मजदुरलाई छाक टार्नै महाभारत

writer

उपेन्द्र अर्याल

बुधबार, २८ जेठ २०७७


लकडाउनले देश ठप्प भएको साढे दुई महिना नाघिसक्यो। हरेक दिन पाखुरा नबजाई छाक टार्न नपाउने मजदुरहरूको बिजोग भएको छ। उनीहरूका निम्ति भाइरसभन्दा भोक ठूलो दुश्मन हो। सबैको एउटै चाहना छ– लकडाउन खुलोस्, काम गर्न पाइयोस्। 


दुई महिना लामो घरबसाइपछि हरिबहादुर कार्की (६१) कालोपुल, काठमाडौँमा पुनः मकै पोल्न निस्किए। कालोपुल, गुरुङ टोलमा बस्ने उनको गुजारा यसअघि पनि मकै पोलेर नै हुने गरेको थियो। चैत ११ बाट सरकारले लकडाउन घोषणा गरेपछि सरकारी उर्दी मान्दै उनले आफ्नो गरिखाने बाटो बन्द गर्नुप¥यो। मकै पोल्ने काम बन्द भएसँगै घरको चुलो पनि बन्द हुने स्थितिमा पुग्यो। दुई छाक टार्न मुश्किल पर्न थाल्योे। घरमा बसेर भोकसँग लड्नुभन्दा बाहिर निस्केर कोरोना भाइरससँग लड्नु ठीक लागेको उनी बताउँछन्। ‘सधैँ मकै पोलेर नै गुजारा चलाउने गरेको हुँ,’ उनी भन्छन्, ‘लामो लकडाउनमा काम नहुँदा हातमुख जोड्न पनि धौधौ हुन थाल्यो। दुई महिना जेनतेन टारियो। तर, सधैँ त घरमा बस्न सकिँदैन। घरमा बसेर भोकसँग लड्नुभन्दा बाहिर रोगसँग लड्नु बेस।’

लकडाउनको सुरुमा त उनी आफैँलाई महामारीको डर लाग्यो र बाहिर निस्केनन्। यसै पनि सरकारले बन्देज लगाएकै थियो। उनी बाहिर निस्केनन्। तर, अब सरकारले एकपछि अर्को गर्दै लकडाउनको अवधि थप्दै गएपछि गाह्रो भएको उनी बताउँछन्। ‘सधैँ यसै गरी लकडाउन रहिरहे गरिबले कसरी बाँच्ने ?’ उनी भन्छन्, ‘वडाले एक पटक राहत बाँड्यो। तर, त्यो तीनचार केजी चामलले कति दिन धान्छ ? लकडाउन भएको अढाई महिना भइसक्यो।’ काम नभएर तीन महिनायता कोठा भाडा तिर्न नसकेको उनी बताउँछन्। ‘सरकारले लकडाउन खोले हुन्थ्यो,’ उनी सुनाउँछन्, ‘कम्तीमा काम गरेर खान पाइन्थ्यो। यसरी बन्द मात्र गर्ने हो भने कि सरकारले हाम्रो जिम्मेवारी लिनुप¥यो, होइन भने अब सबै यसरी नै बाहिर निस्केर काम गर्नेछन्।’

नागरिकता गाउँमै छुट्यो 
दोलखाका सोनाम तामाङ काठमाडौँ, काँडाघारी बस्दै आएको धैरै भयो। उनी रिक्सा चालक हुन्। ठमेल आसपासमा रिक्सा चलाउने गर्थे। लकडाउनले गर्दा उनको रिक्सा पनि नगुडेको धेरै भयो। दैनिक रिक्सा चलाएर गुजारा गर्ने उनी अहिले बिहान–बेलुकीको छाक टार्न मुश्किल भएको बताउँछन्। ‘लकडाउनले आफैँ कमाएर खाइरहेको मान्छेलाई बाटोमा बाँडेको खाना खानुपर्ने अवस्थामा पु¥याइदियो,’ उनी सुनाउँछन्। नागरिकता नभएकाले सरकारले बाँडेको राहत पनि नपाएको उनी बताउँछन्। भन्छन्, ‘नागरिकता गाउँमै छ। नागरिकता नभएकाले त्यो चारपाँच केजी चामल पनि पाइएन।’

‘सरकारले लकडाउन खोल्छ भनेर बस्दाबस्दै दुई महिनाभन्दा बढी समय बितिसक्यो,’ उनी थप्छन्, ‘अब यसरी बस्न सकिँदैन।’ उनी आफ्नो रिक्सा लिएर सडकमा निस्किएका छन्। ‘सरकारको पारा यस्तै हो भने लकडाउन कहिले खुल्छ, खुल्छ,’ उनी भन्छन्, ‘त्यतिबेलासम्म भोकले नै मरिएलाजस्तो भइसक्यो। लकडाउन छ भनेर भोकले मान्दो रहेनछ। त्यसैले काममा निस्किएको हुँ।’ चैतयता उनले पनि कोठा भाडा तिर्न सकेका छैनन्। ‘अहिले पनि बाटोमा खासै मान्छे छैनन्,’ उनी भन्छन्, ‘काम नभएकाले कोठा भाडा नतिरेको तीन महिना भइसक्यो।’         

सरकारले घरभाडा छुट दिने भने पनि नदिएको उनको गुनासो छ। ‘काम नभएपछि पैसा कहाँबाट हुन्छ अनि कसरी बुझाउने कोठा भाडा ?’ उनको दुखेसो छ। उनले थुपै्र रात रिक्सामै कटाएका छन्। ‘कोठा भाडा नबुझाउँदा घरबेटीले केही भन्ने पो हुन् कि भनेर कति रात यही रिक्सामा कटाएको छु,’ उनी भन्छन्। प्रायः उनले वीर हस्पिटलअगाडि रिक्सा राख्ने गरेका छन्। लकडाउनमा रिक्सा चलाउँदा पुलिसले बेला–बेला हप्काउने गरेको उनी बताउँछन्। 

मजदुरलाई छाक टार्नै महाभारत 
यतिबेला राजधानीमा बस्ने मात्र नभई देशभरकै मजदुरको रोजीरोटी गुमेको छ। परिवार कसरी पाल्ने ? कोठा भाडा कसरी बुझाउने ? लगायत समस्याले उनीहरूलाई सताइरहेको छ। दैनिक ज्यालादारीमा काम गर्नेको अवस्था दयनीय छ। अहिले निर्माणका काम ठप्प छन्। सिमेन्ट, इँटा बोकेर गुजारा चलाउने मजदुर कोठामा बसिरहेका छन्।

काठमाडौँ, कालोपुल बस्ने सुरज कार्की मजदुर हुन्। घर निर्माण भइरहेको ठाउँमा उनले कहिले इँटा बोक्नुपर्छ, त कहिले सिमेन्ट/बालुवा। तर, लकडाउनले निर्माण कार्य रोकिएसँगै उनको पनि रोजगारी गुमेको छ। उनको छ जनाको परिवार छ। दैनिक कमाएर गुजारा गर्ने कार्कीको परिवार अहिले भोकसँग संघर्ष गरिरहेको बताउँछ। ‘लकडाउनमा काम भएन,’ सुरज भन्छन्, ‘मजदुरलाई छाक टार्नै महाभारत भएको छ। के खाएर बाँच्ने भन्ने चिन्ताले सताउन थालेको छ।’

यसरी भोकभोकै बस्नुभन्दा सरकारले लकडाउन खुलाइदिए हुने उनी बताउँछन्।  ‘लकडाउन खुल्यो भए कम्तीमा काम गर्न पाइन्छ,’ उनी भन्छन्, ‘काम पाएपछि भोकै सुत्नु त पर्दैन। सरकारले राहत देला भनेर आशमा मर्नु त पर्दैन।’ 

‘सरकारले माग्ने बनाइदियो’ 
काठमाडौँ, सिफल बस्ने अनुप थापा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँछन्। हिजोआज उनी पनि बेरोजगार भएका छन्। ‘कहिले ठेला ठेल्ने काम गर्थें,’ उनी भन्छन्, ‘कहिले गाडीमा सामान लोड–अनलोड गर्थें। अहिले काम नभएर यसै सडकमै भौँतारिनुपरेको छ। खानेकुरा पनि केही छैन। कहिले साथीभाइले खुवाउँछन्। कसैले दियो भने खाने हो। नत्र भोकै बस्ने हो।’ 

संकटले आफूलाई मजदुरबाट माग्ने बनाइदिएकोमा उनी दुःखी छन्। ‘गरिखान सक्छु तर काम हुनुप¥यो,’ उनी भन्छन्, ‘लकडाउनमा न काम गर्न पाइन्छ। न खान पाइन्छ। सरकारले सबै कामधन्दा बन्द गरेर मजदुरलाई मार्न खोजेको हो ? खै, मजदुरलाई सरकारले सहयोग गरेको ? हामी पाखुरा बजाएर खाने मजदुरलाई सरकारले माग्ने बनाइदियो।’ 

कामधन्दा बन्द गरेपछि मजदुरका लागि खाने व्यवस्था सरकारले नगरेकोमा मजदुर थापा आक्रोशित छन्। ‘लकडाउन थपेको थप्यै गर्ने,’ उनी भन्छन्, ‘गरिखान नदिने। न आफैँ मजदुरका लागि केही सोच्ने ! यसरी भोकले भौँतारिनुभन्दा लकडाउन खुलाएर काम गर्ने वातावरण बजाउनुपर्छ। मजदुरले अब काम गर्न पाउनुपर्छ।’ 

तपाईको कमेन्ट