‘बाहिरिया’सँग भिड्ने मुडमा काठमान्डू

writer

शिशिर वैद्य

बुधबार, २१ जेठ २०७७


काठमाडौँको हुनेखाने वर्गले श्रमिक वर्गका मान्छेलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार फरक हुन थालेको छ। जो शहरमै छन्, तिनीहरूमाथि नै शंका गर्ने शहरले जिल्ला–जिल्लाबाट फर्किने, गाउँ–गाउँबाट आइपुग्ने श्रमिकलाई पक्कै पनि सहज तरिकाले घरमा प्रवेश दिनेछैन। 


दृश्य १
बारा, कलैया घर बताउने इर्शाद डन्डी मिस्त्री हुन्। एक दशकदेखि उनी काठमाडौँमा काम गरिरहेका छन्। सरकारले लकडाउन घोषणा गर्दा उनी बानेश्वरस्थित एक घरमा काम गरिरहेका थिए। पुतलीसडकबाट बिहान ५ बजे हिँडेर उनी बानेश्वर पुग्थे, साँझ ६ बजे फर्किन्थे। एक दिन उनी प्रहरीको फन्दामा परे। दुई घण्टा बाटोमा थुनिए। त्यसपछि उनी पुतलीसडकको डेरा फर्किन पाएनन्। लगभग डेढ महिना बानेश्वरमै अड्किए। ठेकेदारले खाने, बस्ने र सुत्ने प्रबन्ध मिलाइदिएका थिए। लकडाउन आंशिक खुलेको एक साँझ उनी डेरा फर्किए। डेरा फर्किंदा उनले जे भोगे,सायद कल्पना पनि गरेका थिएनन्। डेरा पुग्दा उनको कोठामा घरधनीले तालामाथिबाट अर्को ताला लगाएका थिए। उनी पुगेको केही क्षणमा नै टोलभरिका युवा उनलाई घेर्न आइपुगे। उनीहरू केरकार गर्दै थिए, प्रहरी आइपुग्यो, वडाका मान्छे पनि आइपुगे। इर्शाद सबैलाई सम्झाउँदै थिए–‘म घर गएको छैन, सधैँझैँ कामका लागि बानेश्वरमा थिएँ।’ तर, उनको कुरा कसले सुन्ने ? भीडभन्दै थियो– ‘यो लुकीछिपी भारतबाट आएको हो, यसलाई यहाँ बस्न दिनु हुँदैन।’ भीडलाई थामथुम पार्दै प्रहरी जवानले इर्शादलाई अलि पर लगेर सम्झाए,‘भाइ, तिमी बानेश्वरमै जाऊ। यहाँ बस्यौ भने बेकारमा मानिसहरूले शंका गर्छन्। तिमीलाई गाह्रो हुन्छ।’ यत्तिकैमा घरबेटी चिच्याए,‘म त्यसलाई कोरोना परीक्षण गरेर नआएसम्म घरमा छिर्न दिन्नँ।’

दृश्य २ 
सुधाकर चालक हुन्। एक जना सरकारी हाकिमको गाडी चलाउँछन्। एक बिहान उनी मोटरसाइकलमा हाकिम बस्ने हाउजिङमा पुगे। अघिपछि सरासर प्रवेश पाउने उनले त्यसदिन हाउजिङको गेटबाट भित्र छिर्न अनुमति पाएनन्। उनले हाकिमलाई फोन गरे। हाउजिङका बासिन्दा र हाकिमबीच केही बेर दोहोरी चल्यो। अन्त्यमा सहमति भयोः गेटसम्म हाकिम आफैँले गाडी ल्याउने, बाहिर पुगेपछि चालकले चलाउने। फर्किंदा पनि चालकले गेटसम्म पु¥याउने भित्र, जान नपाउने। 

दृश्य ३ 
राधिका र सुरेश एक अपार्टमेन्टमा काम गर्छन्। राधिका घर सरसफाइगर्छिन् भने सुरेश माली हुन्। लकडाउन सुरु भएको हप्तादिनपछि यी दुवैलाई काममा नआउन भनियो। कारण,अपार्टमेन्टको कम्युनिटीले निर्णय लिएको थियो, बाहिरका कसैलाई पनि प्रवेश नदिने। 

वर्षाैंदेखिको विश्वास टुट्दा 
माथि उल्लेख गरिएका नामहरू काल्पनिक भएपनि घटना चाहिँ वास्तविक हुन्। इर्शादजस्ता थुप्रै मधेशीकामदार काठमाडौँका साँघुरा गल्लीमा डेरा लिएर बस्छन्। घर–घर पुगेर काम गर्दै जीविका चलाउँछन्। दशकभन्दा बढी समयदेखि पुतलीसडकमा डेरा लिएर बसेका इर्शादलाई उनी बसेका गल्लीका हरेक पसलेले राम्रोसँग चिन्छन्। राधिका र सुरेशजस्ता थुप्रै श्रमिकहरूका निम्तिवर्षौंदेखि कामगर्दै आएको ठाउँ अचानक बिरानो बन्यो। त्यही अपार्टमेन्ट कम्पाउन्डमा रहेका प्रत्येक फूल सुरेशले आफ्नै सन्तानलाई जसरी स्याहारेका थिए। त्यहाँ राधिकाजस्ता डेढ दर्जन घरेलु कामदार थिए। ती सबैका लागि अपार्टमेन्टको ढोका हाललाई बन्द छ। काठमाडौँमा लकडाउन अवधिमा र लकडाउन खुलेपछि यी समस्याले विकराल रूप लिने निश्चितप्रायः छ।

राधिका काम गर्ने अपार्टमेन्टका मालिकहरू निकै पढेलेखेका छन्। उनलाई  लाग्थ्यो, यी अग्ला अपार्टमेन्टमा बस्न धेरै पढ्नुपर्छ। बुद्धिमान बन्नुपर्छ। राधिकाले हरेक पल्ट गाउँमा आमालाई फोन गर्दा सीआरबीटी बज्छ। त्यसैले कोरोना कसरी सर्छ ? कसरी सावधान हुनुपर्छ ? उनलाई कण्ठ भइसकेको छ। ‘त्यति बुद्धिमान, पढेलेखेका, जान्नेबुझ्ने मालिकहरूले मलाई किन काममा जान दिएनन् ? न म कतै बाहिर जिल्ला गएकी छु, न म बिरामी छु,’ राधिका मनमनै कुरा खेलाएर बसेकी छिन्, आजभोलि कोठामा, ‘बरु मलाई मास्क नलगाई नआइज, पञ्जा नलगाई कतै नछो, रुघाखोकी लागे, ज्वरो आए काममा नआइज भने हुन्थ्यो नि।’राधिकालाई कोठामा बस्दा–बस्दा आफ्नै भविष्य देखेर डर लाग्न थालेको छ। बालबच्चा कसरी पाल्ने भन्ने पिरले अत्तालिन थालेकी छिन्। तर, उनी अत्तालिएको उनका मालिकले देखिरहेका छैनन् अहिले। नत्र, राधिकाको अनुहारमा अलिकता खिन्नता देखिए ‘के भो, सञ्चो छैन कि’ भनेर चासो राख्थे, मायाले औषधि दिन्थे। राधिकाको मन बेचैन छ। उनी डेरामा बसिरहँदा पनि अपार्टमेन्टका मानिसहरूलाई सम्झिरहेकी छिन्। सधँै जाने बानी लागेर पनि हो कि उनी बेला–बेला मूलद्वार सम्म पुग्छिन्। गेटमा गार्डहरूसँग गफिएर फर्किन्छिन्। गेटका गार्डहरूलाई अपार्टमेन्टका मान्छेले मिलेर राहत सामग्री दिए। राधिकाले त्यो पनि पाइनन्। गेटमासधँै बाहिर बनेका खानेकुरा आइपुग्दा रहेछन्। गार्डले भनेको सुनेकी थिइन् उनले। ती सामान ल्याउने मानिसलाई विश्वास गर्ने अपार्टमेन्टबासीले उनीप्रति गरेको अविश्वासले उनको चित्त कुँडिएको छ। 

यसै प्रसंगमा वरिष्ठ पत्रकार किशोर नेपालले ट्वीट गरेका थिए– ‘कोरोना महामारीले काठमाडौँ र काठमाडौँ बाहिरका मानिसबीच झगडा सुरु गराएको छ। टोलटोलमा स्वघोषित सामाजिक कार्यकर्ता भिजिलान्तेका रूपमा देखिन थालेका छन्। बाहिरका मानिस कोरोनाको भारी बोकेर आएको प्रचार गरिँदैछ। नेपालको राजधानीमा नेपाली आउन नदिने यो कस्तो तरिका हो ?’

काठमान्डू मात्रै सुरक्षित हुने ?
काठमाडौँभित्रै आवतजावत गर्दा, घर रटोल प्रवेशमा रोक लगाउने समाजले काठमाडौँ छाडेर घर फिरेकालाई कसरी प्रवेश देलान् ? लकडाउन खुल्ने र काममा फर्किन पाउने आशमा लाखौँश्रमिकउपत्यकाका विभिन्न गल्ली र साँघुरा कोठामा पर्खिबसेका छन्। उनीहरूले काठमाडौँका ती घर, अपार्टमेन्ट र हाउजिङमा कसरी प्रवेश पाउलान् ? कोरोना संक्रमण फैलिने त्रासका कारण गरिएको बन्दले उद्योग र बजार बन्द छन्। थुप्रै मानिस बेरोजगार छन्। श्रम नगरी खान नपुग्ने वर्ग बेरोजगारीले थलिएकोछ। शहरका हुनेखाने वर्गले श्रमिक वर्गका मान्छेलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारफरक हुन थालेको छ। जो शहरमै छन्, तिनीहरूमाथि नै शंका गर्ने शहरले जिल्ला–जिल्लाबाट फर्किने, गाउँ–गाउँबाट आइपुग्ने श्रमिकलाई पक्कै पनि सहज तरिकाले घरमा प्रवेश दिनेछैन। भारतबाट आएका श्रमिकलाई त झन् भाइरस नै ठान्ने पक्का छ। 

उपत्यकाभित्र दुई महानगर छन्, काठमाडौँ र ललितपुर। अनि, २० नगरपालिका छन्। शहरीकरण बढेसँगै जनघनत्व अत्यधिक भएको उपत्यकामा सतहत्तरै जिल्लाका मानिस बसोबास गर्छन्। उपत्यकामा बसोबास गर्ने जनसंख्यामध्ये आधाभन्दा बढी त डेरावाल छन्,जो श्रम गरेर आफ्नो र परिवारको जीवन धान्न यो खाल्डोमा पसेका छन्। कति प्रतिशत जिल्लाबासी उपत्यकामा स्थायी बसाइँ सरिसकेका छन् भन्ने यकिन तथ्यांक पाइँदैन। तर,श्रम, रोजगारी, व्यवसाय र अन्य कारणले उपत्यकामा बसाइँ सर्नैपर्ने भएका लाखौँ जनसंख्या यहाँ छ, जो ठूलो–सानो कुनै न कुनै प्रकारको श्रमका लागि यहाँ बसेका छन्। 

सरकारको काठमाडौँ मात्रै सुरक्षित राख्ने रणनीतिले यहाँकोश्रम बजारमा असन्तुलन ल्याउने पक्का छ। महामारीले देशैआक्रान्त बनेको समयमा यहाँको समाजमा संक्रमणको आशंकाले बनाएको घरको आकार बढ्दै छ। लकडाउन खुकुलो हुनेबित्तिकै भित्रिने लाखौँ मानिसको संक्रमण जाँचका लागि सरकार पूर्ण सक्षम छैन। एकातर्फ अवस्था यस्तो छ भने अर्कातर्फ शहर बिनाजाँच डेरामा बस्नेलाई, घरघरमा काम गर्नेलाई प्रवेश दिने मुडमा छैन।चिकित्सकहरू भन्छन्– लक्षणबिना कसैलाई पनि जाँच गर्नुपर्दैन, मात्र सचेत रहनुपर्छ। तर,काठमान्डू यो यो मान्न तयार छैन। वरिष्ठ पत्रकार नेपालले भनेजस्तैयो द्विविधाले बेरोजगारी र द्वन्द्व निम्त्याउने खतरा बढेको छ। कोरोनाको औषधि पत्ता लागिसकेको छैन। वैज्ञानिकहरू अनुसन्धानमै छन्। यस्तो अवस्थामा आफैँ सजग भएर बाँच्नुको विकल्प हाललाई छैन। मान्छेले मान्छेलाई गर्ने आशंका र दुव्र्यवहारले समाजलाई पक्कै जोड्नेछैन, अवश्य तोड्नेछ, छिन्नभिन्न पार्नेछ।सबैले सोच्ने बेला आएको छ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट