दलितलाई सधैँभरि प्रेमको लकडाउन

writer

सम्पूर्ण

बिहिबार, २२ जेठ २०७७


रुकुम हत्याकाण्ड:


–सृजना खड्का, काठमाडौँ
–राजेन्द्र कार्की, जाजरकोट

    

जाजरकोट, भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक खलंगास्थित त्रिभुवन माविमा १२ कक्षामा पढ्थे। उनी खेलाडी पनि थिए। भलिबल र दौडमा उनको रुचि थियो। २०७५ साल असारमा भेरी नगरपालिका–१३ कुदुस्थित भगवती माविमा आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्नका लागि विद्यालयबाट छनोट भएर गएका थिए।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया सुषमा मल्ल प्रतियोगिता हेर्न कुदु आएको बेला नवराजसँग चिनजान भयो। उनीहरूको चिनजान बिस्तारै प्रेममा परिणत भयो। फोन र म्यासेन्जरमा कुरा हुन थाल्यो। त्यसपछि समय मिलाएर भेटघाट गर्न थाले। 

सुषमा नवराजको घरमा गत वर्ष पुस १२ गते पुगेकी थिइन्। चार दिन बसेकी थिइन्। त्यतिबेला नवराजका बुबा मोहनलालले भनेका थिए, ‘नानी, तिमी त उमेरमा पनि सानी छौ, जातले पनि मल्ल ठकुरीकी छोरी ! हामी सानो जातका मानिस। भोलि तिम्रा आमाबाउले लफडा गर्लान्। अबदेखि तिमी हाम्रो घरमा नआउनू।’

मोहनलालले ‘सम्पूर्ण’लाई बताएअनुसार जवाफमा सुषमाले भनेकी थिइन्, ‘अहिलेको जमानामा पनि केको जातभात ! हामी जातभात केही मान्दैनौँ। साथी हौँ। आठ वर्षपछि बिहे गर्ने हो।’ त्यसपछि पुस २९ गते फेरि उनी नवराजको घर गएकी थिइन् र तीन दिन बसेर फर्केकी थिइन्। 

त्यो प्रेम सम्बन्ध सुषमाका आमाबुबालाई पटक्कै मन परेको थिएन। छोरीले दलित केटासँग प्रेम गरेको र उनीहरूले बिहे गरे समाजमा नाक काटिने डर उनीहरूलाई थियो। त्यसैले त्यो सम्बन्ध उनीहरू सदाका लागि टुटाउन चाहन्थे।

गत चैत १७ गते नवराज सुषमाको घरमा गएका थिए। घर आएको थाहा पाउनेबित्तिकै सुषमाका आमाबाबुले गाँउका केटाहरू लगाएर कुटपिट गरी नवराजलाई इलाका प्रहरी कार्यालय, चौरजहारीको जिम्मा लगाएका थिए। नवराजकी आमाले ‘आइन्दा यो सम्बन्ध अघि नबढाउने’ भन्दै कागज गरेर छोरालाई बुझेर लगेकी थिइन्। उनीहरूको प्रेम सम्बन्ध भने झन्झन् बलियो हुँदै गयो। 

प्रहरी केस भइसकेपछि सुषमाका आमाबुबाले उनलाई घरबाहिर निक्लिन प्रतिबन्ध लगाए। उनीहरू छोरीको बिहे अन्यत्र गरिदिन चाहन्थे। 
०००

केही हप्ताअघि सुषमाले ‘एक्लै आए कुट्न सक्छन्, आठदश जना साथीसहित मलाई लिन आउनू’ भनेपछि नवराजले साथीहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। उनी आफ्नो प्रेमलाई विवाहमा परिणत गर्नका लागि १८ जना साथीसहित जेठ १० गते मध्याह्न १२ बजे जाजरकोटबाट सुषमाको घर रुकुम पुग्न हिँडेका थिए। बाटोमा नवराज र सुषमाबीच कुराकानी भइरहेको थियो। तर, घरनजिकै पुग्न उनको मोबाइल बन्द भयो। 

‘केटी भगाउने भन्दै जेठ १० गते बेलुका ५–६ बजेतिर जाजरकोटबाट हामी १९ जनाको टोली सोती पुग्यौँ,’ नवराजसँगै गएका महेश कार्कीले भने, ‘केटीको घरमा नपुग्दै हामी आएको पहिल्यै थाहा पाइसकेका रहेछन्। चारैतिरबाट घेराबन्दी गरेर गाउँलेले हाम्रो टोलीमाथि एक्कासि आक्रमण गरे। कोही ज्यान जोगाउन भन्दै भेरीमा हाम्फाले, कोही भागे। केहीलाई गाउँलेहरूले लखेटी–लखेटी कुटपिट गरे।’ उनका अनुसार पूरै गाउँ उर्लेको थियो। ‘‘ठकुरीकी छोरी लान खोज्ने डुमहरू !’ भन्दै साथीहरूलाई कुट्नुसम्म कुटे,’ कार्कीले सुनाए, ‘मलाई पनि कुटे। मरे मरूँला भनेर भेरीमा हाम्फालेँ। पौडी खेलेर नदी तरेँ। गाउँका केटाहरूले मलाई त्यहाँ आएर पनि कुटे। घाइते थिएँ। त्यसपछि प्रहरी आएर लग्यो। नवराजलाई भने कुट्दाकुट्दै मरेपछि भेरीमा फालिदिएछन्।’ 

घटनास्थल।

सँगै गएका सरोज भडेलले पनि भागेर ज्यान जोगाएको बताए। ‘गाउँ पुग्नेबित्तिकै गाउँ नै उर्लेर आयो,’ उनले भने, ‘कसैको हातमा चिर्पट थियो, कसैको हातमा हँसिया। हामीमध्ये केही नदीमा हाम्फाल्यौँ। कोहीलाई गाउँलेले पक्रेर धुस्नोझैँ चुटे।’ 

दुलही ल्याउने सपनामा साथीहरू लिएर गएका नवराज दलित भएकै कारण मारिए। गाउँलेको आक्रमणमा परेर उनीसहित पाँच जनाको ज्यान गुम्यो। भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्। भेरी नगरपालिका–४ का सन्दीप विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारले ज्यान गुमाए।

‘हामी केटीको घर पुग्न नपाउँदै उनकी आमाले ‘डुम किन आयो ? अस्तिको कुटाइले पुगेनछ, आज यो डुमको टोलीलाई मार्नैपर्छ’ भन्दै कराउन थालिन्,’ नवराजसँगै गएका भेरी नगरपालिका–४ का सुदीप खड्काले भने, ‘त्यसपछि त गाउँलेहरूले हामीलाई लखेट्न थालिहाले। ६० जनाभन्दा बढीको हूलले हामीमाथि आधा घण्टाभन्दा बढी ढुंगामुढा गर्दै लखेट्यो। नवराज ‘मलाई बचाओ, बचाओ’ भन्दै थिए।’

जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले रुकुम पश्चिमको प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार रुकुम प्रहरीले वडाध्यक्ष डम्बरबहादुर मल्लका साथै सुषमा, उनका बुबा वीरबहादुर, आमा प्रकाशी, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १८ जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए। पीडित पक्षले पक्राउ परेका उनीहरूसहित २० जनाविरुद्ध किटानी जाहेरी दिएको छ।

पक्राउ पर्नेहरू अधिकांश मल्ल थरका छन्। वडाध्यक्ष पूर्वमाओवादीबाट निर्वाचित हुन्। पीडकहरू नगरप्रमुखदेखि पूर्वगृहमन्त्रीसम्मका नातेदार भएकाले र सत्तासीन पार्टीका वडाध्यक्षसमेत घटनामा मुछिएकाले उनीहरूलाई जोगाउन चलखेल हुन सक्ने पीडित पक्षको आशंका छ।

सोतीका स्थानीयले लकडाउनको क्रममा ठूलो संख्यामा युवाहरू गाउँमा आएको, उमेर नपुगेकी बालिकालाई जबर्जस्ती अपहरणको शैलीमा लिन खोजिएको र लखेट्ने क्रममा भागदौड हुँदा भेरीमा परेर मृत्यु भएको दाबी गर्दै आएका छन्।

अधिकारकर्मी पार्वती विकले रुकुम हत्याकाण्ड जातीय विभेदको निर्मम नमुना भएको बताइन्। ‘अनेक बहाना बनाएर घटनालाई जतातिर मोडे पनि जातभात नमिल्दा भएको कुटपिटले नवराज र उनका साथी मारिएका हुन्,’ विकले भनिन्, ‘जातभातकै कारण भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य अपराध हो। दोषीले सजाय पाउनैपर्छ।’ 

मानवताविरुद्ध जघन्य अपराध 
कर्णाली प्रदेशसभाका सदस्यले सोती घटना योजनाबद्ध भएको निष्कर्ष निकालेका छन्। पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोती गाउँको स्थलगत अध्ययन, स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीलाई भेटेर सुर्खेत फर्केका कर्णाली प्रदेशसभाका पाँच सदस्य घटना पूर्वयोजनाअनुसार नै भएको निचोडमा पुगेका छन्। घटनाको न्यायिक र निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ। नेकपाकी सचेतक सीता नेपालीले जातीय विभेदका कारण उक्त घटना भएको बताइन्। ‘मानवताविरुद्धको यो जघन्य अपराध बिनायोजना सम्भव छैन,’ उनले भनिन्, ‘चोट छ, रगत बगेको देखिन्छ। हामीले लोकेन्द्र सुनारको शव हेर्‍यौँ। आकस्मिक रूपमा यस्ता घटना हुँदैनन्। भेरी नदी र किनारमा भेटिएका शव पनि पानीमा बगेजस्ता देखिँदैनन्।’

प्रदेशसभा सदस्य राजु नेपालीले सुषमाका अभिभावक र गाउँलेले उनीहरूको सम्बन्ध अस्वीकार गरेकै कारण रुकुम हत्याकाण्ड भएको बताए। ‘त्यसअघि पनि नवराज उक्त गाउँमा गएको र कुटपिट गरी प्रहरीमा बुझाइएको पाइयो,’ उनले भने, ‘घटना हुनुभन्दा पहिले नै लफडा सुरु भइसकेको रहेछ। केटीकी आमासित भनाभन परेपछि अर्को बाटो लागिसकेका युवालाई गाउँलेले योजनाबद्ध ढंगले कुट्दै लखेटेको प्रत्यक्षदर्शीले बताए। तर्न सक्ने भेरीको सानो भँगालोबाट सजिलै बग्न सक्ने अवस्था छैन। शवको प्रकृति हेर्दा पनि हत्यापछि भेरीमा बगाइएको निष्कर्षमा पुगिन्छ।’

नवराजका आमाबुबाले छोराको हत्यारालाई कारबाहीको माग गरेका छन्। सरकारद्वारा गठित उच्च स्तरीय छानबिन समितिसमक्ष उनीहरूले न्यायको याचना गरेका हुन्। ‘घटनालाई तोडमोड गर्ने काम नगरियोस्, निष्पक्ष छानबिन गरी हामीलाई न्याय दिइयोस्,’ बुबा मोहनलालले भने, ‘दलित भएकै कारण मेरो छोरासहित पाँच जनाको हत्या भएको छ। दोषीलाई कारबाही गरियोस। मेरो छोरा मरे पनि न्याय नमरोस्।’ 

घटनाका विषयमा संसद्देखि सडकसम्म चर्को दबाब भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्तले सोती घटनामा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउने बताए। पन्तलाई नवराजकी आमा उर्मिलाले भनेकी थिइन्– ‘हामी गरिब र निमुखाले आफ्नो निर्दोष सन्तान गुमाएका छौँ। हाम्रो पहुँच कतै छैन। छोराको हत्यारालाई कारबाही भएको सुन्न पाऊँ।’ 

छोरा गुमाएका बलबहादुर विकले घटनालाई तोडमोड गर्न खोजिएको भन्दै आक्रोश पोखे। उनले भने, ‘सबै पौडी खेल्न सक्ने केटाहरू हुन्। कुटपिट गरेर मारेर फालिएको छ, तर ‘नदीमा आफैँ बगे’ भनेर घटनालाई सामान्य बनाउन खोजिएको छ। यो कुरा हाम्रा लागि सह्य छैन। दोषी उम्किन नपाऊन्।’

डीआईजी पन्तले घटनाको निष्पक्ष छानबिन हुने बताए। ‘दोषीहरू सजायको भागीदार हुनेछन्,’ उनले भने, ‘पीडितले न्याय पाउनेछन्।’ 

मारिएका युवाका सपना के थिए ?
रुकुम हत्याकाण्डमा मारिनेहरू सबै २३ वर्षमुनिका थिए। सबैले मीठा सपना सजाएका थिए। अभिभावकले पनि बुढेसकालको सहारा बन्लान् भन्ठानेका थिए। नवराज र टीकाराम घरका एक्ला छोरा थिए। 

२१ वर्षीय नवराज मोहनलाल र उर्मिलाका एक्ला छोरा हुन्। उनी नेपाल प्रहरीको जवानका लागि लिखितमा नाम निकालेर मौखिक परीक्षाको तयारीमा थिए। लकडाउनका कारण परीक्षा स्थगित भएको थियो। 

ज्यालामजदुरी गरेर गुजारा चलाउने नवराजका बुबा मोहनलाल बिरामी छन्। काम गर्न सक्दैनन्। आमा उर्मिला गाउँको प्राथमिक विद्यालयमा कार्यालय सहयोगी छिन्। उनीहरूले दुःखजिलो गरेर छोरालाई पढाएका थिए। नवराज १२ कक्षामा पढ्दै थिए। प्रहरीको जागिर खाने क्रममा थिए। उनी आमाबुबालाई सुखसँग पाल्न चाहन्थे। ‘पैसा कमाएपछि सदरमुकाममा गतिलो घर बनाउँछु, तपाईंहरूलाई राम्रोसँग पाल्छु भन्थ्यो,’ उर्मिलाले सम्झिइन्। 

अर्का युवा गणेश बुढा वैदेशिक रोजगारीमा जान चाहन्थे। आमाबुबासँग रानागाउँमा डेरामा बस्थे। बुबा पदमबहादुर र आमा राधिका सदरमुकाममा मजदुरी गर्छन्। १९ वर्षीय गणेशले वैदेशिक रोजगारीमा गएर परिवारको आर्थिक अवस्था उकास्ने सपना देखेका थिए। ‘विदेश गएर पैसा कमाउँछु, तपाईंहरूलाई सुख दिन्छु भन्थ्यो,’ राधिकाले भनिन्, ‘लकडाउनले विदेश जान ढिलो भयो।’ नवराजको मिल्ने साथी भएकाले गणेश त्यस दिन सोती गएको उनले बताइन्।

सोतीमा मारिएका अर्का व्यक्ति २३ वर्षीय सन्दीप विक ‘सञ्जु’ असाध्यै सोझा र मिजासिला थिए। नाताले उनी नवराजका दाइ पर्थे। बलबहादुर र सविताका जेठा छोरा सन्दीपले प्राथमिक तहसम्म मात्र पढेका थिए। उनका एक भाइ र दुई बहिनी छन्। सन्दीप घरको काममा आमाबुबालाई सघाउँथे। सानोतिनो व्यापार गरेर छिट्टै बिहे गर्ने तयारीमा थिए। आमाबुबालाई भन्ने गर्थे, ‘केही व्यवसाय थाल्छु, अनि बिहे गर्छु।’

ज्यान गुमाउने अर्का युवा १८ वर्षीय लोकेन्द्र सुनार सुर्खेतमा सुनचाँदी व्यवसायका लागि तालिम लिइरहेका थिए। लकडाउनमा घर फर्केका थिए। उनको बुबाको २०७४ सालमा बस दुर्घटनामा परी मृत्यु भएको थियो। आमा र बस दुघर्टनामा परी घाइते भएकी बहिनीको एक मात्र सहारा थिए, लोकेन्द्र। उनका दाइ वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए, उतै अलपत्र छन्। उनी सुनचाँदी व्यवसाय चलाउने तयारीमा थिए। ‘लकडाउनको बिदामा घर आएको थियो, मर्नु लेखेको रहेछ,’ लोकेन्द्रकी आमा लक्ष्मीले भनिन्, ‘सुनचाँदी पसल खोलेर पैसा कमाउने र हामीलाई सुख दिने उसको सपना थियो।’ 

२० वर्षीय टीकाराम सुनार सोबे र गीताका एक्लो सन्तान हुन्। विवाहित उनका दुई वर्षीया छोरी र श्रीमती छन्। उनका आमाबुबा मजदुरी गर्छन्। उनी  चौरजहारीको शीतल माविमा ११ कक्षामा पढ्दै सोलार पावर जडानसम्बन्धी काम गर्थे। अनुभव राम्रो भएपछि सोलारसम्बन्धी कामलाई व्यवसायका रूपमा विस्तार गर्ने योजनामा थिए। ‘साथीको घरजमका लागि सहयोग गर्न गएको थियो, पापीहरूले मारेर भेरीमा फाल्दिए,’ बुबा सोबेले भने, ‘नातिनीलाई टुहुरी बनाए, बुहारीको सिन्दूर पुछियो।’ 

भेरी नगरपालिका–११, मटेलाका गोविन्द शाही भने अझै भेटिएका छैनन्। उनी शीतल मावि चौरजहारीबाट यस वर्ष एसईई दिने विद्यार्थी हुन्। बाबुआमाका तीन छोरामध्ये कान्छा हुन्। आमा भीमकुमारीका अनुसार १८ वर्षीय गोविन्द विदेश गएर घरपरिवारलाई भरथेग गर्न चाहन्थे। 

प्रेमका कारण ज्यान गुमाउने दलितहरू 
काभ्रे, पाँचखाल– ६, होक्सेका अजीत मिजार कक्षा १२ मा अध्ययनरत थिए । गैरदलित युवतीसँगको दुई वर्षको प्रेमलाई उनले २०७३ असार २५ मा विवाहमा परिणत गरे। नवदम्पती अजितको दिदीकोमा बसेको थियो। दुई दिनपछि युवतीले माइतीलाई जानकारी दिइन्। माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी थियो। उनीहरूको सम्बन्ध–विच्छेद गराइयो । अर्को दिन अजित बेपत्ता भए । अजितको परिवारले प्रहरीमा उजुरी गर्‍यो।

भोलिपल्ट धादिङको कुलपुर गाविसको परेवाटारमा झुण्डिएको अवस्थामा एउटा शव भेटियो। दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लाश गाड्यो। यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । घटनास्थल पुग्दा लाश गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लाश निकाले । लाश अजितकै थियो । 

प्रहरीले पोस्टमार्टम गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँकतै चिरफार गरेको भेटिएन । आफन्तले शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल ल्याए । अजीतको शव अझै अस्पतालमा छ । 

गैरदलित युवतीसँग छोराको प्रेम सम्बन्धका कारण २०६८ को भदौमा दैलेखका सेते दमाई मारिए । आफ्नै उमेरकी गैरदलित युवतीसँग उनको छोराको प्रेम थियो। दुवैले राजीखुशीमा प्रेमलाई बिहेमा परिणत गरे। तर, गैरदलित प्रेमिकाकी परिवारले सेतेका छोरालाई आक्रमण गर्‍यो। छोरालाई बचाउँदा उनी आफैँ मारिए। 

त्यही वर्षको माघ १६ मा भएको सप्तरी, पन्सेरा–३ का शिवशंकर दासको मृत्युको कारण पनि अन्तरजातीय प्रेम र विवाह नै थियो । आफूहरूको प्रेमले परिवार र समाजमा विवाहका रूप नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले ७ माघ, ०७३ मा एउटै पासो लगाए । तनहुँकी संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीले पनि गैरदलितसँग प्रेमविवाहकै कारण ज्यान गुमाएका थिए। 

कानुनमा के छ ?
नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी ऐन, २०२० ले नै छुवाछुतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ २०६३ मा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ । वर्तमान संविधानको धारा ४० मा ‘दलितको हक’ अन्तर्गत सात वटा उपधारामा दलितका अधिकार र हक उल्लेख छन्। 

जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गरेको छ । यसैमा छुवाछुत तथा भेदभावविरुद्धको अधिकारमा विवाह गर्ने तथा वरवधू छान्ने अधिकार सुरक्षित छ । कसैले प्रचलित कानुनबमोजिम उमेर पुगेका वरवधूबाट मञ्जुर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा रोक लगाए छुवाछुत तथा भेदभाव गरेको मानिन्छ ।

‘यो जातीय नरसंहार हो’ 
सांसद् लक्ष्मी परियार रुकुम घटनालाई जातीय नरसंहार भन्छिन्। ‘अन्तरजातीय विवाह र प्रेम गरेकै कारण मृत्यु भएका धेरै घटना छन्,’ उनले भनिन्, ‘तर, यो अहिलेसम्मकै भयानक जातीय नरसंहार हो।’ यस घटनालाई समाज, सामाजिक सञ्जाल र सञ्चारमाध्यमले पीडितलाई थप पीडा दिने र पीडकलाई झन् माथि उकास्ने काम भएको उनले बताइन्। दलितका मुद्दालाई कानुन र संविधानमा लेखेर, पार्टीको घोषणापत्रमा लेखेर र भाषणमा मात्र सीमित गरेर परिस्थिति नबदलिने उनको मत छ। ‘जातीय विभेदका कारणले मृत्यु भएकाले पीडित समुदायकै सांसद्हरूको नेतृत्वमा समिति बन्नुपर्छ भनेर माग राखेका छाँै,’ उनले भनिन्, ‘अहिले बनेको समितिबाट न्याय पाइएला भन्ने आशा हामीले राखेका छैनौँ। जसको सवाल उसैको अगुवाइ हुनुपर्छ। नत्र अहिलेको संस्कार र सरकारले मुद्दालाई न्याय दिने ठाउँसम्म पुर्‍याउँदैन।’

सांसद् मानबहादुर विक पनि सामान्य कर्मचारीको समितिले न्याय दिन नसक्ने ठान्छन्। ‘त्यसका लागि हामीले संसदीय समिति गठन गर्ने माग राखिरहेका छौँ,’ उनले भने, ‘सानो–सानो घटनालाई लिएर गृहमन्त्री, प्रधानमन्त्री हेलिकप्टर लिएर जान्छन्। तर, जातीय विभेदका कारण आधा दर्जन युवाको हत्या हुँदा यहाँ कसैलाई चासो छैन। उल्टो सदनमा आएर उनीहरू जथाभावी बोलिरहेका छन्।’ दलितप्रति वर्तमान सरकारको कुदृष्टि रहेको उनले बताए। ‘दलितलाई समाजका नागरिक मान्न उनीहरू तयार छैनन्,’ उनले भने।’ 

अर्का सांसद् रामलखन चमारले रुकुमको घटनालाई अत्यन्त अमानवीय भने। ‘संविधान र कानुनले यस्तो विभेद अपराध मान्दामान्दै पनि समाजमा यस्तो घटना घट्नु लज्जास्पद विषय हो,’ उनले भने, ‘हिजोदेखि नै उत्पीडित वर्गमाथि शासन गर्ने समुदाय आज पनि टाउको उठाएरै शासन गरिरहेको छ।’ विगतमा रुकुम, रोल्पा, जाजरकोट जनयुद्धको थलोका रूपमा चिनिएका र अहिले त्यही ठाउँमा यस्तो भयानक घटना हुनु दुःखलाग्दो कुरा भएको उनले बताए। ‘जुन ठाँउबाट परिवर्तनको उद्घोष गरियो, त्यहीँ यस्तो अमानवीय घटना भएपछि कसैले पनि परिवर्तनको आश गर्न सक्दैन,’ उनले भने, ‘कतिपयले घटनालाई आफ्नै ठंगले व्याख्या गरेका छन्। तर, यो सुनियोजित तरिकाले रचिएको घटना हो।’ 

रुकुम घटनालाई नजिकबाट नियालिरहेकी सांसद् आशाकुमारी विक यसलाई मानवताविरोधी अपराध मान्छिन्। ‘सरकारले निष्पक्ष छानबिन गरेर अहिलेको युगमा पनि मानवताविरोधी घटना गराउनेलाई कडा सजाय दिनुपर्छ,’ उनले भनिन्, ‘नवराज विकका परिवार र आफन्तले न्याय मागेका छन्। उनीहरूले न्याय पाउनुपर्छ।’

सांसद् विमला नेपालीले रुकुममा भएको दर्दनाक घटनालाई लिएर संसद्मा ज्ञापनपत्र बुझाएको बताइन्। ‘त्यो घटना सामाजिक रूपान्तरणको आन्दोलनमा भएको घटना हो,’ उनले भनिन्, ‘त्यसैले हत्या भएकालाई शहीद घोषणा गर्नुपर्छ।’ राज्यबाट दलितले न्यायको आश्वासन मात्र पाएको उनको ठम्याइ छ। ‘विगतमा  अजीत मिजारको घटनाले पनि यसलाई पुष्टि गर्छ,’ उनले भनिन्, ‘उनका आमाबुबा पनि न्यायका लागि अदालतको ढोका कुरेर बसेको वर्षौं भइसक्यो। त्यसैले दलितले न्याय पाउने कुरामा हत्तपत्त विश्वास गर्न सकिँदैन। त्यसका लागि दलित समुदायले लड्नुपर्छ।’ 

सांसद् दुर्गाकुमारी विक दलितमाथि अन्याय हुँदा सदा दलितले मात्रै बोल्नुपर्ने स्थितिले दुःखी छिन्। ‘रुकुमको घटनालाई सम्बोधन गर्ने हामीसँग शब्द छैन,’ उनले भनिन्, ‘युगौँदेखि दलितले जातकै कारण धेरै दुर्भाग्यपूर्ण घटना भोगेका छन्। जहिले पनि यस्तो घटना हुँदा दलित समुदाय मात्र बोल्नुपरेको स्थिति छ। अबका दिनमा यो सबैको मुद्दा बन्नुपर्छ। पीडितले न्याय पाउनुपर्छ।’ 

क्यान्सरको उपचारमा सिटामोल !
रुकुम घटनालाई लिएर सामाजिक सञ्जालमा अनेकौँ तर्क गरिए। कसैले स्ट्याटस लेखे– ‘उमेर नपुगेकी बालिकालाई भगाउन जानेलाई फूलमालाले स्वागत गर्नुपर्ने हो र ?’ अनि, कसैले लेखे– ‘लकडाउनमा त्यत्रा युवा जम्मा गरेर किन गएको ?’ अर्काे सञ्जाल–प्रयोगकर्ताको प्रश्न थियो– ‘घटनामा दलित भएकैले सहानुभूति दिनुपर्छ र ?’ 

अधिवक्ता मोहन सशांकरले ९० प्रतिशत गैरदलितको भाषामा यस्ता कुरा आउन थालेको र उक्त घटनालाई धेरैले सामान्यीकरण गर्न खोजेको बताए। ‘धेरैले यो घटनाको वास्तविकतालाई बंग्याउने कोसिस गरेका छन्,’ उनले भने, ‘‘हूलहुज्जत हो, लकडाउनको बेलामा त्यसरी जान हुने थिएन’ भनेका छन्। यी बहानाबाजी मात्रै हुन्। त्यो घटनामा पीडितले हूलहुज्जत गरेको कतै पनि देखिँदैन। लकडाउन तोडेको भनौँ भने कुन चाहिँ गाउँमा हिँडडुल हुँदैन ?’ 

रुकुम हत्याकाण्डले नेपाली समाज कत्तिको जातिवादी रहेछ भन्ने कुरा प्रस्ट भएको सशांकरले बताए। ‘यो समाज कुन हदसम्म जातिवादी छ भन्ने कुराको यो दह्रो प्रमाण हो,’ उनले भने, ‘विकसित समाजमा समाजले कानुन चलाउँछ। अविकसित समाजमा कानुनले समाज चलाउँछ।’ 

अधिवक्ता सशांकरले जातीय अहंकारवादीहरू जातीय व्यवस्था कायम गर्न सदा लागिपर्ने धारणा राखे। उनले दलित समुदायलाई हात्तीसँग दाँज्दै भने, ‘दलित समुदाय भनेको हात्ती हो, उसलाई टनका टन खानेकुरा चाहिन्छ। तर, उसका अगाडि कनिका छरिन्छ।’ 

दलित समुदायका माग र आवश्यकतासँग राज्य गम्भीर नभएको सशांकरको ठहर छ। ‘दलित समुदायलाई क्यान्सर लागेको छ, तर उपचार चाहिँ सिटामोल दिएर गरिराखिएको छ,’ उनले भने, उनीहरूलाई लागेको छ क्यान्सर। उपचार सिटामोल दिएर गरिराखिएको छ।’ 

दलित समुदायले भोगेको तमाम समस्या, अपमान र दुर्भाग्यको उनी एउटै कारण देख्छन्– ‘राज्यका निकायहरूमा ९४ प्रतिशत गैरदलितको हालीमुहाली छ।’ 


‘दलितले न्याय पाउने कुरा जटिल छ’

मोहना अन्सारी 
आयुक्त, मानव अधिकार आयोग

रुकुममा भएको सामूहिक हत्याको घटना मानवताविरुद्धको अपराध हो। छ जनाको हत्या हुने गरी जुन खालको घटना भएको छ, त्यो मानव अधिकार उल्लंघनको गम्भीर विषय हो। सम्बन्धित निकायले यसलाई विशेष चासोका साथ लिनुपर्छ। पछि यस्ता घटना नहोऊन् र हाम्रोमा कानुन छ भन्ने प्रत्याभूति दिलाउनका लागि सरकारको पहल आवश्यक छ। 

छ जना मारिएका छन्, थुप्रै घाइते भएका छन्। अचम्मलाग्दो कुरा के छ भने घटना हुने बेलामा प्रहरीको उपस्थिति देखिन्छ। त्यस्तै, वडाध्यक्ष र अन्य जनप्रतिनिधि पनि संविधान र कानुनकै रक्षक हुन्। संविधान र कानुनको खिलाफमा गएर कुनै पनि काम गर्ने अधिकार कसैलाई पनि छैन। महिलामाथि केही शोषण भएको भए उनको परिवारले प्रहरीमा उजुरी दिन सक्थ्यो। कानुनको संरक्षण उनीहरूले लिन सक्थे। तर, त्यस्तो कुनै पनि गतिविधि भएको देखिँदैन। 

दलित भएकै कारण हत्यादेखि बलात्कारसम्मका धेरै जघन्य अपराधभएका छन्। त्यसमा स्थानीय जनप्रतिनिधिको पनि संलग्नता देखिन्छ। दलित समुदायका व्यक्तिले न्याय पाउने कुरा एकदमै जटिल र अप्ठ्यारो छ। न्याय दिने बेलामा उच्च जाति, तल्लो जाति, पानी चल्ने जाति, नचल्ने जातिभन्दा पनि एउटा मानवविरुद्ध भएको अन्यायको विषय भनेर हेर्नुपर्छ। न्याय पीडितको पक्षमा हुनुपर्छ। न्याय दिने काम नेपाल सरकारको हो। दलित र गैरदलित भन्नेकुरा पूर्ण रूपमा मानसिकतामा भर पर्ने कुरा हुन्। 

डेरा खोज्न जाँदा मानिसको जात र धर्म किन सोध्नुपर्‍यो? लकडाउन हुनुभन्दाअघि कीर्तिपुरमा जातीय हिसाबले एउटा घटना सार्वजनिक भयो। घटना सरकारी कर्मचारीले गराएका थिए। नेपालको कानुनले सरकारी कर्मचारीले यस्तो घटना गराए भने उनीहरूले दोब्बर सजाय पाउनेछन् भनेको छ। तर, कतिजना सरकारी कर्मचारीले दोब्बर सजाय पाएका छन् ? कतिजनालाई जागिरबाट निकालिएको छ ?

दलित र गैरदलितबीचको विभेद हट्न नसक्नु भनेको कानुन कमजोर हुनु हो। जुन समाजबाट यसलाई हटाउनुपर्ने हो, त्यो समाजले प्र्रतीकात्मकरूपमा हटिसक्यो भनेर प्रचार गरिदिएको छ। वास्तविकतामा यस्ता कुरालाई सामान्य गफका रूपमा लिइएको छ। संविधान उल्लंघन गर्ने मानिसलाई कानुनी कारबाही हुनुपथ्र्यो नि, तर हुन सकेको छैन। 

अजीत मिजारको घटनामा पनि नेपाल प्रहरीले प्रक्रिया नै थालनी नगरेको अवस्था छ। यस्ता घटना लामो समयसम्म रहिरहनु भनेको राम्रो होइन। यसको तत्काल न्याय निरूपण हुन जरुरी छ। 

नेपालको निर्णय गर्न सक्ने ठाँउमा अधिकांश उपल्लो जातिका मानिस छन्। प्रहरी, सेना, संवैधानिक निकाय सबै ठाँउमा उपल्लो जातिको हालीमुहाली छ। मानव अधिकार आयोगकै कुरा गर्ने हो भने पनि यहाँ केही मात्र दलित कर्मचारी छन्। जति छन्, उनीहरू पनि निर्णय गर्ने ठाउँमा छैनन्। 
(कुराकानीमा आधारित) 


‘गैरदलितले सोच्नुपर्‍यो– अपराधी बन्ने कि परिवर्तित हुने ?’


शिवहरि ज्ञवाली, सामाजिक अभियन्ता 

रुकुममा भएको घटना जातीय विभेदकै कारणले भएको घटना हो। सरकारी स्तरमा दलित समुदायको नेतृत्व छैन। गैरदलित समुदायकै मानिसहरूको पहुँच पहिलादेखि नै राज्यका संरचनामा रहँदै आएको छ। त्यसले गर्दा गैरदलितलाई दलितप्रति आक्रमण गर्ने हैसियत प्रदान भएको हो। उनीहरूभित्र लुकेर रहेको जातिवादी विचार रुकुममा विष्फोट भएको हो। जाजरकोटबाट रुकुम गएका युवाहरू भगाउन गएका होइनन्, प्रेम बिहे गर्न गएका हुन्। त्यहाँ गैरदलित समुदायले बदलाको भावले उनीहरूलाई मारे। यसलाई सामान्य हिसाबले भएको दुर्घटना भन्न मिल्दैन। यो पूर्णतया जातसँग जोडिएको घटना हो। 

हामी मानिसको जात छैन भन्छौँ। जात भनेको महिला–पुरुष मात्र दुई जात हुन् भन्छौँ। यो कुरा बोलीमा निकै राम्रो सुनिन्छ। तर, तथ्यमा जाँदा हाम्रो समाजमा जात व्यवस्था छ भन्नेकुरा प्रस्ट छ। हाम्रो समाजमा जातकै आधारमा मानिसको राजनीतिक, आर्थिक र सामाजिक हैसियत निर्धारण हुन्छ। यसलाई स्विकार्नुपर्छ। सबैभन्दा पहिला जातीय व्यवस्था छ भनेर स्विकार्‍यौँ भने बल्ल त्यसको समाधान कसरी गर्ने भन्नेतर्फ लाग्न सकिन्छ। पहिला रोग छ भन्ने कुरा स्विकार्नुपर्छ। त्यसपछि मात्र त्यसको उपचार कसरी गर्ने भन्ने थाहा हुन्छ। अहिले हामी रोगै छैन भनेर हिँडिरहेका छौँ। ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्दै ठूलठूला कुरा गर्दै हिँडिरहेका छौँ र समाजमा भएका कुरालाई नजरअन्दाज गरिरहेका छौँ। यसले भइरहेको समस्यालाई झन् बढावा दिन्छ। हामीले गरेको अध्ययनमा २०६८ सालदेखि यता २५ जना दलितले विभिन्न बहानामा ज्यान गुमाएका छन्। 

राज्यले संवैधानिक र कानुनी रूपमा विभिन्न व्यवस्था गरेको छ। संविधानका धारा २४ र ४० मा छुवाछुत र दलितको हकको व्यवस्था गरिएका छन्। २०६८  सालमा जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐनले पनि उनीहरूको अधिकार र संरक्षणको कुरा गरेको छ। अन्तर्राष्ट्रिय रूपमा पनि दलितको विषयमा धेरै कुरा उठेका छन्। सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय हिसाबले जातीय विभेदलाई नमान्ने भन्दै जुन प्रतिबद्धता गरेको छ, त्यो मात्र कडाइका साथ अक्षरशः कार्यान्वयन गर्‍यो भने धेरै समस्या समाधान हुन्छन्। तर, त्यो कार्यान्वयन हुने देखिँदैन। किनभने, राज्यको संरचनामा गैरदलितहरूकै वर्चस्व छ। त्यसैले दीर्घकालीन रूपमा यो समस्याको समाधानका लागि राज्यको संरचनामा दलितहरूको पहुँचलाई कसरी बढाउने भन्नेतर्फ जानुपर्छ।

दलित समुदायमाथि जति पनि उत्पीडनका घटना हुन थालेका छन्, त्यसले सिंगो गैरदलित समुदायलाई पनि असर गरेको छ। गैरदलित समुदाय एउटा आपराधिक समुदायका रूपमा चिनिने कि आफूलाई परिवर्तन गर्ने ? यो प्रश्न गैरदलित समुदायलाई तेर्सिन थालेको छ। 

सामाजिक सञ्जालमा अहिले रुकुम हत्याकाण्डलाई लिएर कुतर्क गर्नेहरूको भीड छ। कुतर्कको कुनै सीमा हुँदैन। यदि त्यही ठाँउमा कुनै ब्राह्मण युवा साथीहरू लिएर बिहे गर्न गएको भए उनीसहित उनका साथीहरूको नियति नवराज विक र उनका साथीहरूको जस्तै हुन्थ्यो त ?
(कुराकानीमा आधारित) 


कविता-

गहुँगोरो अफ्रिका

आहुति

मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बु“द बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ 
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आ“खा जुधाउने आ“ट गर पूजारी !
म बीसौँ शताब्दीको ‘अछुत’ हु“ !
यो गोल भूगोलको एउटा गहु“गोरो अफ्रिका हु“ !
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु ! 


तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउ“छ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउ“छ
आ“खा जुधाउने आ“ट गर धर्माती मान्छे !
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आ“ट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई 
च्यात्ने या जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हु“
यो गोल भूगोलको एउटा गहु“गोरो अफ्रिका हु“ !


तिम्रो बस्तीको सफा भुइ“लाई सु“घ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउ“छ
आ“खा जुधाउने आ“ट गर सफा मान्छे ! 
कि मेरो रक्त नलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर 
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हु“ ! 
यो गोल भूगोलको एउटा गहु“गोरो अफ्रिका हु“ !


तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात
त्यहा“ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आ“खा जुधाउने आ“ट गर चेतनायुक्त मान्छे ! 
कि मलाई जनावरस“ग बा“ध र घा“स खुवाउने आ“ट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हु“–वादी हु“ ! 
यो गोल भूगोलको एउटा गहु“गोरो अफ्रिका हु“ !


माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहा“ मेरो आ“शुको आहाल भेटिन्छ
आ“खा जुधाउने आ“ट गर अघाएको मान्छे ! 
कि तिम्रो गा“समा मेरो आ“शुको गन्ध छैन भन्ने आ“ट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुस“गै माटोमा पौडिने मुसहर हली हु“ ! 
यो गोल भूगोलको एउटा गहु“गोरो अफ्रिका हु“ ! 


तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म 
म कहा“ छैन ? म सर्वत्र छु ! 
मलाई तिमी कसरी ‘अछुत’ बनाउन सक्छौ ‘छुत’ मान्छे ?
कि इतिहासको कठघरामा उभिने आ“ट गर
कि आफूलाई बदल्ने साहस गर
आ“खा जुधाउने आ“ट गर पूजारी ! 
म बीसौँ शताब्दीको ‘अछुत’ हु“ ! 
यो गोल भूगोलको एउटा गहु“गोरो अफ्रिका हु“ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !
(मूल्यांकन मासिक, २०५१)  

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट