अब कोरोनासँगै जिउने हो

writer

प्रा.डा. सुमनराज ताम्राकार

बुधबार, २१ जेठ २०७७


अब कोरोनाको अस्तित्व स्वीकार गरेर बाँच्ने हो। यसलाई हराउने हो, हराउन प्रयत्न गर्ने हो। सचेत हुने हो, सावधान हुने हो। निश्चित उपाय गर्ने हो, विधि लगाउने हो। कोरोनालाई लिएर डराउनु र चिन्तित हुनुको तुक छैन। 


देशमा दोस्रो संक्रमित व्यक्ति देखिएलगत्तै चैत ११ गते सुरु भएको लकडाउन किस्ता–किस्तामा थपिँदै गएको पनि साढे दुई महिना हुन लागिसक्यो। चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण इरान, इटाली अनि अमेरिकामा प्रवेश नगरेसम्म विश्वभरिका राष्ट्र, जनता र सरकार ढुक्क थिए कि ‘यो चीनको समस्या हो, हामीले टाउको दुखाउन आवश्यक छैन।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त ‘चाइनिज भाइरस’सम्म भन्न पछि परेनन्। 

नेपालमा माघ ९ गते पहिलो केस देखियो। त्यसको करिब दुई महिनासम्म नेपाल सरकार पनि सुतिरहेकै अवस्थामा थियो। खासमा त्यो बेला भेन्टिलेटर, पीपीई, पीसीआर किट, मास्क, पञ्जालगायत सामान जोहो गर्नुपर्ने थियो। स्थानीय तहमा व्यवस्थित ढंगले क्वारेन्टिनको व्यवस्था गर्न लाग्नुपथ्र्यो। विदेश अनि नेपालकै अन्य जिल्लाबाट आ–आफ्ना थातथलो फर्किनेहरूको लगत संकलत गरी सोहीअनुरूपरणनीति तय गर्दै जानुपथ्र्यो। महŒवपूर्ण समय खेर फालियो। 

चैतको आधाउधीमै केहीले अनुमान गरिसकेका थिए– यो लकडाउन कम्तीमा जेठको अन्त्यसम्म पुग्नेछ। अभैm पनि अब के हुन्छ, यो कोरोनाको प्रकोप कति लम्बिएला, के–के परिणति अभैm भोग्नुपर्ने हो आदि प्रश्नका सरल जवाफ उपलब्ध छैनन्। केही जनस्वास्थ्यविज्ञले दशैँ–तिहारसम्म अवस्था यस्तै रहने बताएका छन्। 

लकडाउनबाट हामी वाक्किन थालेका छौँ। यसो हुनाका धेरै कारण छन्। लामो समयदेखि घरमै सीमित भएका छौँ। जताततै कोरोनाको मात्र चर्चा छ।घरमा भण्डारण गरिएका सामान सकिँदै गइरहेका छन्। आयआर्जनका स्रोत सुक्न थालेका छन्। 

नेपालको स्वास्थ्य संरचना, कोभिड–१९ विरुद्ध लड्ने जिम्मेवार निकायको अहिलेसम्मको काम, दक्ष स्वास्थ्यकर्मीको संख्या अनि भेन्टिलेटर, पीपीईलगायत सामग्रीको मौज्दातबारे सबै नेपालीलाई भलिभाँती थाहा भइसकेको छ। त्यसैले कोरोना संक्रमणबाट आफू अनि आफ्ना परिवारजनलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा हेलचेक्य्राइँनगर्नु नै बुद्धिमानी हुन्छ। त्यो भनेको उही पुरानो कुराः पटक–पटक साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, अन्य व्यक्तिसँग कम्तीमा एक मिटर दूरी कायम गर्ने, भीडभाडमा नजाने, रुघाखोकी लागेका व्यत्तिनजिक नपर्ने आदि। 

सत्य के हो भने अब हामी कोरोना भाइरसको उपस्थितिलाई अस्वीकार गर्न सक्दैनौँ। अब कोरोनासँगै बाँच्नुको विकल्प छैन। विगतमा हामी बिफर, हैजा, टाइफाइड, औलोमा अभ्यस्त भयौँ। पछिल्ला केही दशकदेखि एचआईभी, बर्डफ्लू, स्वाइनफ्लू,   डेंगूको अस्तित्व स्विकार्‍यौँ।त्यसरी नै अब हामीले कोरोनासँगै बाँच्नुपर्नेछ। रोग प्रतिरोधात्मक क्षमता बलियो हुनेले यसमाथि विजय हासिल गर्नेछन् भने डायबेटिज, उच्च रक्तचाप, मिर्गौलाको रोग र जीर्ण रोग भएका व्यक्तिहरू जोखिमपूर्ण अवस्थामा पर्नेछन्।

त्यसो भए आरडीटी (र्‍यापिड डायग्नोस्टिक टेस्ट), पीसीआर (पोलिमेरेज चेन रियाक्सन) पोजिटिभ वा नेगेटिभ के हुनु राम्रो हो त ? पीसीआर पोजिटिभ आउनेबित्तिकै ज्यानै जोखिममा हुने हो त ? के पीसीआर पोजिटिभ सबैलाई आइसोलेसनमै राख्नुपर्ने थियो त ? थिएन भने अहिले किन राख्ने गरेको त ? आइसोलेसन, क्वारेन्टिनमा के भिन्नता छ ?पीसीआर रिपोर्ट नेगेटिभ आउँदैमा नेपाली सांसद्हरूले जस्तै घिरौलाजत्रो नाक पार्नुको तुक छ वा छैन ?यी प्रश्नका जवाफ खोजिहेरौँ। 

कोरोनालगायत कतिपय भाइरल एवं ब्याक्टेरियल संक्रमणपछि शरीरमा प्रतिरोधात्मक क्षमता विकसित हुने कार्यलाई मुख्यतः आईजीएम र आईजीजीकारूपमा अथ्र्याइन्छ। असार, साउनमा बाढी आइरहेको दृश्य आईजीएम अर्थात् अहिले संक्रमण भइरहेको भन्ने बुझाउँछ भने किनारमा प्लास्टिक, कपडा वा अन्य केही वस्तु अड्केको दृश्य हेरेर पोहोर–परार बाढी कति उचाइसम्म आएको थियो भन्ने अनुमान लगाउनु भनेको चाहिँ आईजीजी हो। अर्थात्, आईजीजीले अहिले होइन कि पहिले कुनैपनि संक्रमण भइसकेको स्थिति जनाउँछ। 

पीसीआर टेस्टले वर्तमान अवस्थामा निश्चित व्यक्तिको शरीरमा अहिले भाइरसको उपस्थिति छ÷छैन भन्ने मात्र बुझाउँछ। अर्थात्,पीसीआर टेस्टले संक्रमण विशेषविरुद्ध इम्युनिटी विकसित भइसक्यो÷सकेन, ग्यारेन्टी गर्दैन। त्यसकारण एक पटक पीसीआर गर्दा छेउ न टुप्पो हुन्छ, केवल अहिलेसम्म भाइरल संक्रमण भइसकेको रहेनछ भन्ने मात्र बुझाउँछ। बरु राम्रो खालको आरडीटी किट भएको खण्डमा आरडीटी पोजिटिभ आउनु राम्रो हो।किनकि, यदि आईजीजी पत्ता लगाउने खालको आरडीटी किट पर्‍यो भने आफूलाई संक्रमण भइसकेको हेक्का नभई, अथवा बिना कुनै लक्षणचिह्न संक्रमण भइसकेर इम्युनिटी पनि विकसित भइसकेको भन्ने अथ्र्याउँछ। 

सुनिएअनुसार पछिल्लो समय स्वास्थ्य मन्त्रालयबाट वितरित आरडीटी किट आईजीएम र आईजीजी दुवै पत्ता लगाउन सक्ने खालको छ। यद्यपि, त्यो किट कतै विवादास्पद कम्पनीले ल्याएको त परेन भन्ने आशंका पनि छ। अर्कातिर, पीसीआर टेस्टको विश्वसनीयता (संक्रमण वा भाइरस पत्ता लगाउन सक्ने क्षमता) ९० प्रतिशतसम्म छ भने आरडीटीको केवल ३० प्रतिशत छ। 

निजी प्रयोगशालामा हामीले चाहेको बखतमा पीसीआर टेस्ट गर्न पाइएला भनेर निकट भविष्यमा आशा नगरौँ। त्यसैपनि अहिले भइरहेको पीसीआर टेस्टमा सरकारको कम्तीमा १० हजार रुपैयाँ लागत छ। प्राइभेटमा ल्याबमा टेस्ट गर्नुपर्‍यो भने कति महँगो पर्न जाला, अनुमान लगाउन सकिन्छ। 

अब कोरोना भाइरसविरुद्धको खोपको चर्चा गरौँ। मानव शरीरका लागि विकसित हुने खोप र औषधिले निर्माण, उत्पादन आदिका क्रममा विभिन्न चरणबाट गुज्रनुपर्छ। पछिल्लो जानकारीअनुसार कोरोना भाइरसविरुद्धको खोपले पहिलो चरणमा सफलता पाइसकेको छ। तर, विकसित खोप मानिसका लागि उपयुक्त छ वा छैन भन्ने थाहा पाउन अभैm कम्तीमा दुई चरण पार गर्नुपर्ने हुन्छ। त्यसैलेकम्तीमा एक वर्ष कुर्नुपर्ने देखिन्छ। कोरोनाको भ्याक्सिन विकसित भइहालेपनि धनी मुलुकहरूको हालीमुहाली हुनेछ। नेपालजस्तो देशका लागि कोरोनाविरुद्धको खोप ‘आकाशको फल आँखा तरी मर्’ जस्तै हुनेछ। पीपीई, पीसीआर किट ल्याउन र ल्याब सञ्चालन गर्ने काममै यत्रो महाभारत खेपेकोनेपाल सरकारले महँगो मूल्यमा खोप ल्याई जनतालाई भकाभक दिन थाल्छ भनेर नचिताए हुन्छ।

अर्काे कुरा, वुहानमा पहिलो चोटि देखिएको भाइरसको जिनेटिक प्रारूप र नेपाल आइपुगेको भाइरसको जिनेटिक प्रारूप ठ्याक्कै उस्तै छ भन्ने कुरा पत्ता लागिसकेको छैन। अथात्, यदि चीनमा देखापरेको भाइरसको प्रारूप र नेपालमा देखिएको भाइरसको प्रारूप उस्तै खालको होइन भने चीन वा अन्य कतै विकसित खोपले नेपालीलाई फाइदा नपुर्‍याउन सक्छ। 

त्यसो भए अबको बाटो के हो त ? कोरोनाको अस्तित्व स्विकार्दै बाँच्ने हो। विदेशबाट नेपालीहरू फर्किन थाले भनेर आत्तिने होइन। उनीहरू देश नफर्किए कहाँ जाऊन् त ? बरु,भित्रिएजति नेपालीलाई व्यवस्थित तवरमा क्वारेन्टिनमा राखी टेस्ट कार्य बढाउँदै जानुपर्छ भन्ने विषयमा आवाज उठाऔँ। कोरोना संक्रमणलाई लिएर डराउनु, चिन्तित हुनु, निद्रा हराउनु, दुःखी हुनुको तुक छैन। अब कोरोनासँगै जिउने हो। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट