‘पर्यटनलाई पुगेन सम्बोधन’

writer

सम्पूर्ण

बिहिबार, २२ जेठ २०७७


बजेट विमर्श:

 

केही दिनअघि मात्र आर्थिक वर्ष २०७७÷७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्मा बजेट प्रस्तुत गरे । बजेटमाथि पोखराका पर्यटन व्यवसायीले ‘अन्नपूर्ण सम्पूर्ण’सँग आफ्ना टिप्पणी व्यक्त गरेका छन् । 


‘पर्यटन उद्योगलाई राहत दिने बजेट’

विप्लव पौडेल
सदस्य, नेपाल पर्यटन बोर्ड 

बजेटले पर्यटन व्यवसायलाई सम्बोधन गरेको छ । बजेट सकारात्मक नै छ । कार्यान्वयनपक्ष कस्तो हुन्छ, त्यो पछि थाहा हुनेछ । कोभिड–१९ का कारण सबैभन्दा पहिले प्रभावित भएको र सबैभन्दा पछिसम्म प्रभावित रहने पर्यटन उद्योगलाई टिकाउन राष्ट्र बैंकको निर्देशिकामा पनि स्पष्ट रूपमा समेटिने विश्वास छ । 


‘जोखिम थेग्न सक्ने प्याकेज आएन’

सोम थापा 
पूर्वअध्यक्ष, पोखरा पर्यटन परिषद् 
पर्यटन उद्योगमा लगानी भएअनुसार जोखिम थेग्ने गरी राहत प्याकेज बजेटमा आएन । वर्तमान आर्थिक परिस्थितिले पनि नआएको हुन सक्छ । पर्यटन क्षेत्रकालागि जति आएको छ,प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ । मझौला र साना व्यवसायीको पहुँच पुग्दैन कि भन्ने डर छ । पहुँच हुनेले मात्र पाउने अवस्था नहोस् । 
साना र मझौला व्यवसाय संख्यात्मक रूपमा धेरै छन् । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि थुप्रैले बैंकबाट ऋण लिएर पर्यटनमा लगानी बढाएका थिए । कोभिड–१९ का कारण आर्थिक गतिविधि शून्य छ । ब्याज बढ्दै छ । त्यसलाई सम्बोधन हुने गरी बजेट आएन । 


‘राहत साना व्यवसायीसम्म पुग्नुपर्छ’

विकल तुलाचन 
अध्यक्ष, पश्चिमाञ्चल होटल संघ पोखरा
पर्यटन उद्योगलाई समेटेर राहत प्याकेज आएको छ ।अलि गोलमोल रूपमा आएकाले कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने अवस्था छ । मौद्रिक नीति आएपछि स्पष्ट भन्न सकिएला । श्रमिक संरक्षणका लागि छुट्टै कोष गठन गर्ने हाम्रो माग थियो । यो अवस्थामा श्रमिकको दक्षता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनुपर्ने पनि थियो । पाँच प्रतिशत पुनर्कर्जा लिएर कर्मचारीलाई तलब खुवाउने अवस्था छैन । होटल व्यवसाय बन्द रहेकाले कारोबार शून्य छ । ऋण लिएर कहिलेसम्म कर्मचारीलाई तलब खुवाउन सकिन्छ ? कि एकदुई प्रतिशत ब्याजमा पुनर्कर्जा दिनुपर्ने थियो । साना व्यवसायीसम्म राहत पु¥याउनुपर्छ भन्ने हाम्रो जोड हो । होटल भाडामा लिएर चलाउनेको अवस्था झन् नाजुक छ । आयकरमा २० प्रतिशत छुट भनिएको छ । कारोबार नै शून्य रहेको अवस्थामा त्यसको कुनै अर्थ छैन ।  


‘पहुँचका आधारमा बजेट नबाँडियोस्’ 

गणेशबहादुर भट्टराई
पूर्वअध्यक्ष,  पोखरा पर्यटन परिषद्

विश्व अर्थतन्त्र नै अप्ठ्यारोमा परेको बेला नेपाल सरकारले पर्यटन व्यवसायीको मागलाई केही हदसम्म सम्बोधन गर्नु सकरात्मक छ । तर, राष्ट्र बैंकको मौद्रिक नीति नआएसम्म केही भन्न सक्ने अवस्था छैन । 
पर्यटन क्षेत्रकालागि छुट्याएको बजेट केन्द्रीकृत हुने र पहुँचका आधारमा वितरण हुन्छ कि भन्ने सबैभन्दा ठूलो चिन्ता छ । साना उद्योग, पर्यटन व्यवसायी मर्नु भएन । सबै बाँच्ने गरी राहत वितरण गर्नुपर्छ । त्यसका लागि प्रदेश सरकारले पहल गर्नुपर्छ । 


‘दक्ष जनशक्ति पलायन हुन सक्छ’

सञ्जयकान्त सिग्देल
अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, पश्चिमाञ्चल पोखरा

पर्यटन क्षेत्रकालागि जस्तो आउनुपर्ने हो, त्यस्तो बजेट आएन । तैपनि, असन्तुष्ट हुने अवस्था छैन । बजेटमा पर्यटन क्षेत्रमा छ हजार रोजगार थपिने भनिए पनि कोरोनाका कारण शून्य रहेको पर्यटन क्षेत्रका दक्ष जनशक्ति नै पलायन हुने अवस्थालाई रोक्ने गरी बजेटले सम्बोधन गरेन । 


‘कार्यान्वयन पक्ष महत्त्वपूर्ण छ’ 

टीकाराम सापाकोटा
पूर्वसदस्य, नेपाल पर्यटन बोर्ड    

बजेटले पर्यटन क्षेत्रका लागि राहत प्याकेज ल्याएको छ । यो सकारात्मक छ । कार्यान्वयन पक्ष कस्तो रहने हो, हेर्न बाँकी छ । यसलाई राष्ट्र बैंकको मौद्रिक नीतिले पनि असर गर्छ । कोरोनाबाट थलापरेको पर्यटन टिक्ने÷नटिक्ने त्यसमै भरपर्छ ।

पोखरामा पर्यटन क्षेत्रमा देशकै सबैभन्दा धेरै लगानी रहेको छ । सरकारले ल्याएका राहत प्याकेज केन्द्रीकृत हुने हो कि भन्ने चिन्ता छ । प्रदेशसम्म आइपुगे पनि पहुँचवालाले मात्र पाउने हो कि भन्ने अर्को चिन्ता छ । राहत सबैमा समान रूपले वितरण होस् ।


‘राहत र सुविधा सबैले पाऊन्’ 

गोपी भट्टराई 
उपाध्यक्ष,  पोखरा पर्यटन परिषद्

समग्रमा बजेटले पर्यटनलाई छोए पनि पर्यटन व्यवसायी बाँच्न सक्ने बजेट आएन । वितरण प्रणालीको कमजोरीका कारण विगतमा पनिराजनीतिक पहुँच हुनेले मात्र सरकारले दिएको सुविधा र राहत पाएका थिए । यो अवस्था दोहोरिने हो कि भन्ने चिन्ता छ । 
कोरानका कारण पर्यटन क्षेत्रमा शून्यता छाएको छ । होटल, रेस्टुरेन्ट भूतबंगलाजस्ता भएका छन् ।यस्तो अवस्थामा दुई वर्षसम्म किस्ता र ब्याज तिर्न सक्ने अवस्था छैन । यो विषय पनि सम्बोधन भए राम्रो हुने थियो । 


‘पर्यटन पूर्वाधार विकासमा बजेट आएन’

अग्नि कँडेल
पूर्वसदस्य, नेपाल पर्यटन बोर्ड

बजेटमा पर्यटन क्षेत्रलाई सम्बोधन गरिए पनि व्यावहारिक रूपमा कार्यान्वयन कसरी हुन्छ, हेर्न बाँकी छ । पर्यटन क्षेत्रको तल्लो वर्गले पनिसुविधा र राहत पाउने व्यवस्था हुनुपर्छ । पोखराको पर्यटन पूर्वाधार र विकासको विषयमा बजेटले कुनै सम्बोधन गरेन । रिङरोड निर्माण, पहिलेको टनेलबाटो निर्माणको योजना पनि हटाइएको छ । पर्यटन मजदुरका विषयमा पनि सम्बोधन भएन । यसले गर्दा बेरोजगारी बढ्ने देखियो । पर्यटन पूर्वाधारका लागि बजेटै छुट्याइएन ।

प्रस्तुतिः कृष्णमणि बराल
 

तपाईको कमेन्ट