कतिञ्जेल देशलाई  घरभित्र थुन्ने ?

writer

सम्पूर्ण

शनिबार, ३१ जेठ २०७७


कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनलेसाढे दुई महिना नाघिसक्यो। अहिले लकडाउन बिस्तारै खुकुलो बन्दै गएको छ।सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपनि प्रारूप तयार हुन नसक्दा मानिसहरूआफैँघरबाट बाहिर निस्कन थालेका छन्।

कोरोना अब संसारको यथार्थ भइसक्यो। कोरोनासँगै जिउनु ‘न्यू नर्मल’लाई आत्मसात् गर्नु हो। लकडाउन खुकुलो वा समाप्तै भएपछि पनि व्यक्तिले केही अनुशासन र नियममा बस्नुपर्नेछ। अरूसँग भौतिक दूरी कायम गर्नु, मास्क लगाएर हिँड्नु र साबुनपानीले हात धुनु पालना गर्नुपर्ने केही मूल नियम हुन्।

यसपालिको अंकमा‘अन्नपूर्ण सम्पूर्ण’ले विभिन्न विज्ञ र विशेषज्ञसँग विविध विषयमा कुराकानी गरेको छ। लकडाउन कसरी खुकुलो बनाउने ?लकडाउन खुकुलिएपछि के गर्ने, के नगर्ने ?कहाँ चुक्यो सरकार ? आगामी दिनलाई कसरी सहज बनाउने ? सार्वजनिक यातायात कसरी सञ्चालन गर्ने ? आदि विषयमा विज्ञहरूले आफ्ना धारणा राखेका छन्।

प्रस्तुतिः सृजना खड्का/सुमित सुवेदी


‘जीवनशैली परिवर्तन गरेर कोरोनासँग बाँच्न सिक्नुपर्छ’

डा.शरद वन्त, जनस्वास्थ्यविज्ञ

अबको दिनमा हामीले दैनिक जीवनमा व्यक्तिगत ढंगबाट परिवर्तन ल्याउनुपर्छ। कोरोनासँग सुरक्षित भएर जिउनुपर्छ। अहिलेको विज्ञानले संक्रमणबाट बच्नका लागि जेजस्ता कुरा पत्ता लगाएको छ, हामीले तिनै उपाय प्रयोग गर्ने हो।

भविष्यमा सम्भव होला, तर अहिलेसम्म कोरोनाको खोप छैन। उपचार गर्नका लागि निश्चित औषधि पनि छैन। यसबाट बच्नु भनेकै संक्रमणका सम्भावनालाई न्यूनीकरण गर्नु हो।

व्यक्तिगत सरसफाइमा ध्यान दिने, मास्क लगाउने, भीडभाडबाट टाढा रहनेजस्ता कुरा व्यक्तिगत तहबाट गर्ने कुरा हुन्। व्यक्तिगत तहको प्रयाससँगै सामूहिक र सरकारी स्तरको जिम्मेवारी पनि यसमा जरुरी हुन्छ, हुनुपर्छ। हामीले व्यक्तिगत रूपमा कोरोना मात्र होइन, थुप्रै रोगबाट बच्ने प्रयास गर्नुपर्छ। हामीले डेंगूको प्रकोप झेल्यौँ। तर, कोरोनाबाट बचेर डेंगूलाई बेवास्ता गर्न मिल्दैन। अहिले पनि लामखुट्टेबाट हामी जोगिन कोसिस गर्छौं, झुल हाल्छौँ। त्यो भनेको हामीले डेंगूसँग बाँच्न सिकेका हौँ। त्यस्तै कोरोनासँग पनि हामीले आफ्नो जीवनशैलीलाई परिवर्तन गरेर बाँच्न सिक्नुपर्छ।

भोलि कोरोना नियन्त्रण गर्ने कुनै प्रविधि आयो भने पनि त्यही प्रविधिका भरमा बाँचेर हुँदैन। हामीले व्यक्तिगत सतर्कता सधैँ अपनाउनुपर्छ। एक हिसाबले यो महामारी हाम्रा लागि अवसर पनि हो। हामीले हात धुने विषयमा कुरा गर्न थालेको तीन दशकभन्दा बढी भयो। यससम्बन्धी ठूलठूला प्रोजेक्ट सञ्चालन भएका छन्। हात धोएरै मात्र हामीले थुप्रै रोगको रोकथाम गर्न सक्छौँ भन्ने धेरैलाई थाहा थियो। तर, व्यवहारमा ल्याउन धेरै गाह्रो भएको थियो। तर, कोरोनाको प्रकोपपछि जुन सतर्कताका साथ यो अभ्यास गरिरहेका छौँ, यो कोरोना–कालले दिलाएको उपलब्धि हो। मास्क प्रयोग गर्नुपर्छ भन्ने कुरा पनि हामीले पहिल्यैदेखि सुन्दै आएका थियौँ। मास्कबाट हामी अरू खालका संक्रमणबाट पनि बच्न सक्छाँै भन्न थाहा थियो। पहिला थाहा थियो, अहिले हामीले त्यसलाई व्यवहारमा लागू गर्न थालेका छौँ।

सन् १९८० को दशकमा एचआईभी विश्वव्यापी प्रकोपका रूपमा आयो। अहिले हामीले एचआईभीविरुद्ध बाँच्न जानिसकेका छौँ। आजसम्म पनि एचआईभीको खोप बन्न सकेको छैन। आजसम्म पनि हजारौँको संख्यामा एचआईभी संक्रमित छन्। तर, यसलाई हामीले नियन्त्रणमा राखेका छौँ। आज पनि थुप्रै रोगविरुद्ध हामी लडिरहेका छौँ। औषधि र खोप हुँदाहुँदै पनि हामीले विभिन्न रोगबाट हजारौँलाई गुमाइरहेका छौँ। कोरोनाको खोप बन्ला भनेर आशा गरौँ, तर विश्वस्त हुने आधार हामीसँग छैन। हामीले यसलाई आफ्नै जीवनशैलीबाट पराजित गर्ने हो। जसरी कोरोना पृथ्वीमा आयो, त्यस्तै अरू किसिमका जीवाणुहरू पनि आउन सक्छन्। यस्तो कुरामा हामीले अहिलेदेखि नै तयार हुनुपर्छ। प्रकृतिले हामीलाई सचेत हुन सन्देश दिएको छ। हिजोका दिनमा सार्स, मर्स र इबोलाजस्ता संक्रमणले पनि धेरै देशलाई प्रभाव पारेको थियो। तर, पनि विश्व त्यसबाट प्रभावित भएन। अहिलेको कारोना पनि विश्वव्यापी समस्या भएकाले योसँग जुध्न विश्वव्यापी सहकार्य गर्नुपर्छ। यो एउटा देश, जातिको समस्या होइन, व्यक्तिगतदेखि विश्वव्यापी तहसम्मको समस्या हो।


‘कडिकडाउले अब काम चल्दैन’

डा. समीरमणि दीक्षित, जनस्वास्थ्य वैज्ञानिक

अहिलेको अवस्थामा लकडाउन खुकुलो बनाउनु भनेको एकदमै महत्त्वपूर्ण कदम हो। राज्यले अब लकडाउन खुकुलो बनाउनुपर्छ। कडिकडाउले अब काम चल्दैन। अहिले धेरैलाई लकडाउन खुलाउनु र खुकुलो बनाउनुबीचको फरक थाहा छैन। लकडाउन खुकुलो बनाउनु भनेको लकडाउन खोल्नु होइन। तर, अब पनि लकडाउनलाई निरन्तरता दिइराखियो भने कोभिडभन्दा बढी अन्य समस्याले पिरोल्न थाल्छन्।

जसरी हामीले कुनै बाँधमा जम्मा भएको पानीलाई थोरै–थोरै गरेर बाहिर निस्किन्छ दिन्छाँै, त्यसरी नै लकडाउनलाई पनि बिस्तारै–बिस्तारै खोल्दै जानुपर्छ। एकैचोटि खोल्दा त्यसले क्षति पुर्‍याउने भएपनि थोरै–थोरै गरेर खोल्दा त्यसले असर गर्दैन। जसरी बिस्तारै बाँध खोल्दा पछि एकैचोटि भल आउँदैन।

मानिसको स्वभाव विरोध गर्ने खालको हुन्छ। त्यसैले सधैँ कडिकडाउ मात्रै गरेर उनीहरूको जीविका चल्दैन। केही पनि गर्न नपाउनुभन्दा ‘हिँड्न पाउनुहुन्छ, तर मास्क लगाएर हिँड्नुस्’ भन्यो भने मानिस खुशी हुन्छन्। त्यस्तै, मोटरसाइकलमा हिँड्न पाइँदैन भन्नुभन्दा एकजना मात्र हिँड्न पाइन्छ भनियो भने मानिस सुरक्षित भएर हिँड्छन्। लकडाउन अहिले कहाँ बढी महत्त्वपूर्ण छ भनेर सोच्नुपर्छ। जहाँ संक्रमित र क्वारेन्टिन बढी छन्, त्यहाँ लकडाउन गर्नुपर्छ। आयातीत संक्रमण नहुने ठाउँमा लकडाउन गरिरहनुपर्दैन।

अब संक्रमणको जोखिम कम भएका ठाउँमा बिस्तारै अत्यावश्यकबाहेक अन्य सेवाहरू पनि खोल्दै जानुपर्छ। यो समग्रलाई केही नहुने रोग हो। तर, हामी चाहिनेभन्दा बढी आत्तिरहेका छौँ।

अहिले आत्महत्या २० प्रतिशतले बढेको छ। मातृ मृत्युदर दुई सय प्रतिशतले बढेको छ। सर्ने कोरोनाभन्दा नसर्ने रोगले मानिस धेरै मर्न थालेका छन्। अहिले कोरोनाले हाम्रोमा १५ जनाको मृत्यु भएको छ। उनीहरूलाई बचाउने हो कि त्योभन्दा लाखौँको संख्यालाई बचाउने हो, निर्णय गर्नुपर्छ। जम्मा पाँच प्रतिशतलाई मात्र केही हुने देखिएको छ। यसकारण पाँच प्रतिशतको नाममा ९५ प्रतिशतलाई मार्नु भएन। यसका लागि लकडाउन खुकुलो पार्नुबाहेक हामीसँग अर्को उपाय छैन। जोखिम समूहलाई एकठाउँमा राखेर लकडाउन खुकुलो पार्नैपर्छ।

चरणबद्ध हिसाबले हप्तैपिच्छे योजनाहरू परिवर्तन गर्दै पसल, कार्यस्थल गर्दै सबै सेवा खोल्दै जानुपर्छ। यस संक्रमणलाई हामी न हराउन सक्छाँै, न यसबाट लुक्न सक्छाँै। योसँगै सहयात्रा गर्नु र मास्क, व्यक्तिगत दूरी र सरसफाइमा ध्यान दिनुबाहेक हामीसँग अर्को उपाय छैन।

लकडाउन खुकुलो भएपछि केही नियम अवश्य अपनाउनुपर्छ। अनावश्यक भीडभाड नगरौँ। आफू जे कामका लागि गएको हो, त्यो काम सकेर फर्किऔँ। अनावश्यक गफ गरेर नबसौँ। अहिले हामी असामान्य परिस्थितिमा छौँ। राज्यसँगै यसको रोकथामका लागि हाम्रो भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।


‘यत्रतत्र, सर्वत्र चुक्यो सरकार’

डा. गंगालाल तुलाधर, विपत् व्यवस्थापनविज्ञ

कोरोनाले विश्वको दुई सयभन्दा बढी देशलाई आक्रान्त तुल्याएको छ। विश्वका १ सय ८८ भन्दा बढी देशका ७० लाखभन्दा बढी मानिस संक्रमित छन् भने चार लाखभन्दा बढीले ज्यान गुमाइसके।

नेपाल पनि कोरोनाबाट प्रभावित छ। सरकार धेरै ठाउँमा नराम्रोसँग चुकेको छ। सरकारलाई तीन महिनाअगाडि नै यो अवस्था आउँछ भनेर थाहा थियो। तर, उसले हामीलाई थाहा भएन भनेर बहानाबाजी गर्‍यो। त्यो बेलामा सरकार ‘नेपाल कोरोना भाइरसले नछुने देश हो’ भनेर बस्यो। पूर्वतयारीमा जुट्न आवश्यक देखेन। पछि अरूको अनुसरण गर्दै लकडाउनको घोषणा गरियो। सरकारले कहिल्यै आफ्नै विशिष्टतामा काम गरेन। जे कुरा पनि अरूको कपी र पेस्ट गर्ने काम मात्र भयो।

भक्तपुर, खरीपाटीको क्वारेन्टिनलाई सबैले वाहवाही गरे। त्यस वाहवाहीका लागि सरकारले पाँच करोड रुपैयाँ खर्च गर्‍यो। तर, अहिले बनेका ३५ हजारभन्दा बढीको संख्यामा भएका क्वारेन्टिनमा न्यूनतम कुरामा पनि ध्यान दिइएको छैन। अहिले भएका क्वारेन्टिनलाई त भैँसीको गोठ र बाख्राको खोर पनि भन्न मिल्दैन।

मान्छेलाई मानवीय व्यवहार नगरेपछि उनीहरूले विद्रोह गर्न थाले। क्वारेन्टिनमा मानिस मर्न थालेपछि अरू त्यहाँबाट भाग्न थाले। मानिस मरेपछि कोरोनाको नतिजा आउन थाल्यो। धेरैको परिवारले मेरो मान्छे के कारणले मरेको हो, भन्न पाएनन्। कतिपय मृतकलाई घाटमा लगरे दाहसंस्कार गरेपछि मात्रै आफन्तले कोरोना लागेको हो भनेर थाहा पाए। यो कुरा थाहा पाउन सरकारले १० अर्ब खर्च गर्‍यो। १० अर्बको परिणाम यही हो त ?

विकसित देशले रोजगारी गुमाएकालाई विभिन्न प्याकेज दिइरहेका छन्। तर, यहाँ सरकारी राहत पाउनु पर्नेले पनि पाएनन्। केन्द्रीय, प्रदेश र स्थानीय सबै सरकारको हबिगत हामीले यो बेलामा देख्यौँ। यस्तो अवस्थामा उनीहरू सबैले अहिले हात उठाउन थालेका छन्। स्थानीय सरकार ‘केन्द्र र प्रदेशले दिएनन्, हामीसँग स्रोतसाधन छैन’ भन्ने। उता प्रदेश सरकार ‘हामीले दिएको स्रोतसाधनको उचित ढंगले प्रयोग भएन’ भन्ने। अनि केन्द्रीय सरकार चाहिँ ‘हामीले दिनसम्म दिएका छौँ’ भन्ने।

लोकतन्त्रमा जनताले अभिभावकविहीन महसुस गर्नुपर्दैन भनिन्छ। हाम्रो संविधानमा मौलिक अधिकार, राज्यको नीति र सिद्धान्तले त्यही कुरा भनेका छन्। तर, यस अवस्थामा जनताले अभिभावकविहीन अनुभव गर्नुपरेको छ। सरकारको पैसामा जनप्रतिनिधिले भ्रष्टाचार गरिरहेका छन्। यस्तो बेलामा त भ्रष्टाचार गर्नेले अरू बेलामा के गर्लान् भनेर जनताको जनप्रतिनिधिप्रतिको विश्वास गुम भएको छ। उनीहरूलाई लकडाउन खुलेपछि जनताको ढोकामा कुन मुख लिएर उभिने भन्नेकुराको थोरै पनि चिन्ता छैन।


‘भारतबाट फर्किनेलाई व्यवस्थापन गरे संक्रमण कम फैलिन्छ’

डा.शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

कोरोना संक्रमणले कुन हदसम्मको रूप लिन्छ भन्ने कुरा अबका घटनाक्रम, भारतबाट आउने मानिसको व्यवस्थापन, परीक्षणको दायराजस्ता पक्षले निक्र्योल गर्छन्। तर, संक्रमणको संख्या बढ्छ नै। संक्रमितको संख्या बढ्दै जाँदा त्यसको अनुपातमा मृत्यु पनि नहोला भन्न सकिँदैन। तर, यति पुग्छन् भनेर अनुमान लगाउन सक्ने अवस्था छैन।

कोरोना संक्रमण ‘पिक’मा पुगेर बिस्तारै तल झर्छ। भारतबाट मानिस आउने क्रम जारी नै छ। त्यसलाई राम्रोसँग व्यवथित गर्न सकियो भने हामीले सोचेभन्दा कम संक्रमण फैलिन्छ। त्यस्तै टेस्टिङको दायरा कति बढ्छ, त्यसले पनि कोरोना संक्रमणको रूप निर्धारण गर्छ। सरकारले कति प्रतिशत जनताको परीक्षण गर्छ, त्यसको आधारमा मात्र आगामी दिनमा कोरोना फैलिने तीव्रता कस्तो हुन्छ भनेर भन्न सकिन्छ। अहिलेको तथ्यांकलाई आधार मानेर हेर्दा १५ प्रतिशत केस ‘क्रिटिकल स्टेज’मा जालान् भनेर अनुमान गर्न सकिन्छ।

नेपालको परिवेशमा कोरोना संक्रमणको अवस्था निकै भिन्न छ। लगभग कसैलाई लक्षण देखिएको छैन। अनुहार हेर्दा सबैजना खुशी छन्। मस्त भएर हिँडेका छन्। उनीहरूलाई तानेर टेस्ट नगरेसम्म संक्रमित भेटाइँदैन। अहिले कोरोनाका बिरामीहरू आरामसँग बसिरहेका छन्। नेपालमा कोरोनाको बिरामी खोज्न अरू देशमा भन्दा बढी मेहनत गर्नुपर्ने देखिएको छ।

कोरोनाबाट बच्ने उपाय भनेको भौतिक दूरी कायम गर्नु नै हो। साबुन–पानीले समयसमयमा हात धुन पनि भनिएकै छ। भखरै डब्लूएचओले मास्क अनिवार्य लगाउनुपर्छ भनेको छ। यी तीन वटा कुरामा मुख्य ध्यान दियो भने कोरोनाबाट बच्ने सम्भावना धेरै हुन्छ। किनभने, भियतनाम, कोरिया, जापान, ताइवानजस्ता देशले यसरी नै नियन्त्रण गरेका छन्। उनीहरूले पालना गरेका स–साना नियम निकै किफायती साबित भएका छन्। त्यसैले हामीले पनि यी कुरामा ध्यान दिए आफू र आफ्नो परिवारलाई बचाउन सकिन्छ।


‘आईसीयू र भेन्टिलेर चाहिनेलाई मात्र अस्पतालमा राखिनेछ’

डा. खेम कार्की, विज्ञ सल्लाहकार,स्वास्थ्य मन्त्रालय

आजभन्दा दुई महिनाअघि हामीले ‘नेसनल रेस्पोन्स प्लानिङ’ बनाएका थियौँ। त्यसमा स्पष्ट रूपमा ‘दुई हजारभन्दा बढी केस आइसकेपछि लक्षण नदेखिएका व्यक्तिलाई अस्पतालमा राखेर उपचार गर्नु हुँदैन’ भनेर लेखिएको छ। हामीले जनसमुदायलाई विज्ञान बुझाउन नसकेको हुनाले धेरै समस्या देखिएका छन्। सय जनामा कोरोना संक्रमण भयो भने ८० जना संक्रमितमा लक्षण देखिँदैन। २० जना संक्रमितलाई मात्र लक्षण देखिन थाल्छ। तीमध्ये पाँच जनालाई सघन (क्रिटिकल) सेवा नै दिनुपर्ने हुन्छ। यो हालसम्मको कोरोनाको विज्ञान हो। यसको अर्थ तीन हजार मानिस संक्रमित भए भने त्यसको ८० प्रतिशतलाई लक्षण देखिँदैन। दुई–तीन हजार संक्रमितको संख्या पुगेपछि पाँच हजार पुग्न समय लाग्दैन। यी यावत् कुरालाई मध्यनजर गर्दै हामीले यो योजना बनाएका हौँ।

जसलाई लक्षण चिह्न छैन, जो सामान्य छन्, उनीहरूलाई अस्पतालमा राख्नुभन्दा घरमा वा आइसोलेसन सेन्टरमा राख्नु राम्रो हुन्छ। किनभने, उनीहरूलाई न औषधि चाहिन्छ, न उपचार। अस्पताल लगेपछि मानसिक तनावले गर्दा बिरामी नभएको मान्छे पनि बिरामी हुन्छ। अब प्रश्न उठ्न सक्छ, त्यस्तो हो भने अहिलेसम्म किन अस्पतालमा राखियो त ? हाम्रो रणनीति युरोप र अमेरिकाको भन्दा भिन्न छ। हाम्रोजस्तो समुदायमा क्वारेन्टिनको अनुशासनलाई पालना गर्दैनन्। त्यसैले सार्न सक्ने सम्भावना अन्य देशको भन्दा उच्च छ। त्यसैले अहिले चेतना अभिवृद्धिमा सहयोग होस्, रोग नियन्त्रण होस्,स्वास्थ्यकर्मीलाई संक्रमितहरूसँग कसरी डिल गर्ने भन्ने कुराको तालिम होस् भनेर अस्पतालमा राखिएको हो।

केस बढ्दै जाँदा संक्रमणको लक्षण नभएकालाई अस्पतालको बेडले धान्न सक्दैन। त्यसैले घरमा आइसोलेसनमा रहन सकिन्छ भने घरमै बस्न हामी सल्लाह दिन्छाँे। तर, नेपालको परिवेशमा धेरैको घरमा बस्ने वातावरण नहुन सक्छ। त्यस्तो परिस्थितिमा हामी कम्युनिटी आइसोलेसन सेन्टरहरू बनाएर राख्ने व्यवस्था गर्दैछौँ। अब आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्ने संक्रमितलाई मात्र अस्पतालमा राखिनेछ।


‘कन्ट्याक्ट ट्रेसिङमा ढिलाइ हुनु हुँदैन’

डा. अनूप सुवेदी, सरुवा रोग विशेषज्ञ

पछिल्लो परिस्थितिलाई हेर्दा पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहेको छ। कतिपयको दाहसंस्कार गरिसकेपछि रिपोर्ट पोजिटिभ आएको पनि सुनियो। रिपोर्ट ढिला आउँदा त्यसले कन्ट्याक्ट ट्रेसिङमा असर गर्छ। दुई–चार दिन ट्रेसिङमा ढिलाइ हुनेबित्तिकै महामारी भयावह रूपले फैलिन्छ। त्यसैले जतिसक्दो छिटो रिपोर्ट निकालेर कन्ट्याक्ट ट्रेसिङको व्यवस्था गर्नुपर्छ। हामीसँग ट्रेसिङका लागि जनशक्ति निकै कम छ। त्यसैले विभिन्न तहका मानिसलाई तालिम दिएर यसका लागि तयार बनाउनुपर्छ। त्यसपछि उनीहरूलाई क्वारेन्टिन वा आइसोलेसनमा राख्नुपर्छ। अरू देशका अनुभवबाट पनि हामीले सिक्ने कुरा यिनै हुन्। हामी टेस्ट किट आफैँ उत्पादन गर्न सक्दैनौँ। धेरै देश कन्ट्याक्ट ट्रेसिङ गरेर नै कोरोना नियन्त्रण गर्न सफल भएका छन्। त्यसैले यसलाई चुस्तदुरुस्त बनाइयो भने महामारी नियन्त्रण गर्न सकिन्छ।

त्यस्तै, भारतबाट आएका नेपालीको संख्या धेरै भएकाले क्वारेन्टिनको अवस्था भद्रगोल छ। त्यसका लागि पनि बलियो योजना बनाउनुपर्छ। कसलाई अस्पताल लैजाने, कसलाई क्वारेन्टिनमा राख्ने, पहिला त्यो छुट्याउन सक्नुपर्छ। सकिन्छ भने क्वारेन्टिनमै पीसीआर परीक्षणको व्यवस्था गर्नुपर्छ। सीमामा होल्डिङ क्वारेन्टिन बनाउनुपर्छ। सुरुमा आउनेलाई त्यही क्वारेन्टिनमा राख्नुपर्छ। उनीहरूको पनि स्वास्थ्य र पीसीआर परीक्षण दुवै गर्नुपर्छ। परीक्षण गर्दा अस्पताल लैजानुपर्ने देखियो भने लैजानुपर्छ। पीसीआर रिपोर्ट नेगेटिभ आयो भने क्वारेन्टिनमा पठाउने व्यवस्था गर्नुपर्छ। नेगेटिभ रिपोर्ट आएका व्यक्ति मात्र रहने क्वारेन्टिनभित्र एउटाले अर्कोलाई संक्रमण सार्ने खतरा हुँदैन। अनि क्वारेन्टिनबाट भाग्ने सम्भावना पनि कम हुन्छ। उनीहरू डराउँदा पनि डराउँदैनन्। र, चेकजाँच गर्न आउने स्वास्थ्यकर्मी पनि डराउँदैनन्। यसरी क्वारेन्टिन व्यवस्थित गर्न पनि सजिलो हुन्छ।

त्यस्तै,एयरपोर्टबाट आएका नेपालीलाई पनि यस्तै किसिमको व्यवस्था गर्नुपर्छ। उनीहरूलाई कहिलेसम्म क्वारेन्टिनमा राख्ने, कसलाई घर पठाउने, सबै कुरा योजना बनाएर अघि बढ्नुपर्छ।


‘आधा खाली राखेर बस गुडाउन कठिन छ’

रवि रिमाल, उपमहासचिव, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार अहिले नेपालमा तीन लाख यात्रुवाहक र ६० हजार मालवाहक सवारीसाधन छन्। नेपालको सार्वजनिक यातायात क्षेत्रमा अनुमानित १० खर्ब रुपैयाँको लगानी छ। देशमा रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रमध्ये एक सार्वजनिक यातायात हो। यसबाट लगभग १० लाख श्रमिकले रोजगारी पाइरहेका छन्।

अहिले हाम्रा सवारीसाधन थन्केको लगभग तीन महिना भयो। तर, राज्यले सार्वजनिक यातायातको क्षेत्रलाई सम्बोधन गरेको छैन। बजेटले पनि हामीलाई ललिपप मात्र देखाएको छ। हाम्रो आम्दानी गुमेको तीन महिना भएपनि बैंकमा ब्याजको चक्र बढेको बढ्यै छ।

लकडाउन हटेपछि पनि जनमानसमा संक्रमणको त्रास कायमै हुन्छ। लकडाउनमै पनि कतिपय शैक्षिक संस्थाले अनलाइन कक्षा चलाएका छन्। घरबाटै काम गर्ने र भिडियो कन्फरेन्स गर्नेहरू बढेका छन्। धेरै मानिस संक्रमणको जोखिमका कारण अत्यावश्यक नपरीकन सार्वजनिक यातायात प्रयोग गर्दैनन्। सामाजिक दूरी कायम गरेर गाडी चलाउँदा ३० सिटको गाडीमा १५ जना बोकेर गुड्नुपर्छ। आधा सिटमा यात्रु बोकेर हिँड्दा हामी खर्च पनि धान्न सक्दैनौँ।

तीन महिनादेखि थन्किएका गाडीलाई सडकमा निकाल्न कम्तीमा एक लाख रुपैयाँ खर्च लाग्छ। लामो समय हाम्रा सवारी ग्यारेजमा थन्किएका छन्। अधिकांश सवारीको ब्याट्री काम नलाग्ने भएका छन्। लामो समयदेखि गाडीहरूस्टार्ट नभएकाले मोबिल, फिल्टर, गियर आयल, ब्रेक लेदर फेर्नुपर्ने, हब ग्रिजिङ गर्नुपर्ने, टायरहरूको अवस्था सुधार गर्नुपर्ने देखिन्छ।सवारी साधनको फिट्नेस कायम गर्न फुल सर्भिसिङ नगरी हुँदैन। फुल सर्भिसिङ नगरी गाडी सञ्चालनमा ल्याउन मिल्दैन।

आम्दानी गर्ने सवारी साधन लामो समयदेखि थन्किएकाले व्यवसायीको आम्दानी गुमेको छ। चैत महिनादेखिबैंकको किस्ता रोकिएको छ। लकडाउन खुलेपछि रोकिएको बैंक तथा वित्तीय संस्थाको किस्ता एकैपटक तिर्न सकिँदैन। त्यसैले चैतदेखिको किस्ता स्थगन गरी लकडाउन खुलेको केही महिनापछि स्थगन फुकुवा गरी किस्ता सुरु हुने व्यवस्था मिलाउनुपर्छ। होइन भने हामीले सवारी साधनको साँचो बैंक तथा वित्तीय संस्थालाई बुझाउन बाध्य हुनुपर्छ।

सार्वजनिक यातायात क्षेत्रले अन्य क्षेत्रको भन्दा धेरै पूर्वतयारी र सावधानी अपनाउनुपर्ने हुन्छ। सरकारले सार्वजनिक सवारी साधन संक्रमणरहित गराउने व्यवस्था गरिदिनुपर्छ। हरेक यातायातका साधनलाई सरसफाइका साथै नियमित ‘डिस्इन्फेक्ट’ गर्नुपर्छ। त्यसका लागि आवश्यक पर्र्ने केमिकल र प्रविधिको व्यवस्था सरकारले गरिदिनुपर्छ।त्यस्तै, चालक, सहचालक तथा अन्य कर्मचारीको स्वास्थ्य बिमा गरिनुका साथै पीपीई लगायतको स्वास्थ्य सामाग्रीको व्यवस्था पनि हुनुपर्छ। एकचोटि प्रयोग गर्नेपीपीईको तीनचार हजार रुपैयाँ पर्छ। व्यवसायीले आफ्ना हरेक कर्मचारीलाई त्यो पुर्‍याउन सक्दैन। पाँच सय एमएलको स्यानिटाइजरको पाँच सय रुपैयाँपर्छ। एउटा सार्वजनिक सवारीमा एक दिनमा कति स्यानिटाइजर चाहिन्छ ?यस्ता आवश्यकता हामीले पूरा गर्न सक्दैनौँ। सरकारले सहयोग गर्नुपर्छ।


‘साइकलको सुदिन आउने संकेत छ’

रत्न श्रेष्ठ, अध्यक्ष, नेपाल साइकल सोसाइटी

कोरोनाबाट बच्न साइकलजस्तो भरपर्दो अरू कुनै साधन हुन सक्दैन। लकडाउन भएपछि सडकमा मानिसहरूको आवतजावत घटेको छ, जसले गर्दा वातावरण निकै स्वच्छ र सफा भएको छ। लकडाउन खुल्नेबित्तिकै सडकमा मानिसहरू ह्वातै बढ्छन्। तर, सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्न सकिँदैन। संक्रमण फैलिने सम्भावना झनै बढेर जान्छ। त्यस्तो अवस्थामा भाइरसको अर्को तरंग नआउला भन्न सकिँदैन। सार्वजनिक यातायातले धेरै समस्या ल्याउन सक्छ। यो कुरा बुझेका मान्छेले अब निजी गाडीको विकल्प खोज्न थाल्छन्। सबैले प्राइभेट साधन चलाउन थाले भने एक त फेरि ट्राफिक जाम सुरु हुन्छ। अर्को, लकडाउनले स्वच्छ बनाएको वातावरण फेरि प्रदूषित हुन थाल्छ। यसर्थ सार्वजनिक यातायात सुरक्षाको दृष्टिकोणले कमजोर हुन्छ भने वातावरणीय दृष्टिकोणले प्राइभेट यातायताको साधन असुरक्षित हुन्छ। यस्तो अवस्थामा दुवै तरिकाले सुरक्षित रहेको एउटा मात्र साधन हो, साइकल।

साइकलमा सामाजिक दूरी कायम गर्न सकिन्छ। वातावरण प्रदूषणका दृटिकोणले पनि साइकल सुरक्षित साधन हो। कोरोनाको संकट अझै लामो समय लम्बिने देखिएको छ। यस्तो अवस्थामा लकडाउन गरी सधैँभरि मान्छेहरूलाई घरभित्रै राखेर हुँदैन। त्यस्तै, स्वच्छ भएको हावालाई बिग्रिन दिनु पनि हुँदैन। यसका लागि हामीले प्रयोग गर्ने साधन भनेकै साइकल हो। कोरोनाबाट बच्न स्वस्थ जीवनशैली अपनाउनु उत्तिकै जरुरी हुन्छ। साइकलले स्वस्थ जीवनजिउन मद्दत गर्छ। छोटो दूरीको यात्राका लागिसाइकल प्रयोग गर्दा निकै लाभदायी हुने देखिन्छ।

अहिले विकसित धेरै देशमा साइकललाई प्रवद्र्धन गर्न थुप्रै लगानी भइरहेका छन्। बेलायत, फ्रान्सलगायत देशले साइकल लेन तथा अन्य पूर्वाधारका लागि ठूलो रकम खर्च गरिरहेका छन्। साइकल मर्मत गर्नुपर्‍यो सरकारले पैसा दिने व्यवस्था पनि छ। साइकल चलाउने तालिमको खर्च पनि सरकारले नै बेहोर्छ। त्यस्तै, बेल्जियममा पनि साइकल प्रवद्र्धनका थुप्रै कार्यक्रम छन्। यसरी विकसित मुलुक पुनः साइकलमा फर्किने कोसिस गरिरहेको बेला हामीले पनि साइकलतर्फ कदम अगाडि बढाउनुपर्छ।


‘डिपार्टमेन्ट स्टोरभन्दा साना पसल सुरक्षित हुन्छन्’

डा.बाबुराम मरासिनी, पूर्वनिर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

आर्थिक समस्या पर्‍यो भने मानिसले नियमको पालना गर्दैनन्। यहाँको मात्रै होइन, यो संसारभरिकै नियम हो। खानै भएन भने हात धुनका लागि साबुन र मुख छोप्नका लागि मास्क किन्नु त झन् टाढाको कुरा हो। अबको दिनमा लकडाउन गरेर हुँदैन। हाम्रो जस्तो देशमा जे कुरा किन्नका लागि पनि डिपार्टमेन्ट स्टोर जानुपर्ने अवस्था छैन। गल्ली–गल्लीमा स–साना पसल छन्। ती पूर्णतया सुरक्षित पसल हुन्। हाम्रोमा धेरैजसो फेमिली बिजनेस हुने भएकाले आफ्नै घरमा पसल चलेको हुन्छ। त्यस्ता ठाउँमा उनीहरूले पूर्णतया सतर्क भएर कारोबार गरिरहेका हुन्छन्। त्यहाँ भीडमा लाइन लागेर सामान किन्नुपर्ने अवस्था पनि हुँदैन। तर, यहाँ सानो पसललाई बन्द गर्न लगाइयो र ठूलो डिपार्टमेन्ट स्टोरलाई खुल्न दिइयो। यो गल्ती हो।

त्यस्तै, दुर्गम क्षेत्रका स्कुलमा विद्यार्थी नै छैनन्। विद्यार्थीभन्दा बढी शिक्षक भएका स्कुल बन्द गरेर कामै छैन। १० कक्षासम्म सय जना विद्यार्थी भएका स्कुल खोल्नलाई केही समस्या हुँदैन। व्यवहारमा परिवर्तन गर्नुपर्ने केही कुराको जानकारी दिएर मज्जाले स्कुल चलाउन सकिन्छ। धेरै विद्यार्थी भएको ठाउँमा सिफ्ट छुट्याएर पढाउन सकिन्छ। प्रत्येक समूहलाई हप्तामा तीन–तीन दिनको हिसाबले कक्षा सञ्चालन गर्न सकिन्छ। लाखौँ विद्यार्थीलाई घरमा राख्दा उनीहरू मानसिक तनावबाट गुज्रिन सक्छन्। एकचोटि मानसिक समस्या देखापरेपछि निको हुन गाह्रो हुन्छ।

एमबीबीएस, नर्सिङ, डेन्टल पढ्ने विद्यार्थीलाई अहिले पढाइबाट किन रोकेको ? मेडिकल पढेका विद्यार्थीले आफ्नो ज्यान आफैँ जोगाउन सक्दैनन् भने उनीहरूले पढेको के काम ? उनीहरूलाई सामान्य वरियन्टेसन गरेर कक्षा सुरु गरे हुन्छ। यस्ता विद्यार्थीको धेरै प्य्राक्टिकल हुन्छ। उनीहरूमध्ये आधालाई दिनभरि प्य्राक्टिकल र आधालाई दिनभरि थेओरी गराइदिए हुन्छ।

त्यस्तै, हाम्रोमा धेरै भीड लाग्ने ठाउँहरू, जस्तोः सरकारी कार्यालय, अदालत, अस्पताल आदिमा ‘अप्वान्टमेन्ट सिस्टम’ लागू गर्नुपर्छ। सामान्य काउन्सिलिङका लागि पनि मानिसहरू अस्पताल र कार्यालयसम्म आइरहेका हुन्छन्। त्यसका लागि अबका दिनमा सेवाहरूअनलाइन एप्रोचमा जानुपर्छ।


‘दूरीले कोरोनासँग दूर राख्छ’

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्छ। त्यसैले हाम्रा आधारभूत आवश्यकता पूरा गर्नका लागि भएपनि लकडाउन खुकुलो पार्नुको अर्को विकल्प छैन। संक्रमित व्यक्तिको संख्या थोरै हुँदा लकडाउन थियो। तर, संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन खुकुलो भएको कुरा हामीले बिर्सनु हुँदैन। त्यसैले लकडाउन खुकुलो भएसँगै हामीले कोरोना संक्रमण रोकथामका लागि थप सतर्क र सजग हुनु जरुरी छ। लकडाउन खुकुलो भए पनिअत्यावश्यक कामबाहेक घरबाहिर निस्कनु हुँदैन। घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको दुईपत्रे मास्क सही तरिकाले लगाउनुपर्छ। घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राख्नुपर्छ। प्रयोग गरेको मास्क बाटोमा फाल्नु हुँदैन। सकभर चस्मा र पञ्जा लगाउनुपर्छ।

कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दूरीहो। घरबाहिर निस्किएपछि बाटो, पसल, बस, कार्यस्थल, सामान किन्ने ठाउँमा दूरी कायम गर्नुपर्छ। सकभर नाक, मुख, आँखामा हात लैजाने बानी छाड्नुपर्छ। सार्वजिक यातायातमा संक्रमण सर्ने जोखिम हुने भएकाले छोटो दूरीमा पैदल हिँड्ने बानी बसाल्नुपर्छ। कोरोना सर्ने सबैभन्दा खतरनाक ठाउँ भीडभाड हो। भीडमा झुक्किएर पनि जानुहुँदैन। काम गर्ने र गराउने ठाउँमा भौतिक दूरी, सरसफाइ र भेन्टिलेसनको व्यवस्था मिलाउनुपर्छ।घरमा फर्केपछि मास्क, रुमाल, पञ्जा, चस्मा, झोला र लगाएको कपडालाई घरबाहिर वा घरको हावा लाग्ने ठाउँमा राख्नुपर्छ।

तरकारी,फलफूल तथा अन्य सामान किन्नका लागि सपिङ मल, डिपार्टमेन्टस्टोरजस्ता भीडभाड हुने ठाउँभन्दा नजिकको किरानापसलमा जानुपर्छ। दूरी कायम गर्नु महत्त्वपूर्ण छ। किनभने, दूरीले कोरोनासँग दूर राख्छ।

 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट