फूल त फक्रेकै हो,  पुष्प व्यवसाय ओइलायो

writer

सुमित सुवेदी

बुधबार, २८ जेठ २०७७


अरू बेला भएको भए अहिले पुष्प व्यवसायीलाई सास फेर्ने फुर्सद हुँदैनथ्यो । महामारीले फूलको व्यापारमा प्रहार ग¥यो । पुष्प व्यवसायमा दैनिक सवा एक करोड रुपैयाँ घाटा भइरहेको छ । 


सानाप्रसाद घिमिरे पुष्प व्यवसायी हुन् । उनले फूलखेती गरेको २२ वर्ष भइसक्यो । काठमाडौँ, जोरपाटीस्थित नयाँ बस्तीमा १० रोपनी जग्गा भाडामा लिई व्यवसाय गर्दै आएका छन् ।कोरोना भाइरसको असर पुष्प व्यवसायमा पनि देखिएको छ । ‘अघिल्लो वर्ष यसै सिजनमा दैनिक पाँचदेखि १५ हजार रुपैयाँसम्म कमाएको थिएँ,’ घिमिरे भन्छन्, ‘तर, यो वर्ष व्यापार शून्य छ । कामदारलाई तलब खुवाउन, जग्गाको भाडा तिर्नै गाह्रो भइसक्यो ।’

जेठ महिनासम्मको भाडा जेनतेन बुझाएको उनी बताउँछन् । ‘जेठसम्मको भाडा सम्झौताअनुसार पहिल्यै बुझाएको थिएँ,’ उनी भन्छन्, ‘असारदेखि के गर्ने हो, थाहा छैन ?’
देशमा लकडाउन लागू भएको दुई महिनाभन्दा बढी भइसक्यो । ‘यदि सरकारले यसरी नै लकडाउन थपिरहने हो भने दुईतीन महिना भाडा मिनाहा हुनुपर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनी थप्छन्, ‘एकातिर उत्पादित फूल बजारसम्म पु¥याउन सकिएको छैन, अर्कातिर अरू फूल पनि फुलिसके । कुनै त फाल्ने बेला भएको छ । फालिरहेका पनि छौँ । घाटा लाग्यो ।’

फूलखेती गरेर उनले छसात जना कामदारलाई रोजगारी दिँदै आएका थिए । तर, अब कर्मचारीलाई तलब खुवाउन हम्मेहम्मे भएको उनी बताउँछन् । ‘व्यापारबाट आउने पैसाले कर्मचारीलाई तलब दिन्थेँ,’ उनी सुनाउँछन्, ‘आम्दानी नै शून्य छ, कसरी तलब बाँड्ने ?’ 

उनी नयाँ फूल रोप्न वा नरोप्ने, अन्योलमा छन् । ‘अर्को लटको फूल रोप्ने बेला भइसक्यो,’ उनी भन्छन्, ‘तर, अहिलेसम्म फूल रोप्ने योजना बनाएको छैन । अहिले नै बीउ राख्न सक्ने अवस्था छैन । लकडाउन खुलेर समय अनुकूल भए मात्र बिरुवा उत्पादन गर्ने सोच बनाएको छु ।’ 

माइनसमा फूलखेती 

अर्का पुष्प व्यवसायी सुशील खड्काको हालत पनि उस्तै छ । फागुनयता व्यापार नभएको उनी बताउँछन् । २५ वर्षको फूलखेतीको अनुभवमा अहिलेसम्म यस्तो घाटा कहिल्यै नबेहोरेको बताउँछन् । ‘यो क्षेत्रमा काम गरेको लामो समय भयो,’ उनी भन्छन्, ‘तर, व्यापार अहिलेजस्तो माइनसमा कहिल्यै गएको थिएन ।’ उनले लगभग २५ रोपनी जग्गामा फूलखेती गरिरहेका छन् । 

उत्पादनको हिसाबले चैत, वैशाख, जेठ र असार अधिकतम उत्पादन हुने महिना हुन् । लकडाउनले व्यापार चौपट गरेको खड्का बताउँछन् । ‘यी चार महिनामा उत्पादन र खपत बेसी हुन्थ्यो,’ उनी भन्छन्, ‘अघिल्ला वर्षमा वर्षभरिको व्यापारको ५० प्रतिशत यही चार महिनामा हुन्थ्यो । तर, यस वर्ष एक प्रतिशत पनि नहोला भन्ने डर भइसक्यो ।’ 
फूलखेती सबै महिनामा गरे पनि यस ऋतुमा उत्पादनको परिणाम र गुणस्तर राम्रो हुने उनी बताउँछन् । कोरोनाले पुष्प व्यवसायमा धेरै असर पु¥याएको उनको आकलन छ । ‘महामारीको असर त हरेक क्षेत्रमा परेको छ,’ उनी सुनाउँछन्, ‘तर, तरकारी, खाद्यान्नलगायत अरू व्यापार केही हदसम्म भए पनि चलेकै छन् । फूलको व्यापार त पूरै ठप्प छ ।’

उनले आउँदो मंसिरसम्मको जग्गा भाडा तिरिसकेका छन् । तर, त्यसपछि भाडा कसरी तिर्ने भनेर चिन्ताले उनलाई सताउन थालेको छ । ‘पहिले नै तिरिसकेकाले मंसिरसम्मको त चिन्ता छैन,’ उनी भन्छन्, ‘त्यसपछि पो के गर्ने होला ?’

आम्दानी शून्य भए पनि फार्मको खर्च भने भई नै रहेको उनी सुनाउँछन् । ‘ग्रिन हाउसभित्र रहेका स्थायी बिरुवालाई मलजल, स्प्रे अहिले पनि गरिरहेको छु,’ उनी भन्छन्, ‘नयाँ बिरुवा उत्पादन नगरे पनि फार्ममा भएका स्थायी बिरुवालाई गोड्ने, मलजल गर्ने, विषादी छर्किने काम गर्दा खर्च त्यति नै भइरहेको छ ।’ फार्मका कामदरालाई तलब दिन गाह्रो भएको खड्का सुनाउँछन् । ‘आम्दानी नभए पनि काम गरेपछि त कर्मचारीलाई तलब दिनैप¥यो,’ उनी भन्छन्, ‘उनीहरूले पनि त बाँच्नुप¥यो, खानुप¥यो । त्यसका लागि पैसा चाहिन्छ । अहिलेसम्म जसोतसो पु¥याएको छु । तर, साह्रै गाह्रो भइसक्यो ।’

सरकारले राहत प्याकेज ल्याइदिए केही सहज हुने खड्का बताउँछन् । भन्छन्, ‘कतिपय व्यवसायीले ऋणमा भर्खर–भर्खर व्यवसाय सुरु गरेका हुन्छन् । यस्तो अवस्था भएपछि उनीहरूले कसरी ब्याज तिर्ने ? त्यसैले सरकारले यस्ता व्यवसायीका लागि ब्याज मिनाहा गर्ने कार्यक्रम ल्याउनुपर्छ ।’

आशा अझै बाँकी छ

फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ पुष्प व्यवसायमा दैनिक एकदेखि सवा एक करोड रुपैयाँको घाटा भइरहेको बताउँछन् । ‘भिजिट नेपाल–२०२० का लागि भनेर पुष्प व्यवसाय बढाएका थियौँ,’ उनी भन्छन्, ‘फागुनयता सरकारले विभिन्न कार्यक्रम गर्न रोक लगाएपछि व्यापार शून्यमा झरेको छ ।’ फक्रिसकेका फूल पनि बिक्री नहुँदा झनै समस्या भएको उनी सुनाउँछन् । ‘नर्सरीबाट बिरुवा बेच्ने केही व्यवसायीले न्यून मात्रामा व्यापार गरे पनि अन्य सबैको व्यापार शून्य छ,’ उनी भन्छन् । यति हुँदाहुँदै पनि हतास हुनुपर्ने अवस्था चाहिँ उनी देख्दैनन् । ‘महामारीले पुष्प व्यवसाय मात्र नभई अरू क्षेत्रमा पनि असर पु¥याएको छ,’ उनी भन्छन्, ‘सधैँ यस्तो अवस्था रहला भन्ने छैन । अवस्था सामान्य भएपछि व्यापार फेरि आफ्नो लयमा फर्किने आशा छ ।’

अवस्था सामान्य नहुँदासम्म पुष्प व्यवसायीलाई कसरी बचाउने भनेर छलफल गरिरहेको उनी बताउँछन् । भन्छन्, ‘प्रदेश सरकारलाई केही राहत प्याकेज ल्याउनुपर्छ भनेर जोड दिइरहेका छौँ ।’ सरकारले पनि साना तथा घरेलु उद्यमीका लागि राहत प्याकेज ल्याएको छ । ‘सरकारले आयकरमा छुट, विद्युतमा छुट, पुनर्कर्जाको व्यवस्था तथा कृषि क्षेत्रमा लगानी गरेका व्यवसायीलाई ब्याजमा समेत छुट दिने भनेकाले व्यवसायीले केही राहत पाउनेछन्,’ उनी भन्छन् । 

पुष्प व्यवसायको बजार सानो छ । सामान्य दिनमा फर्किसकेपछि त्यसलाई पुरानो लयमा फर्किन धेरै समय नलाग्नेमा उनी विश्वस्त छन् । ‘पुरानो लयमा फर्किन पुष्प व्यवसयीलाई समय लाग्दैन,’ उनी भन्छन्, ‘त्यसैले हिम्मत हार्ने होइन, उच्च मनोबलका साथ आफ्नो व्यवसायलाई टिकाएर राख्ने हो ।’ व्यवसायका पूर्वाधार तयार भएकाले व्यवसाय सुरु हुनेबित्तिकै सामान्य अवस्थामा फर्किने उनी बताउँछन् । भन्छन्, ‘अहिले व्यापार ठप्प भएको मात्र हो, ध्वस्त भएको होइन ।’

यही अवस्था लामो समयसम्म रहिरहेमा फूल घरायसी प्रयोजनका लागि उपयुक्त हुने, त्यसका लागि मान्छेहरूलाई प्रोत्साहित गर्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘मान्छेलाई घरमा बस्दा–बस्दा वाक्क लागिरहेको हुन्छ,’ उनी भन्छन्, ‘यस्तो बेला अनलाइनबाट घरघर फूल पु¥याइदिने व्यवस्था मिलाउन सकियो भने सोखिनले फूलले घर सजाएर दिन कटाउँथे होलान् ।’ घरमा फूल सजाउन मानिसहरूलाई प्रोत्साहन गर्दा एकातिर पुष्प व्यवसायीको व्यापार हुने र अर्कातिर सोखिनले सजिलै समय काट्ने बहाना पाउने श्रेष्ठको भनाइ छ । 

तपाईको कमेन्ट

मुख्य समाचार