जहाँ दलितसँग प्रेम वर्जित छ

writer

सम्पूर्ण

बिहिबार, २२ जेठ २०७७


सवा अर्ब जनसंख्या भएको भारतमा दलितको हिस्सा १७ प्रतिशत छ। भारतीय समाज परिवर्तन भइरहेको छ। करोडौँ मानिस गरिबीबाट मुक्त भएका छन्, अर्थतन्त्र विकसित हुँदै छ। तैपनि, जाति व्यवस्थाको जरो हल्लिन सकेको छैन। 



उनीहरू जवान थिए र एकअर्काका प्रेममा थिए। नीलो सुट लगाएका बेहुला प्रणय पेरुमल्ला विवाह मण्डपमा पुगे। बेहुली अमृता वर्षिनीको हात समात्दा उनको अनुहार उज्यालिएको थियो। उनीहरूले एकअर्कालाई ठूलो माला लगाए। जम्मा भएका आफन्तले पहेँलो चामलले उनीहरूलाई पर्साए। विवाहको खुशी मनाइरहँदा उनीहरूको ज्यान भने खतरामा थियो।

बिहे भएको एक वर्ष पनि बितेको थिएन। तेलंगना राज्यका उनीहरू एक दिन दिउँसो मिरियालगुडाशहरस्थित अस्पतालबाट बाहिर निस्किँदै थिए।हातमा ठूलो खुँडा बोकेको एक जनाले उनीहरूको पिछा ग¥यो। त्यसव्यक्तिले प्रणयको टाउको र घाँटीमा खुँडाप्रहार ग¥यो। तत्कालै उनको ज्यान गयो।

२३ वर्षीय प्रणय दलित अर्थात् अछुत थिए। २१ वर्षीया अमृता उच्च जातकी थिइन्। उनीहरूको विवाहलाई अमृताको परिवारले सहनै नसक्ने अपमान ठान्यो। उनका पिता टी मारुती राव यति आक्रोशित भए, उनले केही मानिसलाई ठूलो रकम तिरेर ज्वाइँको हत्या गर्न पठाए।

दुब्ली अमृता प्रणयको आमाबुबासँगै बस्छिन्। बैठक कोठाका भित्तामा उनका तस्बिर छन्। उनको काखमा छ महिनाको छोरो छ, जसको अनुहारमा बुबा प्रणयको जस्तै मुस्कान देखिन्छ।अमृताको घर दलित बस्तीको एक छेउमा छ। घर मालिक हुन्, प्रणयका बुबा बालास्वामी।उनी लाइफ इन्स्युरेन्स कर्पोरेसन अफ इन्डियामा तीन दशकदेखि कार्यरत छन्।बालास्वामीको घरबाट गाडीमा जाँदा पाँच मिनेटको दूरीमा अमृताको बुबाको आलिशान महल छ। उनी त्यहीँ हुर्केकी थिइन्।एक लाख बासिन्दा रहेको मिरियालगुडाका राव ठूला घरजग्गा व्यवसायी हुन्। 

अमृता स्कुल जान थालेदेखि नै उनका आमाबुबाले भन्ने गरेका थिए– तल्ला जातकालाई साथी नबनाउनू। तर, नौ कक्षा पढ्दादेखि नै उनी एउटै स्कुलका प्रणयलाई मन पराउन थालिन्। त्यसबेला १० कक्षामा पढ्ने प्रणय रमाइला र खेलकुदमा सक्रिय थिए। उनीहरू आपसमा मेसेज पठाउने र फोनमा कुराकानी गर्न थाले।

यो कुरा थाहा पाउनेबित्तिकै घरमा खैलाबैला मच्चियो। अमृतालाई उनका बुबाले कुटपिट गरे, मोबाइल र ल्यापटप खोसे। त्यतिले नपुगेर उनलाई अर्कै स्कुलमा सारिदिए। त्यसपछिको छ वर्षसम्म अमृता र प्रणय आक्कलझुक्कल मात्रै एकअर्कालाई भेट्न पाउँथे।

अमृताको विवाह उनको बुबाका लागि प्रतिष्ठाको विषय थियो। ‘माथिल्लो जातको हो भने म तँलाई भिखारीसँग भए पनि बिहे गर्दिन्छु, तर जस्तै राम्रो भएपनि तल्लो जातको केटासँग चाहिँ कदापि हुँदैन,’ उनी भन्थे।

उनीहरू दुवै कलेजमा थिए। प्रणय इन्जिनियरिङ पढ्दै थिए भने अमृता फेसन। घरमा उनको विवाहको गाइँगुइँ चल्न थाल्यो। उनले प्रणयलाई खबर पठाइन्– ‘मेरो बिहे अर्कैसँग गर्दिन आँटे, हामी भागौँ।’

३० जनवरी, २०१८ को मध्याह्नतिर आमा निदाएको बेला अमृता एउटा झोला बोकेर निस्किइन्। झोलामा उनले जन्मदिनको उपहारस्वरूप पाएका कपडा, स्कुलको प्रमाणपत्र र परिचयपत्र थियो। उनी भ¥याङ ओर्लेर सडकमा पुगिन्, जहाँ प्रणय पर्खिरहेका थिए।

उनीहरू डराएका थिए, तर योजना तयार गरिसकेका थिए। दुवैले पासपोर्ट बनाउन आवेदन दिए र अंग्रेजी भाषाको परीक्षाको तयारी गर्न थाले। उनीहरूको अस्ट्रेलिया जाने योजना थियो।

उनीहरूले राज्यको राजधानी हैदराबादमा एउटा मन्दिरमा केही साथीको उपस्थितिमा विवाह गरे। त्यसको पाँच महिनापछि अमृताले आफू गर्भवती भएको चाल पाइन्। त्यसैले विदेश जाने योजनालाई थाती राखेर उनीहरूले विवाह भोज आयोजना गरे।

१७ अगस्ट, २०१८ मा उनीहरूले आयोजना गरेको भोजमा अमृताका आमाबुबा आएनन्। त्यसबेलासम्म अमृताका बुबा रावले प्रणयको हत्याको षड्यन्त्र रच्न सुरु गरिसकेको अदालती कागजातमा देखिन्छ।त्यसको एक महिनाअघि नै प्रणयको ज्यान लिने व्यक्तिलाई एक स्थानीय नेताको माध्यमबाट १ करोड ८० लाख रुपैयाँ दिने वाचा गरिसकेका थिए। रावले विवाह भोजको निम्तो कार्डमा राखिएको छोरी–ज्वाइँको फोटो पनि हत्यारालाई थमाएका थिए।

१४ सेप्टेम्बरका दिन अमृता, प्रणय र उनकी आमा प्रेमलता डाक्टरलाई भेटेर ज्योति हस्पिटलबाट बाहिर निस्किँदै थिए। सीसी क्यामरामा कैद भएको भिडियोअनुसार उनीहरू गफ गर्दै हिँडिरहेका थिए। हातमा खुँडा बोकेको हत्याराले तत्काल प्रणयमाथि प्रहार गर्छ। दुविधामा परेकी अमृता हात उठाएर सहयोग माग्न अस्पतालतर्फ दौडिन्छिन्। बेहोश हुनुअघि उनले बुबालाई फोन गरेर सोधिन्, ‘प्रणयलाई कसैले आक्रमण ग¥यो। तपाईंले यस्तो के गर्नुभयो?’

प्रणयको हत्या निश्चय पनि जातीय हिंसाको चरम प्रस्तुति थियो। तर, मिरियालगुडाका सबै बासिन्दा यस्तो मान्न तयार थिएनन्।

सयौँ मानिस, खासगरी दलितहरू प्रणयको परिवारलाई सान्त्वना दिन उनीहरूको घर गए। प्रणयको स्मृतिमा उनको एउटा शालिक बनाउने सल्लाह पनि भयो। तर, अरूले अमृताको बुबालाई साथ थिए। ‘यो हत्याको घटना किन भयो भने उनीहरूनौ कक्षामा पढ्दादेखि नै प्रेम गर्न थाले र उनीहरूको प्रेमलाई परिवारले स्विकारेन,’ आर्य वैश्य एसोसियसन (अमृताको बुबाको समुदाय) का अध्यक्ष भूपति राजु भन्छन्। राजुले अभिभावक संरक्षण संघ बनाए र राव जेलमा हुँदा सयौँलाई लिएर भेट्न पुगे।

मिरियालगुडाका एक वकिल श्याम सुन्दर चिलुकुरीले पनि त्यस्तै समूह बनाए। ‘एउटा दलितले धम्की दिएर गैरदलित समुदायकी युवतीसँग विवाह गरेको घटना हो यो,’ उनी भन्छन्, ‘अरू धनीमानी परिवारका छोरीलाई पनि यसैगरी फसाउने सम्भावना छ।’

अमृताका बुबा एउटा सानो क्याफेमा पर्खिरहेका थिए। होचो कदका जुँगा पालेका र सुनौलो फ्रेम भएको चस्मा लगाएका राव प्लास्टिक टेबल ओगटेर बसेका थिए।केही समयअघि मात्र उनी धरौटीमा छुटेका थिए। तर, उनले रेकर्डमा कुनै कुरा बोल्न अस्वीकार गरे।उनका वकिल रविन्दर रेड्डीले पनि बोल्न मानेनन्।

रावविरुद्धको ५६ पृष्ठ लामो मुख्य अभियोग पत्रमा हत्यामा उनको संलग्नता स्पष्ट रूपमा देखिने दाबी गरिएको छ। ३० सेप्टेम्बर, २०१८ मा रावले अपराध स्वीकार गरेको पनि प्रहरीले जनाएको छ। नालगोँडा जिल्लाका प्रहरी अधिक्षक एभी रंगनाथका अनुसार हत्यारा र रावबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका स्थानीय नेताले रावको सबै भनाइ मोबाइलमा रेकर्ड गरेका रहेछन्।

प्रणयका पिता ५३ वर्षीय बालास्वामी भविष्यमा यस्ता हत्या नदोहोरियून् भन्नका लागि पनि रावले सजाय पाउनुपर्ने बताउँछन्।त्यसो भन्दा उनी नातिलाई बोकेर खेलाइरहेका थिए।

अमृता प्रणयकै परिवारमा बस्ने र बुबाको घर कहिल्यै नफर्किने बताउँछिन्। ‘प्रणयको मृत्युको कारण मेरो बुबा हुन्,’ उनी भन्छिन्।

सवा अर्ब जनसंख्या भएको भारतमा दलितको हिस्सा १७ प्रतिशत छ। भारतीय समाज परिवर्तन भइरहेको छ। करोडौँ मानिस गरिबीबाट मुक्त भएका छन्, अर्थतन्त्र विकसित हुँदैछ। तैपनि जाति व्यवस्थाको जरो हल्लिन सकेको छैन। अमृता र प्रणयजस्ताका लागि समाज अझै बदलिएको छैन। युगौँदेखि चल्दै आएका भेदभाव र जाति प्रथालाई उल्लंघन गर्ने उनीहरूले ज्यान दिएर यसको मूल्य तिर्नुप¥यो।

सन् २०१७ को एक अध्ययनअनुसार भारतमा हुने विवाहमध्ये ५.८ प्रतिशत मात्र दुई फरक जातिका मानिसबीच हुने गर्दछ। गएको चार दशकमा यो संख्यामा खासै परिवर्तन आएको छैन।

भारत यस्तो मुलुक हो, जहाँ व्यक्ति हत्याको सबैभन्दा प्रमुख कारणमध्ये एक हो, प्रेम। सन् २००१ देखि २०१७ सम्मको तथ्यांकलाई हेर्ने हो भने व्यक्तिगत दुश्मनीका कारण सबैभन्दा धेरै ६७ हजार ७ सय ७४ को हत्या भएको छ। त्यसपछि सम्पत्ति विवादमा ५१ हजार ५ सय ५४ को हत्या भएको छ। हत्याको तेस्रो प्रमुख कारण अर्थात् प्रेमका कारण ४४ हजार ४ सय १२ को हत्या भएको थियो। सन् २००१ को तुलनामा सन् २०१७ मा व्यक्तिगत दुश्मनीका कारण हुने हत्या चार प्रतिशतले घटेको थियो। त्यस्तै, सम्पत्ति विवादका कारण हुने हत्यामा १२ प्रतिशतले गिरावट आएको थियो।तर, प्रेमसम्बन्धका कारण हुने हत्याको दर भने २८ प्रतिशतले बढेको थियो।

भारतका आन्ध्र प्रदेश, गुजरात, महाराष्ट्र र पञ्जाब राज्यमा हत्याको सबैभन्दा प्रमुख कारण प्रेम सम्बन्ध रहँदै आएको छ।

यसबाहेक ‘लभ जिहाद’को आतंक पनि भारतले भोगिरहेको छ। मुस्लिम पुरुषले हिन्दू महिलासँग प्रेम गरेको निहुँमा सयौँको हत्या गरिएको छ।यसलाई सत्ताधारी दल भारतीय जनता पार्टीका हिन्दू अतिवादीहरूले थप मलजल गरिरहेका छन्। मुस्लिमहरूले विवाहको बहानामा धर्म परिवर्तन गराउन हिन्दू युवतीलाई जालमा पारेको भन्दै यी दुई धर्मबीचका प्रेमसम्बन्धलाई वर्जित गर्ने प्रयत्न भइरहेको छ।

–एजेन्सीको सहयोगमा कवि आचार्य 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि