सेटमा संगम अनि घरजम

writer

सम्पूर्ण

शुक्रबार, २३ जेठ २०७७


बलिउड सेलिब्रिटीका प्रेम र वैवाहिक सम्बन्धको सधैँ चर्चा हुने गरेको छ । कतिपय जोडी फिल्ममा काम गर्दागर्दै बनेका छन् । बलिउडमा यस्ता अभिनेत्री र निर्माता पनि छन्, जो फिल्ममा सँगै काम गर्दा नजिकिए र पछि उनीहरूले लगनगाँठो कसे । 


रानी–आदित्य
अभिनेत्री रानी मुखर्जी र फिल्म निर्माता आदित्य चोपडाले सन् २०१४ मा बिहे गरेका थिए । तर, उनीहरूको प्रेमको चर्चा १२ वर्षअघि नै सुरु भइसकेको थियो । उनीहरूको भेट पहिलो पटक फिल्म ‘मुझसे दोस्ती करोगे’ मा काम गर्दाताका भएको थियो । आदित्य यस फिल्मका निर्माता थिए । आदित्यको यसअघि पायल खन्नासँग बिहे भएको थियो । पायलसँग आधिकारिक रूपमा सम्बन्ध विच्छेद गरेपछि उनले रानीसँग बिहे गरेका थिए ।


सोनाली–गोल्डी
अभिनेत्री सोनाली बेन्दे्र र फिल्म निर्माता गोल्डी बहल सन् २००२ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए । यी दुईको पहिलो भेट सन् १९९४ मा फिल्म ‘नाराज’ को सेटमा भएको थियो । त्यहाँदेखि उनीहरू एकअर्कालाई डेट गर्न थालेका थिए । सन् १९९८ मा निर्माताका रूपमा गोल्डीको पहिलो फिल्म थियो, ‘अंगारे’ । यसमा सोनालीले अभिनय गरेकी थिइन् ।


 

श्रीदेवी–बोनी
फिल्म ‘मिस्टर इन्डिया’ सन् १९८७ मा रिलिज भएको थियो । फिल्ममा अभिनेत्री थिइन्, श्रीदेवी । बोनी कपुर त्यस फिल्मका निर्माता थिए । उनी श्रीदेवीबाट प्रभावित थिए । फिल्ममा काम गर्दागर्दै उनीहरू नजिकिए । तर, बोनी विवाहित थिए ।श्रीमती मोना कपुरबाट उनका दुई सन्तान थिए, अर्जुन र अंशुला ।श्रीमतीबाट टाढिएर उनले श्रीदेवीसँग बिहे गरे । यो जोडीका खुशी र जाह्नवी दुई सन्तान छन् । सन् २०१८ मा श्रीदेवीको मृत्युपछि बोनी एक्लिएका छन् ।


उदिता–मोहित
अभिनेत्री उदिता गोस्वामीको फिल्मी करिअरको दोस्रो फिल्म ‘जहर’ सन् २००५ मा आएको थियो । फिल्मका निर्देशक थिए, मोहित सुरी । काम गर्ने क्रममा यी दुईबीच मित्रता भयो । मित्रता प्रेममा बदलियो । लामो प्रेम सम्बन्धपछि सन् २०१३ मा उनीहरूले लगनगाँठो कसे ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट