संक्रमण द्रुत, सरकार सुस्त

writer

दिल शिरीष/बागलुङ

बुधबार, २८ जेठ २०७७


गण्डकी प्रदेश-

सुरुवातमा कोरोना संक्रमणका हिसाबले सुरक्षित र चुस्त व्यवस्थापनमा परिचय बनाएको गण्डकी प्रदेशमा अहिले संक्रमण दर बढ्दो छ। एक जनाको मृत्युसमेत भएको छ भने भारतबाट आएका थुप्रै मान्छे क्वारेन्टिनमा छन्।


पोखराको कोभिड अस्पतालमा आइतबार राति स्याङ्जाका ६० वर्षीय पुरुषको मृत्यु भयो। दीर्घरोगी उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। राति ११ बजे मृत्यु भएका उनको शव १९ घण्टासम्म आइसोलेसन स्थलमै रह्यो। शव अन्त्येष्टि व्यवस्थापनमा न शववाहन चालक पाइयो, न गाड्ने घाट थियो। सरकार र सरोकारवाला आफैँ अन्योलमा थिए।
०००

अहिले संक्रमण दर तीव्र छ। गण्डकी प्रदेशमा लकडाउन अवधिमा मात्रै भारतबाट ७ हजार ५९ जना भित्रिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक छ। अहिले उनीहरू प्रदेशअन्र्तगतका विभिन्न क्वारेन्टिनमा छन्। यसमा ५ हजार ६ सय ६३ नमुना संकलन गरिएको छ। तर, पीसीआर परीक्षण सुस्त छ। दैनिक दुई सयदेखि २ सय ५० सम्म मात्र परीक्षण हुने गरेको छ। जबकि, कोरोनाको बढ्दो संख्या देखिएको बागलुङ क्वारेन्टिनमा मात्रै १६ सय ४१ जना छन्। प्रदेशका करिब एक हजार जना एक सातादेखि रिपोर्टको पर्खाइमा छन्। यहाँ हालसम्म १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चार जना निको भएका छन्। एक जनाको मृत्यु भएको छ। 
०००

बेल्जियमबाट कतार एयरवेजको जहाज हुँदै काठमाडौँ उत्रिएकी बागलुङकी १९ वर्षीया अंशु सापकोटा नेपालको पाँचौँ संक्रमित बनिन्। चैत १५ मा उनलाई संक्रमण पुष्टि हुँदा धौलागिरी अस्पतालमा आइसोलेसन कक्ष तयार भए पनि उनलाई भर्ना गर्न इन्कार गरिँदै थियो। चिकित्सक, स्वास्थ्यकर्मी मानसिक रूपमा तयार  थिएनन्। संक्रमित लिन इन्कार गरेपछि तत्कालीन बागलुङका प्रहरी प्रमुख नवराज भट्टले  संक्रमितलाई भर्ना नगरे अस्पतालका प्रमुखलाई प्रहरी कार्यालयमै थुन्ने चेतावनी दिए। अन्ततः राति ११ बजेपछि अस्पतालले संक्रमितलाई आइसोलेसन वार्डमा भर्ना ग¥यो। उनी २८ दिनपछि कोरोना जितेर घर फर्किइन्। 
०००

चैत ४ मै बेल्जियमबाट आएकी बागलुङकी ६५ वर्षीया मनकुमारी शर्मालाई २० चैतमा कोरोना संक्रमण पुष्टि भयो। अंशुसँगै बेल्जियमबाट आएकी उनी जिल्लाको दोस्रो संक्रमित थिइन्। संक्रमण पुष्टि भएपश्चात् सदरमुकामदेखि पाँच मिनेटको दूरीमा रहेको घरमा उनलाई लिन जाने तयारी थियो। तर, रेडक्रसको एम्बुलेन्स चालक साँझ साँचो फालेर अस्पताल परिसरबाटै गुमनाम भए। राति ११ बजेपछि मात्रै स्वास्थ्य कार्यालयका प्रमुखले आफ्ना चालकको सहयोगमा संक्रमितलाई अस्पताल ल्याए। यसअघि जिल्ला कमान्ड पोस्ट र स्थानीय सरकारले समेत एम्बुलेन्सदेखि अरू सबै तयारी अवस्थामा रहेको दाबी गर्दै आएका थिए। 
०००

कोरोना संक्रमण सुरु हुँदाबखत अनुभवको कमीका कारण अरू तयारी पनि सुस्त थियो। साढे दुई महिनाको लकडाउन पार गर्दा पनि अवस्था उस्तै देखिन्छ। बागलुङको पश्चिम बडिगाड र ढोरपाटनमा एकैदिन १० जनामा कोरोना संक्रमित देखिएपछि पुरानै घटना र प्रवृत्ति दोहोरियो। अस्पतालमा राख्ने ठाउँ छैन, अर्को वैकल्पिक आइसोलेसन स्थल तयार छैन। जिल्ला कमान्ड पोस्टले भन्यो, ‘संक्रमितलाई अस्पताल र सदरमुकाम नल्याऊ।’ स्थानीय सरकारहरूले भने, ‘गाउँमा आइसोलेसन छैन, के मा राख्ने ?’ अन्ततः धौलागिरी अस्पताल भरिएपछि धौलागिरी क्याम्पसको कक्षाकोठामा २८ बेड तयार गरेर सामान्य प्री–आइसोलसेन स्थल बनाई संक्रमित राखिएको छ। यो दोहोरी र विरोधाभासले जिल्लाका राज्यका निकाय र स्थानीय सरकार दुवै कस्तो तयारी र अवस्थामा छन् भन्ने प्रस्ट हुन्छ। 
सुरुवातमा कोरोना संक्रमणका हिसाबले सुरक्षित र चुस्त व्यवस्थापनमा परिचय बनाएको गण्डकी प्रदेशमा पछिल्लो साता संक्रमण दर बढ्दो छ। एक जनाको मृत्युसमेत भएको छ भने भारतबाट आएको ठूलो संख्या क्वारेन्टिनमा छ। ‘केन्द्र सरकारले लकडाउन घोषणा ग¥यो, म्याद थपिरह्यो,’ नागरिक अगुवा राम शर्माले भने, ‘प्रदेश र स्थानीय सरकारले राहत धमाधम बाँड्यो। हामी चुपचाप साँघुरो घेराभित्रै बसिरह्यौँ। अहिले ठूलो संख्यामा संक्रमित देखिँदा र तयारी हेर्दा लकडाउन गर्नेबाहेक यस अवधिमा सरकारले केही नगरेजस्तो महसुस भएको छ। यो विडम्बना हो।’

सरकार कहाँ चुक्यो ?
कोरोना नियन्त्रणमा सुरुवाती चरणदेखि नै गलत अभ्यास भएको बागलुङ घर भई हाल अमेरिकामा रहेका जीवाणु विज्ञ डा. सुदीप खड्काले बताए। ‘पहिलो केस भेटिएपश्चात् पनि महिनौँसम्म यथोचित् र आवश्यक तयारी नगरिनु दुःखद कुरा हो,’ उनले भने, ‘सुरुवातमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा पनि त्रुटि भएको देखिन्छ। भारत र विदेशबाट आउन खोज्ने मान्छेलाई व्यवस्थित तवरले ल्याउने र राख्ने योजना नै बनाइएन। सीमा–नाकामा अलपत्र परेकाहरू असुरक्षित तरिकाले नेपालमा भित्रिने क्रम बढ्यो। अहिले गाउँशहरमा उनीहरू पुगेका छन्। त्यही कारण संक्रमण भयावह हुने अवस्था आयो।’ जनताले लकडाउन पालना गर्दा सफल भएको भ्रममा सरकार भुल्दा अहिले विकराल समस्या निम्तिन थालेको डा. खड्काको भनाइ छ।

सरकारले व्यवस्थापन, सुरक्षा, चेकजाँचलाई चुस्त बनाउने प्रयास गरिरहे पनि ठूलो संख्याका कारण संक्रमण र समस्या भइरहेको गण्डकी प्रदेश सरकार बताउँछ। पीसीआर परीक्षणलाई अब दोब्बर रूपमा गति दिने उसको भनाइ छ। १२ घण्टाको परीक्षण अवधि बढाएर १८ घण्टासमेत पु¥याएको छ। नयाँ पीसीआर मेसिन खरिदका लागि टेन्डरसमेत भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए।  ‘अब दैनिक पाँच सयभन्दा बढीको परीक्षण गर्ने गरी तयारी अघि बढाएका छौँ,’ डा. शर्माले भने, ‘अहिले विभिन्न जिल्लामा ल्याबमा रहेको जनशक्ति तानेका छौँ। केही करारमा पनि राखिसकेका छौँ। अहिले भारतबाट आउनेको संख्या उच्च रहेकाले केही चाप भए पनि अब गति र दायरा फराकिलो बनाएर परीक्षणलाई तीव्रता दिन्छौँ।’ 

‘लकडाउन खुकुलो बनाउनैपर्छ: व्यवसायी   
लकडाउन लामो भएकाले अब पनि निरन्तरता दिइए कोरोनाका कारण नभई यसबाट उत्पन्न अरू समस्याले ज्यान जाने धेरैको कथन छ। बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी अब जेठ मसान्तपछि लकडाउन खुकुलो बनाउनुपर्ने बताउँछन्। ‘यतिका दिनसम्म व्यापार–व्यवसाय ठप्प बनाएर लकडाउनमा बस्दा सरकारले आखिर के गरेको छ र ?’ अध्यक्ष राजभण्डारीले भने, ‘लकडाउन मात्र विकल्प हुन सक्दैन। यसलाई खुकुलो बनाउनैपर्छ।’

विदेशबाट आउनेलाई व्यवस्थित क्वारेन्टिनमा राख्ने, उनीहरूको छिटो परीक्षण गर्ने, आम नागरिकलाई परीक्षणको अवसर सिर्जना गर्ने, बैंक, वित्तीय संस्था, निजी कम्पनीलाई आफ्ना कर्मचारीलाई परीक्षण गर्न÷गराउन लगाउने र लकडाउन खुकुलो बनाएर सामान्य जनजीवनमा फर्कनुपर्ने राजभण्डारीले बताए। 

जीवाणु विज्ञ डा. खड्काले पनि राजभण्डारीसँग सहमति जनाए। लकडाउन खुलाउनपूर्व कहाँ कुन रूपमा संक्रमण फैलिएको छ, पत्ता लगाएर व्यापक परीक्षण गर्नुपर्ने उनले बताए। तर, अहिले तत्काल यस्तो सम्भावना देखिँदैन। अहिलसम्म क्वारेन्टिनमा बसेका थुप्रैको स्वाब संकलन र पीसीआर परीक्षण गरिएको छैन। यसो नगरी लकडाउन खुकुलो बनाउँदा या हटाउँदा समस्या अझै भयावह हुन सक्ने डा. खड्काको भनाइ छ। ‘खुकुलो बनाउनैपर्ने अवस्थामा संक्रमित भेटिएका पालिका, वडालाई रेड जोन मानेर लकडाउन गर्ने, सिमाना जोडिएका अन्य जिल्ला, वडालाई लकडाउन गर्ने र अरू ठाउँ खुल्ला गराउन सकिन्छ,’ उनले भने। यसो गर्दा पनि परीक्षण र निगरानी भने सबै ठाउँमा जारी राख्नुपर्ने खड्काले बताए। अत्यावश्यक क्षेत्रमा काम गर्ने र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आउन सक्ने व्यक्तिलाई होम क्वारेन्टिनमा सुरक्षित बस्ने विधि सिकाउनुपर्ने उनको सुझाव छ। ‘एक–एक महिना आलोपालो काम गर्ने वातावरण मिलाउने, सरकारी कार्यालय, सार्वजनिक स्थलमा भीड हुने भएकाले डिस्इन्फेक्सन गर्न जनशक्ति राख्ने, सकेसम्म घरबाट काम, पढाइ गर्न प्रोत्साहन गर्ने र सरकारले बढीभन्दा बढी प्रविधिमैत्री वातावरण तयार गर्दै जानुपर्छ,’ उनले भने। 


‘बेहिसाब लापर्बाही भयो’
डा. सुदीप खड्का, जीवाणु विज्ञ
बागलुङ, हाल अमेरिका

नेपालमा कोरोना नियन्त्रणमा सुरुवाती चरणदेखि नै क्रमबद्ध रूपमा एकपछि अर्को गलत अभ्यास भए। संक्रमण भेटिएको पहिलो केसपश्चात् पनि महिनौँसम्म उचित तयारी नगरिनु निकै दुःखद कुरा हो। जनशक्तिको अभाव अथवा उदासीनताले गर्दा सुरुवाती चरणमा परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा पनि त्रुटि भयो। विदेश र भारतबाट आउन खोज्ने नेपालीलाई व्यवस्थित तरिकाले फिर्ता ल्याउने योजना नै बनेन। अलपत्र परेकाहरू असुरक्षित तवरले लुकीछिपी नेपाल भित्रिने अवस्था बन्यो। यो हेलचेक्य्राइँले गर्दा मानिसहरू उतै, बीच बाटोमै संक्रमित भएर देशभर छरिएर गाउँ–शहर पुग्ने वातावरण बन्न पुग्यो।

परीक्षणको परिधि र विधिमा पनि लापर्बाही गरियो, गरिँदै छ। लापर्बाही बेहिसाब छ। यो मानवताविरुद्धको अपराध नै हो जस्तो लाग्छ। आरडीटीलाई समुदायमा संक्रमण परीक्षण गर्न प्रयोग गर्नुपर्नेमा बाहिरबाट आएका व्यक्तिलाई संक्रमण छ कि छैन भनेर निक्र्यौल गर्न प्रयोग गरियो। संक्रमितको उचित पहिचान र निक्र्यौल गर्न पीसीआर विधि प्रयोग गर्नुपर्ने हो, तर हुन सकेन। 

क्वारेन्टिन स्थल देखावटी मात्र भए। सामाजिक सञ्जालमा सेल्फी खिच्न त काम लाग्यो, तर अव्यवस्थित र मापदण्ड पूरा नभएको हुँदा त्यहाँ बस्ने संक्रमण नभएकालाई पनि संक्रमण सर्ने सम्भावना अधिक भयो। त्यो सम्भावना अझै छ। 

लकडाउन खोल्न संक्रमण कहाँ कुन रूपमा फैलिएको छ, निक्र्यौल गर्नुपर्छ। त्यसका लागि परीक्षण व्यापक गर्नुपर्ने हुन्छ। तर, त्यो भइराखेको छैन। अहिले त क्वारेन्टिनमा बसेकाको समेत परीक्षण गरिएको छैन भन्ने खालका समाचार आइरहेका छन्। जबकि, क्वारेन्टिनमा बसेकाको सम्पर्कमा आएका सबैको परीक्षण गर्नुपर्ने हुन्छ। त्यो नगरी सुरक्षित रूपमा लकडाउन खोल्न सकिँदैन। तर, परीक्षण व्यापक बनाएर लकडाउन खुकुलो बनाउँदे लग्नुपर्छ। 

अत्यावश्यक क्षेत्रमा काम गर्ने र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आउन सक्ने काम भएका व्यक्तिलाई होम क्वारेन्टिन गर्ने विधि सिकाउनुपर्छ। बरु एक–एक महिनाको रोटेसनमा काम गर्ने वातावरण मिलाउनुपर्छ, जसले गर्दा एउटै व्यक्ति र समुदायलाई भार नपरोस्। 

सरकारी तवरबाट नै भीडभाड हुने ठाउँलाई डिस्इन्फेक्ट गर्न जनशक्ति खटाउनुपर्छ। सकेसम्म घरबाट काम र पढाइ गर्न प्रोत्साहन गर्नुपर्छ। 

कृषि काम, पार्कमा घुमघाम, भीड नहुने ठाउँमा पैदल यात्रा, एक्लाएक्लै यात्रा आदि कुरा सुरक्षित तरिकाले गर्न सकिन्छ।  यस्ता काममा अवरोध गर्नु हुँदैन। लकडाउन भनेको कफ्र्यू होइन। धेरै काम सुरक्षित तरिकाले गर्न सकिन्छ। भीडभाड गरेर एकबाट अर्कोमा सर्ने अवस्था भने कुनै पनि हालतमा हुनु भएन।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि