झुक्याउने किट किन्न किन मरिहत्ते ?

writer

सुमित सुवेदी

बिहिबार, २९ जेठ २०७७


अमेरिका, बेलायत, स्पेन, भारतलगायत थुप्रै देशले आरडीटीमा प्रतिबन्ध लगाइसकेका छन्। नेपालमा आरडीटीले बारम्बार झुक्याइरहँदा पनि स्वास्थ्य मन्त्रालयले पुनः तीन लाख किट खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ।


दैलेखमा पीसीआर परीक्षणको नतिजा आउन ढिला भएपछि सबैको आरडीटी (र्‍यापिड डायग्नोस्टिक टेस्ट) गरियो। सबैको नतिजा नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइयो। तर, दुई दिनपछि पीसीआर रिपोर्ट आँउदा १ सय १३ जनामा कोरोना भाइरस रहेको पुष्टि भयो। त्यस्तै, सुर्खेत र डोल्पामा आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएर घर गएका एक–एक जानाको मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो। यी केही मात्र उदाहरण हुन्। यस्ता धेरै नतिजा आएका छन्, जसले आरडीटीको विश्वसनीयतामा प्रश्नहरू उठाइरहेका छन्। कतिपय केसमा आरडीटीको नतिजा पोजिटिभ आएका व्यक्तिहरुको पीसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ पाइएको छ भने कतिपय आरडीटीमा नेगेटिभ आएका व्यक्तिको पीसीआर परीक्षण पोजिटिभ आइरहेको छ। 

आरडीटीले कसरी काम गर्छ ?
आरडीटी गर्दा सम्भावित संक्रमित व्यक्तिको हातबाट रगतको नमुना लिइन्छ र त्यसको परीक्षण गरिन्छ। यसरी परिक्षण गर्दा यदिशंकास्पद व्यक्तिलाई कोरोना लागेको छ र उसको शरीरले एन्टिबडी विकास गरेको छ भने मात्र त्यसको नतिजा पोजिटिभ देखाउने हो। तर, कोराना लागेका व्यक्तिमा लाग्नेबित्तिकै शरीरले एन्टिबडी विकास गर्न सक्दैन। त्यसका लागि एक हप्ता वा सोभन्दा बढी समय लाग्न सक्छ। यस टेस्टले आफैँ भाइरसलाई पहिचान गर्न सक्दैन। त्यसैले लागेको व्यक्तिलाई पनि नदेखाउन सक्ने सम्भावना रहन्छ। 

जब भाइरस शरीरमा प्रवेश गर्छ, त्यसपछि हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ र भाइरससँग लड्नका लागि शरीरमा एन्टिबडी उत्पादन गर्छ। शरीरमा दुई प्रकारका एन्टिबडी हुन्छन्; इम्युनोग्लोबुलिन जी र इम्युनोग्लोबुलिन एम। शरीरमा भाइरस प्रवेश गरेको छ दिनपछि मात्र इम्युनोग्लोबुलिन एम विकास हुन्छ भने इम्युनोग्लोबुलिन जी विकास हुन १५ दिनसम्म लाग्छ सक्छ। आरडीटीले दुवै एन्टिबडीलाई पहिचान गर्छ। यदि कुनै व्यक्तिमा भाइरस प्रवेश गरेको त छ, तर शरीरले एन्टिबडी विकास गरिसकेको छैन भने यस अवस्थामा आरडीटीले कोरोना नेगेटिभ देखाइदिन्छ। 

आरडीटीकै भर परेर कसैलाई कोरोना लागेको छैन भनेर ढुक्क हुँदा त्यस व्यक्तिले समाजमा अन्य व्यक्तिलाई पनि कोरोना सार्ने सम्भावना प्रबल हुन्छ। यसले कन्ट्याक्ट ट्रेसिङमा पनि असर पुर्‍याउँछ। यसो हुँदा भयावह स्थितिसमेत आउन सक्छ। 

त्यस्तै, एकपटक कोरोना लागेको व्यक्तिको शरीरमा छ महिनादेखि एक वर्षसम्म कोरोनाको एन्टिबडी रहिरहने सम्भावना हुन्छ। त्यसैले यदि कसैलाई कोरोना लागेर निको भइसकेको छ भनेपनि आरडीटी गर्दा रिपोर्ट पोजिटिभ आउन सक्छ। 

अमेरिका, बेलायत, स्पेन, भारतलगायत थुप्रैदेशले आरडीटीमा प्रतिबन्ध लगाइसकेका छन्। नेपालमाआरडीटीले बारम्बार झुक्याइरहँदा पनि स्वास्थ्य मन्त्रालयले पुनःतीन लाख आरडीटीकिट खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य अनुसन्धान परिषद्ले आरडीटीविश्वनीय नभएकाले आरडीटी किट प्रयोग नगर्न मन्त्रालयलाई प्रतिवेदनसहितको पत्रसमेत पठाएको थियो। तर, सरकार परिषद्को प्रतिवेदनलाई बेवास्ता गर्दै आरडीटी किट खरिदमा लागिपरेको देखिन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि