अर्थतन्त्रमा कोरोनाको प्रहार

writer

प्रा.डा. चन्द्रमणि अधिकारी

बिहिबार, १५ जेठ २०७७


हिजो नेपालमा आउँछ भनेको सबै लगानी अब आउँदैन। यसले उपभोग, उत्पादन, लगानी र बजारबीचको सम्बन्धलाई प्रभाव पारेको छ।


कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई नै प्रभावित गरेको छ। यसले आर्थिक मात्र नभएर सामाजिक हिसाबमा पनि उत्तिकै प्रभाव पारेको छ। मान्छेको जीवनशैली नै प्रभावित भएको छ। अब भोलिका दिनमा मान्छेको काम गर्ने शैली, काम गर्ने प्रविधि,आवतजावत, अरूसँगको संसर्गलगायत सबै कुरामा फरक पर्न जानेछ। जब यसले सामाजिक पक्षलाई प्रभाव पार्छ,यसको असर आर्थिक क्षेत्रमा पनि पर्न जान्छ।

अहिलेको यो अवस्थाले विश्वको आप्रवासन नीतिमा आमूल परिवर्तन ल्याउनुका साथै आन्तरिक तथा बाह्य बसाइँसराइमा पनि प्रभाव पार्ने काम गर्न सक्छ। भोलिका दिनमा मान्छे आवतजावत गर्दा लागत बढी लाग्न सक्छ। भौतिक दूरी कायम गर्नुपर्ने बाध्यता हुन आउँछ। जंक फुड र मादक पदार्थ सेवनमा कमी आई उत्पादन प्रणाली नै प्रभावित हुने अवस्था आएको छ। यसले आर्थिक क्रियाकलापमा प्रभाव पर्छ। अहिले विश्वका ८० प्रतिशत मान्छे रोजगारीविहीन छन्। अघिल्लो वर्ष विश्व अर्थतन्त्र २.९ प्रतिशतले वृद्धि भएको थियो तर अहिले तीन प्रतिशतले नकारात्मक हुनेअन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ। यसो गर्दा कुल अर्थतन्त्र छ प्रतिशतले खुम्चिन जानेछ। 

ठूला अर्थतन्त्रअमेरिका, चीन, भारत, जापान, युरोपियन युनियन समेतका अर्थतन्त्र खुम्चिँदै छन्। अहिले अमेरिकाको अर्थतन्त्र नकारात्मक हुँदै छ। युरोपको त झण्डै सात प्रतिशतको नकारात्मक विकास हुँदै छ। भारतको सकारात्मक वृद्धि हुन्छ भनिएको थियो तर अहिले लकडाउनलाई खुकुलो गर्न नसक्ने स्थिति आयो। त्यहाँ ४० करोड कामदार कामविहीन भए। मजदुर भोकै सडकमा हिँडे। अब यी मजदुरलाई उद्योगमा फर्काउन समय लाग्छ। विश्वको पर्यटनर सेयर बजार धराशायी भएको छ।वैदेशिक लगानीको शैली परिवर्तन हुँदै छ। हिजो नेपालमा आउँछ भनेको सबै लगानी अब आउँदैन। यसले उपभोग, उत्पादन, लगानी र बजारबीचको सम्बन्धलाई प्रभाव पारेको छ।

विश्व अर्थतन्त्र अन्तरनिर्भर छ। नेपालको अर्थतन्त्र परनिर्भर छ। त्यसकारणले नेपालको अर्थतन्त्रलाई यसको प्रभाव बढी पर्न सक्छ। यद्यपि, यसमा आशाका किरण पनि छन्,कालो बादलमा चाँदीको घेरा भनेझैँ। हाम्रो देशमा ८१ लाखको श्रमशक्ति छ। त्यसमा ४५ लाख विदेशमा छन्। तसर्थ उत्पादन हुन सकेन, खेतबारी बाँझा भए, जंगल बढेर आयो। मान्छेहरू रेमिट्यान्सबाट आएको पैसाले खान थाले। भोलिका दिनमा विदेशबाट मान्छेहरू फर्किंदै छन्। लगभग १० देखि १५ लाख नेपाली स्वदेश फिर्ता हुने आकलन गरिएको छ। नेपालमै पनि केहीले रोजगारी गुमाएका छन्। कृषि क्षेत्रमा उत्पादन भएर पनि बजारमा पुग्न नसकेको अवस्था छ। उद्योग, पर्यटन, होटल सबै बन्द छन्।यसै चालु आर्थिक वर्षको आर्थिक वृद्धि नकारात्मक जान्छ कि भन्ने डर भइसकेको छ। 

अब के गर्ने ?
कोरोनाले कुन–कुन क्षेत्रलाई प्रभावित गर्‍यो, त्यसको मूल्यांकन गर्नु अति आवश्यक छ।  पर्यटन, उद्योग, सेवा क्षेत्र, हवाई, कृषि, रेमिट्यान्स, बैंकिङलगायत क्षेत्रमा कस्तो प्रभाव पर्‍यो? जलविद्युत परियोजना निर्माणमा कस्तो प्रभाव पर्‍यो? सरकारी र निजी क्षेत्रमा कस्तो प्रभाव पर्‍यो?कुन–कुन क्षेत्रमा कति घाटा लाग्यो भनेर हिसाबकिताब निकाल्नुपर्‍यो।अहिले मोटामोटी रूपमा हिसाब गर्दा दुई खर्बजति नोक्सानी भइसकेको छ। 

अहिलेकोे अवस्थामा कुन–कुन क्षेत्रमा कति नोक्सानी भयो, कतिले रोजगारी गुमाए र अबका सम्भावित क्षेत्र के–के हुन् भनेर त्यसको अध्ययन गर्नुपर्‍यो। कृषि, उद्योग, साना र घरेलु उद्योग, वन, पशुपालन, आन्तरिक पर्यटन, खनिज, शिक्षा,स्वास्थ्यलगायत  क्षेत्रमा हामीलाई के आवश्यक छ, के गर्न सकिन्छ, हामीसँग स्रोतसाधन कति छ, यसलाई पूरा गर्न कति वित्तीय साधन चाहिन्छ आदिपक्षको आकलन गरेर आँउदो आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्छ। अर्को तीनबर्र्से रणनीति बनाएर अगाडि बढ्नुपर्छ। योजना बनाउँदा कुन–कुन कुरालाई प्राथमिकता दिने त ?जीवनलाई पहिलो प्राथमिकता,दिनचर्यालाई दोस्रो प्राथमिकता, कृषिलगायत क्षेत्रबाट रोजगारी बढाउने र उत्पादनमा वृद्धि गर्नेलाई तेस्रो प्राथमिकता, विकास स्वास्थ्य तथा उत्पादनसँग जोडेर शिक्षालाई अगाडि बढाउने चौथो प्राथमिकतामा राख्नुपर्छ। जलविद्युतलगायत पूर्वाधार निर्माण गर्नेजस्ता विषयलाई अगाडि राखेर बजेट निर्माण गर्नुपर्छ। बजेट निर्माण गर्दा हिजोका सन्दर्भ सकिएका योजनालाई हटाई चुस्त बजेट निर्माण गर्नु अहिलेको आवश्यकता हो। 

(अर्थविद् अधिकारीसँग सुमित सुवेदीले गरेको कुराकानीमा आधारित) 
 

तपाईको कमेन्ट

मुख्य समाचार