लकडाउनमा हजारौँ चालकलाई कारबाही

writer

सुमित सुवेदी

बिहिबार, २२ जेठ २०७७


लकडाउनको अवधिभर उपत्यकामा मात्रै ४६ हजार ३ सय ५५ जना सवारी चालक कारबाहीमा परेका छन् । तीमध्ये ३ हजार ४ सय ३२ जना पास दुरुपयोग गरेबापत कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए । 

उच्च पदस्थ व्यक्तिदेखि सर्वसाधारणसम्म कारबाहीमा परेको ढकालले बताए । ‘पास दुरुपयोगमा केही हाई प्रोफाइल केस पनि परेका छन्,’ उनले भने, ‘तर, हामी कारबाही गर्दा प्रोफाइल हेर्दैनौँ । हाई न लो, जुनसुकै प्रोफाइल पनि बराबर सजायको भागीदार हुन्छ ।’ 

‘‘पास दुरुपयोग गरेबापत केही हाई प्रोफाइल व्यक्ति पनि कारबाहीमा परेका छन् । हामी प्रोफाइल हेर्दैनौँ । हाई न लो, जुनसुकै प्रोफाइल पनि बराबर सजायको भागीदार हुन्छ ।’’
एसएसपी भीम ढकाल, प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा 

 

यसरी समातिएका सवारीचालकको सवारी ट्राफिक प्रहरीले होल्डमा लिने गरेको छ । ‘नियम तोड्ने सवारी साधनलाई हामी होल्डमा लिन्छौँ,’ एसएसपी ढकालले भने, ‘बारम्वार नियम मिचेको पाइएमा लामो समयसम्म सजाय दिने गरेका छौँ ।’

पहिले सबै पास सीडीओ कार्यालयबाट मात्र दिने गरिएकोमा अहिले अतिजरुरी पास मात्र सीडीओ कार्यालयले दिने गरेको छ । अन्यका हकमासम्बन्धित मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गतका सवारीलाई पास दिन सक्नेछ । 

त्यस्तै, ट्राफिक प्रहरीले सीमा क्षेत्रमा निकै कडाइ गर्दै आएको छ । ‘सीमा क्षेत्रमा हाम्रा सुरक्षाकर्मीले निकै कडाइ गरेका छन्,’ ढकालले भने,‘अन्य क्षेत्रमा पनि अनावश्यक मुभमेन्टलाई कडा तरिकाले रोकेका छौँ ।’

अहिले उपत्यका बाहिरका मान्छे काठमाडौँ आँउदा गृह मन्त्रालयको अनुमतिबिना आउन पाउँदैनन् भने बाहिरी एक जिल्लाबाट अर्को जिल्लामा जान सम्बन्धित जिल्लाको सहमति लिएर मात्र जान पाइन्छ । 

औषधि तथा स्वास्थ्य सामग्री, दैनिक उपभोग्य सामग्री, अतिआवश्यक सामग्री, पशुजन्य आहार, खाद्य पदार्थ, औद्योगिक कच्चा पदार्थ, इन्धन, फलफूललगायत वस्तु ढुवानी गर्ने सवारी साधन भने पासबिनै चलाउन पाइन्छ । एम्बुलेन्स र शववाहन निर्बाध गुड्न पाउँछन् ।निर्माण सामग्री बोकेका हेभी सवारी साधन भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र चलाउन पाइन्छ । उल्लिखित सवारी साधनबाहेक पासबिना अन्य सवारी साधन र मानिसलाई काठमाडौँ प्रवेश गर्न दिइएको छैन । 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि