क्वारेन्टिनमा खाट थपेर बनाइयो आइसोलेसन केन्द्र

writer

शंकरप्रसाद खनाल/नेपालगञ्ज

बुधबार, २८ जेठ २०७७


डुडुवा गाउँपालिका–५, शाहपूर्वाको आइसोलेसन सेन्टर । तस्बिर सौजन्यः राकेश मिश्र

बाँकेमा संक्रमितको संख्या बढ्न थालेपछि गाउँ–गाउँमा आइसोलेसन स्थल बनाइएका छन्। क्वारेन्टिनकै मापदण्ड नपुगेका ठाउँलाई आइसोलेसन केन्द्रमा परिणत गरिएका छन्। आइसोलेसन कक्षका लागि चारखुट्टे खाट, बिजुली बत्ती र एम्बुलेन्सलाई अनिवार्य शर्त बनाइएको छ। 


वैशाख १९ गते नेपालगञ्जका एक जना वृद्धमा पहिलो पटक कोरोना संक्रमण हुँदा खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको कोरोना विशेष आइसोलेसन कक्षमा भर्ना गरिए। उनको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्दा थप पुष्टि भएका २५ जना संंक्रमतिलाई पनि त्यही आइसोलेसन कक्षमा राखेर उपचार गराइयो।स्थान अभाव भएन। तर, जेठ २ मा एकैदिन नरैनापुरका आठ जनामा कोरोना संक्रमण देखिँदा बाँकेमा उनीहरूलाई राख्ने आइसोलेसन अस्पतालको अभाव भयो। उनीहरूलाई दाङको बेलझुण्डीस्थित आइसोलेसन अस्पतालमा लगियो। ती संक्रमितसँग सम्पर्कमा रहेकाको परीक्षण गर्दा ५९ जनामा एकैदिन कोरोना पुष्टि भएपछि उनीहरूलाई राख्ने आइसोलेसन कक्षको भने अभाव भयो। संक्रमितलाई७२ घण्टापछि मात्र क्यान्सर अस्पताल, लायन्स डेन्टल अस्पताल र कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा व्यवस्थापन गरियो। आइसोलेसन सेन्टर बनाउने ठाउँमा स्थानीयले राख्न नदिने र नरैनापुरवासीले अन्यत्र लैजान नदिन विरोधको जुहारी खेलेका थिए। क्यान्सर अस्पतालबाहेक दुवै स्थान आइसोलेसन कक्षका मापदण्डअनुसार थिएनन्। पिपरीमा त कोहलपुर नगरपालिकाले भारतबाट आएका २५ जनालाई राखेर क्वारेन्टिनै सञ्चालन गरेको थियो। लायन्स अस्पतालमा पनि शड्ढयाबाहेक आइसोलेसन कक्षका लागि आवश्यक पर्ने चिकित्सक, भेन्टिलेटरलगायत अत्यावश्यक व्यवस्थापन थिएन। यी दुवै ठाउँमा राखिएकालाई कोरोनाका कुनै लक्षण र स्वास्थ्य समस्या नदेखिएकाले सहज भने भयो। 

चारखुट्टे खाट भए पुग्यो !

जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि अहिले गाउँ–गाउँमा पनि आइसोलेसन स्थल बनाइएका छन्। क्वारेन्टिनकै मापदण्ड नपुगेको ठाउँलाई आइसोलेसन कक्ष बनाइएको छ। बाँकेमा आइसोलेसन कक्षका लागि चारखुट्टे खाट, बिजुली बत्ती र एम्बुलेन्सलाई अनिवार्य शर्त बनाइएको छ। खजुराको आइसोलेसन अस्पताल, बैजनाथ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा बाहेक कतै पनि नियमित रूपमा बस्ने चिकित्सकको व्यवस्था छैन। बोलाउनेबित्तिकै जाने गरी डाक्टरलाई ‘स्ट्यान्डबाई’ राखिएको बताइन्छ,तर कुनै पनि पालिकाले नियमित चेकजाँच गर्न डाक्टरहरू नआएको बताएका छन्।क्वारेन्टिन नै मापदण्डअनुसार नबनाइएको ठाउँलाई आइसोलेसन सेन्टर बनाइएका छन्। आइसोलेसन अस्पताल त एउटा मात्र छ। अधिकांश क्वारेन्टिन र आइसोलेसन सेन्टर विद्यालयमा सञ्चालन गरिएका छन्। चर्को गर्मीमा आइसोलेसनमा बस्नेले सास्ती भोगेका छन्। 

राप्ती सोनारी गाउँपालिकामा मात्र चार वटा आइसोलेसन सेन्टरमा २६ जनालाई राखिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत ती सेन्टरमा लक्षण नभएका कोरोना संक्रमितलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको बताउँछन्। ‘लक्षण देखिएका संक्रमितलाई त खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा पठाएका छौँ,’ उनी भन्छन्, ‘राप्ती सोनारी–७ का एक जना दमको समस्या भएका र कोरोना पोजिटिभ भएका राप्ती सोनारी–९ का अर्का व्यक्तिलाई पनि आइसोलेसन अस्पतालमै राखिएको छ।’ 

राप्ती सोनारीमा आइसोलेसन कक्ष र क्वारेन्टिनमा कुनै भेद छैैन। क्वारेन्टिन र आइसोलेसनमा बसेकालाई खाना पनि उस्तै दिइन्छ। ‘जसरी दुई पटक खाजा र खाना क्वारेन्टिनमा बस्नेले खान्छन्,’ बस्नेत भन्छन्, ‘आइसोलेसनमा बस्नेले खाने पनि त्यही हो।’ 

त्यसै गरी, डुडुवा गाउँपालिकाले पनि दुई वटा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। शाहपूर्वाको क्वारेन्टिनमा आरडीटी र पीसीआर पोजिटिभलाई एकैठाउँमा राखेको भनेर आलोचना भएकै ठाउँमा अहिले आइसोलेसन केन्द्र बनाइएको छ। टिनको छानो भएको घरमा संक्रमितलाई राखिएको छ। 

गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी लक्षण नभएका संक्रमितहरूलाई राखिएको बताउँछन्। ‘क्वारेन्टिन बनाउँदा चार/पाँच सय जनालाई भुइँमै सुत्ने व्यवस्था गरेका थियौँ,’ उनी भन्छन्, ‘आइसोलेसन बनाउँदा खाटमा सुताएका छौँ। अक्सिजनको व्यवस्था गरेका छौँ। मापदण्डअनुसार छ भनेर म भन्दिनँ। हाम्रो क्षमताले सकेको गरेका छौँ।’ चौधरीले आइसोलेसन सेन्टरमा डाक्टरको व्यवस्था गरिएकोदाबी गरे पनि संक्रमितहरूका अनुसार अहिलेसम्म त्यहाँ डाक्टरको नाकमुख देखिएको छैन। 

गाउँपालिकाले बनाएका आइसोलेसनलाई उनी अस्पताल नभएर आइसोलेसन सेन्टर मात्र भन्न रुचाउँछन्। त्यहाँ लक्षण नभएका कोरोना संक्रमितहरूलाई राखिएको छ। चौधरी दाङ, बुटवल वा अन्य ठाउँमा पठाउनुभन्दा आफ्नो ठाउँको संक्रमितलाई आफ्नै गाउँमा राखेको बताउँछन्। ‘आइसोलेसनमा बसेकाहरू‘हामीलाई रोगको कुनै लक्षण छैन, किन राखेको ? घर जानदेऊ’ भनिरहेका छन्,’ चौधरी संक्रमितको भनाइ उद्धृत गर्दै भन्छन्, ‘हामीलाई सम्झाउनै समस्या भएको छ।’ 

टिनको छानोमुनि आइसोलेसन कक्ष 
डुडुवामा क्वारेन्टिनमा बस्ने र आइसोलेसनमा बस्नेका खानपानमा अन्तर गरिएको छ। आइसोलेसनमा बस्नेले बिहान दूध र बिस्कुट, दुई छाक दाल–भात–तरकारी र साग, दिउँसोको खाजामा चना पाउने गरेका छन्। क्वारेन्टिनमा बस्नेलाई भने बिहान कालो चिया र बिस्कुट, खानामा दाल–भात–तरकारी दिने गरेको गाउँपालिकाले जनाएको छ। 

संघीय सरकारको मातहतमा विकास समितिअन्तर्गत सञ्चालन हुने क्यान्सर अस्पताल भने प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरिरहेको छ। जिल्लामा मापदण्डअनुसारको एक मात्र आइसोलेसन अस्पताल यही हो। यहाँ चिकित्सकदेखि स्वास्थ्यकर्मीहरू सबैै भेरी अस्पतालले व्यवस्थापन गरिरहेको छ। भेरी अस्पतालले नरैनापुर गाउँपालिकामा पनि नियमित चेकजाँचका चिकित्सक नियमित पठाउने गरेको छ। त्यसबाहेक नियमित रूपमा अरू कुनै ठाउँमा चिकित्सकको टोली खटाएको छैन। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाशबहादुर थापा जिल्लाभरि समस्या परेकाहरू सबैको भेरी अस्पतालमै उपचार भइरहेको बताउँछन्। ‘सकेसम्म हामी जिल्लाभरि नै चिकित्सक पठाउने प्रयत्नमा छौँ,’ डा. थापा भन्छन्।

कोभिड–१९ जिल्लास्तरीय संकट व्यवस्थापन समितिका संयोजक रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भने क्वारेन्टिनलाई अपग्रेड मात्र गरेर आइसोलेसन केन्द्र सञ्चालन गरेको स्वीकार गर्दैनन्। उनी गाउँ–गाउँमा लक्षण नभएका कोरोना संक्रमित राख्नका लागि आइसोलेसन सेन्टरविकास गरिएको बताउँछन्। उनी जिल्लाभरिका आइसोलेसन रहेका कोरोना संक्रमितहरूको नियमित चेकजाँचका लागि चिकित्सकको रोस्टर बनाएर काम गरिरहेको दाबी गर्छन्। ‘लक्षण देखिएका र कुनै संकेत देखिएका व्यक्तिलाई खजुरास्थित आइसोलेसनमा पठाउने व्यवस्था पनि गरेका छौँ,’ उनी भन्छन्। 

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेमा नेपालगञ्ज, डुडुवा, जानकी, बैजनाथ, कोहलपुरमा गरी १३ वटा आइसोलेसन सेन्टर सञ्चालनमा रहेको बताउँछन्। उनी क्वारेन्टिनमा केही सुविधा थपेर जसोतसो आइसोलेसन सेन्टर बनाएको प्रस्ट पार्छन्। भन्छन्, ‘जेजस्तो अवस्थामा सञ्चालन गरिएको भए पनि जिल्लाका आइसोलेसन सेन्टरहरू भरिभराउ छन्। थप संक्रमित पुष्टि भएमा अरू आइसोलेसन केन्द्र बनाउनुपर्ने खाँचो छ।’

अधिकारकर्मी आलम खान भने आफैँमा अव्यवस्थित क्वारेन्टिनलाई आइसोलेसन सेन्टर बनाएकोमा असन्तुष्ट छन्। ‘टिनको छानोमा क्वारेन्टिन बनाउनु नै मापदण्ड पुग्दैन,’ उनी भन्छन्, ‘अहिले टिनको छानोमै आइसोलेसन सेन्टर बनाउनु झनै मापदण्डविपरीत काम भइरहेको छ।’

तपाईको कमेन्ट

मुख्य समाचार