महाशक्तिको भविष्य

writer

योस्का फिसर

शुक्रबार, १६ जेठ २०७७


कोभिड–१९ महामारी सम्भवतः एक्काइसौँ शताब्दीको पहिलो विश्वव्यापी संकट हो। यो विषाणुले निकै ठूलो आर्थिक गडबडी निम्त्याएको छ।यसको तुलना गएको शताब्दीका दुई विश्वयुद्धसँग मात्र हुन सक्छ।

सन् १९१४, अगस्टमा पहिलो विश्वयुद्धको सुरुवात भएको थियो। त्यसले लामो समय कायम रहेको शान्ति मात्र भंग गरेको थिएन। बरु, त्यसअघिको आर्थिक एकीकरण तथा विश्वव्यापीकरणको प्रक्रियालाई समेत टुटाएको थियो। विश्वयुद्ध सुरु भएसँगै विश्वभरका सरकारले संरक्षणवादी एजेन्डा अघि सारे। संसारभर आर्थिक वृद्धि ध्वस्त भयो। त्यसको एक पुस्तापछि नै दोस्रो विश्वयुद्ध भयो। विश्वयुद्धको समाप्तिलगत्तै शीतयुद्ध सुरु भयो।

सन् १९१४ देखि १९८९ सम्म विश्वभर निरन्तर द्वन्द्व कायम रह्यो, शक्तिको राजनीति हाबी भयो। पहिलो विश्वयुद्ध सुरु हुनुअघिको संसार र विश्व राजनीति शीतयुद्धको अन्त्य भएपछिको परिस्थितिभन्दा बिलकुल भिन्न थियो। पहिलो विश्वयुद्धअघि संसारमा बेलायती सम्राज्यको हालीमुहाली थियो। आर्थिक र सैन्य रूपमा ऊ सर्वशक्तिमान थियो। दोस्रो विश्वयुद्धपछि उसको ठाउँ अमेरिकाले लियो। त्यसमाथि सन् १९८९ मा सोभियत संघको पतन भएपछि त अमेरिकाको प्रभुत्व झनै बढ्न पुग्यो।

यी उदाहरणमाथि विचार गर्दा प्रश्न उठ्छ– कोभिड–१९ को प्रभावस्वरूप विश्वमा शक्तिको वितरणमा कस्तो परिवर्तन आउला ? के बीसौँ शताब्दीका दुई विश्वयुद्धसँग दाँजिने प्रभाव यो महामारीले उत्पन्न गर्ला ? त्यो देखिन बाँकी नै छ। तथापि, एउटा कुरा के स्पष्ट छ भने अहिलेको स्तरको विश्वव्यापी आर्थिक संकटले पक्कै पनि गम्भीर भूराजनीतिक कम्पन निम्त्याउनेछ। अहिलेको महाशक्ति राष्ट्र अमेरिका महामारीपछि पनि यही स्थानमा रहिरहन सक्छ। तर, धेरैजसो लक्षणहरूले के देखाउँछन् भने उदाउँदो महाशक्तिका रूपमा परिचित चीनले अमेरिकाको स्थान लिनेछ, जसले पूर्वी एसियाको शताब्दीको सुरुवात पनि गर्नेछ।

कोभिड–१९ संकट सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै चीन र अमेरिकाबीच प्रतिद्वन्द्विता उत्पन्न भइसकेको थियो। वास्तवमा एक्काइसौँ शताब्दीको प्रभुत्वशाली द्वन्द्व नै यी दुई शक्तिको टक्कर थियो।फेरि पनि यो महामारी र अमेरिकामा चुनावको वर्ष भएकाले त्यहाँको राजनीतिले अमेरिका र चीनबीचको भीडन्तलाई अझ तीव्र र ठूलो बनाएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा सबैथोक दाउमा चढिसकेको छ। उनी महामारीको व्यवस्थापनमा पूर्ण रूपमा असफल भइसकेका छन्, जसकारण अमेरिकामा अहिलेसम्मकै ठूलोमध्ये एक आर्थिक संकट निम्तिएको छ। यस्तो अवस्थामा ट्रम्पका लागि बलिको बोकाको आवश्यकता थियो।र, चीन उनको रोजाइमा पर्‍यो।

विश्वमा अमेरिकाले लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। अहिले सबैभन्दा टड्कारो प्रश्न हो– ट्रम्प नेतृत्वको अमेरिका के चाहन्छ ? के कुनै जिम्मेवारी नलिई नेतृत्वको आसनमा मात्रै बस्न चाहन्छ ?

ट्रम्पका लगभग सबैजसो नीतिले अमेरिकी समाज र राजनीतिमा गम्भीर विभाजन निम्त्याएका छन्। तर, चीनप्रतिको उनको व्यवहार भने यसको अपवाद बन्ने गरेको छ। जब उनी चीनप्रति आक्रामक रूपमा प्रस्तुत हुन्छन्, उनलाई अमेरिकाको दुवै पार्टीको समर्थन प्राप्त हुन्छ। उदार डेमोक्रेटिक पार्टीभित्र पनि पछिल्ला केही वर्षमा चीनप्रतिको धारणा तिक्त बनेको छ।

चीनप्रति अमेरिकाका थुप्रै आपत्तिलाई बेवास्ता गर्न सकिन्न। जनवादी गणतन्त्र चीन वास्तवमै एकदलीय सर्वसत्तावादी मुलुक हो। यो राज्य लेनिनवादी पार्टीको पूर्ण नियन्त्रणमा छ। चीनले अमेरिकाविरुद्ध आर्थिक र प्राविधिक विषयमा धेरै जासुसी गरेको छ। उसका व्यापारिक अभ्यास पक्षपातपूर्ण छन्। उसले भारत, ताइवान र दक्षिण चीन सागरमा हिंसात्मक तबरले भूमिमाथि दाबी पनि गरेको छ। सिन्जियाङमा जातीय र धार्मिक अल्पसंख्यकमाथिको ज्यादती र हङकङको पूर्ण नियन्त्रणका लागि चालेको कदम पनि अत्यधिक विवादित छन्। त्यसमाथि कोभिड–१९ महामारीको सुरुमा वुहानमा भाइरस नियन्त्रण गर्न चीन सरकार असफल भयो। तसर्थ चीनले विश्वास आर्जन गर्न आवश्यक काम गर्न सकेको छैन।

तर, अमेरिकामा ट्रम्प प्रशासनको तरिकाले पनि अनेकौँ प्रश्न खडा भएका छन्। विश्वमा अमेरिकाले लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।त्यस प्रचलनलाई ट्रम्पले परित्याग गरिरहेका छन्। अहिले सबैभन्दा टड्कारो प्रश्न हो– ट्रम्प नेतृत्वको अमेरिका के चाहन्छ ? के कुनै जिम्मेवारी नलिई नेतृत्वको आसनमा मात्रै बस्न चाहन्छ ? तर, जिम्मेवारीबिना नेतृत्वको आसनमा टिक्न सम्भव छैन। अमेरिका अहिले अदूरदृष्टिको शिकार बनेको छ। यही मौकामाचीनले भने आफूलाई अमेरिकाको विकल्पमा विश्वव्यापी नेतृत्व र लगानीको स्रोतका रूपमा प्रस्तुत गरिरहेको छ। अमेरिका पछि हट्दै जान थालेपछि पैदा भएको भूराजनीतिक शून्यताको फाइदा उठाएर चीन धैर्यपूर्वक दूरगामी रणनीतिअनुसार अघि बढिरहेको छ।

जेसुकै भएपनि अमेरिकाको अन्तर्राष्ट्रिय छविमा लागेको दाग मेटाउन सजिलो हुनेछैन। खासगरी, कोभिड–१९ महामारीलाई रोक्न ट्रम्प प्रशासन नराम्ररी असफल भएको छ। यसले अमेरिकामाथिको विश्वसनीयतामा गम्भीर क्षय भएको छ।अमेरिका पतनोन्मुख महाशक्ति हो भन्ने सामान्य दृष्टिकोण कायम भएको थियो। महामारीले त्यसलाई अझ स्पष्ट पारेको छ।उसको स्थान चाँडै नै रणनीतिक रूपमा चुस्त र आर्थिक रूपमा गतिशील चीनले लिनेछ।इतिहासमा महाशक्तिको उदय र अन्त्यको कथा अनेकौँ पटक लेखिइसकेको छ। यसपटक भने यो कथा एउटा भाइरसले लेखिरहेको छ। हामी यति मात्रै आशा गर्न सक्छौँ कि यो अध्याय शान्तिपूर्ण रूपबाट पूरा होस्।

चीन र अमेरिकाबीचको द्वन्द्वको चेपुवामा युरोप परेको छ। दुई विपरीत भूराजनीतिक शक्तिको माझमा छ, युरोप। चीनप्रति अमेरिकाको वास्तविक उद्देश्य के छ, युरोपलाई थाहा छैन। त्यसैले ऊ अन्धकारमा छ। अमेरिका चीनलाई कसरी रोक्न चाहन्छ? गैरसैनिक उपाय मात्र अपनाउनेछ वा युद्ध गरेर भएपनि चीनको उदयलाई उल्ट्याउन चाहन्छ?उन्नाइसौँ शताब्दीको अन्त्यमा पश्चिमले सैन्य तवरले चीनलाई तह लगाएको थियो। त्यही रणनीति अहिले दोहोर्‍याउनु अत्यन्त खतरनाक हुनेछ।

त्यसैले पश्चिमा विश्वसामु दूरदृष्टि राखेर रणनीतिक प्रतिस्पर्धाका आधारमा चीनलाई रोक्ने विकल्प छ।युरोपले यही विकल्प अपनाउनु उचित हुनेछ।चीनको नेतृत्वमा रहेको विश्व व्यवस्थामा युरेसियाली महादेशको पश्चिमी बिन्दुमा अवस्थित युरोप हरुवा साबित हुनेछ।एकदलीय अधिनायकवादी चीन कहिल्यै पनि साँचो अर्थमा युरोपको साझेदार बन्न सक्दैन।अमेरिका ट्रम्पको नेतृत्वमा पुगेको तीन वर्ष बितिसके पनि अझै अमेरिका र युरोपबीच त्यस्तो निकट सम्बन्ध छ, जुन निकटता उसले चीनसँग कहिल्यै कल्पनासमेत गर्न सक्दैन।

तर, चीनलाई बेवास्ता गर्न सकिन्न। किनभने, ऊ निकै ठूलो, निकै सफल र निकै महŒवपूर्ण छ। तथ्यहरूले सहकार्य गर्न सुझाउँछन्।यहाँनेर सबैभन्दा महŒवपूर्ण पक्ष के हो भने पश्चिमले चीनसँगको रणनीतिक सम्बन्ध र हार स्वीकारबीचको भिन्नता छुट्याउन सक्नुपर्छ। त्यो भिन्नतालाई कायम राख्न युरोप आर्थिक र प्राविधिक रूपले चीनमा निर्भर हुनु हुँदैन।

(‘प्रोजेक्ट सिन्डिकेट’बाट। फिसर जर्मनीका पूर्वभाइस चान्सलर हुन्। अनुवाद कवि आचार्य)

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट