मास्क, दूरी, साबुन–पानी अबको जिन्दगानी...

writer

शिशिर वैद्य

बुधबार, २८ जेठ २०७७


बिग्रिएको थर्मल गनले ज्वरो जाँच्ने को ?क्वारेन्टिनको गतिलो व्यवस्था नमिलाउने को ? स्वास्थ्य सामग्री ल्याउन ढिलाइ गर्ने को ? विज्ञले परीक्षण, परीक्षण, परीक्षण भनिरहँदा पनि बेवास्ता गर्ने को ? जनतालाई घरभित्रै थुनेर कोरोना महामारी नै जितेसरी निदाउने को ?


कोरोना महामारीले हामीलाई तीन व्यवहार सिकाएको छ। मास्क लगाउनु, पटक–पटक साबुनलेमिचीमिची हात धुनु रसामाजिक दूरी कायम गर्नु। यी सामान्य व्यवहारको पालना कडासँग गर्नु वर्तमानको माग हो। यस्ता व्यवहारको पालनाका लागि विश्वव्यापी अभियानै चलेको छ। विज्ञहरू भन्दैछन्– ‘यो नयाँ प्रकारको भाइरस हो। यसको ओखती पत्ता लागिसकेको छैन।’ तर, यसको व्यवहार थाहा पाइसकेका वैज्ञानिकले तत्काल रोकथामको उपाय निकाले, यी तीन व्यवहार। कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा निस्कने छिटा अर्को व्यक्तिको नाक वा मुखबाट शरीरमा पसेपछि मात्र यो रोग सर्छ। भाइरस सर्ने विधि यो भए पनि हाम्रो व्यवहार भने कोरोना फैलिन सहज बनाउने प्रकृतिका छन्। जथाभावी थुक्ने, खोक्दा र हाच्छिउँ गर्दा नाकमुख नछोप्ने, छोपे पनि हत्केलाले छोप्ने, जहाँ पायो, त्यहीँ छुने, भीड गर्ने। यी व्यवहार नै कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सहज माध्यम हुन्। 

कोरोनाले विश्वभरि लाखौँ मान्छेको ज्यान लिइसकेको छ। लाखौँ संक्रमित छन्। नेपालमा पनि यसले आफ्नो ताण्डव देखाउन सुरु गरिसकेको छ। त्यसको गति भने अन्य देशको तुलनामा ढिलो छ। तर, जुन गतिले यो फैलिँदैछ र यससँग लड्ने रणनीतिक योजना जुन गतिले अघि बढ्नुपर्ने हो, त्यसको तालमेल मिलेको छैन। कोरोना महामारीसँग जुध्न तयारीका लागि प्रशस्त समय हुँदाहुँदै पनि सरकारले आवश्यक कोरोना परीक्षण सामग्री खरिद गर्न नसक्दा र व्यवस्थापनकार्यक्षमता देखाउन नसक्दा आजको दिनमा दैनिक सयौँको संख्यामा  संक्रमित थपिँदै छन्। सरकारको अक्षम कार्यशैलीकै कारण यो संख्या अझै उकालो लाग्ने पक्का छ। नेपालसहित विश्वका धेरै देश लकडाउनमा छन्।नेपालको पनि सीमा–नाका बन्द छन्, यातायात बन्द छ, उद्योग र बजार बन्द छन्। सबै प्रकारका उद्योग बन्द हुँदा बेरोजगारी बढेको छ। कोरोना भाइरस संक्रमणको ‘चेन’लाई टुटाउन सुरु गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र अस्तव्यस्त बनेको छ। कामका लागि लाखौँ नेपाली विश्वका विभिन्न शहरमा रहेका छन्। यसरी विभिन्न देश, जिल्ला र शहरमा पुगेका मानिसघर फर्किन बाध्य हुँदैछन् वा पारिँदैछन्। हजारौँको संख्यामा छिमेकी राष्ट्र भारतबाट सीमा–नाका हुँदै वा लुकीछिपीचोर बाटो हुँदै मानिस देश प्रवेश गरिरहेका छन्। थुप्रै अझै देश छिर्न पाउने आशमा सीमामा कुरिरहेका छन्।

भारतीय सीमा हुँदै देश प्रवेश गरेकाहरू, जो क्वारेन्टिनमा बसे, थुप्रैमा संक्रमण देखिने क्रम बढेको छ। क्वारेन्टिनव्यवस्थित र उचित नहुँदा संक्रमण त्यहीँबाट फैलने जोखिम बढेको छ। सिमानामा रोक्न सकिने संक्रमण ज्वरो मात्रै जाँच गरेर घर पठाउने रणनीतिका काराण एकाएक गाउँ छिरेको छ। जनता पक्कै पनि आफैँ संक्रमण फैलाउँछु भनेर गाउँ–शहर पसेका होइनन्। संक्रमितको संख्या बढ्न थालेसँगै प्रधानमन्त्रीले अप्रासंगिक ढंगले संसद्मा बोले–‘भारतबाट कडा भाइरस आयो।’ कोरोना महामारीसँग लड्न देशभित्रको अवस्था नबुझीकनै बोलेका कारण प्रधानमन्त्री विवादित भए। जनता प्रश्न गर्दैछन्– बिग्रिएको थर्मल गनले ज्वरो जाँचेकै भरमा भारतबाट मानिसहरूलाई देशमा प्रवेश दिने को ?संक्रमण छ कि छैन, जाँच नगर्ने को ? क्वारेन्टिनको गतिलो व्यवस्था नमिलाउने को ? क्वारेन्टिनमा उचित स्वास्थ्य जाँच नगर्ने को ? स्वास्थ्य सामग्री ल्याउन ढिलाइ गर्ने को ? आइसोलेसन क्षेत्रको उचित व्यवस्था नगर्ने को ?विज्ञले परीक्षण, परीक्षण, परीक्षण भनिरहँदा पनि बेवास्ता गर्ने को ? जनतालाई घरभित्रै थुनेर कोरोना महामारी नैजितेसरी निदाउने को ?

महामारीले विश्व नै आक्रान्त पारेको वर्तमान अवस्था सरकारहरू र नेताहरूको परीक्षाको समयपनि हो। महामारीबाट कसरी देश र जनतालाई बचाउने ? लकडाउन खुकुलो पारेर के गरी जनजीवनलाई सामान्य अवस्थामा ल्याउने ? विश्वका सबै सरकारका निम्ति यी दुई कुरा अहिले चुनौती बनेका छन्। लकडाउन सघनकक्षमा रहेको बिरामीमा राखिएको भेन्टिलेटरजस्तै भएको छ। राखौँ कतिञ्जेल राख्ने ? निकालौँ, अवस्था बिग्रिने डर ! महामारीसँग जुझ्न सरकारले लिएको वर्तमान नीति आशंका र प्रश्नको घेरामा परेको छ। स्वास्थ्य मन्त्रालयले दैनिक गरिरहेको सूचना प्रवाह संक्रमितको संख्या गन्न, मृतकको विवरण दिन, निको भएकाहरूको टाउको गन्नमा सीमित देखिन्छ। 

दैनिक हजारौँको संख्यामा सीमाबाट प्रवेश गरिरहेका जनताका लागितयार गरिएका क्वारेन्टिनको अवस्था बिजोग छ। उपचार नपाएर क्वारेन्टिनमै ज्यान गुमाउन मान्छेहरू बाध्य छन्। संक्रमितले भोगिरहेको अवहेलना आदि विषयमा जिम्मेवारीबोधसहितको सरकारी दृष्टिकोण नआउनुले सरकारको महामारी नीति फितलो रहेको देखाउँछ। हवाईजहाजबाट आउनेलाई एकथरी र जमीनबाट आउनेलाई अर्कै थरी व्यवहारले सरकारको द्वैधचरित्रलाई उदांगो पारेको छ। 

महामारीले जनताको स्वास्थ्यमा मात्रै असर गरिरहेको छैन। यसको असर समाजसँग सरोकार राख्ने थुप्रै पक्षमा पर्न थालेको छ। आर्थिक, सांस्कृतिक, राजनीतिक, व्यावहारिकलगायत समाजसँग प्रत्यक्ष सरोकार राख्ने हरेक आयाममा महामारीले असर गरिसकेको छ। महामारीले देखाएको यो रूपलाई साक्षी राखेर हाम्रा नीति–निर्माता, राजनीतिक नेता, नागरिक अगुवा, मानव अधिकारवादीलगायत सबैलाई एउटा प्रश्न सोध्न मन लाग्यो– के आजको यो अवस्थालाई हामी रोक्न सक्दैनथ्यौँ? के सरकारको कार्यशैली र नीति गैरजिम्मेवार भएकैले आजको यो अवस्था आएको होइन र ?

सरकारले महामारी फैलिन नदिन अथक प्रयास गरेको दाबी गरिरहेको छ। तर, अथक प्रयासभित्र के–के कार्य गरियो, त्यसको विवरण खुलाएको छैन। यो गरिनेछ र त्यो गरिनेछ भनेर दिवास्वप्न देखाएकै भरमा अथक प्रयास गरियो भन्नु जनतालाई ढाँट्नु हो। सरकारले दाबी गरेजस्तै अथक प्रयास वास्तवमै गरेको भए संक्रमणले यति फैलावट पक्कै पाउँदैनथ्यो। 

हो, सरकारको अथक प्रयासको मूल कार्य थियो लकडाउन। लकडाउन नामक अस्त्रको प्रयोगले संक्रमणको ‘चेन’लाई धेरै हदसम्म रोक्यो। तर, लकडाउनको समयको सदुपयोग गर्दै गर्नुपर्ने क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन, आफ्ना जनतालाई सहज ढंगले देश प्रवेश गर्न दिएर आवश्यक स्वास्थ्य जाँचपछि घर पठाउने व्यवस्था, लकडाउनका कारण बिचल्लीमा परेका श्रमिक र न्यून आय भएकालाई खाद्य सामग्रीको उचित व्यवस्था, स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको व्यवस्था आदिका साथै जनतालाई महामारीको विषम परिस्थितिमा सरकार छ है भन्ने अभिभावकीय व्यवहार देखाउन सकेको भए लकडाउनको उल्लंघन गरी–गरीश्रमिकहरू सयौँ किलोमिटर हिँडेर घर फर्किनुपर्दैनथ्यो। यी विषयमा सरकार अझै मौन छ। संक्रमित संख्या १० को हाराहारीमा हुँदा सरकारको नीति जे थियो, कार्यशैली जस्तो थियो, हजार नाघिसक्दा पनि उस्तै छ। तर, समय अझै बितिसकेको छैन। जे जस्ता गल्ती र कमजोरी विगतमा भए,तिनलाई सुधार गरेर अगाडिको बाटो तय गर्नसके भविष्यमा हुनसक्ने भयावह अवस्थालाई रोक्न सकिन्छ। 

महामारीसँग जुझ्न सरकारको मात्र भरपर्नु आम नागरिकका लागि प्रत्युत्पादक हुनेछ। यसका लागि सम्पूर्ण नागरिक, समुदाय, व्यापारी, उद्योगी, समाजसेवी, नागरिकसमाज, पेशाकर्मीको साथ अनिवार्य हुन्छ। समाजको हरेक तह र तप्कामा पुगेर महामारीबाट बच्न र यसलाई फैलिन नदिन गर्नुपर्ने कार्यहरूको व्यापक प्रचार नगर्दासम्म महामारीले आफ्नो ताण्डव देखाइरहनेछ। कोरोना संक्रमितको सम्पर्कमा नआएसम्म यो अन्य माध्यमबाट हाम्रो शरीरमा प्रवेश नगर्ने हुँदा व्यक्तिगत दूरीलाई कायम राख्नु वर्तमान समयको माग हो। कथम्कदाचित् झुक्किएर कतै छोइयो, सम्पर्कमा आइयो भने पनि स्यानिटाइजरले हात पुछ्ने वा साबुन पानीले हात धोएमा यो सर्दैन। घरबाट बाहिर जाँदा मास्क अनिवार्य लगाए कसैले हाच्छिउँ गर्दा सर्न सक्ने संक्रमणबाट बचिन्छ। मनोचिकित्सक डा. रवि शाक्य भन्छन्¬– ‘कोरोना एकप्रकारको रुघा हो। रुघा जसरी सर्छ, यो पनि त्यसै गरी सर्ने हो। त्यसैले धेरै आत्तिनुपर्दैन। सचेत र सजग भए पुग्छ। आफ्नो व्यवहार सुधार्नुस् र कोरोनाको त्रास मनबाट निकाल्नुस्।’ औषधि पत्ता नलागिसकेको वर्तमान अवस्थासँग जुध्न चर्चा गरिएजस्तै तीन व्यवहारलाई कडाइका साथ पालना गर्न सके हामी कोरोनाका साथमा पनि बाँच्न सिक्नेछौँ। अर्थतन्त्र चलायमान हुनेछ। अझै पनि लकडाउनलाई मात्रै उपाय ठानेर शहरबजार बन्द राख्ने हो भने समाजको एउटा वर्ग,जो दिनभरि काम गरेर बेलुकाको छाकको व्यवस्था गर्दछ, विद्रोह गर्न बाध्य हुनेछ र समाजमा नयाँ द्वन्द्वको सुरुवात हुनेछ। 

लकडाउन भएको तीन महिना पुग्न लागेको छ।यसलाई खोल्ने विकल्पहरू छलफलमा आएका छन्। तर, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच हुनुपर्ने ठोस बहस भएको छैन। संघीय सरकारको चरित्र केन्द्रीकृत ढंगले अघि बढ्ने देखिएको छ। यस मामिलामा स्थानीय समुदाय, युवा क्लब बढी सजग र सक्रिय देखिएका छन्। टोलछिमेकमा प्रवेश गर्ने नौला अनुहारलाई सोधपुछ गर्ने, बजारलाई व्यवस्थित ढंगले सञ्चालनमा ल्याउने, अनावश्यक भीड हुन नदिने, मास्क नलगाएकालाई तरकारीबजारमा प्रवेश नदिने, हात धुन लगाउने आदि विभिन्न कार्यमा स्थानीय युवाको सक्रियता देखिएको छ। सरकारले प्रोत्साहन र परिचालन गर्नुपर्ने पनि समाजका यी सशक्त युवालाई नै हो, न कि हतियार र लट्ठी बोकेका प्रहरीलाई। लकडाउनलाई क्रमिक रूपमा खुकुलो पार्न जति आवश्यक देखिएको छ, संक्रमित पत्ता लगाउन परीक्षणको दायरालाई बढाउन त्योभन्दा बढी जरुरी छ। बहुमतप्राप्त सरकारका लागि यो अग्निपरीक्षाको समय हो। यसमाखरो उत्रिन सके समाज र अर्थतन्त्र सबल हुनेछन्। नत्र हामीजस्तो गरिब देशलाई महामारीले झन् गरिब बनाउनेछ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि