडाउन पूर्ण रूपमा हटाउने केही देशमध्ये एक बनेको छ, न्युजिल्यान्ड।फेब्रुअरीमै भाइरस आइपुगेपनि त्यसलाई व्यवस्थित रूपमा नियन्त्रण गर्न सफल भएको भन्दै प्रधानमन्त्री आर्डेनको प्रशंसा हुने गरेको छ।

‘हामी पूरै सफल भइसकेका छैनौँ। तर, यो महŒवपूर्ण कोसेढुंगा हो भन्नेमा दुईमत छैन,’ आर्डेनले भनिन्, ‘हामीले अहिलेका लागि न्युजिल्यान्डमा कोरोना भाइरस सर्ने क्रमलाई समाप्त गरेका छौँ।’

ब्राजिल, बेलायत, भारत र अमेरिकाजस्ता ठूला अर्थतन्त्रमा कोरोनाको संक्रमण अझै फैलिरहेको बेला दक्षिणी प्रशान्त महासागरमा अवस्थित ५० लाख जनसंख्या भएको न्युजिल्यान्ड महामारी रोक्न सफल भएको छ।

७५ दिनको प्रतिबन्ध, झण्डै सात हप्ताको कडा लकडाउनपछि यस्तो सफलता हात लागेको हो। संक्रमित नहुँदा पनि यति लामो समय लकडाउन जारी राखेकोमा विपक्षीहरूले आर्डेनको आलोचना गरेका छन्।तर, आर्डेनले अझै होसियार रहनुपर्ने आवश्यकता भएको बताइरहेकी छन्। ‘यतिबेला हामीले होसियारीपूर्वक कदम चाल्नुपर्ने आवश्यकता छ,’ उनले भनिन्, ‘न्युजिल्यान्डले प्राप्त गरेको सफलतालाई बेकार तुल्याउन कोही पनि चाहँदैन।’

कोरोना भाइरस महामारी सुरु भएको चीनको वुहानमा ७६ दिनपछि लकडाउन खोलिएको थियो। महामारी नियन्त्रणमा आउँदै गरेका धेरै मुलुकले अहिले लकडाउन खुकुलो बनाउँदै गएका छन्। खासगरी, युरोपमा होसियारीपूर्वक लकडाउनका प्रतिबन्धहरू हटाइँदै छ। व्यवसाय चल्न थालेसँगै विद्यार्थीहरू स्कुल जान थालेका छन्।

जर्मनीले अप्रिलदेखि नै साना पसल खोल्न थालेको थियो। मे १६ देखि बिनादर्शक फुटबल खेलसमेत सुरु गरिएका छन्। अहिले ठूला भेला, पर्वलाई प्रतिबन्धित गरिएको छ। १५ मेदेखि अस्ट्रिया, फ्रान्स र स्विट्जरल्यान्डसँगको सीमामा पनि आवतजावत सुरु गरिएको छ।

कोरोना भाइरसबाट सबैभन्दा आक्रान्तमध्येको एक मुलुक इटालीमा पनि अन्तिम संस्कार र यात्रामाथिको प्रतिबन्ध हटेको छ।७ मार्चमा कडा लकडाउन सुरु गरेको इटलीमा १८ मेदेखि बार र रेस्टुरेन्ट खुलेका छन्। मे महिनाको अन्तिमबाट पर्यटकीय स्थलहरू खुला भएका छन् भने फुटबल २० जुनबाट सुरु हुँदैछ। इटालीमा स्कुल भने सेप्टेम्बरमा मात्रै खुल्नेछ।

त्यस्तै,१७ मार्चबाट कडा लकडाउन गरिएको फ्रान्सले पनि होसियारीपूर्वक खुकुलो गर्दैछ। पहिलो चरणको खुकुलो पार्ने क्रम मे दोस्रो सातामा सुरु भएको थियो भने जुन २ बाट दोस्रो चरण सुरु भयो। बार, रेस्टुरेन्ट, स्कुल, १० जनासम्मको भेला, समुद्री किनार खुला गरिएको छ। २२ जुनदेखि सिनेमा हल खुल्दैछन्।

स्पेनमा पनि ११ जुनबाट फुटबल सुरु हुँदैछ। परीक्षाका लागि स्कुलहरू २६ मेमै खुलेका थिए। तर, सेप्टेम्बरबाट मात्रै स्कुल पूर्ण रूपमा सञ्चालनमा आउनेछ। ३० प्रतिशत क्षमतामा सिनेमा, थिएटर र प्रदर्शनी सञ्चालन अनुमति दिइएको छ। १० जुनपछि रेस्टुरेन्टहरू पूर्ण क्षमतामा चल्न पाउनेछन्। १ जुलाईदेखि भित्रिने विदेशी पर्यटकले क्वारेन्टिनमा बस्नुपर्नेछैन।

उता रुसमा पनि मे १२ देखि लकडाउन खुकुलो पार्न थालिएको छ।स्विडेनमा भने लकडाउन नै गरिएन, जसका कारण सानो मुलुक भईकन पनि त्यहाँ चार हजारले ज्यान गुमाए।बेलायतले पनि जुन १ देखि नै लकडाउन खुकुलो पार्न सुरु गरेको छ।

संक्रमण बढ्दै, लकडाउन खुकुलो हुँदै
नेपाल र भारतमा लगभग सँगसँगै लकडाउन सुरु भएको थियो, जसले वुहानको लकडाउनलाई समेत उछिनिसकेको छ। तर, गएको करिब ८० दिनमा नेपाल र भारत दुवै देशमा भाइरस रोकिने कुनै छाँट देखिएको छैन। अझ संक्रमण दर र मृत्युदर बढिरहँदा लकडाउन खुकुलो हुँदै गएको छ।

भारतमा मृतक संख्या सात हजार नाघिसकेको छ। दैनिक संक्रमित १० हजार हाराहारीले बढिरहेका छन्। तर, सोमबारदेखि भारतमा व्यवसाय, मन्दिर आदि खुला गरिएको छ। सोमबार मात्रै ९ हजार ९ सय ८३ जना नयाँ संक्रमित थपिएका थिए। यसले सवा अर्ब जनसंख्या रहेको भारतमा विकराल परिस्थिति उत्पन्न हुनसक्ने जोखिम देखिएको छ।

अर्कातर्फ, ब्राजिल सबैभन्दा धेरै संक्रमित हुने दोस्रो मुलुक बनेको छ। दैनिक एक हजारको हाराहारीमा मानिसले ज्यान गुमाइरहेका छन्। तर, त्यहाँका राष्ट्रपति जायर बोल्सोनारोले विश्व स्वास्थ्य संगठनबाटै बाहिरिने चेतावनी दिइरहेका छन्। उनले लकडाउन उल्लंघन गर्न पनि आम नागरिकलाई उक्साइरहेका छन्।

छिटो लकडाउन हटाउँदाको जोखिम
विश्व अर्थतन्त्र धराशायी भएको छ। दशौँ करोड मानिसले रोजगारी गुमाएका छन्। त्यसैले कोरोना नियन्त्रणमा आएपनि वा नियन्त्रणबाहिरै भएपनि सरकारहरूलकडाउन खोल्न आतुर देखिन्छन्। राजनीतिक नेताहरू यस्तो निष्कर्षमा पुग्नुको अर्को कारण हो, व्यावसायिक समुदायले दिएको दबाब। संसारभरि नै व्यवसायीहरूले चाँडोभन्दा चाँडो लकडाउन खोल्न दबाब दिइरहेका छन्। अन्यथा, अर्थतन्त्र ध्वस्त हुनेलगायत चेतावनीका स्वर सुनिने गरेको छ।राज्यका निकायमा नाफामुखी पुँजीपतिहरूको प्रभावका कारण पनि यस्तो भइरहेको छ।

तर, वैज्ञानिकहरू समयअगावै लकडाउन खोल्दा त्यसको चर्को मूल्य मानिसले तिर्नुपर्ने चेतावनी दिइरहेका छन्। विश्व स्वास्थ्य संगठनले अप्रिल महिनामै चाँडो लकडाउन नखोल्न देशहरूलाई चेतावनी दिएको थियो। त्यसो गरे महामारीको दोस्रो लहर सुरु हुनसक्ने जोखिमप्रति उसले सचेत गराएको थियो।उसले भाइरसबाट नजर नहटाई लकडाउन बिस्तारै खुकुलो पार्न सुझाएको छ।

खासगरी, अहिलेसम्म कोरोना संक्रमणको खोप वा उपचारविधि पत्ता लागेको छैन। त्यसैले दोस्रो लहर सुरु भए यसलाई रोक्न उत्तिकै गाह्रो हुनेछ। त्यसैले भाइरस रोकिएपनि जनजीवन पूर्ववत् सञ्चालन गर्नु मूर्खता हुने जनस्वास्थ्य वैज्ञानिकहरूको मत छ।

दोस्रो लहरको तयारी
भाइरसलाई रोक्न खोप र उपचार दुवै नभएको अवस्थामा जनस्वास्थ्य विज्ञहरूले दोस्रो लहरका लागि तयार रहन आग्रह गरेका छन्।त्यसका लागि स्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना गरिनुपर्ने उनीहरूको भनाइ छ। व्यक्तिगत रूपमा खासगरी बाहिर निस्किँदा मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने कार्यलाई निरन्तरता दिनुपर्छ। राज्यका पक्षबाट अस्पतालको क्षमता वृद्धि गर्ने, स्रोतसाधनको जोहो गर्ने काम महŒवपूर्ण छ।

‘सामाजिक दूरी कायम गरेर कोरोना भाइरस समाप्त हुँदैन,जबसम्म खोप बन्दैन, तबसम्म भाइरस रहन्छ,’ जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर हेल्थ सेक्युरिटीका विज्ञ अमेश अदालिया भन्छन्, ‘अस्पतालको क्षमता विस्तार, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको पर्याप्त आपूर्ति सुनिश्चितता र परीक्षण किट तथा कन्ट्याक्ट ट्रेसिङको सुनिश्चितता गरेर हामी दोस्रो लहरका लागि तयार रहन सक्छौँ।’

त्यस्तै, इन्फ्लुएन्जाको खोप पनि सबैलाई पुग्नेगरी बनाउन जरुरी रहेको अदालिया बताउँछन्।‘किनभने, त्यसले अरू रुघाखोकीका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन दिँदैन,’ उनी भन्छन्।

यसका साथै कुनै क्षेत्रमा भाइरसको संक्रमण फैलिए त्यस क्षेत्रलाई अलग गर्ने, मानिसहरूलाई आइसोलेसन र क्वारेन्टिनमा राख्ने क्षमता पनि राज्यले विकास गर्नुपर्ने हुन्छ।

—एजेन्सीको सहयोगमा कवि आचार्य

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि