लकडाउनमा उकालोतिर अपराधको ग्राफ

writer

राजकरण महतो/जनकपुरधाम

शुक्रबार, २३ जेठ २०७७


प्रदेश २ का आठ वटा जिल्लामा लकडाउन अवधिमा बलात्कार, हातहतियार तस्करी, लागुऔषध कारोबार आदि अपराध बढेका छन् । खेतका आली हुँदै सीमानाकाबाट लागुऔषध भित्रिरहेका छन् । अपराधको ग्राफ उकालो चढिरहेको छ । 


लकडाउनमा शहरबजार सुनसान छन् । व्यापार–व्यवसाय ठप्प छ । कृषकको तरकारी बारीमै कुँहिदै छ । विकास निर्माणका कार्य बन्द छन् । देश बन्दाबन्दीमा परेका बेला प्रदेश २ मा अपराधको ग्राफ भने उकालोलाग्दो छ । बलात्कार, हातहतियार तस्करी, लागुऔषध कारोबार, हुण्डी कारोबारलगायत घटना बढेका छन् । आत्महत्या गर्नेको संख्या पनि उस्तै छ । लकडाउनमा बढेका अपराध नियन्त्रण गर्न प्रदेश २ का प्रहरी जिल्लादेखि गाउँसम्म सक्रिय छन् । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख धीरजप्रताप सिंहको नेतृत्वमा प्रहरी सक्रिय भएका छन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार चैत ११ गते लकडाउन सुरु भएदेखि जेठ १३ सम्म प्रदेश २ का आठ वटै जिल्लामा अपराधका ५ सय ६५ वटा घटना दर्ता भई प्रहरीले अनुसन्धान गरेको छ । प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेका घटनामा बलात्कारसम्बन्धी अपराधका ४५ वटा मुद्दा छन् । लकडाउनमा बलात्कारका घटना बढेका छन् ।

त्यसबाहेक कर्तव्य ज्यान १२ वटा, ज्यान मार्ने उद्योग २४ वटा, संगठित तथा आर्थिक अपराध ६३ वटा, सामाजिक अपराधका ६२ वटा घटना छन् । सय जनाजतिले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । हातहतियासहित  १७ जना, विषाक्त मदिरा उत्पादन गर्ने २० जना, लागुऔषध कारोबारी गर्ने १ सय १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हतियारको बिगबिगी
लकडाउमा सञ्चारकर्मीलाई सवारीसाधन चलाउन छुट भएकाले सर्लाहीको दक्षिणी क्षेत्र विष्णु गाउँपालिका–३, विश्वनाथपुर टोलमा जेठ ३ मा प्रहरीले प्रेस लेखिएको मोटरसाइकलमा चढेका दुई जनालाई हतियारसहित पक्राउ ग¥यो । भारतीय मोटरसाइकलमा पत्रकारको भेषमा हतियार बोकेर हिँडेका थिए, विष्णु गाउँपालिका–३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह–१ का १९ वर्षीय अनिश साह मुस्लिम । बाँसघारीमा लुकेर बसेको अवस्थामा प्रदेश प्रहरी कार्यालय, धनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीको उनीहरूलाई नियन्त्रणमा लिएको थियो । ती दुई युवक दुई थान पिस्टोलसहित पक्राउ परेका थिए । थ्री फिप्टी पिस्तोल, त्यसमा लाग्ने एक थान गोली, त्यसैगरी अर्को नलकटुवा पिस्टोल एक थान, त्यसको म्यागजिन एक थान र त्यसमा लाग्ने पाँच थान गोली बरामद भयो ।पक्राउ परेका मदन साहलाई गत वर्ष चोरीको मुद्दा लागेको थियो । यी दुई मोटरसाइकल चोरीमा संलग्न रहदै आएको खुलेको छ । साथै, उनीहरूले लागुऔषधको पनि कारोबार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ ।

धनुषा, शहीदनगर नगरपालिका–३ झण्डा चौकबाट कटुवा पेस्तोलसहित जेठ ४ मा दुई युवा प्रहरी फन्दामा परे । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८, हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनीलकुमार साह रहेको प्रहरीले जनाएको छ । अक्षयको साथबाट एक थान कटुवा पिस्टोल र त्यसमा प्रयोग हुने तीन राउन्ड गोली बरामद भयो । उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ ।

त्यसै गरी, जेठ १८ मा जनकपुरधामबाट पिस्टोलसहित महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भ्रमपुराका २१ वर्षीय अजिजुत राइन पक्राउ परे । उनको साथमा पिस्टोलमा लाग्ने म्यागजिन तीन थान, पाँच राउन्ड गोली र एक चक्कु पनि फेला परेको थियो । 

लकडाउनमा प्रदेश २ का फरक–फरक स्थानबाट १७जना ठूला हतियार र१६ जना साना हतियारसहित पक्राउ परेका थिए । तराईका जिल्लामा सानाहतियारको बिगबिगी छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार लकडाउनमा प्रहरी कोरोना भाइरसबाट जनतालाई जोगाउन व्यस्त भएको मौकामा प्रहरीले तह लगाएको अपराधी गिरोह फेरि देखापर्न थालेपछि सादा पोशाकमा विशेष प्रहरी परिचालन गरिएको छ ।  
आलीको बाटो लागुऔषध कारोबार 
लकडाउनमा भारतीय सीमानाका बन्द छ । तर, तस्करले लागुऔषध नेपालबाट भारत लैजान रोकेका छैनन् । कोरेक्स, फेन्सिडिललगायत प्रतिबन्धित लागुऔषध भारतबाट नेपालतर्फ तस्करले भित्र्याउने गरेका छन् ।प्रदेश २ को४ सय ६४ किलोमिटरमा तीन हजार सशस्त्र प्रहरी तैनाथ छन् । भएका २ सय ४६ ठूलासाना नाका सिल छन् । तर, लागुऔषध कारोबारी आलीको बाटो भएर तस्करी गरिरहेका छन् ।

सिरहा, भगवानपुर गाउँपालिका–१ स्थित प्रहरी चौकी भगवानपुरमा खटिएको प्रहरी टोलीले जेठ ९ मा चार वटा बोरामा प्याक गरी टाउकोमा बोकेर सीमा कटाउन लगिरहेको करिब एक क्विन्टल गाँजा बरामद गरेको थियो । 

सिरहा नगरपालिका–२२ स्थित प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले जेठ७मा १७ बोतल लागुऔषध डाइलेक्स डीसीसहितएक जना युवकलाई पक्राउ ग¥यो । चेकजाँचका क्रममा सोही ठाउँका २१ वर्षीय कृष्ण यादवलाई प्रहरीलेलागुऔषधसहित पक्राउ गरेको थियो ।

जेठ ६ मा सर्लाही विष्णु गाउँपालिका–६ पकवा टोलबाट कौडेना गाउँपालिका–६का २९ वर्षीय प्रमोद सहनी १० किलो गाँजासहित पक्राउ परे । मोटरसाइकलमा गाँजा राखेर लुकाई–छिपाई भारतको मधुवनीतर्फ लैजाँदै गर्दा सीमा प्रहरी चौकी फेनहरा, सर्लाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

एक साताअघि मात्रै राति लागुऔषध कारोबारीसँग प्रहरीको भिडन्त हुँदा एकजनाको ज्यानै गयो । महोत्तरीमा लागुऔषध तस्करीविरुद्धको अपरेसनको क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा जेठ ११ मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो । रामगोपालपुर नगरपालिका–७, सुसौलका १६ वर्षीय राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । लागुऔषध तस्करी नियन्त्रण गर्न सादा पोशाकमा खटिएका प्रहरीले गरेको अपरेसनमा परेर युवकको ज्यान गएको हो । लागुऔषधसहित तस्करलाई नियन्त्रणमा लिन खोज्दा गाउँका मानिसले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले छ राउन्ड गोली प्रहार गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

लागुऔषध बिक्रीवितरण भइरहेको छ भन्ने खबर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पुगेपछि सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट साँझ राति सादा पोशाकमा प्रहरी खटिएका थिए । प्रहरी आफैँ व्यापारी बनेर गए । कारोबारीले पहिला भाउ फाइनल गरे । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख धीरजप्रताप सिंहका अनुसार प्रहरी भनेर शंका लागेपछि उनीहरूले प्रहरीलाई चाल नदिई १०–१२ जना मान्छे बोलाए । त्यसपछि प्रहरी र उनीहरूबीच विवाद सुरु भयो । भीडले आक्रमण गर्दा जिल्ला प्रहरी कार्यालय, महोत्तरीका हवलदार सञ्जीव पासवान र मनोज साहको टाउको फुट्यो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर राजन यादवको मृत्यु भयो ।

चारपाँच सय थना लागुऔषध ट्याब्लेटसहित कारोबारी सुरेन्द्र यादव र उनका सहयोगी राहुल यादव पक्राउ परे । उनीहरूमाथि लागुऔषध कारोबारमा मुद्दा चलाइएको छ ।

लकडाउनदेखि हालसम्म प्रदेश २ मा १ सय १२ जना लागुऔषध तस्करर बिक्रीवितरण गर्ने कारोबारी पक्राउ परेका छन् । उनीहरूको साथबाट  दुई क्विन्टल गाँजा, १ किलो ६ सय ५० ग्राम चरेस, ९ हजार ६ सय १५थान लागुऔषधका सुईलगायत बरामद गरिएको थियो ।

लकडाउनका बेला गाउँघरमा लागुऔषध सेवनकर्ता युवाहरूले आपराधिक क्रियाकलाप निकै बढाएका छन् । कोरोना भाइरस संक्रमणको त्रासले गाउँबस्तीमा सुरक्षाकर्मीको खासै उपस्थिति नभएको मौका छोपी दुव्र्यसनीहरूले लुटपाटसमेत गर्न थालेका छन् ।

मदिराको मार
लकडाउनमा भोकमरीको चर्चा चुलिएको बेलाका गत वैशाखको दोस्रो साता महोत्तरीको बर्दिबास र भंगहा नगरपालिकामा १० जनाको ज्यान गयो । उनीहरूको मृत्युको कारण थियो– विषाक्त मदिरा । लकडाउनमा रमाइलो गरेर दिन काट्न भट्टीमा गएका उनीहरूले विषाक्त मदिराका कारण ज्यान गुमाए । 

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकलसुपरिन्टेन्डेन्ट डा. अमृत पोखरेलको टोलीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोरोना भाइरसले कसैको मृत्यु नभएको जनाएको छ । कोरोनाको कारण भटाभट मानिसहरूको मृत्यु भएको आशंकामा महोत्तरीमा त्रास फैलिएको थियो ।

‘परिवारजन, मृत्यु भएकासँग रक्सी खाएकाहरू तथा मृतकको पृष्ठभूमिकेलाउँदा मृत्युको कारण विषाक्त मदिरा रहेको हामीले फेला पारेका छौँ,’ घटनाको अध्ययन गरिरहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठना धरानका सह–प्रध्यापक डा. खेमराज शर्माले भने ।
 

तपाईको कमेन्ट